काठमाडौं । बंगलादेशलाई नयाँ च्याम्पियन बनाउँदै साफ महिला च्याम्पियनसिपको छैटौँ संस्करण सोमबार काठमाडौंको दशरथ रंगशालामा सकिएको छ । नेपाली टोली पुनः एकपटक उपाधिको नजिक पुगेर रोकिएको छ ।
दोस्रो पटक घरमा आयोजना भएको प्रतियोगितामा नेपाललाई उपाधि जित्ने स्वर्णिम अवसर थियो । तर, त्यो अवसरमा नेपाल बंगलादेशसँग स्तब्ध बन्यो ।
नेपाल उपविजेतामा सीमित भएको यो पाँचौँ पटक हो । नेपालले एक पटकमात्र फाइनल खेलेको छैन, २०१६ मा । त्यतिबेला पनि बंगलादेशले फाइनल खेलेको थियो र भारतसँग पराजित भएको थियो ।
यसपटक बंगलादेशको गतिलाई कसैले रोक्न सकेन । लगातार पाँच पटकको विजेता भारत होस् या चार पटकको उपविजेता नेपाल ।
बंगलादेशले यसअघि साफमा न भारतलाई हराउन सकेको थियो, न नेपाललाई । तर, यसपटक बंगलादेशको वेग उपाधि उचालेरमात्र रोकिएको छ । यससँगै दक्षिण एसियाली महिला फुटबलमा बंगलादेशले बलियो धावा बोलेको छ ।
महिला साफ भन्ने बित्तिकै ‘फाइनल खेल्ने भारत र नेपाल’ हुन् भन्ने हुन्थ्यो । तर, अब त्यसमा बंगलादेश थपिएको छ । यससँगै प्रतियोगिताको स्तर पनि बढेको छ ।
यसलाई नेपालका प्रशिक्षक कुमार थापाले पनि स्वीकार गरेका छन् । फाइनलपछि थापाले भने, “बंगलादेश धेरै राम्रो भएको छ । अर्को समूहमा परेरमात्र हामीलाई केही सहज भयो । होइन भने धेरै गाह्रो हुन्थ्यो ।”
बंगलादेशले यो सफलता त्यसै हासिल गरेको होइन । उसले यसका लागि लामो समयदेखि मिहिनेत गरेको छ । लगानी गरेको छ । योजनाबद्ध ढंगले काम गरेको छ । र, अन्ततः उसले त्यसको फल पाएको छ । च्याम्पियन बनेको छ ।
२०१५ मा बंगलादेशले काठमाडौंमै एएफसी यू–१४ महिला रिजनल च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यस प्रतियोगिताको लागि बंगलादेशले देशभरबाट प्रतिभा छनोट गर्नका लागि ‘बंगमाता नेसनल प्राइमरी स्कुल च्याम्पियनसिप’ प्रतियोगिता आयोजना गरेको थियो । र, त्यसलाई निरन्तरता दियो । यस बीचमा लाखौँ युवा खेलाडीहरू यसमा सहभागी भइसकेका छन् ।
झन्डै एक वर्षको आवासीय प्रशिक्षणबाट उत्कृष्ट खेलाडी छनोट गर्यो । बंगलादेशले २०१६ मा एएफसी यू–१६ महिला च्याम्पियनसिप खेल्यो । तर, थाइल्यान्डमा सम्पन्न प्रतियोगितामा बंगलादेश नराम्ररी पराजित भयो । नहोस् पनि किन ? बंगलादेश रहेको समूह ‘बी’मा एसियाली फुटबलका पावर हाउस जापान, अस्ट्रेलिया र उत्तर कोरिया परेका थिए ।
उत्तर कोरियासँग ९ गोल खाएको बंगलादेश जापानसँग ३–० र अष्ट्रेलियासँग ३–२ ले पराजित भयो ।
त्यसपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना आफैले चासो राखिन् । शेख हसिनाको पारिवारिक वातावरण पनि खेलकुदमय छ । त्यसको प्रभाव शेख हसिनामा नपर्ने त कुरै भएन ।
यसलगत्तै बंगलादेश फुटबल संघले विभिन्न उमेर समूहका खेलाडीलाई आवासीय क्याम्पमा राख्यो । खेलाडीसँग सम्झैता गरेर नियमित मासिक तलब दिन थाल्यो । अहिले टिममा भएका खेलाडीहरू विगत ६ वर्षदेखि सँगै छन् । यो टिमलाई गोलम रब्बानी छोटोनले प्रशिक्षण दिएका छन् ।
सोमबार उपाधि उचालेपछि बंगलादेशका प्रशिक्षक छोटोनले भने, “हाम्रो यो अभियान २०१६ बाट नै सुरु भएको थियो । अहिले दक्षिण एसियामा नम्बर वान भएका छौँ । यस क्षेत्रमा भारत र नेपाल सबै बलियो टिम हो । तर, अब बंगलादेशले पनि सुधार गर्दै आएको छ ।”
तयारी राम्रो गरेका थिए । त्यसकारण त उनीहरूमा मनोबल पनि उच्च थियो । प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने, फाइनलमा प्लेयर अफ दी म्याच घाोषित तथा प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित कप्तान सविना खातुनले भनिन्, “फाइनल पुग्छौँ भनेर त हामीले ढाकामै विश्वस्त थियौैँ । उपाधि जितेर हामीले लक्ष्य पूरा गरेका छौँ ।”
