site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
‘नेपालको महिला र पुरुष टिमले २०२५ सम्म साफको उपाधि जित्छ !’ 

काठमाडौं । भारतविरुद्ध रश्मीकुमारी घिसिङले गोल गर्दा साढे सात हजार दर्शकले जसरी दशरथ रंगशाला जुरुक्कै उचालिएको जस्तो माहोल बनाए, बंगलादेशविरुद्ध भने झन्डै १६ हजार दर्शक त्यही रंगशालामा स्तब्ध भए । पूरा खेल नसकिँदै धेरै समर्थकले रंगशाला छाडे ।

फाइनलपछि नेपालका तीन खेलाडीले सन्न्यास लिने बताइएको थियो । समर्थकले तीन खेलाडीलाई बिदाइ गर्ने धैर्य राख्न सकेनन् । कारण, नेपालले पहिलो हाफमा दुई गोल खाइसकेकोे थियो । अनिता बस्नेतले ७०औँ मिनेटमा गोल गरेर केही आशा जगाएकी थिइन् । तर, त्यसको सात मिनेट बित्न नपाउँदै बंगलादेशकी श्रीमोतीकृष्णरानी सरकारले अर्को गोल थपेपछि नेपालको आशा समाप्त भएको थियो ।

नेपाली महिला टोली पुनः ऐतिहासिक उपलब्धिनजिक पुगेर चुक्यो । भारतलाई हराउँदै उच्च मनोबल बनाएको नेपाली टोली साफ महिला च्याम्पियनसिपको फाइनलमा नयाँ प्रतिद्वन्द्वी बंंगलादेशसँग पराजित भयो । यसअघि, नेपाल चारपटक फाइनलमा भारतसँग पराजित भएको थियो । एकपटक सेमिफाइनलबाट बाहिरिएको थियो ।

Dabur Nepal
NIC Asia

दक्षिण एसियाली महिला फुटबलमा सधैँ भारत र नेपालको दबदबा थियो । योपटक बंगलादेशले त्यसलाई चिर्न सफल भयो । जसलाई नेपालका मुख्य प्रशिक्षक कुमार थापाले पनि स्वीकार गरेका छन् ।

फाइनलपछि थापाले भनेका थिए, “बंगलादेश धेरै राम्रो देखिएको छ । बंगलादेशको उदय हामीले स्वीकार गर्नुपर्छ । चुनौती अझै थपिएको छ । अब एन्फाले योजना बनाउनुपर्छ ।”

प्रशिक्षक थापाले सात हप्ताको प्रशिक्षण समय पाएको बताए । सात साताको प्रशिक्षण थाल्नुअघि नेपाली टोलीले एक महिना बन्द प्रशिक्षण गरेको थियो । त्यो प्रशिक्षण राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एसियन गेम्सको तयारीका लागि गराएको थियो । एसियन गेम्सको तयारीमा बालगोपाल महर्जनले टिम हेरेका थिए । एन्फाले त्यसबीचमा महर्जनको स्थानमा थापालाई ल्याएको थियो ।

प्रतियोगितामा दर्शकको उपस्थित देखेर उत्साहित भएको एन्फाका महासचिव किरण राईले भने आफूहरूसँग महिला फुटबललाई अघि बढाउने योजना रहेको जिकिर गरे ।

“अहिले एन्फा राजनीतिक र सामाजिक रूपमा रूपान्तरणको चरणमा छ । परिणामबाहेक अन्य सबै हिसाबले सानदार र भव्यताका साथ प्रतियोगिता सम्पन्न भएको छ,” एन्फा महासचिव राईले थपे, “बंगलादेशले नयाँ ढंगले केही काम गरेका कारण नेपाल पूर्ण रूपमा इतिहास रच्ने कुरामा सफल भएन । आगामी दिनमा हामीले यस कुरालाई ध्यान दिएर अबको साधारणसभाबाट महिला फुटबल विकासका योजना पास गर्नेछौँ । (सन्) २०२५ सम्म नेपालको महिला र पुरुष दुवै टोलीले साफ च्याम्पियनसिपको उपाधि जित्ने वातावरण बनाउनेछौँ ।”

महासचिव राईले अबका तीन वर्षपछि साफको उपाधि जित्ने दाबी गरिरहे पनि एन्फाले बीचमै रोकिएको महिला लिग अझै सम्पन्न गर्न सकेको छैन । महिला लिगमा पहिलो चरणका खेल चितवनमा सम्पन्न भए । दोस्रो चरणका खेल विराटनगरमा गर्ने एन्फाले जनाएको थियो । तर, बाँकी लिग सम्पन्न गर्नेबारे अहिलेसम्म कुनै कदम चालेको देखिएको छैन ।

