site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेको सम्पूर्ण शक्ति चुनावमा– घोषणापत्रको मूल एजेन्डा ‘राष्ट्रिय स्वाभिमान रक्षा’
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ गठबन्धनसँग एक्लै चुनाव लड्न अघि बढेको नेकपा (एमाले) ले ‘राष्ट्रिय स्वाभिमानको रक्षा’ लाई मुख्य एजेन्डा बनाएर जनतासँग मत माग्ने तयारी गरेको छ । 

अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा बनाइएको घोषणापत्र मस्यौदा समितिले ‘राष्ट्रिय स्वाभिमानको रक्षा र सन्तुलित बाह्य सम्बन्ध’लाई उच्च प्राथमिकतामा राख्ने तयारी गरेको हो । एमालेले पार्टीका सबै कमिटीहरू र जनवर्गीय संगठनलाई ०७९ मंसिर ४ गतेका लागि घोषित चुनाव केन्द्रित भएर परिचालित हुन निर्देशनसहित यसअघि नै खटाइसकेको छ । 

एमाले केन्द्रीय सचिवालयको साउन २६ गते बसेको बैठकले अध्यक्ष ओलीलाई चुनावी ‘कमाण्डर’ तोकिसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त बैठकले चुनाव परिचालन कमिटीको संयोजक स्वयम् ओलीलाई बनाएको छ । त्यसलाई मंगलबार बस्ने स्थायी कमिटी बैठकले अनुमोदन गर्ने छ । 

चुनावको तयारीकै लागि एमालेले भदौ १० र ११ गते केन्द्रीय कमिटीको बैठक डाकिसकेको छ । उक्त बैठकले उमेदवारको मापदण्ड र उमेदवार चयनको प्रक्रिया निर्धारण गर्ने तयारी रहेको एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बाह्रखरीलाई जानकारी दिए । 

Global Ime bank

अध्यक्ष ओलीको संयोजकत्वमा गठित चुनाव परिचालन कमिटीको बैठक केन्द्रीय कमिटीको बैठक सकिएको भोलिपल्ट भदौ १२ गतेका लागि डाकिएको छ । उक्त कमिटीमा एमालेका सबै केन्द्रीय सदस्यहरू, केन्द्रीय निकाय, केन्द्रीय आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्ष र महासचिवहरू र केन्द्रीय विभागका सचिव रहने गरी यसअघि नै तोकिसकेको छ । उक्त बैठकमा ओलीले चुनाव जित्ने गरी अघि बढ्न निर्देशन दिने छन् । “एमाले यो हिसाबले पूर्ण रूपमा तयारीका साथ अघि बढ्दै छौँ,” ज्ञवालीले भने । 

घोषणापत्रको मूल विषय– राष्ट्रियता 

एमालेले घोषणापत्र मस्यौदा समिति पनि यसअघि नै अध्यक्ष ओलीको संयोजकत्वमा गठन गरिसकिएको छ जसमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल तथा उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल गरी आठ जना रहेका छन् । घोषणापत्रको प्रारम्भिक काम पार्टीको ‘थिङ्क ट्याङ्क’ को रुपमा रहेको नीति अनुसन्धान प्रतिष्ठानले गरिरहेको छ । 

एमालेको चुनावी घोषणापत्र मूलतः चार–पाँच वटा विषयमा केन्द्रित रहने छ जसमा राष्ट्रियता र लोकतन्त्रको रक्षा सबैभन्दा प्रवल ढंगले उठाउने तयारी एमालेको छ । 

“सरकार परिवर्तनसँगै पछिल्लो समय हाम्रा बाह्य सम्बन्धहरू, परराष्ट्र नीति सञ्चालन, र राष्ट्रिय हितको रक्षामा एकपछि अर्को चुनौती खडा हुँदै आएको छ,” घोषणापत्र तयारी समितिमा समेत रहेका उपमहासचिव ज्ञवालीले भने, “राष्ट्रिय स्वाभिमानको रक्षा र सन्तुलित बाह्य सम्बन्धको विषय उच्च प्राथमिकतामा राख्छौँ ।” 

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ताजा जनादेशमा जाने प्रयासलाई सर्वोच्च अदालतले दुई पटकसम्म रोकेको विषयलाई पनि जनतासमक्ष लैजाने छ । गठबन्धन बनाएर जनताको स्वतन्त्रतापूर्वक निर्णय गर्ने अधिकार कुण्ठित गर्न खोजेको एमालेले जोडदार रूपमा घोषणापत्रमा राख्ने छ । 

“संविधान कार्यान्वयन र लोकतन्त्रको आधारभूत स्तम्भहरूमै खलबल मच्चाउन थालिएको छ । गठबन्धनको नाममा जनताको स्वतन्त्र जनप्रतिनिधि छनौट गर्न पाउने अधिकार पनि बन्देज गर्ने कोसिस भएको छ,” उपमहासचिव ज्ञवालीले बाह्रखरीसँग भने, “नीतिहीन र सिद्धान्तहीन राजनीतितिर जसरी मुलुकलाई धकेल्ने काम भएको छ, हामीले त्यसको प्रतिवादमा नीतिमाथि आधारित स्वस्थ लोकतन्त्रको अभ्यासमा जोड दिने छौँ । संविधान र लोकतन्त्रमाथि भइरहेका प्रहारहरूलाई अन्त्य गर्ने कुरा घोषणापत्रमा गर्छौं ।”

त्यसपछि संविधान कार्यान्वयन, ‘समृद्ध नेपाल, सुखी नेपाली’ को यात्रा र सुशासनका विषयमा केन्द्रित रहने तयारी एमालेको रहेको छ । 

गत चुनावपछि प्रतिनिधिसभाका दुईतिहाई सदस्यको समर्थनमा सरकार बनेपछि ओली सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा अघि सारेको थियो । “समृद्ध नेपाल सुखी नेपालीको यात्रामा जुन तगारो खडा गरिएको छ, त्यो तगारो पन्छाउँदै दृढतापूर्वक अघि बढाउने छौँ भन्ने घोषणापत्रको अर्को प्राथमिकता हुनेछ,” ज्ञवालीले भने ।  

एमालेले सुशासनका विषयलाई जोड दिने पनि ज्ञवालीले जानकारी दिए । पाँच दलीय गठबन्धन सरकार बनाएर भ्रष्टाचार, महङ्गी बढाएको र बहुमतका नाममा जनतामाथि जबर्जस्ती शासन गरेको जस्ता आरोप एमालेको हुनेछ ।

“अहिलेको सरकारको प्रस्तुतिलाई उजागर गर्छौं, हामीले आफ्ना कुरा राख्छौँ । सुशासनमा कसरी बाधा सिर्जना भयो र बाधक को हुन भनेर चिन्ने गरी जनतामा कुरा राख्छौँ”, ज्ञवालीले भने । 

सिङ्गै नेतृत्व चुनाव लड्ने 

एमालेको सिङ्गै नेतृत्व चुनावी प्रतिस्पर्धामा उत्रने छ । ०१५ सालमा भएको पहिलो निर्वाचनमै एमालेको मातृपार्टी तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको सिङ्गै केन्द्रीय नेतृत्व चुनाव लडेको थियो, जसमध्ये चार सिट जितेको थियो । 

कम्युनिष्ट पार्टी फुटेर धेरैवटा भएपछि ०४८ चुनावदेखि एमाले अध्यक्ष, महासचिवदेखि सिङ्गै नेतृत्व चुनाव लड्दै आएको छ जुन यसपटक पनि निरन्तर हुने छ । एमाले स्थायी कमिटी सदस्यसमेत रहेका विदेश विभाग प्रमुख राजन भट्टराईले भने, “पार्टीको सिङ्गै शीर्ष नेतृत्व सम्पूर्ण तागतका साथ चुनाव लड्ने तयारीमा छौँ । यसमा कुनै द्विविधा छैन ।”

