site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसलाई धोका दिने ठाउँ राखेर गठबन्धन गर्दै माओवादीसहित वामपन्थी दलहरू
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाली कांग्रेसलाई धोका दिन सक्ने ठाउँ बाँकी राखेर मात्र नेकपा (माओवादी केन्द्र)सहितका वामपन्थी दलहरूले गठबन्धन गर्ने तयारी गरेका छन् । निर्वाचन आयोगले दल दर्ता गर्न तोकेको समय साउन मसान्तभित्र कांग्रेससँग एकल चिह्नमा प्रतिस्पर्धा गर्ने भनी उल्लेख नगरी स्वतन्त्र रूपमा दल दर्ता गराएर धोका दिन सक्ने ठाउँ बाँकी राखेका हुन् ।

कांग्रेसले सत्तारूढ पाँचसहित नेकपा (एमाले)बाहेकका दलहरूसँग गठबन्धन गरी चुनावमा जाने निर्णय केन्द्रीय समिति बैठकबाटै गरिसकेको छ । कांग्रेससहित माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा पनि गठबन्धनको पक्षमा छन् । यी पाँच दलले ११ सदस्यीय कार्यदल नै बनाएर सिटको भागबन्डामा गृहकार्य गरिरहेका छन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजक रहेको उक्त कार्यदलको बैठक नियमित बस्न थालेको छ । बिहीबार अपराह्न बसेको बैठकमा दलहरूले आ–आफ्नो दाबी प्रस्तुत गरेका छन् । गठबन्धन गर्न सिद्धान्ततः सहमत सबै दलहरू सकेसम्म आफ्नो भागमा बढी सिट पार्न प्रयत्नशील छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेसले एक्लै बहुमत पुग्ने गरी प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ मध्ये १०० सिट आफूले पाउनुपर्ने दाबी गरिरहेको छ । माओवादी केन्द्रसहितका वामपन्थी दलहरू भने कांग्रेसलाई ५० प्रतिशत अर्थात् ८३ भन्दा बढी सिट नदिन प्रयत्नशील छन् । अर्थात्, कुनै पनि हालतमा कांग्रेसले एकल बहुमत ल्याउन नसक्ने गरी सिट दिन राजी देखिन्छन् । अहिलेको गठबन्धन कार्यदलको बैठकमा पनि दलहरू एकातर्फ आफ्नो सिट बढाउन लागेका छन्, जुन स्वाभाविक हो । त्यसबाहेक उनीहरूले चुनावपछि पनि सरकार बनाउने बेलामा कांग्रेसको विकल्पमा एमालेसँग गठबन्धन गर्न सक्ने सम्भावना जोगाइराख्ने प्रयास गरेको देखिन्छ ।

कांग्रेससँग सिट बाँडफाट गरी अघि बढ्ने निर्णय गरेका वामपन्थी दलहरूले निर्वाचन आयोगमा भने गठबन्धन गर्ने उल्लेख गरी दल दर्ता गर्ने छैनन् । माओवादी स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले भने, “निर्वाचन आयोगले एकै चुनाव चिह्नमा एकभन्दा बढी दलले चुनाव लड्न सक्ने राजनीतिक दलसम्बन्धी ऐनमा भएको व्यवस्थाका कारण त्यस्तो सूचना जारी गरेको हो । उसको व्यवस्था त के होला, माओवादी केन्द्रले कांग्रेसको चिह्नबाट चुनाव लड्न सक्ने सम्भावना छैन ।”

Global Ime bank

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनका दलहरू एकै चिह्नबाट चुनाव लड्न सके राम्रो हुने बताउँदै बाह्रखरीसँग भने, “धोका दिने हो भने त कसैले रोक्न सक्दैन । एउटै घोषणापत्रमा चुनाव लडेर एकै पार्टी बनेका एमाले र माओवादी त मिलेर अघि बढ्न सकेनन् । एउटै पार्टी त फुटेको विगत छ । त्यसैलै एकै चुनाव चिह्नबाट दुईभन्दा बढी दल चुनाव लडे पनि धोका दिन चाहे कसैले रोक्न सक्दैन ।”

