काठमाडौं । देशलाई चुनाव लागेको छ । संसदीय राजनीति गर्ने सबै दलका नेताहरू चुनावमा व्यस्त छन् तर एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमलाई भने चुनावले पटक्कै छोएको छैन ।
०४८ सालपछिका सबै चुनावमा व्यस्त हुँदै आएका गौतमलाई चुनावले छोएकै छैन । असोज २३ गते सबै दलका नेताहरू उमेदवारी दर्ता गरिरहँदा गौतमले भने लतिलपुरको भैंसैपाटीस्थित निवासमै दिन बिताए । प्रतिनिधिसभा चुनावमा उमेदवार नबनेसँगै गौतमको प्रधानमन्त्री बन्ने अतृत्प चाहना पनि सेलाएको छ । उनी नेपाली राजनीतिमा गुमनाम हुँदै गएका छन् ।
०७४ सालको चुनावमा उनी बर्दिया–१ बाट झिनो मतान्तरले पराजित भए, कांग्रेसका सञ्जय गौतमसँग । स्थानीय निर्वाचनमा कांग्रेसभन्दा ३० हजार मतले अगाडि रहेको क्षेत्रमा चुनाव हारेपछि गौतम नराम्ररी तिल्मिलाएका थिए ।
चुनाव जितेर प्रधानमन्त्री बन्ने आकांक्षा राखेका गौतमले हारे । चुनाव हारे पनि प्रधानमन्त्री पदमा अर्जुनदृष्टि दिएका उनले प्रयत्न छाडेनन् । यतिसम्म आफू प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नसमेत तत्कालीन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सहमत गराएका थिए । भलै यो कार्यान्वयन भएन, उल्टो आलोचनाको विषय बन्यो ।
सबै नेता चुनाव प्रचारमा व्यस्त भएको बेला गौतम भने घरमै बसेर लेखपढ गर्न थालेका छन् ।
उनी नेपालको विकास कसरी गर्ने भन्ने मार्गचित्र तयार गर्न लागेका छन् । अघिल्लो चुनाव हारेलगत्तै ‘महाअभियान’ भन्ने पुस्तक सार्वजनिक गरेका थिए, जुन ओली र प्रचण्डबाट विमोचन गराएका थिए ।
त्यसपछि उनले ‘नेपाल विकास प्राधिकरण’ गठन गरी त्यसको नेतृत्व दिन तत्कालीन प्रधानमन्त्री ओलीसँग आग्रह गरेका थिए । आफूलाई प्राधिकरणको अध्यक्ष नदिए प्रधानमन्त्री हुनेगरी आफूलाई उपाध्यक्ष दिए पनि हुनेसम्म भनेका थिए तर पाएनन् । राजनीतिबाट अवकाशनजिक पुगिसकेका गौतम ‘महाअभियान’ लाई नै व्याख्या गर्ने दस्तावेज लेखिरहेका छन् ।
ओलीसँग भाउ खोजे, प्रचण्डबाट धोका पाए
अहिले वामदेव गौतमले ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता अभियान’ भन्ने छुट्टै समूह बनाएका छन्, जसको उद्देश्य एमाले, माओवादी केन्द्र, नेकपा (एस) सहित गौतमको समूहलाई एक बनाएर विघटित नेकपाजस्तै एकीकृत पार्टी निर्माण गर्नु हो ।
गौतमले फेरि नेकपा बनाउने प्रयास छाडेका छैनन् ।
गौतमनिकट एक कार्यकताले दिएको जानकारीअनुसार, गौतमलाई स्थानीय चुनावपछि गत असारमा एमाले अध्यक्ष ओलीले एमालेमा समाहित हुन आग्रह गरेका थिए । ७० वर्ष नाघिसकेकाले उनलाई कार्यकारी पद दिन त विधान नै बाधक हुन्थ्यो तर दोस्रो मर्यादा दिनसक्ने संकेत पनि गरेका थिए । गौतमले भने माओवादीसहितको एकता गर्न ओलीलाई सुझाए । त्यो प्रयास त्यहीँ विफल भएको थियो ।