दसैँ सम्मुखमा छ । दसैँलगत्तै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता छ । त्यसपछि तिहार छ । तिहारपछि विश्वकप फुटबलको महोल हुन्छ । त्यहीबीचमा एन्फाले एनएसएल आयोजनाको मिति तोकेको छ । त्यसकारण महिला लिग अझै एन्फाको प्राथमिकतामा परेको देखिँदैन । तर, एन्फा महासचिव भने यसैबीचमा महिला लिग सकेर पनि अर्को सुरु हुने जिकिर गर्छन् ।

“लिग त अब तिहार पछाडि सकेर पनि अर्को सिजनको लिग सुरु हुन्छ,” महासचिव राईल दाबी गरे, “महिला लिग तथा महिला फुटबल गतिविधिमा कुनै कमी हुन दिने छैनौँ । महिला र पुरुष दुवै फुटबललाई अघि बढाउने हो । हाम्रोमा सम्भावना पुरुषमा भन्दा महिला फुटबलमा चाँडै सफलता हासिल गर्ने देखिएको छ । त्यसकारण पनि महिला फुटबलमा लगानी बढाउँछौँ । कार्यक्रमहरू ल्याउनेछौँ ।”

बंगलादेशले यसअघि साफमा न भारतलाई हराउन सकेको थियो न नेपाललाई । तर, योपटक बंगलादेशको वेग उपाधि उचालेर मात्र रोकियो । योसँगै दक्षिण एसियाली महिला फुटबलमा बंगलादेशमा बलियो रूपमा उदाएको छ । बंगलादेशले यो सफलता त्यसै हासिल गरेको होइन । उसले यसका लागि लामो समयदेखि मिहिनेत गरेको छ । लगानी गरेको छ । योजनाबद्ध ढंगले काम गरेको छ । र, अन्ततः उसले त्यसको फल पाएको छ । च्याम्पियन बनेको छ ।

सन् २०१५ मा बंगलादेशले काठमाडौंमै एएफसी यू–१४ महिला रिजनल च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यस प्रतियोगिताका लागि बंगलादेशले देशभरबाट प्रतिभा छनोट गर्नका लागि ‘बंगमाता नेसनल प्राइमरी स्कुल च्याम्पियनसिप’ आयोजना गरेको थियो । र, त्यसलाई निरन्तरता दियो । यसबीचमा लाखौँ युवा खेलाडीहरू यसमा सहभागी भइसकेका छन् ।

झन्डै एक वर्षको आवासीय प्रशिक्षणबाट उत्कृष्ट खेलाडी छनोट गर्‍यो । बंगलादेशले २०१६ मा एएफसी यू–१६ महिला च्याम्पियनसिप खेल्यो । तर, थाइल्यान्डमा सम्पन्न प्रतियोगितामा नराम्ररी पराजित भयो । नहोस् पनि किन, बंगलादेश रहेको समूह ‘बी’मा एसियाली फुटबलका पावरहाउस जापान, अष्ट्रेलिया र उत्तर कोरिया परेका थिए ।

उत्तर कोरियासँग नौ गोल खाएको बंगलादेश जापानसँग ३–० र अष्ट्रेलियासँग ३–२ ले पराजित भयो । त्यसपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना आफैँले चासो राखिन् । शेखको पारिवारिक वातावरण पनि खेलकुदमय छ । त्यसको प्रभाव शेखमा नपर्ने कुरै भएन । प्रधानमन्त्रीको स्तरबाटै चासो बढेपछि बंगलादेशको महिला फुटबलमा लगानी पनि बढ्यो ।

यसलगत्तै बंगलादेश फुटबल संघले विभिन्न उमेर समूहका खेलाडीलाई आवासीय क्याम्पमा राख्यो । खेलाडीसँग सम्झैता गरेर नियमित मासिक तलब दिन थाल्यो । अहिले टिममा भएका खेलाडीहरू विगत ६ वर्षदेखि सँगै छन् । सँगै खेलेका छन् । यो टिमलाई सुरुबाट नै गोलम रब्बानी छोटोनले प्रशिक्षण दिएका छन् । उनीहरूले उमेर समूहमा विभिन्न सफलता हासिल गरेका छन् । र, अहिले साफको उपाधि उचाल्न सफल भएका छन् ।

