site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माधव नेपालले छाडेको क्षेत्रमा ‘मतसंख्या’ले गर्दैछ निम्तो !
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेसँगै दलहरु चुनावी तयारीमा जुटेका छन् । 

मंसिर ४ गते हुने निर्वाचनको सम्भावित मत परिणाम र दलहरुबीचको समीकरणको लेखाजोखा सुरु भएको छ । 

निर्वाचनको मिति घोषणा नहुँदै प्रमुख दलका शीर्ष नेता तथा पूर्व र हालका प्रधानमन्त्रीसहित ६ नेताको तस्बिर राखेर उनीहरुलाई पुनः जिताउन नहुने भन्दै सामाजिक सञ्जालमा अभियान नै चलिरहेको छ । 

चुनाव घोषणापछि त त्यो अभियान झनै बढेर गएको छ । 

त्यही अभियानको तस्बिरमा देखिनेमध्येका एक हुन्– पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल । 

२०६४ र २०७० को निर्वाचनमा उनी रौतहट १ र काठमाडौं २ बाट पनि निर्वाचनमा होमिएका थिए । नेपालले ०६४ को निर्वाचनमा दुवै क्षेत्रबाट पराजय बेहोरे । 

०७० को निर्वाचनमा भने परिणाम उल्ट्याएर दुवै क्षेत्रबाट निर्वाचित भए ।  २०७४ को निर्वाचनाबाट एक क्षेत्रबाट मात्रै चुनाव लड्न पाउने व्यवस्था भएपछि उनले रौतहट छाडेर काठमाडौं २ रोजे ।

तत्कालीन नेकपा माओवादी केन्द्रसँगको गठबन्धनबाट निर्वाचित पनि भए ।  निर्वाचनमा नेपालले २७ हजार ३६६ मत ल्याएका थिए भने कांग्रेसका दीपकप्रसाद कुइँकेलले १४९०३ मत पाएका थिए ।

तर, वैशाख ३० गते सम्पन्न स्थानीय तहको मत परिणामले भने काठमाडौं २  उनका लागि असुरक्षित देखाएको छ । 
काठमाडौंभन्दा रौतहट १ नै उनका लागि भरपर्दो देखिएको छ । 

स्थानीय निर्वाचनमा काठमाडौं २ र रौतहट १ मा दलहरुले वडागत रुपमा पाएको मतको विश्लेषण गर्दा उनी रौतहटमा सुरक्षित देखिन्छन् ।

एमालेबाट अलग भएर गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टी पहिलो पटक संसदीय निर्वाचनमा होमिन लागेको हो, जुन पार्टीको नेतृत्व नेता नेपालले गर्छन् ।

नेकपा एमाले विभाजन भएपश्चात बनेको यो पार्टीले स्थानीय निर्वाचनको भने गठबन्धनमा जोडिएर भाग लिएको छ । 

तर, सबै स्थानीय तहमा उमेदवारी नदिएको र धेरै ठाउँमा गठबन्धनका अन्य दलका उमेदवारलाई सघाएका कारण यो दलको वास्तविक मत यति नै हो भन्न सक्ने अवस्था छैन । 

सत्ता गठबन्धनबाट धोका भयो भन्दै नेताहरुले भाषण गरे पनि गठबन्धनकै कारण उमेदवारलाई महत्वपूर्ण स्थानमा निर्वाचित हुन सहज भएको देखिन्छ । 

यो चुनावमा पनि सत्ता गठबन्धन कायम राख्ने गरी तयारीमा नेताहरु जुटिसकेका छन् । 

काठमाडौं क्षेत्र नम्बर २ मा शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका र काठमाडौं महानगरपालिकाका २ वटा वडा पर्दछन् । 

स्थानीय निर्वाचनमा आएको मत परिणाम हेर्दा यो क्षेत्रमा २० हजार ६५५ मतसहित नेकपा एमाले पहिलो दल बनेको छ । 

सत्ता गठबन्धनमा रहेका दल नेपाली कांग्रेसले १७ हजार ३६९,  माओवादीले ३ हजार १७४, एकीकृत समाजवादीले ७ हजार ९७८, जसपाले ३७ मत पाएको थियो । 

यस्तै राप्रपाले ७ हजार ३६० मत ल्याउँदा जसपासहितको अन्य दलले ४७६ मत ल्याएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ । 

यहाँ गठबन्धनमा रहेको दलहरुको मत २८ हजार ५५८ हुन आउँछ । जुन नेकपा एमाले भन्दा ७ हजार ९०३ ले बढी हो । 

काठमाडौं २मा राप्रपाको मत निर्णायक देखिन्छ ।   यहाँ राप्रपाले एमालेलाई साथ दिए गठबन्धनसँग लगभग बराबर मत हुने देखिन्छ । 

गठबन्धनको सहारा पाए पनि नेपालले निर्वाचन क्षेत्र जोगाउन समस्या हुने स्थानीय निर्वाचनको परिणामले देखाउँछ । 

त्यसैले उनी यसपटक काठमाडौंबाट चुनाव लड्न इच्छुक नभएको उनी निकट एक नेताले बाह्रखरीसँगको अनौपचारिक कुराकानीमा बताए ।

रौतहट १ को परिणामले उनलाई निम्तो दिएको छ ।  रौतहतबाटै चुनाव लड्ने पक्कापक्की भएको नेपाल निकटस्थ  नेताले जानकारी दिए । 

“यसपटक उहाँको तयारी काठमाडौंमा छैन । रौतहट १ बाटै चुनाव लड्ने तयारी गरिरहनुभएको छ,” नेपाल निकट ती नेता भन्छन्, “सबै हिसाबले हेर्दा एक्लै लडे पनि चुनाव जित्ने सम्भावना रहेको क्षेत्र छाड्ने कुरा छैन । रौतहबाटै चुनाव लड्ने पक्कापक्की भएको छ ।”

रौतहट १ मा गौर नगरपालिका, राजदेवी नगरपालिका, माधवनारायण नगरपालिका, दुर्गा भगवती गाउँपालिका, यमुनामाई गाउँपालिका, गढीमाई नगरपालिकाका ६, ७ र ८ नम्बर वडा र गरुडा नगरपालिकाको १ नम्बर वडा पर्दछ । 

यहाँ वडागत परिणाम हेर्दा एकीकृत समाजवादीको बर्चस्व देखिन्छ ।  उसका वडाध्यक्षमा निर्वाचित र पराजित उमेदवारहरुले कूल १९ हजार ६९८ मत पाएका छन् ।  

कांग्रेसले कूल १६ हजार ९४४ मत पाएको छ ।  यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को मत तेस्रो स्थानमा देखिन्छ । उसले  १२ हजार ०६२ मत पाएको छ । 

माओवादी ८ हजार १९१, एमाले ७ हजार ३८५, जसपा ८ हजार २४१ र स्वतन्त्रसहित अन्य दलले ३१४३ मत पाएका छन् ।

यसरी दलहरुले ल्याएको मत परिणाम हेर्दा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एक्लै प्रतिष्पर्धा गर्दा पनि जित्ने सम्भावना देखिन्छ । 

उता गठबन्धनसँग ५३ हजार ७४ मत देखिन्छ । एमाले, लोसपा र स्वतन्त्रसहित अन्य दलको मत जोड्दा कूल २२ हजार ५९० छ । यसरी हेर्दा गठबन्धन कायम रहेमा नेपालको निर्वाचन क्षेत्र झनै सुरक्षित देखिन्छ । 

७४ को निर्वाचनमा यहाँ तत्कालीन राजपा (हाल लोसपा) का नेता अनिल झा निर्वाचित भएका थिए । उनले २१ हजार ४७२ मत ल्याउँदा कांग्रेसका कृष्णप्रसाद यादवले १५ हजार ८७४ मत ल्याएका थिए ।

यो निर्वाचन क्षेत्रमा झा पुनः चुनाव लड्ने तयारीमा छन् ।  वडा तहको मतले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको आकलन हुन नसक्ने झाको बुझाइ छ । 

“वडागत मतले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कसले जित्यो, कति मत आयो भन्ने कुराले अर्थ राख्दैन । मधेशमा वडाको भोट धेरै कारणले पाउँछ । चुनावको परिणाम अर्कै देखिन्छ । अघिल्लो चुनावमा पनि त्यस्तै भएको थियो,” उनले भने । 

आफू त्यहाँको उमेदवार रहने र पुनः निर्वाचन जित्ने पनि दाबी गरे ।  “एकल गए पनि ,कुनै गठबन्धनबाट गए पनि त्यहाँ मलाई नै उमेदवार बनाउने हो । जुन पार्टीका अध्यक्ष आए पनि मलाई फरक पर्दैन । चुनाव जित्छु,” झा को दाबी छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  ०९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro