
काठमाडौं । लुम्बिनी प्रदेशको टोली यू–१४ एथलेटिक्सको च्याम्पियन बनेको छ । लुम्बिनी सर्वाधिक चार स्वर्ण जित्दै च्याम्पियन बनेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा भएको राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गतको प्रतियोगितामा कर्णाली प्रदेश दुई स्वर्ण र पाँच रजतका साथ दोस्रो भयो । गण्डकी र मधेस प्रदेश समान दुई स्वर्ण, एक रजत र एक कास्यका साथ संयुक्त रूपमा तेस्रो भए । १२ स्वर्णका लागि प्रतिस्पर्धा भएकामा वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशले समान एक–एक स्वर्ण जिते ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दोस्रो तथा अन्तिम दिन छात्र/छात्रामा समान तीन–तीन गरी ६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।
छात्र २०० मिटरमा गण्डकीका हेमराज चौधरी पहिलो भए । उनले निर्धारित दुरी २४ दशमलव नौ सेकेन्डमा पूरा गरे । मधेसका आयुश चौधरी दोस्रो तथा कोसीका नितेश भट्टराई तेस्रो भए ।
सोही स्पर्धाको छात्रामा लुम्बिनीकी अनुजा थारु चौधरी पहिलो भइन् । अनुजाले निर्धारित दुरी तय गर्न ३१ दशमलव चार सेकेन्ड समय खर्चिन् । कोसीकी अस्मिता लाम्गाडे दोस्रो तथा मधेसकी वर्षा योञ्जन तेस्रो बनिन् ।
नेपालय इन्टरनेसनल म्यानेजमेन्ट प्रालिको सहआयोजना तथा नेपाल विद्यालय खेलकुद महासंघको संयोजनमा भएको प्रतियोगिताको छात्र ८०० मिटर दौडमा वाग्मतीका हस्त सुनारले स्वर्ण जिते । उनले दुई मिनेट ७ दशमलव चार सेकेन्ड समय निकाले ।
कर्णालीका विवेक बोगटीले रजत तथा कोसीका नितेश भट्टराईले कास्य हात पारे । उक्त स्पर्धाको छात्रामा लुम्बिनीकी चाँदनी पासी दुई मिनेट ४७ दशमलव तीन सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन् । कोसीकी जुही राई दोस्रो तथा सुदूरपश्चिमकी रचना बोहरा तेस्रो भए ।
छात्र चार गुणा १०० मिटर रिलेमा मधेस पहिलो, कोसी दोस्रो र गण्डकी तेस्रो स्थानमा रहे । त्यसै स्पर्धाको छात्रामा लुम्बिनी, कर्णाली र कोसीले क्रमशः शीर्ष तीन स्थान हात पारे ।