बंगलादेशले जसरी लगानी गरेको छ । नेपालको हालत ठीक विपरीत छ । नेपालले बल्लबल्ल हुने महिला लिग पूरा गर्न सकेको छैन । त्यो पूरा गर्नुपर्छ भन्ने अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वलाई लागेको छैन । लिग पनि नाम मात्रको छ । सिनियर टिमकै हालत त्यो छ भने उमेर समूहमा महिला फुटबलको स्थिति कस्तो छ भनी सहजै अनुमान लगाउन सकिन्छ ।
त्यसैले त फाइनलपछि नेपालका प्रशिक्षक थापाले पद त्यागको घोषणा गर्दै भने, “नेपालको महिला तीन विभागीय टोलीले धानेको छ । अरू टिमहरू पनि छन् । तर, मुख्य भनेको तीन विभागीय टोली नै हो । अब एन्फाले योजना बनाउनुपर्छ । पहिलो भारत थियो अब बंगलादेश पनि सशक्त भएर आएको छ । योजनाबद्ध रूपमा काम गर्न सकेनौँ भने कठिन छ । हामीसँग प्रतिभाको कमी छैन । तर, त्यसलाई निखार्न चाहिने वातावरणको खाँचो छ ।”
साफ च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग हारेको थिएन । त्यसैले पनि सेमिफाइनलमा भारतलाई पराजित गरिसकेपछि नेपालले घरेलु दर्शकको फाइदा उठाउँदै उपाधि जित्ने आशा सबैको थियो । तर, त्यसो भएन । रंगशालामा उपस्थित झन्डै १६ हजार दर्शकलाई निराश बनाउँदै बंगलादेशले उपाधि जित्यो । नेपाल ऐतिहासिक उपलब्धिबाट वञ्चित भयो ।
“उपाधि जित्न नसकेकोमा समर्थकसँग माफी माग्न चाहन्छु,” नेपालकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले पराजित हुनुको भित्री रहस्य उजागर गर्दै भनिन्, “हामीमा अनुभवको कमी देखियो । वर्षमा मुस्किलले एक दुई खेल खेल्न पाउँछौँ । भविष्यमा मैले अर्को साफ खेल्न सक्छु या सक्दिँन । तर, राम्रो नतिजा निकाल्ने हो भने धेरै भन्दा धेरै खेल खेल्नु आवश्यक छ ।”
नेपालका प्रशिक्षक र कप्तानको भनाइसँग फुटबल विज्ञ सञ्जिव मिश्र पनि सहमत छन् ।
लामो समयदेखि नेपाली फुटबललाई नजिकबाट नियालेका र नजिक रहेर काम गरेका मिश्र भन्छन्, “नेपालले भारतलाई हराएर एउटा इतिहास रच्न त सफल भयो । तर, कहिल्यै नहारेको बंगलोदशसँग पराजित भयो । नेपालको खेलमा सुधार देखिएको छ । तर, नेपालसँगै अन्य देशले पनि धेरै सुधार गरेका छन् । सधैँ फाइनलमा नेपाल र भारतको वर्चस्व हुन्थ्यो । अब बंगलादेश थपिएको छ । त्यसकारण फाइनल पुग्न पनि अब चुनौतीपूर्ण हुने देखिन्छ ।”
यसपटक साफमा बंगलादेश, भारत र नेपालबाहेक पाकिस्तान, भुटान, श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गरेका थिए । श्रीलंका र माल्दिभ्स तुलनात्मक रूपमा कमजोर देखिए । कमजोर मानिएको भुटानले सुधार गरेको प्रष्ट देखिएको छ । भुटानले पहिलो पटक सेमिफाइनलमा स्थान बनायो । समूह चरणमा श्रीलंकालाई ५–० ले हराउँदै भुटान सेमिफाइनलमा स्थान बनाउँन सफल भएको थियो । सेमिफाइनलमा भने भुटान बंगलादेशसँग निहिर देखियो ।
पाकिस्तान ८ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किएको हो । पाकिस्तानले पनि माल्दिभ्समाथि ७–० को विजय हासिल गर्न सफल भयो । यसबीचमा पटक पटक फिफाबाट प्रतिबन्ध खेपेको पाकिस्तानले अब सशक्त रूपमा प्रस्तुत हुने संकेत दिएको छ । १ जुलाई २०२२ मा प्रतिबन्धबाट फुकुवा भएपछि पाकिस्तान फुटबल संघले पनि आफ्नो गतिविधिलाई तीव्रता दिएको छ । भुटानले उत्तिकै लगानी गरेको छ । त्यसको प्रतिफल विस्तारै देखिन थालेको छ ।
त्यसो भए अब नेपालले के गर्नुपर्छ त ?
“तीन विभागीय टिममा निर्भर भएर पुग्दैन । क्लबहरूलाई महिला टिम बनाउन प्रोत्साहन गर्नुपर्छ । राम्रो र बलियो घरेलु संरचना बनाउनुपर्छ । धेरै भन्दा धेरै प्रतियोगिताहरू खेलाउनुपर्छ । जसका कारण धेरै भन्दा धेरै प्रतिभा आउन सकोस्,” फुटबल विज्ञ मिश्रले थपे, “घरेलु प्रतियोगिताबाट उत्पादित खेलाडीलाई धेरै भन्दा धेरै अन्तर्राष्ट्रिय एक्पोज दिनु जरुरी हुन्छ ।”