एमाले अध्यक्ष ओली झापा, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौँबाट चुनाव उठ्दै छन् भने उपाध्यक्षहरू सुवास नेम्वाङ इलाम, विष्णु पौडेल रुपन्देहीको यसअघि जितेको क्षेत्रबाटै चुनाव लड्ने निश्चित छ । त्यस्तै, यसअघि प्रदेशसभा चुनाव लडेका महासचिव शङ्कर पोखरेल दाङबाट प्रतिनिधिसभा निर्वाचन लड्दै छन् भने उपमहासचिवहरू प्रदीप ज्ञवाली गुल्मी, पृथ्वी सुब्बा गुरूङ लमजुङबाट लड्दै छन् । 

एमाले स्रोतका अनुसार, अहिलेसम्म उपमहासचिव विष्णु रिमालले आफू प्रत्यक्ष चुनाव नलड्ने बताएका छन् ।  त्यसबाहेक उपाध्यक्षहरू रामबहादुर थापा, युवराज ज्ञवाली पनि चुनाव लड्न उत्साहित देखिएका छैनन् । 

यसअघि दोधारमा रहेकी अर्का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लड्ने सम्भावना बाँकी नै रहेको स्रोतले जानकारी दियो ।

राजधानीका एमालेबाट निर्वाचित यसअघिका सांसदहरूमा क्षेत्र नम्बर ७ का रामवीर मानन्धरले टिकट पाउने सम्भावना छैन । सचिवहरू पनि अधिकांशले चुनाव लड्ने छन् । 

एमालेले भदौ अन्तिम सातासम्ममा अधिकांश उमेदवार तय गरिसक्ने र निर्वाचन क्षेत्रमा उमेदवार समेत तोकेर खटाउने गरी काम अघि बढाएको सो पार्टीका नेताहरू बताउँछन् । 

एमालेका चुनावी चुनौती 

पाँच वर्षअघि ‘वाम गठबन्धन’ बनाएर चुनाव लडेको र पछि एउटै दल नेपाल कम्युनिष्ट पार्टी बनाएको शक्ति अहिले तीन टुक्रा भएको छ । 

विभाजनले शक्ति क्षयीकरण भएकै बेला एमालेविरुद्ध सत्तारुढ पाँच दलीय गठबन्धन एकताबद्ध भएका छन् ।

त्यसमाथि वामदेव गौतम, डा. बाबुराम भट्टराई पनि थपिइसकेका छन् भने महन्थ ठाकुर नेतृत्वको समूह पनि यही गठबन्धनमा थपिने प्रयत्न गरिरहेको छन् । 

एमाले र माओवादीकेन्द्र अदालतको आदेशलाई कारण देखाएर अलग भएका छन् । त्यसबाहेक पनि माधव नेपालको नेतृत्वमा एमाले फुटेर नेकपा (एकीकृत समाजवादी) बनेको छ । अनि आफू नजिते पनि एमाले हराउने मिशनमा अघि बढेका छन् नेपाल । यो नै एमालेका लागि ठूलो असहजता हो– यसपटक ।

वामपन्थी दल मिल्दा त्यसको सकारात्मक सन्देश र उत्साहले ह्वात्तै बढ्ने गरी मत दिएको देखिन्छ– राजधानीमै पनि । तर, फूटका कारण पैदा हुने निराशाले त्यसभन्दा ठिक विपरीत परिणाम निम्त्याउँछ । नेकपाको फूटको नोक्सानी एमालेमाथि पर्छ । “नेकपा विभाजन र एमालेविरुद्ध सबै दल एक हुनु यसपटकको चुनौती हो,” एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले बाह्रखरीसँग भने, “यसलाई सामना गर्न एमाले सक्षम छ । यो स्थानीय चुनावबाट पनि प्रमाणित भइसकेको छ ।”

एमाले उपमहासचिव प्रदीप ज्ञवाली फूटबाट एमालेको शक्तिमा खासै क्षयीकरण नभएको बताउँछन् । 

“आफैँ तीन टुक्रा भएको ‘फू’ गर्दा ढल्ने अवस्थामा पुगेको एमालेविरुद्ध पाँच दलको गठबन्धनले नपुगेर फेरि किन छ, सात, आठ दल अझ त्यसमाथि बाबुरामजी, वामदेवजी, महन्थ ठाकुरजीलाई गठबन्धनमा बोलाउनुपरेको ?,” ज्ञवालीले भने, “एमाले पनि देशको सर्वाधिक जनाधारयुक्त पार्टी हो । एमालेसँग एक्लै सामना गर्न सक्ने सामथ्र्य कसैसँग छैन । त्यसैले मनोवैज्ञानिक दबाब दिन हामीले गठबन्धन बनाएका छौँ, यति धेरै दल छौँ भन्ने प्रचार गरिएको हो ।”

नेता भट्टराई आफूहरूले गरेका राम्रा कामबारे जनतालाई बताउन नसक्नु एमालेको कमजोरी भएको बताउँछन् ।

“हामीले गरेका राम्रा कामको सन्देश जनतासम्म पु¥याउन नसक्नु हाम्रो चुनौती हो । हामीले कृषि, सडक, सिंचाई, पूर्वाधार निर्माणमा धेरै काम गरेका छौँ । मेरै अनुभवमा पनि यत्रो काम गर्नुभएको रहेछ, खोइ त जानकारी दिएको ? भन्ने प्रश्न आएको छ”, उनले भने, “राष्ट्रियताको संरक्षण, सामाजिक सुधारको कुरा छन् । यो सन्देशको प्रवाह गर्न सकेका छैनौँ तर एमाले राष्ट्रवादी शक्ति भएकाले यसविरुद्ध घेराबन्दी भएको छ भन्ने जनताले सजिलै बुझ्नेछन् ।”

नेपालको मिचिएको लिम्पियाधुरा, लिपुलेक कालापानी क्षेत्रको भूमिलाई नेपालको नक्सामा समेट्नु, यसमा राष्ट्रिय सहमति जुटाएर संसद्बाट सर्वसम्मतिमा नक्सा पारित गर्न सक्नु, पृथकतावादको अन्त्य गरी सीके राउतलाई मूलधारको राजनीतिमा ल्याउनु, नेत्रविक्रम चन्द ‘विप्लव’को हिंसात्मक गतिविधिको अन्त्य ओली सरकारको मुख्य राजनीतिक सफलताका रूपमा एमालेले भन्ने गरेको छ । 

“संविधान बनिसकेपछि संविधान बनाउँदा विरोधमा उत्रिएका सबै शक्तिहरूलाई संविधानको पक्षमा ल्याउन सफल भयौँ । पृथकतावादी सीके राउतजी, हिंसात्मक आन्दोलन घोषणा गरेका विप्लव जस्ता संविधान नमान्ने शक्तिलाई पनि भित्र ल्याउन सक्यौँ । मधेश केन्द्रित दलहरू पनि आएका छन्,” डा. भट्टराईले भने । 

गत चुनावमा पनि ओली नै एमाले अध्यक्ष थिए । त्यसबेला भारतीय नाकाबन्दी सामना गरेकाले उनी आकर्षणको केन्द्रमा थिए । मधेश प्रदेशमा एमालेमाथि निकै दबाब रहे पनि अन्य क्षेत्रमा एमाले हाई–हाई थियो । दुई पटकको संसद् विघटनपछि ओली एमालेबाहेक सबैको आक्रमणको तारो बनेका छन् भने साढे तीन वर्ष प्रधानमन्त्री भए । नेकपाको आन्तरिक खिचातानीमा फसे । जनतालाई वाचाअनुसारको सेवा दिन सकेनन् । यो पनि एमालेका लागि आगामी चुनावको अर्को ‘ड्र–ब्याक’ हो ।  

एमालेका लागि निकै चुनौतीपूर्ण देखिने आगामी चुनावमा केही सहजता पनि देखिन्छ । एमाले पार्टी तुलनात्मक रूपमा अरु पार्टीभन्दा एकताबद्ध छ । उसका लागि उमेदवारी तय गर्न सजिलो छ । पार्टी एकताबद्ध भएकाले बागी र अन्तर्घातको मार पनि कम मात्र पर्नेछ । 

केपी ओलीको नेतृत्वमा एकध्रुवीय बनेको एमालेको पार्टी संगठन चुस्त–दुरुस्त भएको छ । फेरि भावी प्रधानमन्त्रीका रूपमा केपी ओलीलाई नै अघि सारेकाले मतदातामा एमालेबारे द्विविधा रहने छैन ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  ०८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement