काठमाडौं । संसदीय चुनावको उमेदवारी दर्ता गर्ने अघिल्लो दिन । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो निवासमा पार्टी प्रवेश गराउन भ्याई–नभ्याई थियो ।
एमाले प्रवेश गर्नेको भीडको अग्रस्थानमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का निवर्तमान सांसद एकवाल मिया पनि थिए ।
उनी एमाले प्रवेश गरेर भोलिपल्ट संघीय संसद्को उमेदवारी दर्ता गर्ने तयारीमा थिए । एमाले प्रवेश गरेकै दिन उनले एमालेबाट टिकट पाए । उमेदवारी दर्ता गराए ।
मिया एमालेका लागि ‘आयाराम’ थिए । अर्थात्, उनी ०७४ सालको निर्वाचनमा एमालेले उमेदवार नबनाएपछि महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टीको टिकटमा चुनाव लडेका थिए ।
मिया एमाले प्रवेश गर्दैगर्दा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसाल गृहनगर रुपन्देहीको मणिग्राममा थिए ।
रुपन्देही–३ बाट संघीय संसद् सदस्यको चुनाव लड्ने तयारीमा गृहनगर पुगेका उनी एमाले छाड्ने कि बसिरहने भन्ने द्विविधामा थिए ।
राप्रपाका दीपक बोहोरालाई एमालेले समर्थन गर्ने हल्ला अगाडिदेखि नै चलिरहेको थियो । त्यहाँ भुसालले टिकट नपाउने पक्कापक्की भएलगत्तै उनले आफूमाथि ‘घोर अन्याय’ भएको महसुस गरे । सामाजिक सञ्जालमा लेखे, “...... म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने कुनै संभावना समेत नदेखेपछि अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैँप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु...... ।”
एमालेका उपमहासचिव भुसालले पार्टी छाडेको घोषणा गरेका मात्र के थिए, उनलाई आफ्नो पार्टीबाट चुनाव लड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरे ।
उनी माओवादीको उमेदवार बन्न सहमत भएनन् । मध्यरातमा प्रचण्ड–भुसाल टेलिफोन संवादपछि उनी रुपन्देही–१ बाट स्वतन्त्र उमेदवार बन्न तयार भएका थिए ।
सत्तारुढ गठबन्धनको भागबण्डामा उक्त क्षेत्र माओवादी केन्द्रको भागमा परेको थियो । भुसाल स्वतन्त्र नै उठे पनि सत्ता गठबन्धनले समर्थन गर्ने व्यवस्था प्रचण्डले गरे । आइतबार बिहानै भुसालले उमेदवार बन्ने घोषणा गरे । दिउँसो दर्ता गरे ।
उता, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कांग्रेसभित्रकै शेखर कोइराला–गगन थापा नेतृत्वको ‘संस्थापन इतर’ समूहको भर छैन ।
उनका लागि भरलाग्दो नेता भएका छन्– कम्युनिष्ट नेताहरू प्रचण्ड, माधव नेपाल, चित्रबहादुर केसी आदि । चार दशकदेखि कांग्रेसको राजनीति गरेका डा. मिनेन्द्र रिजाल वा विषयविज्ञको छवि बनाएर राजनीतिमा आएका डा. स्वर्णिम वाग्लेभन्दा देउवाको प्राथमिकतामा सुनिलबहादुर थापा परेका छन् ।
गत चुनावमा एमाले–माओवादीको साझा उमेदवारलाई हराएर कांग्रेसले जम्मा २३ सिट जित्दा विजयी हुने डा. रिजालले टिकट पाएनन् ।
डा. वाग्ले र गोविन्दराज पोखरेल पनि उमेदवार बन्नबाट वञ्चित भए । पोखरेलले त गठबन्धनका उमेदवारलाई नसघाउने घोषणा नै गरेका छन् ।
पोखरेलको गृहजिल्ला प्युठानमा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी पत्नी राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललाई कांग्रेसले समर्थन गर्ने गरी सत्ता गठबन्धनले उमेदवार बनाएको छ ।
रोचक त के भने, गत दुई निर्वाचनमा विजयी हुँदै आएका महामन्त्री गगन थापाको टिकट नै काठमाडौ–४ बाट झण्डै खोसियो । गगनलाई सर्लाही पठाउने गरी काठमाडौं–४ मा नैनसिंह महरलाई कांग्रेसले टिकट दिइसकेको थियो ।
बेलैमा थाहा पाएकाले गगनले महरलाई दिएको टिकट फिर्ता गराउन सके । नत्र भने काठमाडौं–४ मा गगनले उमेदवार बनाउन चाहेका डा. वाग्लेले त टिकट पाउँदैनथे नै, गगनलाई सर्लाही–४ जानुपर्ने बाध्यता आइसकेको थियो ।
त्यसो त ०६३ सालको अन्तरिम संविधान निर्माण र शान्तिप्रक्रिया प्रारम्भ भएसँगै चर्चामा आएका डा. अमरेशकुमार सिंहलाई कांग्रेसले टिकट दिएन ।
शेखर पक्षमा लागेका उनले विगतका ०६४ सालदेखि लगातार तीन पटक सर्लाहीबाट चुनाव जितेका थिए । उनले आफूले यसअघि जितेको सर्लाही–४ बाट स्वतन्त्र उमेदवारी दिएका छन् । कांग्रेसले भने नागेन्द्र रायलाई उमेदवार बनाएको छ ।
माओवादी केन्द्र र एकीकृत समाजवादीलाई कांग्रेसले समर्थन गरेका क्षेत्रहरूमा त कांग्रेसका नेताहरूले स्वतन्त्र उमेदवारी दिएका छन् । खोटाङ, बागलुङ, गुल्मी, चितवन, सल्यान, डोटीजस्ता धेरै जिल्लामा कांग्रेसले बागी दिएका छन् । बागी दिनेमध्ये धेरै ‘इतरसमूह’ का देखिएका छन् ।
‘आयाराम’ काख, सरकार ढाल्ने पाखा
राप्रपा नेपालका अध्यक्ष कमल थापा एमालेको चिह्न ‘सूर्य’ लिएर चुनाव लड्दै छन् । काभ्रे–१ मा राप्रपाबाट एमाले प्रवेश गरेका रेशम लामाले उमेदवार बन्ने अवसर पाए । राप्रपाका तीन जना उमेदवारहरू झापा–३ मा अध्यक्ष राजेन्द्र लिङ्देन, रुपन्देही–३ मा दीपक बोहोरा र बाँके–२ मा धवलसमशेर राणालाई समर्थन गर्ने निर्णय गरेको छ ।
सर्वोच्च अदालतको ०७८ फागुन २३ को आदेशबाट एमाले र माओवादी केन्द्र अलग पार्टी भएपछि एमाले रोजेका साविक माओवादीका नेता–कार्यकर्ताहरूलाई पनि एमालेले टिकट दिएको छ ।
एमाले उपाध्यक्ष रामबहादुर थापाले काठमाडौं–१० बाट उठ्न पार्टीले दिएका टिकट अस्वीकार गरे ।
उनकी पत्नी नैनकला थापा समानुपातिकको सूचीमा छन् । नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, ज्वालाकुमारी साहलगायत धेरैले प्रतिनिधिसभा र प्रदेशसभाको उमेदवार बन्ने अवसर पाएका छन् ।
प्रभु साहले त आफूले भनेबमोजिम पार्टीले टिकट नदिएकोमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् ।
रौतहट–१ मा नेकपा (एस) का अध्यक्ष माधव नेपालसँग प्रतिस्पर्धामा उतारेका एमाले उमेदवार अजयकुमार गुप्ता पनि नवप्रवेशी हुन् । उनी विभिन्न पार्टीहरू आरोहण गरी तीन महिनाअघि मात्र एमालेमा आइपुगेका हुन् । उनी वास्तविक ‘आयाराम गयाराम’ हुन् ।
स्थानीय चुनावपछि एमाले भएका गुप्ता शाहीकालका मेयर हुन् । उनी ०७० सालको दोस्रो संविधानसभा चुनावमा एमाले उमेदवार माधव नेपालका निकटतम प्रतिस्पर्धी थिए ।
त्यसबेला विजय गच्छदार अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का उमेदवार उनी ३३८ मतले मात्र पराजित भएका थिए ।
०७४ को स्थानीय चुनावमा उनी राष्ट्रिय जनता पार्टी (राजपा)बाट गौर नगरपालिकाको मेयर निर्वाचित भएका थिए । गत वैशाख ३० को स्थानीय चुनावमा लोसपाबाट गौरको मेयर उठेका उनी नेकपा (एस) का शम्भु साहसँग पराजित भएका थिए ।
यसपटक नवप्रवेशीलाई टिकट दिने कुरामा एमाले निकै उदार देखिएको छ । मधेश प्रदेशमा सबैभन्दा बढी नवप्रवेशीले टिकट पाएका छन् । चुनाव जितेपछि एमालेमा टिक्छन् कि टिक्दैनन् भन्नेसम्म सो पार्टीले पर्वाह गरेको देखिँदैन । सो प्रदेशमा एमालेले संघीय संसद्का ३२ मध्ये १६ सिटमा उमेदवार उठाउँदा १० क्षेत्रमा त बागी नै परेको छ ।
नवप्रवेशीप्रति उदार देखिएको एमाले केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न भूमिका खेल्ने तत्कालीन सांसदहरूप्रति भने त्यति उदार देखिएन ।
संसद् पुनस्र्थापनाको मुद्दा हाल्ने नेताहरू डा. भीम रावल र घनश्याम भुसाललाई एमालेले टिकट दिएन । गणेश पहाडी, दीपक भट्ट, राजबहादुर बुढा, पवित्रा निरौला खरेललगायतले टिकट पाएनन् । सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टले पनि अन्तिममा मात्र टिकट पाएका थिए ।
रावल, भुसालसहित सो समूहका सांसदले खेलेको ‘असंसदीय भूमिका’ का कारण ओलीले टिकट दिन नचाहेको एमालेको दाबी छ ।
आयाराम गयारामको रोचक कथा
पार्टी त्याग्ने र प्रवेश गर्नेलाई भारतीय राजनीतिमा ‘आयाराम गयाराम’ प्रवृत्ति भन्ने गरिन्छ । त्यसैलाई नक्कल गर्दै नेपालमा पनि दल बदल्नेलाई ‘आयाराम गयाराम’ भन्ने गरिएको हो ।
‘नवभारत टाइम्स’ का अनुसार, सन् १९६७ मा ‘आयाराम गयाराम’ को किस्सा सुरु भएको हो । भारतको हरियाणा राज्यको पलवल जिल्लाका गयालालले ‘आयाराम गयाराम’ लाई अमर बनाएका थिए । हसनपुर विधानसभा क्षेत्रबाट निर्वाचित विधायक उनले एकै दिनमा तीनपटक पार्टी परिवर्तन गरेका थिए ।
सबैभन्दा पहिले उनले कांग्रेस त्यागेर जनता पार्टी प्रवेश गरे । केही बेरमै उनी पुनः कांग्रेसमै फर्किए । करिब नौ घण्टापछि उनको हृदय फेरि परिवर्तन भयो र जनता पार्टीमा दोस्रोपटक प्रवेश गरेका थिए । गयालालको हृदय परिवर्तन यत्तिमै रोकिएन । उनी पुनः कांग्रेसमा फर्किए ।
कांग्रेसमा फर्किएपछि कांग्रेस पार्टीका तत्कालीन नेता राव वीरेन्द्र सिंह उनलाई लिएर चण्डीगढ पुगे र पत्रकार सम्मेलन गरे ।
रावले उक्त पत्रकार सम्मेलनमा भनेका थिए, “गयारामजी अब आयाराम हुन् ।”
यो घटनापछि भारतीय राजनीतिमा पार्टी बदल्नेलाई ‘आयाराम गयाराम’ वाक्य प्रयोग हुन थालेको हो । भारतीय राजनीतिको यही ‘आयाराम गयाराम’ नेपालमा पनि प्रयोग गरिन थालेको हो ।
एमालेले गत स्थानीय चुनावअघिदेखि नै सत्तारुढ पाँच दलीय गठबन्धनलाई चुनौती दिन पार्टी प्रवेशको अभियान नै चलायो । जहाँ जसले जित्न सक्छ, उसैलाई टिकट दिने नीतिअनुसार नवप्रवेशीलाई पनि टिकट दियो । गत स्थानीय चुनावमा पनि वीरगञ्ज महानगरको मेयर नै नवप्रवेशी विजय सरावगीलाई दिएको थियो ।
सबै पार्टी, समभाव
संसदीय चुनावको गठबन्धन र टिकट वितरणले सबै पार्टी समान देखिएका छन् । को राजावादी, को संवद्र्धनवादी वा माओवादी ? को संसद्वादी, को जनवादी ? सबै समभावका दल देखिएका छन् ।
संवैधानिक राजतन्त्र फिर्ता गर्ने मूल लक्ष्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), एमालेलाई मधेशविरोधीको आरोप लगाइरहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले एमालेसँग तालमेल गरेका छन् । अझ राप्रपा नेपालका अध्यक्ष कमल थापा त सूर्य चिह्नबाटै चुनाव लडेका छन् ।
चुनावका लागि बनेका दुवै गठबन्धन केवल बढी सिट हासिल गर्ने रणनीतिअनुसार बनेका हुन् । यी दुवै गठबन्धन विशुद्ध अवसरका लागि बनेका ‘अवसरवादी गठबन्धन’ हुन् ।
सत्तारुढ पाँचदलीय गठबन्धनमा कांग्रेससँग तीनवटा कम्युनिष्ट पार्टीहरू–माओवादीकेन्द्र, एकीकृत समाजवादी र नेकपा मसालको चुनावी मोर्चा राजमो छन् । त्यसमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि थपिएको छ ।
संसदीय व्यवस्था र मूलतः त्यस बेलाको नेपाली कांग्रेसविरुद्ध दशवर्षे ‘सशस्त्र जनयुद्ध’ गरेको माओवादी केन्द्रले कांग्रेससँग गठबन्धन गरेको छ । पछिल्लो समयसम्म एमालेसँग नजिक देखिएको लोसपा आफूबाट फुटेको जसपा एमालेसँग निकट भएलगत्तै कांग्रेस नेतृत्वको गठबन्धनमा पुगेको छ ।
तीन वर्षसम्म एकै पार्टी भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आवद्ध एमाले, माओवादी र एकीकृत समाजवादी सिद्धान्ततः सबैभन्दा नजिक हुनुपर्ने हो ।
मधेशी वामपन्थी दल जसपा पनि कम्युनिष्टसँगै निकट हुनुपर्ने हो । अनि कांग्रेस, राप्रपा र मधेशको संसद्वादी पार्टी लोसपा एक ठाउँमा हुनुपर्ने हो । जुन जताबाट बढी सिट आउँछ, त्यतै जोडिएको देखिन्छ । यो चुनावपछि सरकार निर्माणदेखि नै भत्किन थाल्ने खतरा छ ।