नेपालमा भने स्थिति ठ्याक्कै उल्टो छ । पुरुष फुटबलमा पूर्वकार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा हुने यू–१८ प्रतियोगिता नभएको चार वर्ष भइसकेको छ । त्यसकारण नेपालले यू–२०, यू–१७ र यू–१५ को टिम बनाउँदा आह्वान गरेर खेलाडी छनोट गरी बनाउनुपरेको थियो । पुरुषकै हालत त त्यो छ, महिलाको स्थिति कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ ।

महिला फुटबलको स्थितिबारे प्रशिक्षक थापाले पनि केही उजागर गरेका थिए । उनले भनेका थिए, “तीन विभागीय टिमले मात्र नेपालको महिला फुटबल टिम धान्न सक्दैन । अब एन्फाले दीर्घकालीन योजना बनाउनु आवश्यक छ । होइन भने अब फाइनलको यात्रा पनि कठिन बन्ने देखिन्छ ।”

साफ महिला च्याम्पियनसिप–२०२२ को टेक्निकल कमिटीका संयोजक कृष्ण थापा पनि अब दीर्घकालीन योजना आवश्यक रहेको बताउँछन् । उनी भन्छन्, “विराटनगरमा भन्दा अहिले हाम्रो स्तर बढेको छ । तर, अब यतिले मात्र पुग्दैन । अब दीर्घकालीन योजना बनाउन आवश्यक छ । प्राविधिक मानव संशाधन बढाएर महिलाको पनि एकेडेमी बनाउन आवश्यक छ ।”

प्रशिक्षक थापा र टेक्निकल कमिटीका संयोजक थापाको भनाइमा महासचिव राई पनि सहमत छन् । तर, उनले त्यसको दोष अघिल्लो नेतृत्वलाई दिए । उनले बाह्रखरीसँगको कुराकानीमा भने, “हिजो साथीहरूले रणनीतिक रूपमा तयारी नगरिदिएका कारण यस्तो समस्या आयो ।”

एन्फाको विशेष साधारणसभा यही असोज १२ गते हुँदै छ । तर, उक्त साधारणसभा बाँकी दुई केन्द्रीय सदस्य निर्वाचित गर्ने मुख्य उद्देश्यका साथ बोलाइएको छ । गएको असार ६ गते सम्पन्न निर्वाचनमा चार सदस्यको मत बराबर भएपछि फेरि साधारणसभा बोलाएर निर्वाचन गर्न लागिएको हो । त्यही साधारणसभाबाट महिला विकासको योजना पनि पारित गरिने महासचिव राई बताउँछन् ।

“युथ डेभलपमेन्टमा अहिलेसम्म हाम्रो ध्यान पुगेको छैन । ग्रासरुट फुटबल तथा उमेर समूहको ट्रेनिङ सेन्टरहरू चलाउने योजनामा छौँ । महिला एकेडेमीहरू सञ्चालन गर्ने योजना बनाएका छौँ । यसलाई आगामी साधारणसभाबाट पारित गरेर अघि बढ्नेछौँ,” उनले थपे, “अब कम्तीमा ५०० देखि एक हजार महिला तथा पुरुष युवा खेलाडी ब्याकअपमा राख्ने गरी काम गर्नेछौँ ।”

नेपाली टोलीले साफअघि कुनै मैत्रीपूर्ण खेल खेलेन । एक महिना एसियन गेम्सको तयारी र सात साताको साफ तयारी नै नेपालको तयारी हो । नेपालकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले फाइनलपछि टिममा ‘अनुभव तथा म्याच एक्पोजर’को कमी भएको बताएकी थिइन् । तर, एन्फा महासचिव राई उपाधि चुम्न नसक्नुमा त्यो मात्र कारण नभएको बताउँछन् ।

“युद्ध र खेलमा जित भयो भने सबै कुरा माफ हुन्छ । जब हारिन्छ, त्यसपछि सानो–सानो कुरा पनि खोतल्ने काम हुन्छ । त्यसलाई अस्वाभाविक रूपमा लिन्नँ,” उनले अघिल्लो नेतृत्वतर्फ संकेत गर्दै भने, “पराजित हुनुको धेरै कारण छन् । खाली म्याच एक्सपोजरको मात्र कुरा होइन । पूर्वतयारीका कुरा छन् । रणनीतिक तयारीलगायत धेरै कुरा छन् । विभिन्न कमजोरी भएका छन् । सबै कुरा हामीले नोट गरेका छौँ । अबका दिनमा सुधार गर्नेछौँ । अघि भनेजस्तै २०२५ सम्म साफको उपाधि जित्नेछौँ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro