काठमाडौं । चलचित्र ‘प्रकाश’ र ‘राधा’ बक्सअफिसमा दुबै अपेक्षा गरिएका चलचित्र हुन् । दिनेश राउत निर्देशित ‘प्रकाश’ र सुवर्ण थापा निर्देशित ‘राधा’ दुबै एकैदिन रिलिज हुँदैछन् ।
‘प्रकाश’मा मुख्य पात्र प्रदीप खड्का छन् । जो नेपाली चलचित्र उद्योगमा कमर्सियल चलचित्रमा मात्रै अभिनय गर्दै आएका कलाकार हुन् । तर, यो चलचित्रमा भने उनी चरित्र अभिनयमा होमिएका छन् ।
यता, ‘राधा’मा मुख्य पात्रमा पूर्वमिस नेपालसमेत रहेकी नायिका श्रृष्टि श्रेष्ठ छिन् । श्रृष्टिसँगै यो चलचित्रमा स्टार कलाकारको भिड छ । दयाहाङ राई, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, सौगात मल्ल, मेनुका प्रधान, बुद्दि तामाङलगायत छन् ।
प्रकाशमा भने प्रदीपका अलावा मुख्य पात्रमा दीया मास्के र रेणु योगी छन् । रेणुका लागि ‘प्रकाश’ डेब्यु मुभी हो ।
‘प्रेम गीत’ सिरिजबाट स्टार बनेका प्रदीपको युवा पंक्तिमा लोभलाग्दो क्रेज ‘प्रकाश’का लागि मेरिट हो । ‘राधा’का लागि अहिले अभिनयका हिसावले चलेका अधिकांश कलाकार हुनु प्लस पोइन्ट छ । रुचाइएका कलाकार एकैपटक प्रचारमा जुटेको खण्डमा निर्माण पक्षले यसको फाइदा लिन सक्छ ।
यता, ‘प्रकाश’ आक्रामक प्रचारमा छ । तर, रिलिजको पूर्वसन्ध्यामा चिनिया फिल्म फेष्टिभलमा ‘राधा’ प्रदर्शन हुनु उसका लागि सुखद पक्ष हो । चाइना पर्फमेन्स इन्ड्रस्टिज एसोसिएनको आयोजनामा हुने ‘बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल, २०२२’ मा ‘राधा’ प्रदर्शनका लागि छनोट भएको छ ।
यता, ‘प्रकाश’ले रिलिज पूर्वनै अन्तर्राष्ट्रिय बजारको राइट्स र डिजिटल राइट्सबाट लगानीको ७५ प्रतिशत उठाइसकेकाले यसको असर बक्सअफिसमा देखिने निर्माण पक्षको अपेक्षा छ ।
अपेक्षित चलचित्र एकैदिन बजारमा आउँदा कसले कति सो पाउँछन्, त्यसले पनि बक्स अफिस केही हदसम्म निर्धारण गर्नेछ । यद्यपि, चलचित्रप्रति दर्शकको इनक्वाइरीलगायत विभिन्न पक्ष हेरेर मल्टिप्लेक्सको सबैभन्दा ठूलो चेन क्यूएफएक्सले सो उपलब्ध गराउने भएकाले दुबै सिनेमाले आफ्नो कन्टेन्ट अनुसार हल पाउनेमा दुबै सिनेमाका निर्माण पक्ष ढुक्क देखिएको छ ।