काठमाडौं । बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले सात वटा लघुबिमा कम्पनीलाई लाइसेन्स दिने भएको छ । समितिले शुक्रबार एक सूचना जारी गर्दै तीन वटा जीवन र चार वटा निर्जीवन लघुबिमा कम्पनीलाई लाइसेन्स दिने जानकारी दिएको हो ।
लघुबिमा कम्पनी सञ्चालन गर्न इच्छुक व्यक्ति तथा लगानीकर्ता संस्थाले समितिलाई सम्बोधन भएको सिलबन्दी प्रस्ताव पेस गर्नुपर्ने छ । लघुबीमा कम्पनीको चुक्तापुँजी प्रस्ताव गर्दा ७५ करोड रुपैयाँमा प्रस्ताव गर्नुपर्नेछ ।
प्रस्तावित संस्थापकहरूले एकै किसिमको बीमा व्यवसाय गर्ने बीमा कम्पनीमा प्रतिहिस्सेदारी (क्रस होल्डिङ) रहेको भए वा हुने गरी लगानी गर्न नपाइने सर्त छ । प्रस्तावका चरणमा बढी कम्पनी आए पनि उचित सात वटा कम्पनीलाई छनोट गरिने बताइएको छ ।
प्रस्ताव भदौ १० गतेदेखि ३५ दिनभित्र समितिमा बुझाउन सकिनेछ । प्रस्तावित लघुबिमा कम्पनीको कर्पाेरेट कार्यालय काठमाडौं उपत्यका बाहिर प्रदेश स्तरमा हुनुपर्ने व्यवस्था गरिएको छ । छनोट भएका प्रस्तावहरूमध्ये समितिले कुनै खास प्रदेशमा मुख्य कार्यालय रहने गरी तोक्न सक्नेछ ।
हालका जीवन र निर्जीवन बिमा कम्पनीहरूलाई लघुबिमा गर्न स्वीकृति दिएको भए पनि ती कम्पनीले अपेक्षित रूपमा लघुबिमा विस्तार गर्न नसकेकोले नयाँ लघुबिमा कम्पनीलाई लाइसेन्स दिन लागिएको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए ।
सञ्चालित जीवन र निर्जीवन बिमा कम्पनीले गरेको लघुबिमाको अवस्थालाई अध्ययन गर्दा यी कम्पनीहरूले लघुबिमा गर्न नसक्ने उनको बुझाइ छ । तर, अहिलेका बिमा कम्पनीलाई व्यवसाय कम भएको भन्दै मर्जरको बाटो अपनाएको बिमा समितिले लघुबिमाको नाममा लाइसेन्स वितरण गर्नु शंका गर्ने प्रशस्त ठाउँ रहेको जानकार बताउँछन् ।