काठमाडौं । युभेन्टसका मिडफिल्डर पाउल पोग्बाले घुँडाको चोटका कारण बुधबार बिहान हुने बार्सिलोनाविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने भएका छन् ।
अमेरिका भ्रमणमा रहेको इटालियन सिरी ‘ए’ क्लब युभेन्टसले मंगलबार पोग्बा बार्सिलोनाविरुद्धको खेलमा उपलब्ध नहुने जनाएको हो । युभेन्टसले पोग्बा कति समय मैदानबाहिर रहन्छन् भनेर खुलाएको छैन । थप जाँचपछि मात्र २९ वर्षीय पोग्बाको अवस्थाबारे थाहा हुने युभेन्टसले जनाएको छ ।
“पोग्बाले दायाँ घुँडामा पीडा महसुस गरेका छन् । उनको रेडियोलोजिकल जाँचपछि मात्र चोटका अवस्थाबारे थाहा हुन्छ,” क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
पोग्बालाई युभेन्टसले यसै सिजन ‘फ्री–ट्रान्सफर’मा अनुबन्ध गरेको हो । पोग्बाले यसअघि इंग्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडमा ६ सिजन बिताएका थिए । उनी युभेन्टसबाटै युनाइटेड गएका थिए । चोटकै कारण विश्वकप विजेता पोग्बाको युनाइटेड बसाइ सुखद हुन सकेको थिएन ।
पोग्बाले इटालियन सिरी ‘ए’मा सुरुका खेल पनि गुमाउन सक्ने सम्भावना रहेको बताइएको छ । युभेन्टसले आउँदो अगस्ट १५ मा सासउलोविरुद्धको खेलबाट नयाँ सिजनको सुरुआत गर्नेछ ।