वामदेव गौतम र बाबुराम भट्टराई नेतृत्वको पार्टीले आफ्नो चुनाव चिह्नबाट संसदीय चुनाव लड्न दिने निर्णय माओवादीले गर्यो ।
गौतमले पनि आफ्नो स्थायी कमिटीबाट निर्णय गराए तर निर्वाचन आयोगले तोकेको अन्तिम दिन असार ३१ गते आयोगमा भट्टराईको पार्टीको मात्र निवेदन दर्ता भयो ।
गौतमलाई माओवादी अध्यक्ष प्रचण्डले धोका दिए । गौतमलाई माओवादीमा बाध्यात्मक अवस्था सिर्जना गरी विलय गराउने रणनीतिका रूपमा गौतमले बुझे । उनले तत्काल अस्वीकार गरे ।
गौतमको भने उक्त दिन प्रचण्डसँग टेलिफोन सम्पर्क गर्ने प्रयासमै बित्यो । गौतमको अभियानका प्रवक्ता निमकान्त पाण्डेले बाह्रखरीसँग भने, “आयोगको समय बितिसकेपछि साँझ मात्र प्रचण्ड सम्पर्कमा आउनुभो । पार्टी एकता गरी माओवादीको चिह्नबाट लड्न भन्नुभो । त्यसपछि गौतमले त्यसलाई धोका भन्दै माओवादीमा बिलीन हुन नसक्ने जवाफ फर्काउनुभो ।”
माओवादीले धोका दिएपछि गौतम चुनाव नलड्ने निष्कर्षमा पुगेको पाण्डेले जानकारी दिए ।
वामदेव गौतम एमाले र माओवादी केन्द्र एक भएर बनेको नेकपाका उपाध्यक्ष थिए । त्यसअघि दुई कार्यकाल एमालेका उपाध्यक्ष भए । तीन पटकसम्म देशको उपप्रधानमन्त्री एवम् गृहमन्त्री भइसकेका उनी । अहिलेको एमाले बनाउन मुख्य भूमिका खेल्ने पश्चिम नेपालका मुख्य संगठक हुन् । ‘जनताको बहुदलीय जनवाद’ (जबज) सबैभन्दा कट्टर समर्थक भएको दाबी गर्छन् उनी ।
गौतमको प्रधानमन्त्री आकांक्षा
नेकपा हुँदा पनि सो पार्टीका पहिलो पंक्तिका सबैभन्दा हक्की नेता थिए– वामदेव गौतम । एमाले र माओवादी केन्द्र अलग हुनुअघिको नेकपा विवादमा आफूलाई प्रधानमन्त्री बनाउन संविधान नै संशोधन गर्नुपर्ने आकांक्षा प्रस्तुत गरेका उनले यसमा तत्कालीन नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘सहमति’ जनाउन बाध्य पारेका थिए ।
०७० सालको संविधान सभाको दोस्रो चुनावपछि एमाले संसदीय दलको नेताका लागि भएको चुनावमा तत्कालीन अध्यक्ष झलनाथ खनालविरुद्ध संसदीय दलको नेतामा केपी शर्मा ओली लड्ने तयारी गरे । ०६६ फागुनमा बुटवलमा भएको आठौँ महाधिवेशनमा खनाललाई सघाएर अध्यक्ष बनाएका गौतमले ओलीलाई सघाउने निर्णय गरे । गौतमको सहयोगपछि ओली संसदीय दलको नेता चुनिए– पार्टी अध्यक्ष खनाललाई हराएर । गौतमको सहयोग लिन ओलीले आफू पार्टी अध्यक्ष भएपछि संसदीय दलको नेता गौतमलाई बनाउने ‘भद्र सहमति’ गरेको उनीनिकट नेताहरूको दाबी छ । योसँगै गौतममा प्रधानमन्त्रीको आकांक्षा जागिसकेको थियो ।
०७१ असार अन्तिम साता भएको एमालेको नवौं महाधिवेशनमा पनि गौतमले ओलीलाई साथ दिए । यसपटक ओलीले माधव नेपाल झिनो मतान्तरले पराजित गरे । ओली एमाले अध्यक्ष चुनिए । यसपटक त गौतमको साथ लिने बेलामा ओलीले एमालेबाट प्रधानमन्त्री बन्ने अवसर आएमा गौतमलाई बनाउने वचन दिएको उनीनिकट नेताहरूको दाबी छ ।
नेकपाको अंकगणित र वामदेवको अर्जुनदृष्टि
०७४ सालको चुनावमा एमाले–माओवादी केन्द्रबीच गठबन्धन गराउन पनि प्रचण्ड–गौतम सम्बन्धले सहज बनाएको थियो ।
भलै यसको सूत्रधार ओली स्वयम् थिए । चुनावपछि आफू प्रधानमन्त्री बन्नसक्नेमा गौतम आशावादी थिए ।
आफ्नो मनोकांक्षा सीधै बताउने खुला स्वभावका गौतमको आकांक्षा चतुर खेलाडी ओली र प्रचण्डले नबुझ्ने कुरै भएन ।
सबैबाट लुकाएर साढे दुई–साढे दुई वर्ष प्रधानमन्त्री हुनेगरी गोप्य सम्झौता गरिसकेका दुवैले गौतमलाई आफ्नो बाटोको काँढा सम्झिए ।
स्थानीय चुनावको मतका आधारमा ३० हजार मतले अगाडि देखेका गौतमले आफ्नो विजय सहज देखे । अनि चुनावमा गम्भीर भएनन् । र, ०७० सालको संविधानसभा चुनावमा बर्दिया र प्युठानबाट विजयी गौतम ०७४ मा बर्दियाबाट पराजित भए ।
दुई ठाउँबाट जितेको बेला बर्दिया छाडेका गौतमले बर्दिया छाडेको असर पनि त्यो चुनावमा परेको थियो ।
चुनाव हारेपछि गौतमको ओलीसँग सम्बन्ध चिसियो । उनले एमालेभित्रैबाट आफूलाई हराइएको आरोप लगाए ।
एमाले–माओवादी पार्टी एकतापछि पनि गौतमले प्रधानमन्त्रीको प्रयास छाडेनन् । समकालीन नेताहरू केपी ओली, झलनाथ खनाल, माधव नेपाल प्रधानमन्त्री बनिसकेकाले आफू पनि बन्न पाउनुपर्ने गौतमको आकांक्षा थियो । आफूले ओली, नेपाल, खनाल सबैलाई प्रधानमन्त्री बनाइदिएकाले गौतमलाई पनि बनाउने आश्वासन प्रचण्डले दिन थाले । अनि गौतम कहिले हुम्लाका सांसद धनबहादुर बुढालाई त कहिले काठमाडौंका रामवीर मानन्धरलाई राजीनामा गराएर सांसद बन्ने र प्रधानमन्त्री हुने प्रयासमा लागे ।
त्यसताका गौतमले आफ्नोलागि राजीनामा दिएर सिट खाली गर्न तयार प्रतिनिधिसभा सदस्यको सूची नै बनाएर राखेका थिए । यसै क्रममा गौतमले एमाले उपमहासचिव घनश्याम भुसाललाई पनि सोधेका थिए, “घनश्यामजी, तपाईं मेरो लागि सांसदबाट राजीनामा दिनुहुन्छ ?” भुसालले अस्वीकार गर्दै भनेका थिए, “मैले किन तपाईंका लागि राजीनामा गर्नु ? तपाईं मेरो क्षेत्रबाट चुनाव जित्न सक्नुहुन्न । अनि मैले तपाईंका लागि छाड्ने भनी प्रचार गराएर फेरि रुपन्देहीबाट चुनाव लड्न नै अप्ठेरो हुने अवस्था किन सिर्जना गर्नु ?”
