आदरणीय सभापति देउवा ज्यू,
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तपाईँको उचाइबाट हेर्दा एउटा अदना मान्छे तपाईँलाई प्रेमपत्र लेख्दैछु ।
सभापतिसँग राजनीतिक कुरा गर्नुछ । त्यसअघि मेरा मानसिकताको तथ्य बताउनु छ । म आत्मप्रचारमुखी होइन तपाईँजस्तै । मैले झन्डै तीन वर्ष अघिदेखि नेपालको अग्रणी सञ्चारप्रवाह बाह्रखरी इपत्रिका (अनलाइन)मा लेखिरहने सौभाग्य पाएको छु । ‘म, मेरो र मैलै’ लेख्न प्रायः लजाएको छु । आज भने त्यो लाज त्यागेर प्रायः ‘म’सम्बोधनमै धेरै लेख्न चाहन्छु । क्षमा गर्नुहोला, कारण छ ।
प्रेमपत्र, अनौठो लाग्यो होला ? प्रेम कुनै उत्तेजनाको पनि होइन र वयको भावुकता पनि होइन । तर राजनीतिक सोचको सान्निध्यताको भावुकता चाहिँ हो, आदरणीय सभापति ज्यू । राजनीतिक समाजमा आएको विद्रोही चेतको अन्जान, अनभिज्ञ तपाईँ पक्कै होइन भन्ने लागेर स्नेहपूर्वक यो प्रेमपत्र लेखेको हुँ । मेरो सिद्धान्त, निष्ठा र प्रतिबद्धताको डोरी समाउने सुयोग प्राप्त तपाईँलाई यही कारण प्रेमपत्र लेखेको हुँ । कुनै आकर्षण, लोभ र लालसाले भरिएको कसैले पनि यति क्षुब्ध प्रेमपत्र लेख्दैन । प्रेमपत्रको चिन्ता पदको खातिर पार्टी नडुबोस् भन्ने चाहिँ हो ।
कांग्रेस सभापति देउवाज्यू तपाईँ घर मिलाउन सक्नुहुन्न भने पर कसोरी मिलाउनु हुन्छ ? ‘नमिलेको घर भित्रभित्रै चर’ भन्ने बराजु सन्देश डडेल्धुरातिर तपाईँले पनि अवश्य सुन्नुभएको थियो होला । सुन्नुमात्र भएन होला सुनेपछि बुझ्ने कुरा पनि बुझ्नु भएकै होला ? यो बुझ्न अप्ठ्यारो लाग्यो भने तपाईँले कण्ठ पारेको ‘भाइ फुटे गँवार लुटे’ त सम्झनु भएकै होला ?
यी पंक्तिमा आज मैले दुईटा कुरामा बडो धृष्टता गरेको छु । त्यसैले सुरुमै क्षमाप्रार्थी भएको हुँ । पहिलो नेपाली लोकतान्त्रिक यात्राका धरोहर शेरबहादुर देउवालाई प्रेमपत्रमार्फत चेतावनी दिने कोसिस गरेको छु । त्यतिमात्रै किन, हप्काउने हैसियत ओकलेको छु । यतिमात्रै पनि होइन उहाँले बिर्सिएको दायित्व बोध गराउने जमर्को गरेको छु ।
भनिन्छ नि हिन्दी उखानमा–‘छोटी मुह बडी बात’ हो यस्तै सम्झिए मैले त्यही गरेको छु । सभापति जी अन्यथा नमान्नु होला । एउटा हिम्मतिलो शुभचिन्तकले प्रजातन्त्र वा लोकतन्त्रको हिमायती कांग्रेसले सही बाटो लिए देश, प्रजातन्त्र र विकास वा समृद्धिले सही बाटो लिन्छ भन्ने मान्यता व्यक्त गर्दैछ । आत्मविश्वासी ‘म’ बीपी कोइरालाको शिष्य यो पंक्ति लेख्दै छ र तपाईँलाई दायित्वको अर्ती दिदैछ । मेरोलागि प्रजातन्त्रको यो मुक्त र निर्बाध अवसर हो ।
सभापति देउवा तपाईँसँग एउटा वा हजारौँ अपेक्षा छ – त्यो हो पार्टीमा अभिभावकत्व लिनोस्, बुझ्नोस् । यसलाई एउटा मान्नोस् कि हजारौँ दायित्व ? त्यो तपाईँको दृष्टि स्वतन्त्रता हो । श्री देउवा तपाईँ एकपक्षीय हुन पाउनुहुन्छ, प्रजातान्त्रिक स्वतन्त्रता छ । तर, सभापति देउवालाई चाहिँ एकपक्षीय हुने छुट, अधिकार र दायित्व छैन, यति त बुझ्नुभएकै होला ?
के यस्तो पक्षपात गर्नुभएको सभापति देउवा ? प्रजातन्त्र के प्रतिपक्षलाई अस्वीकृत गरेर चल्नसक्ने मान्यता हो ? के भन्छ तपाईँले प्रजातन्त्रमा लिएको, पाएको वा बुझेको प्रशिक्षणले ? बीपीले सिकाएको कार्यशैली यही वा यस्तै हो ? हेर्दै थिएँ, बुझ्दै थिएँ प्रतिस्पर्धी नेता शेखर कोइरालालाई अवश्य समेट्नु हुन्छ लागेको भरोसा थियो । आज शेखरदा नै भन्छु उहाँलाई महाधिवेशनमा मत दिनेहरुलाई पनि पक्कै समेट्नु हुन्छ भन्नेमा विश्वस्त थिएँ ।
हेर्दाहेर्दै विश्वास भंग भयो । लेख्नै पर्ने लाग्यो । प्रजातन्त्रले, महामना बीपीले अन्याय स्वीकार्ने कार्यकर्ता होइन, दास हो भन्नुभएको सम्झेँ । धैर्य टुट्यो त्यसैले लेख्दैछु । तपाईँले पार्टीमा गरेको अन्यायप्रति बोल्दैछु । रिस उठे दण्ड दिनोस् । दण्ड भोग्न तयार छु । तर म तपाईको अवाञ्छित कृत्यको कार्यकर्ता होइन । यो पनि स्पष्ट बुझ्नु होला र अर्को पनि बुझ्नु होला यति स्पष्ट भन्ने हिम्मतको शुभचिन्तक अर्को छैन ।
मलाई थाहा छ । सभापति जी तपाईँको चण्डाल चौकडीभित्रमा यो सत्य तपाईँलाई बताउने कोही छैन ? र ‘कुले’ले यस्तो लेखेछ भनेर सुनाउने बहादुर पनि त्यहाँ छैन । थाहा छ तपाईँ पढ्नुहुन्न । अर्थात्, जे छ त्यो भनिदिने बहादुर तपाईँसँग छैन । बहादुर तपाईँ मात्र हो थप ‘शेर’ जोडिएको बहादुर, अर्थात् शेरबहादुर ।
आदरणीय सभापति देउवा तपाईँ सभापति निर्वाचित भएपछि किन शेखर दालाई केन्द्रिय सदस्य मनोनीत गर्न वा त्यो विधानले तय गरेको व्यवस्था स्वीकृत गर्न आलटाल र ढिलाइ गर्नुभयो ? उनी पक्षीय नेतालाई अहिलेसम्म किन केन्द्रीय सदस्य मनोनीत गर्न कन्जुस्याइँ गर्नुभयो ? सबै ठाउँ वा विभाग वा केन्द्रीय सदस्य र भातृसंस्थामा किन आफ्नालाई मात्रै नियुक्ति दिनुभयो ? के शेखर कोइरालाको समूह कांग्रेस होइन ?
संसदीय बोर्डमा पनि शेखरलाई स्थान दिनुभएन । शेखर कोइराला पक्षका सबै प्रतिनिधिपात्र अयोग्य हुन् कि ? यो प्रश्नको उत्तर दिनसक्नु हुन्छ सभापति जी ? पक्कै सक्नुहुन्न । किनभने तपाईँ अन्यायको सत्ता सबार हुनुहुन्छ ।
आज म लामो लेख्दिन । बुझ्नेले ‘जुँगा चल्यो कुरा बुझ्यो’ भन्ने हाम्रो प्रसिद्ध भनाइ छ । तर, तीनओटा कुरा सूत्रबद्ध राख्न चाहन्छु – पहिलो कांग्रेसलाई एकढिक्का बनाउनुपर्छ र चुनावी अवसर प्रायः समान वितरण हुनुपर्छ । अन्यथा विद्रोहको चेतावनी छ । त्यो कुनै दिन कांग्रेस पार्टी विभाजित गरेका देउवाले आगामी दोष पुनः कांग्रेस विभाजन गरेको लिनुपर्छ ।
अहिलेको कथित गठबन्धन आफ्नै पार्टी फुटाउने हतियारमा सभापति देउवाले प्रयोग गर्नु हुँदैन । घरका पराइ र पराइहरु घरका हुनै सक्दैनन् । सभापतिले सुझबुझ नराखे वा पार्टीका साथीलाई पेल्ने नै रबैया अख्तियार गरे नेपाली कांग्रेसको हार निश्चित छ र विभाजन पनि सम्भव ?
अर्को नेपाल कम्युनिस्ट पार्टी (एमाले) यो व्यवस्था, संविधान र यसका मूलभूत मान्यता भत्काउन उद्यत रहेको जगजाहेर भइसकेको छ । थप भन्नु परोइन । उदाहरण राष्ट्रपति पदमा आसीन विद्यादेवी भण्डारीको भूमिका, अनधिकृत चेष्टा गर्ने राट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको प्रयत्न र यस्तै उपद्रोलाई प्रोत्साहित गर्दै आएका एमाले अध्यक्ष केपीशर्मा ओलीको पारम्पारिक ध्येयको समन्वित परिणाम हुन्छ के ? नियत के ? हलेदो भनेर चिनेपछि भन्नोस् कति कोट्याउने ?
अन्त्यमा, नेपाली कांग्रेसका सभापति देउवा दाइ माथि चाण्डाल चौकडीको कुरा आयो । इतिहास भन्छ – कम्युनिस्ट तानाशाह माओ त्सेतुङकी पत्नी र अरु तीन कम्युनिस्ट नेता गरी चौकडी थियो । अन्यायी भएकाले त्यसलाई ‘चण्डाल चौकडी’ पुकारियो । देउवा ज्यू तपाईँको पनि त्यस्तै चौकडी छ रे चण्डाल तपाईँ त्यसको बन्दी ?
माओकी श्रीमती सञ्चालित चीनको त्यही चाण्डाल समूहले सांस्कृतिक विद्रोहको नाममा स्वतन्त्र मान्यता राख्ने हजारौं हजार बौद्धिक नागरिकको हत्या गरेको थियो ? सभापति देउवा ज्यू तपाईँ त्यो बाटोमा पक्कै हुनुहुन्न मेरो विश्वास छ । प्रजातन्त्र आत्मस्वीकृतिको लयमा हिँड्छ, आत्मघाती बाटोमा होइन ।
प्रेमपत्रको मर्म नेपाली कांग्रेस बचोस्, बाँचोस् र बचाओस् भन्ने मात्र हो ।