दलहरू सबै पूरै बिग्रिएका पनि छैनन् । तिनका सबै नेता आलोचनाका पात्रमात्र छन् भन्नु पनि अन्याय हुन्छ । केही विशेषता, केही कमजोरी सबैमा छन् । नेतामा पनि त्यस्तै विशेषता र कमजोरी होलान् । औसत मानिस पनि यस्तै हुन्छन् तर त्यही तुलनामा नेताका गल्ती क्षम्य मान्न भने सकिँदैन ।
यिनै नेता हुन्, यिनै दल हुन् जसले चाहे, इच्छाशक्ति देखाए देश उकालो लाग्छ । अकर्मण्य भए ओरालो भासिन्छ । यसको अरू के विकल्प छ त ? मात्र सुध्रिने, सुधार्ने कामनामा नेता र जनताको संयुक्त जमर्को हुनुपर्छ । लोकतान्त्रिक जनताको निरन्तर खबरदारीले राजनीतिलाई निश्चय पनि सुन्दर भविष्यतिर डोर्याउला । मुलुकलाई लोकतन्त्रको बाटो हिँडाउने पनि त यिनै नेता, जनता न हुन् ।
यो विषय अलि तल तानौला । लेख्नेहरूलाई अनेक प्रसंगले प्रभावित गर्छ । प्रेरित गर्छ । लेखनको खुराक सन्दर्भ प्रसंगले प्रदान गर्ने अनुभूति नै हो । यसपटक पनि यस्तै भएको छ । प्रसंग हो नुवाकोट पुग्दाको । सन्दर्भ थियो आगामी चुनावमा दल वा उम्मेदवार छनोटको ।
नुवाकोटको विदुर । प्रजातान्त्रिक विचार समाजको कार्यक्रम त्यहाँ बिहान एघार बजे सुरु हुनु थियो । बिहान केही क्षण बजार वरिपरि हिड्ने, समय पनि बित्ने, केही नयाँ अनुभूति पनि सँगाल्ने स्वाभाविक इच्छा हुने नै भयो । हामी आवासबाट निस्कियौँ ।
केही बेरको घुमाइपछि, नुवाकोट जिसस कार्यालयको सडक हुँदै त्रिशुली नदीतिर जाने सडक ओरालोको थाप्लोसम्म पुग्यौँ । त्यहींबाट फर्किएर चियाको तातो खोज्दै रुख समीको बाक्लो छहारीको फेदमा पुग्यौँ । दूध डेरी पनि थियो । त्यसैले शंका लाग्यो, डेरी हो, यहाँ चिया पाइँदैन कि ? हामीबीच सुनिने गरी भएको जिज्ञासा उनैप्रति लक्षित थियो । ती महिलाले जबाफ दिइन् – चिया पाइन्छ ।
बडो मीठो चिया खाइयो । सायद्, दूध त्यहाँ अलि शुद्ध थियो कि ? समीको रुखको जराले बनेको अलि अग्लो काख जस्तोमा केही इँटा खप्ट्याएर बनाइएको तुलसी मोठ । इँटाको कापाकापामा हरियै काई । त्यहाँ भर्खरै पूजा गरिएको अगरबत्ती धूप नजिक वरपर सुगन्ध दिँदै छ । ससाना मूर्तिमा केही राता, पहेँला फूल चढाइएको देखिन्छ । ती फूल ताजा छन्, भर्खर बोटबाट चुँडालेका हुन् ती ।
अनौठो, किन किन फूल चुँडेको कत्ति चित्त बुझ्दैन मलाई । भगवानको नाममा होस् कि अरू केही । सायद, सानैमा पढेको–‘न छुनू फूल कोपिला, न चुँड्नू पाप लाग्दछ, नमार्नू जन्तु है कुनै दया र धर्म भाग्दछ ।’ सानोमा दोहोर्याई, तेहेर्याई बारम्बार पढेको कण्ठस्थ गीति कविताको मर्म कतै गढेर मभित्र बसेको पो रहेछ कि ? अर्थ बुझाएको गुरुले हो ।
ती चुँडी चढेका फूल देख्दा त्यहाँ पनि चसक्क भयो । तिनले पूरा आयु बाँच्न पाएनन् । भगवानको नाममा लुटिए । घरमै यी कुरा सम्झाएर रोक्न खोज्दा पनि सकिएको छैन । पर्यावरणमा सुगन्ध भर्ने सुन्दर दृश्यदाता ती फूलभन्दा माथि अलप भगवान छन् ।
अब, अर्कोतिर लाग्छ मानव सृष्टि प्रकृतिका सबै सृष्टिको भोक्ता, प्रयोक्ता र संहारक हो । मानौँ यो उसको अधिकार नै हो । यही कारण ती सृष्टि, सिर्जनाको जीवन्त महत्त्व छ । चित्त बुझाउन तर्कना र उदाहरणको कमी कहाँ, कहिले भयो र छ ?
