site stats
बाह्रखरी :: Baahrakhari
देश
ज्येष्ठ पत्रकार वृत्ति वितरण सुरु
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सोमबार आयोजित ज्येष्ठ पत्रकार वृत्ति वितरण तथा पुस्तक विमोचन समारोहमा ज्येष्ठ पत्रकार पद्मभक्त खरेललाई वृत्ति वितरण गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडाैं । नेपाली पत्रकारिताको इतिहासमा ज्येष्ठ पत्रकार वृत्ति वितरण सुरु गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना तथा प्रसारण विभागमार्फत ज्येष्ठ पत्रकार वृत्ति वितरण सुरु गरेको हो ।

पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान गरेका पत्रकार त्रय चिरञ्जीवी अर्याल, निरोधराज पाण्डे र पदमभक्त खरेललाई पहिलो वृत्ति प्रदान गरिएको छ ।

Argakhachi Cement Island Ad

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साेमबार मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त वृत्ति रकमबापतको चेक प्रदान गरेर ज्येष्ठ पत्रकार वृत्ति वितरणको प्रारम्भ गरेका हुन् । 

पहिलो वृत्ति पाउने ७६ वर्षीय पत्रकार अर्याललाई पाँच हजार, पाण्डेलाई सात हजार र ७७ वर्षीय खरेललाई १० हजार रुपैयाँ प्रदान गरिएको हो ।

उनीहरूलाई साउन महिनादेखि हरेक महिना बैंक खातामा जम्मा हुनेगरी वृत्ति रकम उपलब्ध गराइने सूचना तथा प्रसारण विभागले जनाएको छ ।

पत्रकार वृत्ति स्थापना तथा सञ्चालन निर्देशिका २०७५ र पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड २०७८ बमोजिम ज्येष्ठ पत्रकार वृत्ति वितरण गरिएको हो ।

मापदण्डमा ६५ देखि ६९ वर्षसम्म उमेर समूहका ज्येष्ठ पत्रकारलाई मासिक पाँच हजार, ७० देखि ७५ वर्षसम्म उमेर समूहका ज्येष्ठ पत्रकारलाई मासिक सात हजार र ७६ देखि ८० वर्षसम्म उमेर समूहका ज्येष्ठ पत्रकारलाई मासिक १० हजार र ८१ वर्षभन्दा बढी उमेर समूहका ज्येष्ठ पत्रकारलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गरिने भनिएको छ ।

कोषमा हाल छ करोड रुपैयाँ जम्मा भइसकेको छ । उक्त रकमको ब्याजबाट वृत्ति वितरण गरिने जनाइएको छ ।

ज्येष्ठ, द्वन्द्वपीडित र द्वन्द्वमा परी मुत्यु भएका पत्रकारको परिवारका सदस्यलाई आर्थिक तथा अन्य सहयोग प्रदान गर्न र पत्रकारको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले पत्रकार वृत्ति कोष सञ्चालनमा ल्याइएको हो । उक्त कोषमार्फत पत्रकारको क्षमता अभिवृद्धि र आर्थिकरुपमा विपन्न पत्रकारलाई आर्थिक सहयोग गरिने मापदण्डमा उल्लेख छ ।

तीस वर्ष निरन्तर पत्रकारिता गरेका ६५ वर्ष उमेर पूरा भएका पत्रकारलाई ज्येष्ठ पत्रकार वृत्ति दिइनेछ ।

पहिलो वृत्ति प्राप्त गर्ने वरिष्ठ पत्रकार पदमभक्त खरेलले पत्रकारिता पेशाको सम्मानस्वरूप राज्यले पत्रकारको वृत्ति वितरणको राम्रो कामको सुरुआत गरेको बताए । उनले रकम सानै भए पनि राज्यकातर्फबाट पत्रकारिता पेशाप्रति इज्जत र प्रतिष्ठा बढाउन यसले प्रेरित गर्ने उल्लेख गरे ।

पत्रकार खरेलले भने, “राज्यले पत्रकार वृत्ति वितरणको सुरुआत गरेर राम्रो काम भएको छ । यो राज्यले दिएको ठूलो सम्मान हो, यसलाई रकममा तुलना गर्न मिल्दैन । रकमलाई समयसापेक्ष बनाएर लैजानु उपयुक्त हुन्छ ।”

राससले देशव्यापी सञ्जाल विस्तार गरेर यसको विश्वास र गरिमालाई थप उँचो बनाउनुपर्ने पत्रकार खरेलको भनाइ थियो । उनले भने, “पञ्चायतकालमा रासस नगइकन कार्यक्रम नै सुरु हुँदैनथ्यो । रासस नआएसम्म मन्त्रीले कार्यक्रम सुरु गर्न मान्दैनथे, आजको दिनमा यसको विश्वसनीयतालाई थप अभिवृद्धि गर्दै लैजानुपर्नेछ ।”

अर्का पत्रकार अर्यालले सरकारले सुरु गरेको वृत्ति वितरण पत्रकारिता क्षेत्रका लागि महत्वपूर्ण कदम भएकाे उल्लेख गरे । “हामीले पत्रकार महासङ्घलगायत निकायमा बसेर चौथो अङ्गका रुपमा लिइने पत्रकारलाई राज्यले सम्मान गर्नुपर्छ भन्ने कुरा बारम्बार उठाइरहेका थियौ । यो पटक सुरुआत नै भएको छ, यो समग्र पत्रकारलाई खुसीको कुरा हो”, उनले भने ।

पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन गरेका खण्डमा यसबाट धेरै पत्रकार लाभान्वित हुने उनको भनाइ छ । पत्रकार अर्यालले भने, “पहिला मिसन पत्रकारिता सुरु गरेका थियौँ । प्रजातन्त्र स्थापना भएपछि समय र प्रविधिको विकाससँगै आधुनिक पत्रकारिताले फड्को मारिसकेको छ । अहिले पत्रकारिता पेशाबाटै जीविकोपार्जन हुन थालेको छ, पत्रकारिता व्यावसायिक हुनुपर्छ । राज्यको चौथो अङ्ग मिडिया हो भने हाम्रो समाज र राज्यप्रतिको दायित्व निर्वाह गर्न पनि पत्रकारले ध्यान दिनुपर्छ ।”

पत्रकार भुवन केसीले लामो समयदेखि पत्रकारका अगुवा संस्थाले उठाउँदै आएको पत्रकारिता वृत्ति कोषको सुरुआत हुनु राम्रो काम भएको बताए । उनले कोषको रकम समयसापेक्ष वृद्धि गर्दै यसलाई पारदर्शी र व्यवस्थित बनाइनुपर्ने धारणा राखे ।

पत्रकार केसीले भने, “ मूलतः पुरस्कार, वृत्ति कोषभन्दा पनि पत्रकार व्यावसायिक हुनुपर्‍याे र मिडिया सञ्चालक पनि सक्षम हुनुपर्छ यसले मात्र मर्यादित पत्रकारिता हुन्छ ।”

पत्रकार केसीले पत्रकारिताका मूल्यमान्यतालाई आत्मसात गर्दै तथ्यमा आधारित, खोजमूलक सामग्री सम्प्रेषण गरिनुपर्ने आवश्यकता औँल्याए । उनले भने, “पत्रकारिता विशुद्ध व्यावसायिक हुनुपर्छ तर सरकारी र निजीमा काम गर्ने पत्रकारको आआफ्नै मूल्य र मान्यता छ । मिडिया साक्षरता बढाउनुपर्छ ।”

सञ्चार सचिव डा वैकुण्ठ अर्यालले विगत लामो समयदेखि थाती रहेको ज्येष्ठ पत्रकार वृत्ति वितरण कार्य प्रारम्भ भएको भन्दै यसले पत्रकारिता क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको बताए । उनले पत्रकार वृत्ति कोषलाई समयसापेक्ष बनाएर लैजाने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता र पत्रकारको सम्मानमा राज्यको तर्फबाट राम्रो कामको सुरुआत भएको उल्लेख गरे ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले ज्येष्ठ पत्रकारलाई वृत्ति वितरणको प्रारम्भले पत्रकारिता क्षेत्रलाई राज्यले चिन्ने अवसर मिलेको बताए । रासस

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  २३:५५
प्रतिक्रिया दिनुहोस्