प्रवक्ता महतले प्रस्ट नबताए पनि कांग्रेसका शीर्ष नेताहरूले नै अहिले गठबन्धन गरेर चुनाव लडे पनि माओवादीले चुनावपछि एमालेसँग गठबन्धन गरी सरकार बनाउने सम्भावना रहेको सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । यस विषयमा सबैभन्दा प्रस्ट भाषामा नेता मीनेन्द्र रिजालले केहीअघि सार्वजनिक अभिव्यक्ति दिएका थिए । उनले चुनाव कांग्रेससँग मिलेर जिते पनि चुनावपछि सरकार बनाउने बेलामा एमाले–माओवादी मिल्ने बताएका थिए । ०७४ सालमा एमालेसँग एकै घोषणापत्रमा चुुनाव लडे पनि परिणामपछि प्रचण्डले कांग्रेसको समर्थनमा पाँच वर्षका लागि प्रधानमन्त्री बन्न लोभ देखाएका थिए । जसपा नेता उपेन्द्र यादवको असहमतिपछि प्रचण्डको आकांक्षा पूरा हुन सकेको थिएन ।

निर्वाचन आयोगले यही साउन १९ गते सूचना जारी गरी साउन २२ देखि ३१ गतेसम्म संघीय र प्रदेशसभा चुनावका लागि दल दर्ता गर्न आह्वान गरेको छ । त्यसमा दुई वा दुईभन्दा बढी दलले एकल चुनाव चिह्न लिई चुनाव लड्न चाहनेका लागि बेग्लै ढाँचाको निवेदनको व्यवस्था गरिएको छ । माओवादी नेता पोखरेलले प्रस्ट पारे, “पाँचदलीय गठबन्धनमा कांग्रेससँग पनि बस्छौँ, तर कांग्रेसबाहेकका तीन कम्युनिस्ट पार्टीको चुनाव चिह्नचाहिँ एउटै हुन्छ भन्न पनि सकिन्छ । पार्टीचाहिँ हाम्रो अलग–अलग हुन्छ, तर गठबन्धनबाट चुनाव लड्छौँ भन्न सक्ने व्यवस्था नेपालको कानुनमा छ ।”

नेपालमा विद्यमान राजनीतिक दलसम्बन्धी कानुनको व्याख्या गर्दै वरिष्ठ अधिवक्ता बाबुराम दाहालले भने, “माओवादीले कांग्रेसको चुनाव चिह्न लिएर लड्यो भने ऊ कांग्रेस संसदीय दलको सदस्य हुन्छ । यो केन्द्रीयस्तरमा मात्र गर्न सकिन्छ । देशभरिका लागि एकै व्यवस्था लागु हुन्छ । फलानो क्षेत्रबाट लड्ने भन्न मिल्दैन, देशभरि त्यसै गरी लड्नुपर्छ । एकल चिह्नमा लड्ने भनी दल दर्ता गरियो भने रोल्पामा हँसिया–हतौडा, काठमाडौंमा रूख चुनाव चिह्न लिएर लड्न मिल्दैन ।”

दाहालका अनुसार ‘एउटा दलको चुनाव चिह्नबाट निर्वाचन लडेको व्यक्तिले अर्को दल रोजेमा वा ‘ह्वीप’ उल्लंघन गरी अर्को दलको निर्णय मानेमा संसदीय दलबाट विद्रोह गरेको मानिनेछ’ भनिएकाले सांसद् पद नै जाने उनले व्याख्या गरे ।

पूर्वमहान्यायाधिवक्ता रमेश बडाल निर्वाचन आयोगले गठबन्धन नचिन्ने बताउँछन् । यदि, माओवादी केन्द्रका व्यक्तिले कांग्रेसको चुनाव चिह्न लिई उमेदवारी दर्ता गर्न गएमा उसलाई कांग्रेसको उमेदवारी सिफारिसपत्र आवश्यक पर्ने र उसले चुनाव जितेमा कांग्रेस संसदीय दलको ह्वीप लाग्ने उनले बताए । त्यसैले एकै चुनाव चिह्नमा निर्वाचनमा गएमा कांग्रेसको संसदीय दलमा बहुमत हुने हुनाले उसैको निर्णयका आधारमा अरू दल चल्ने अवस्था आउने उनको भनाइ छ ।

त्यसैले चुनावपछि गठबन्धन बदल्न सक्ने सम्भावना बाँकी राख्न पनि एकल चुनाव चिह्नमा नलड्ने सम्भावना अधिक रहेको उनले बताए । “त्यसबाहेक समानुपातिक मत पनि संकलन गर्नुपर्ने हुन्छ । त्यसैले दलहरू स्वतन्त्र ढंगले एक्लाएक्लै चुनावमा जानेछन्,” उनले भने ।

निर्वाचन आयोगमा एकल चिह्नमा दुई वा दुईभन्दा बढी दल चुनाव लड्ने भनी साउन मसान्तभित्र दल दर्ता गराएमा ०७४ साल असोजमा जस्तै माओवादीले एमालेसँग गठबन्धन गर्ने सम्भावनाको अन्त्य हुन सक्ने विश्लेषण राजनीतिक वृत्तमा सुनिन्छ । कतिपय त यो पनि भन्छन् कि आफ्नो बारेमा अत्यन्त चतुर खेलाडी मानिने कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनमा रहेका कम्युनिस्ट पार्टीहरूलाई साउन मसान्तपछि एमालेसँग गठबन्धन गर्नबाट रोक्न यो प्रावधान प्रयोग गर्न खोजेका हुन् ।

तर, वरिष्ठ अधिवक्ता बाबुराम दाहाल दल दर्ता गराउँदा एकल चुनाव चिह्नमा लड्ने भनिए पनि पछि तोड्नबाट कसैले रोक्न नसक्ने बताउँछन् । बाह्रखरीसँग उनले भने, “अहिले साउन मसान्तमा दरखास्त हाले पनि फेरि अलग लड्न सक्छ । कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग गठबन्धन गर्न सक्छ । कानुनको सिद्धान्त छ– गर्न सक्नेले नगर्न सक्छ । उत्पादन गर्नेले तोड्न पाउँछ ।”

उनका अनुसार ‘फलानो मितिमा निवेदन दिएको भए पनि अलग्गै चिह्नबाट चुनाव लड्ने हाम्रो पार्टी केन्द्रीय कमिटीबाट निर्णय भएको हुँदा सोबाट हटाइदिनुहुन अनुरोध छ,’ यस्तो निवेदन दिएपछि निर्वाचन आयोगले रोक्न सक्दैन ।

माओवादी केन्द्रका नेता लीलामणि पोखरेल माओवादी केन्द्र र कांग्रेस एकै चुनाव चिह्नबाट लड्न सक्ने सम्भावना नरहे पनि त्यसभित्रका तीन दल माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा एकल चिह्नमा लड्ने सम्भावना बाँकी रहेको बताउँछन् । “पाँचदलीय गठबन्धनभित्र पनि तीन दलले एउटै चुनाव चिह्नमा चुनाव लड्न सक्छौँ । तर, हामी पाँचदलीय गठबन्धनभित्रकै हुन्छौँ,” उनले भने, “पाँचदलीय गठबन्धनमा हामी कांग्रेससँग पनि बस्छौँ, तर तीन पार्टीको चुनाव चिह्नचाहिँ एउटै हुन्छ भन्न सकिन्छ ।”

माओवादी केन्द्रका नेता पोखरेलले गठबन्धनभित्रकै तीन दलको बेग्लै मोर्चा बनेर एकल चुनाव चिह्न राख्ने सम्भावना बताए पनि एमालेबाट एक वर्षअघि फुटेको एकीकृत समाजवादीले बेग्लै चुनाव चिह्नसहित दल दर्ता गराउने निर्णय बुधबार नै गरिसकेको छ । देउवालाई प्रधानमन्त्री बनाउन सघाएबापत आफ्नो पार्टीको अस्तित्व रक्षा कांग्रेसले गरिदिनुपर्ने माग गठबन्धन बैठकमा उक्त दलका नेताहरूले गर्दै आएका छन् ।

कांग्रेससँग सिट बाँडफाँटमै लागिसकेको माओवादीका नेता पोखरले अझै पनि माओवादी र एमालेबीच गठबन्धनको सम्भावना रहेको बताउँछन् । उनले भने, “राजनीतिमा असम्भव केही हुन्न । वाम गठबनधनका लागि हाम्रो कल्चरले छेकेको छ । आग्रह–पूर्वाग्रह हाम्रो संस्कृति यो सबले छेकेको छ ।” संविधानमा समाजवाद लेखिसकेको बताउँदै उनले समाजवादमा पुग्न वामपन्थी दलहरू एक हुनैपर्ने पनि बताए ।

एकल चुनाव चिह्नबाट दुई वा दुईभन्दा बढी दल चुनाव नलडे पनि गठबन्धन मिलेर चुनाव लड्दा गठबन्धनको एकजना उमेदवारको मात्र चुनाव चिह्न हुन्छ । उमेदवार नभएका दलको चुुनाव चिह्न मतपत्रमा राखिँदैन । त्यसानुसार कांग्रेसको उमेदवार भएको क्षेत्रमा माओवादीसहित गठबन्धनका अरू चार दलको चिह्न मतपत्रमा हुँदैन । माओवादीको उमेदवार भएको क्षेत्रमा कांग्रेससहित चार दलको चिह्न पनि राखिँदैन । “गत स्थानीय चुनावमा जस्तो पार्टीको उमेदवार नभएको क्षेत्रमा पनि कांग्रेसले रूख चिह्नमा भोट दिएर माओवादी उमेदवार हराएजस्तो यसपटक हुन सक्दैन,” वरिष्ठ अधिवक्ता बडालले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९  १०:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय