काठमाडौं । गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जनताको पैसा खाएर नभाग्ने जनाएको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष रामबहादुर गौतमको चरित्र हत्या हुने खालका भ्रामक समाचार विभिन्न सञ्चारमाध्यमबाट प्रचारप्रसार भएको र बचतकर्ताले सहकारी घेराउ गरेको भन्दै सुरक्षाको प्रबन्ध मिलाइदिन प्रहरी प्रशासनलाई आग्रह गरिएको छ ।
अध्यक्ष गौतमको हस्ताक्षरसहित सार्वजनिक विज्ञप्तिमा उक्त सहकारीको विषयमा भ्रमात्मक र उत्तेजनात्मक समाचार प्रवाह गरिदिँदा आफ्नो परिवार नै असुरक्षित भएको उल्लेख छ । कार्यालयको कामले बाहिर जानुपरेको र आफ्नो मोबाइल फोन अफ भएका कारण आफ्नो कार्यालयमा बचतकर्ता आएर कर्मचारीलाई धम्की दिएको भन्दै सुरक्षाको माग पनि गरिएको छ ।
हाल अध्यक्ष गौतम नेपाल फर्किएकाले समस्या हल गरिने जनाइएको छ । “सर्वप्रथम म सहकारी संस्थाको अध्यक्ष रामबहादुर गौतम अन्य कम्पनीको काम विशेषले नेपालबाहिर गएको र मेरो मोबाइल सम्पर्क नभएको अवस्थामा त्यसैलाई आधार बनाई म सहकारीको बचतकर्ताको रकम खाएर भागेको भन्ने समाचार सार्वजनिक गरिएकोमा म बचतकर्ताको रकम खाएर नभाग्ने र नभागेको स्पष्ट पार्न चाहन्छु । म नेपाल आएर सहकारीको समस्या समाधानमा लागिसकेको जाानकारी गराउँदछु,” विज्ञप्तिमा उल्लेख छ ।
धम्कीका कारण कार्यालय नै बन्द गर्नुपर्ने बाध्यता आएको विज्ञप्तिमा उल्लेख छ । कोभिड–१९ का कारण सहकारीले प्रवाह गरेको कर्जा उठ्न समय लागेको पनि जनाइएको छ ।
बचतकर्ताको रकम भने नियमित रूपमा फिर्ता गर्दै आएको जिकिर गरिएको छ । भ्रामक समाचारप्रति बचतकर्तालाई सजग रहन पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
गएको शुक्रबार बचतकर्ता गौतमश्री सहकारीका अध्यक्ष आफूहरूको बचत लिएर भागेको भन्दै उजुरी दिन सहकारी विभागमा पुगेका थिए । आइतबार पनि बचतकर्ताहरू सहकारी विभागमा पुगेका थिए । सो सहकारी २३ वर्ष पहिले सञ्चालनमा आएको थियो ।