यही एक क्षणमा पनि साँच्चै काठमाडौं निस्सासिएको सहरजस्तो लाग्यो । काठमाडौंका सामान्य चिया पसलका कपको गुलियो चुस्न मौरीहरू झुम्मिन थालेका छन् । चिसो पेय बोतलको कुखुरे घाँटी (चिकेन नेक) जस्तो मुखमा गुलियो चाट्न झुम्मिएका मौरी भित्र पस्छन्, निस्कन सक्दैनन्,जान्दैनन् । तिनै बोतल भित्र त्यस्ता मौरी अन्तरध्यानस्थ देखिन्छन्, मृत ।
यहाँ भने नजिकै घना हरियाली जंगल छ । आसपासमा झाडी । बनेली फूलहरू । सायद, यहाँका मौरीलाई गुलिया कप र बोतलमा झुम्मिन कर छैन । उतै कतै रमाएका छन् । विदुर बजारको वरिपरि हरियाली देखिन्छ । रुझेको मौसम सफा लाग्छ । विचार समाजका महासचिव गोकर्ण अर्यालले आहा कति सफा, स्वच्छ हगी ? सोध्नुभयो ।
साच्चै सफा छ, सुन्दर लाग्छ । मनमोहक । काठमाडौं निस्सासिएको यहाँ झन् टड्कारै महसुस हुन्छ । न बोट बिरुवा छन्, न हरियाली । चारैतिर धुलो, धुँवा । थप अहिले त संघीय राजधानी काठमाडौं महानगरवासीले सडक, चोक, गल्ली, गल्छेडा जहाँ कहीँ थुपारिदिएको दुर्गन्धित फोहरको थुप्रै थुप्रा । काठमाडौं साच्चैँ निस्सासिएको छ ।
विदुरको उत्तर, पूर्वी काखमा हुर्कदो बैंसालु घना हरियाली जंगल । त्यतैबाट नुवाकोट दरबार जाने बाटो छ रे ! यसपटक पनि जाने धोको बाँकी रह्यो, साँचियो । प्रकृतिसँगको साक्षात्कारसँगै काठमाडौंको कंक्रिट जंगलको रुखो पाटो यादमा घुसेछ । धन्न शिवपुरी छ र चार भज्याङको नाके डाँडातिर देखिने हरियालीले काठमाडौंको अक्सिजन धुकधुकी धानेको छ । नागार्जुन तिनैसँग मिसिएको छ ।
अनुभूतिका तरेली तन्द्रामा शक्तिदम्भ आबाज ठोकियो– ‘यसपटकको चुनावमा स्वतन्त्रलाई भोट दिने, जिताउने ।’ तन्द्रा सबै भत्कियो । त्यही समीको छहारीको चिया पसल । जहाँ भित्रपट्टि पाँच, छ जना स्थानीयजस्ता लाग्थे । बात मार्दै थिए । एकजना मोटा नौजवानले भने स्वतन्त्रलाई जिताउने ।
अरु स्रोताजस्ता, उनी वक्ता । प्रश्नमा उनले मन पराएको कथित स्वतन्त्रको नाम पनि लिए । सोधियो– स्वतन्त्रको रोजाइ किन ? उनको जबर्जस्त उत्तर थियो–‘कांग्रेस पनि हेरियो । कम्युनिस्ट पनि भोगियो ।’ यस पटक स्वतन्त्रलाई रोज्ने हो । अरु स्रोता मौन थिए ।
स्वतन्त्रको हैसियत के, दायित्व कसकाप्रति, तिनको सैद्धान्तिक धरातल वा विचार के, तिनको गल्ती, बदमासीको पछिसम्म दायित्व लिन्छ कसले, उत्तर दिन्छ कसले ? तिनलाई होस्टेहैँसे गर्ने कुनै संगठन, शक्ति छ कि, हुन्छ ? विगतमा पनि स्वतन्त्र भनिने केहीले जितेका थिए, ती अहिले गए कहाँ ? क्रमशः प्रश्न थप्दै गएँ ती नौ जवानसँग ।
उनका समुन्नेका अरूहरू मुखामुख गर्दै थिए, निःशब्द । साथीले पनि सुनिरहनु भयो, मतलब दिनुभएन । सायद् उहाँलाई हाम्रो सामाजिक चेत र छायाछवी प्रतिवाद योग्य छैन भन्ने लागिसकेको थियो कि ? सोधेको छैन ।
तिनले प्रतिवादमा त्यहीमात्र दोहोर्याए– दलहरूलाई हेरियो । अब स्वतन्त्र रोज्ने । बाँकी मेरा प्रश्न यही एक उत्तरमा मासिदिए, मिचिए । उही–‘सर्वे पदम् हस्ती पदे निमग्नम्’ भनेजस्तै । थप प्रश्न गर्नु थिएन । तिनका कुरा पनि मोडिए, मसिनु स्वरमा कता गए, कुन्नि । बढी चासो राख्नु थिएन एकाधपटक टेकेको ठाउँमा, पहिलो भेटका भलाद्मीसँग ।
आखिर त्यहाँ पनि त तिनले घोत्लिनै पर्ने बनाइ दिए । कुनाकुनामा स्वतन्त्रको सन्देश पुगेको रहेछ । दलका कान हुँदैनन् । नेताले प्रशंसा दुन्दुभीमा सुन्दैनन् । तिनले पढ्छन् वा पढ्दैनन् । जानकारी लिन्छन् वा लिँदैनन् ? उनै जानून् । तीबाहेक पढ्ने पनि छन्, सुन्ने पनि त छन् । समाज श्रव्य र दृष्टिहीन भइसकेको छैन ।
नुवाकोटे यही प्रसंग हो दलहरू अब त सुध्रिए भन्ने चेतावनी । सन्दर्भ चुनावमुखी कुरा । वर्षौं दल गाँजेर बसेका केही नेताहरू सुध्रिए दलहरू सुध्रिने न हो । स्वतन्त्र उम्मेदवारले गर्नसक्ने केही होइन, छैन । चुनाव अघि ठूला गफ र गुड्डी हाँक्नेमात्र हो । तर, दलहरूका नेतालाई सुध्रिन चेतावनी र चुनौती दिने स्वतन्त्रको लहर विदुरको कुनामा पनि मुखरित रहेछ । बुझ्ने यही हो, होसियार ।