भुसालको नाम पनि आफूलाई छाड्नेको सूचीमा चढाउन डायरी लिएर बसेका गौतम अनपेक्षित जवाफले उनीसँग रिसाएका थिए ।
अहिले प्रधानमन्त्रीको त्यही अतृप्त आकांक्षाले गौतमलाई नेपाली राजनीतिको मूलप्रवाहबाट किनारामा पुर्याएको छ ।
नेकपा विघटनअघि ओली–प्रचण्ड पक्षको विवादमा प्रधानमन्त्रीको लोभमा गौतम बिहान एउटा पक्षमा र बेलुकी अर्को पक्षमा समेत लागे ।
ओली–प्रचण्ड दुवैले वामदेवलाई प्रधानमन्त्री बनाएर अघि बढ्न सहमति जनाए । उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने र प्रधानमन्त्री बनाउने भनी नेकपा सचिवालयले औपचारिक निर्णय नै समेत गर्यो ।
०७७ वैशाख १७ को नेकपा सचिवालय बैठकमा गौतमले भनेका थिए, “प्रधानमन्त्री केपी ओलीजीले मलाई अर्को प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नुभयो । मलाई त यो सपनाजस्तै भयो । यो प्रस्ताव मेरो कल्पनाबाहिरको कुरा थियो ।”
गौतमलाई प्रधानमन्त्री बनाएर नेकपा विवादको निकास खोज्ने उपायका रूपमा यो निर्णय गरिएको थियो । भलै त्यो निर्णयमा भनिएजस्तो उपयुक्त समय कहिल्यै आएन, कार्यान्वयन भएन ।
राष्ट्रियसभा सदस्यलाई समेत प्रधानमन्त्री बनाउन मिल्ने गरी संविधान संशोधन गर्ने निर्णय पनि एमालेले गर्यो ।
गौतमलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधन कार्यदलसमेत बनायो– नेकपा सचिवालयले । जसको सर्वत्र आलोचना भएपछि यो निर्णय कार्यान्वयनमा गएन बरु संयोजक भनिएका सुवास नेम्वाङले नै त्यस्तो कार्यदल बनेको आफूलाई थाहा नभएको भन्दै खण्डन गरेका थिए । नेकपा सचिवालयले कार्यदल बनाउने निर्णय उल्टाएको थियो ।
माओवादीसँग प्रेम र घृणाको सम्बन्ध
माओवादीले ०५२ फागुन १ मा ‘सशस्त्र द्वन्द्व’ सुरु गरेपछि त्यसको समाधानबारे अध्ययन गर्न गठित सबैभन्दा पहिलो समितिको संयोजक थिए गौतम ।
माओवादीलाई सरकारले आतङ्ककारी घोषणा गरेको बेलामा गौतमले रवीन्द्र अधिकारी (स्व.) लिएर रोल्पा पुगेका थिए– प्रचण्डसँग छलफल गर्न । माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउने तत्कालीन एमालेका सूत्राधार नै गौतम हुन् भन्दा पनि फरक पर्दैन ।
०६४ सालको संविधानसभा चुनावमा एमालेले नराम्रो हार व्यहोर्यो । गौतम आफैँ पनि माओवादी उमेदवार सरला रेग्मीसँग पराजित भए बर्दियाबाट । एमाले ३३ सिटमा सीमित भयो । काठमाडौं र रौतटह दुई ठाउँबाट पराजित भएपछि महासचिवबाट माधव नेपालले राजीनामा दिए । त्यसपछि झलनाथ खनाललाई महासचिव बनाउन गौतमको भूमिका प्रमुख थियो।
०६६ सालमा माओवादीको तीव्र दबाबका बावजुद सत्ता नछाडेका आफ्नै पार्टीका प्रधानमन्त्री नेपाललाई राजीनामा दिन उनले आफूनिकट ६४ जनाको हस्ताक्षर गरी पत्र थमाए । त्यसपछि उनलाई माओवादीको आरोप समेत लगाइयो ।
०६४ चैत २८ को पहिलो संविधानसभा चुनावमा माओवादी प्रत्यक्षतर्फका २४० मध्ये १२० सिट जितेर सबैभन्दा ठूलो दल भयो । कांग्रेसले ३६ र एमालेले ३३ सिट मात्र जिते । त्यसबेला सहमतीय प्रणाली लेखिएको थियो अन्तरिम संविधानमा ।
प्रधानमन्त्री भएका व्यक्तिलाई संसदको बहुमतले हटाउन सक्ने व्यवस्था थिएन । ‘क्यान्टोनमेन्ट’ मा माओवादी सेनाका लडाकु राखेका प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेस सभापति तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तयार भएनन् ।
बहुमतले प्रधानमन्त्री फेर्नसक्ने गरी अन्तरिम संविधान संशोधन गरी प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमालेभित्र गौतमको प्रमुख भूमिका थियो ।
एमाले–माओवादी गठबन्धनमा प्रचण्ड प्रधानमन्त्री भए । उपप्रधानमन्त्री एवम् गृहमन्त्री पनि बने– गौतम।
प्रधानमन्त्रीबाट माधव नेपालको राजीनामापछि संसद्मा १७ पल्ट भोटिङ भयो तर पटक–पटकको प्रयासपछि पनि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री चुनिन सकेनन् । त्यसपछि उमेदवारी फिर्ता गरी नयाँ प्रक्रिया थालियो ।
त्यसबेलाका एमालेभित्र अध्यक्ष खनाललाई ओली–नेपालको विपक्षी खेमाले हलचल गर्न नसक्ने अवस्थामा पुर्याएको थियो । केन्द्रीय कमिटीमा खनाल अल्पमतमा थिए । त्यसैले ओली–नेपाल खनाललाई कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नदिन क्रियाशील थिए । यतिसम्मकि ६०१ सदस्यीय संविधानसभाको ३०१ जनाले प्रधानमन्त्री चुनिन सक्थ्यो तर प्रधानमन्त्रीको उमेदवार बनेका खनाललाई पहिले नै ४०१ जनाको हस्ताक्षर नजुटाएको भन्दै प्रस्तावक नेपालले प्रधानमन्त्रीको उमेदवारी प्रस्ताव नै फिर्ता गरिदिएका थिए । गिरिजाप्रसाद कोइरालासँग पनि ओलीको राम्रो सम्बन्ध थियो । त्यस्तो प्रतिकूल अवस्थामा समेत गौतमले प्रचण्डसँग मिलेर खनाललाई प्रधानमन्त्री बनाई छाडे ।
गौतम त्यसताका प्रचण्डसँग यति निकट मानिन्थे कि एमालेभित्रका उनका विरोधीहरू गौतम माओवादी प्रवेश गर्ने प्रचार गर्थे ।
“म माओवादी हुने संभावना छैन, बरु मलाई एमालेभित्रका केही मान्छेले धकेलेरै माओवादीमा पठाउन लागिसके,” ०७४को चुनाव घोषणा हुनुभन्दा केही अघि एमाले संसदीय दलको कार्यालयमा गौतमले पंक्तिकारलाई प्रतिक्रिया दिएका थिए ।
माधवकुमार नेपालसँग चाहिँ गौतमको कहिल्यै पट्टा खाएन । नौ महिने सरकार ढल्नेबित्तिकै पार्टी काममा पुनः फर्किएका नेपालले गौतमलाई उपमहासचिवबाट हटाए– अपमानजनक ढंगले । गौतमले नेपाललाई चुनौती दिन थाले ।
त्यसपछि भएको महाकाली सन्धिको विवादमा नेपाल–ओली पारित गर्ने पक्षमा लागे ।
‘महाकाली सन्धि राष्ट्रघाती छ, यो पास गर्नुहुँदैन’ भन्ने गौतमको अडान रह्यो । ठूलो रडाकोबीच अस्पतालमा रहेका मनमोहन अधिकारी बैठकमा आउन सकेनन् । एमाले स्थायी कमिटी बैठकमा मतदान भयो ।
अध्यक्ष अधिकारीको साटो देवराज घिमिरेलाई ‘प्रोक्सी’ खडा गरी मताधिकार दिइयो । अनि घिमिरेको निर्णायक मतले बहुमत पुर्याएर एमाले महाकाली सन्धिकोको पक्षमा गयो ।
गौतम एमालेभित्र विपक्षी खेमाको नेता भए । जसलाई सीपी मैनाली, आरके मैनाली, सहाना प्रधानलगायतका वरिष्ठ नेताहरूको समर्थन रह्यो ।
संसद्मै एमाले सांसदहरू हिरण्यलाल श्रेष्ठ र पद्मरत्न तुलाधरले ‘फ्लोर क्रस’ गरी विपक्षमा भोट हालेको महाकाली सन्धिको मतदानमा गौतमसहित उनी पक्षधर शीर्षनेताहरूले बहिष्कार गरेका थिए ।
त्यसपछि गौतमले राधाकृष्ण मैनालीलाई साथमा लिएर राप्रपासँग सत्ता–समीकरणको प्रयास जारी राखे । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार ढाल्न सफल भए ।
लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाएर उक्त सरकारमा गौतम उपप्रधानमन्त्री एवम् गृहमन्त्री भए । त्यसबेलाका चर्चित आईजीपी अच्यूतकृष्ण खरेललाई हटाएर ध्रुवबहादुर प्रधानलाई बनाए । ०५४ सालको स्थानीय चुनावमा एमालेले देशभरि विजय हासिल ग¥यो । उनी ‘डिफ्याक्टो प्रधानमन्त्री’ भएर चलाएकोसम्म चर्चा त्यसबेला भयो ।
चन्द सरकार ढाल्न कांग्रेसले राप्रपाकै अर्का नेता सूर्यबहादुर थापालाई प्रधानमन्त्रीका रूपमा अघि सार्यो ।
करिब सात महिनामै राप्रपा–एमाले सरकार ढल्यो तर गौतमको राजनीतिक उचाइ झन् चुलियो ।
महाकाली सन्धि राष्ट्रघाती भन्दै गौतमले ०५४ फागुन २१ गते गौतमले एमाले फुटाए । नेकपा (माले) नामको छुट्टै पार्टी गठन गरे । एमाले फुटाउँदा गौतमलाई ४० प्रतिशत सांसद्ले साथ दिएका थिए । देशभरिका राम्रा कार्यकर्ताको करिब ६० प्रतिशत गौतमसँग गएको थियो । नवगठित नेकपा (माले) मा सहाना प्रधान अध्यक्ष र वामदेव गौतम महासचिव बने ।
०५६ सालको चुनावमा देशभरिबाट करिब ६ लाख भोट पाए पनि एक सिटसमेत जित्न सकेन । मालेको ठूलो हिस्सा माओवादी प्रवेश गर्यो । चुनावमा ठूलो धनराशी पनि खर्च गरेका गौतम निराश भए । ०५७ सालमा ‘छोरो घर फर्कियो’ भन्दै एमालेमै फर्किए ।
सीपी मैनालीसहितको समूह भने फर्किएन । गौतमको राजनीतिक ‘करिअर’ मा पार्टी फुटाउनु सबैभन्दा महङ्गो बन्न गयो । यसै घटनाका कारण उनी पार्टी प्रमुख र प्रधानमन्त्री दुवैबाट बञ्चित भएको एमालेभित्र विश्लेषण गरिन्छ ।
साढे पाँच दशकपछि सबैभन्दा कमजोर
०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्य भएका गौतम एमालेका समकालीन नेताहरूमा सबैभन्दा पुराना हुन् ।
उमेरमा पनि खनाल, ओली र नेपालभन्दा उनी सिनियर हुन् । एमाले फुटाएर नेकपा (माले) नामको बेग्लै पार्टी बनाएकै कारण गौतम प्रधानमन्त्री र एमाले अध्यक्ष दुवै कुर्सीमा पुग्न नसकेको विश्लेषण एमालेभित्र गरिन्छ ।
मेहनत र हक्की स्वभावका कारण राजनीतिमा सकिए भनिएपछि पनि पुनः शक्ति आर्जन गर्दै आएका गौतम साढे पाँच दशकलामो राजनीतिक करिअरमा अहिले सबैभन्दा कमजोर सावित भएका छन् । उनी शक्तिहीन भएकै कारण चुनाव नलड्ने अवस्थामा पुगेका हुन् ।
०४८, ०५१ सालमा बर्दियाबाट निर्वाचित उनी ०५४ साल फागुन २१ मा एमाले फुटाएर ०५६ सालमा मालेबाट चुनाव लडेका थिए । त्यो चुनावमा उनले पहिलोपल्ट हारेका थिए– कांग्रेसकी महिला उमेदवार काशी पौडेलसँग । अनि ०५८ सालमा एमाले फर्किए । शाहीकालमा जेल परे । एमालेभित्र माओवादीनिकट भन्ने आरोप झेलेका गौतमलाई फेरि माओवादीका महिला उमेदवार सरला रेग्मीले पराजित गरिन् ०६४ सालमा । पराजयपछि उनी धोका दिएको भन्दै माओवादी अध्यक्ष प्रचण्डप्रति आक्रोशित भएका थिए ।
वामदेवको उदय
०४९ साल माघमा काठमाडौंमा भएको एमालेको पाँचौँ महाधिवेशनअघि ‘जनताको बहुदलीय जनवाद’ बनाउन मदन भण्डारीलाई सघाउने एक जना नेता थिए– वामदेव गौतम ।
०५० जेठ ३ मा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुङ्गामा भएको रहस्यमय जीप दुर्घटनामा मृत्यु भएपछि राष्ट्रिय राजनीतिमा वामदेव गौतमको उदय भएको हो ।
आश्रितको सङ्गठन विभाग प्रमुखको विरासत सीधै वामदेव गौतमकहाँ आइपुगेको थियो । अनि मदन–आश्रितको रिक्त पोलिट्ब्युरो कमिटीका दुई पदमा सङ्गठन विभाग प्रमुखको जिम्मेवारीसहित वामदेव गौतम र पूर्वमहासचिव झलनाथ खनालले जिम्मेवारी पाएका थिए । ‘मदन–आश्रित हत्या’ विरुद्ध तत्कालीन एमालेले गरेको ‘दासढुङ्गा आन्दोलन’बाट शीर्ष नेताको स्थान बनाएका थिए– गौतमले ।
वामदेव गौतम सिद्धान्त बुझेका व्यावहारिक र क्रियाशील छन् । इतिहास र संस्कृतिको ज्ञान पनि छ । ०५१ साल मंसिरमा मनमोहन अधिकारीको नेतृत्वमा एमालेको नौ–महिने अल्पमत सरकारका बेलासम्म गौतम ‘आदर्श’ र ‘क्रान्तिकारी’ नेताका रूपमा पनि मानिन्थे । त्यसैले अध्यक्ष अधिकारी, महासचिव माधव नेपालसहित पार्टी पोलिट्व्युरोका नेताहरू आरके मैनाली, सीपी मैनाली, केपी शर्मा ओली, भरतमोहन अधिकारी सबै सरकारमा गए । पार्टी हाँक्ने जिम्मा गौतमलाई दिइयो ।
त्यसबेला गौतमका लागि पार्टी विधानमै नभएको ‘उपमहासचिव’ पद सिर्जना गरियो । गौतमले सरकारको यसरी बचाउ गरे, यदि कसैले सरकारको आलोचना गर्यो कि उनी कारवाहीको डण्डा चलाइहाल्ने । सरकार ढाल्ने खेल चलेपछि गौतमले एउटा सार्वजनिक मञ्चबाट भनेका थिए, “सबै प्रतिक्रियावादीलाई एउटै खाल्डोमा पुर्नेछौँ ।”
त्यसको खुबै आलोचना गरियो । गौतम पहिलोपल्ट विवादमा आएका थिए ।
गौतमका आलोचकहरू भन्छन्– सरकारमा नहुँदा गौतम आदर्श नेता हुन्, जब सत्तामा पुग्छन्, त्यसपछि सारा आदर्श बिर्सन्छन् । उनी पार्टीका लागि र पार्टीहित हुन्छ भनेपछि जे पनि गर्न तयार हुने नेता हुन्, साधनको पवित्रता खोज्दैनन् । यही स्वभावले गौतमलाई बेलाबखत विवादमा पनि पारेको छ ।
एमालेले बल्खुमा एकतले कार्यालय भवन निर्माण गर्ने तयारी गरिरहेकोमा एमालेको नौमहिने सरकार बनेपछिका उपमहासचिव गौतमले स्रोत जुटाएर त्यही जगमा साततले केन्द्रीय कार्यालय बनाइदिएका थिए । जसलाई आलोचकहरू ‘बल्खु दरबार’ भन्ने गर्थे । कमजोर जगमा बनाइएको उक्त भवन ०७२ सालको भुइँचालोले भत्काइदिएको थियो ।
२००५ साल असार २८ मा प्युठानमा जन्मिएका गौतम समकालीन नेताहरू केपी ओली, झलनाथ खनाल, माधव नेपालभन्दा ज्येष्ठ हुन् ।
२०२६ सालमै पुष्पलाल समूहको सदस्य भएका उनी पूर्णकालीन कार्यकर्ता भएका थिए । उनलाई मोदनाथ प्रश्रितले त्यहाँ पुर्याएका थिए । त्यसअघि भारत गएर चौकीदार काम गरिसकेका गौतम २०२५ सालमा मत्स्यपालन केन्द्र, भैरहवामा जागिर खान्थे ।
पुष्पलाल समूहमा मदन भण्डारी, जीवराज आश्रित, मोदनाथ प्रश्रितहरूसँगै राजनीतिमा सक्रिय थिए । २०३३ सालमा पुष्पलालसँग छुट्टिएर ‘मुक्ति मोर्चा’ गठन गरिँदा उनीहरूलाई ने साथ दिए । त्यही वर्ष रूपन्देहीबाट पक्राउ परेका उनी २०३५ सालमा छुटे । उनी छुट्दा मुक्ति मोर्चा र झापा विद्रोहबाट बनेको ‘कोअर्डिनेसन केन्द्र’ (कोके) बीच एकता भई २०३५ पुस ११ गते नेकपा (माले) गठन भइसकेको थियो । गौतम मालेमै आवद्ध भए ।
उमेरले ७५ टेक्दै गर्दा पहिलेको साख र तागतमा काफी गिरावट आएको छ तर पनि उनको शीर्षनेताको राजनीतिक उचाइ छ । अनि एमालेभित्र उनले हुर्काएका प्रशस्त नेता–कार्यकर्ता छन् ।
गण्डकी, लुम्बिनीदेखि पश्चिम नेपालका हालका अधिकांश नेता उनैले हुर्काएका कार्यकर्ता छन् । अहिलेका एमालेका उपाध्यक्ष विष्णु पौडेल विष्णु पौडेललाई ०५१ सालमा आफू ‘उपमहासचिव’ भएपछि गौतमले संगठन विभाग प्रमुख बनाएका हुन् ।
उनले नेकपा कालमा एमाले अध्यक्ष ओलीलाई भन्ने गर्थे, “तपाईं मेरो नेता होइन, साथी हो ।”
साढे पाँच दशकभन्दा लामो कम्युनिष्ट राजनीतिमा उनी एक सशक्त नेताका रुपमा स्थापित भए तर उनलाई पार्टी र सरकार प्रमुखको पद कहिल्यै प्राप्त गर्न सकेनन् ।
अब त्यो हुने संभावना पनि क्षीण भइसकेको छ । उनी ‘किङ मेकर’ को भूमिकामा सफल रहे ।
एमालेले ७० वर्षमा कार्यकारी पदबाट अवकाश लिने विधानमै व्यवस्था गरेको छ । अब भने गौतम एमालेमै फर्किए पनि पुनः पहिलेको उचाइ हासिल गर्न सहज हुने छैन । चुनाव नलड्ने निर्णयसँगै गौतमको प्रधानमन्त्री बन्ने सपना पनि अब त्यसै मुर्झाउने छ ।