site stats
बाह्रखरी :: Baahrakhari
देश
पहिराेले डुम्रे बेँसीसहर सडक अवरुद्ध
सांकेतिक तस्बिर ।

लमजुङ । लमजुङ तनहुँ जोड्ने डुम्रे बेँसीसहर सडक पहिरोले अवरुद्ध बनाएको छ ।

आज साँझदेखि परेको अविरल वर्षाले यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ देउराली डाँडामा पहिरोले आज राति सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक विष्णु विकले बताए ।

उनकाअनुसार वैकल्पिक सडकका रूपमा रहेको श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा लेदो आएर सडक अवरुद्ध बनेको हो ।

सडक अवरुद्ध बन्दा काठमाडौँ, पोखरा, चितवन लगायतबाट बेँसीसहर आउँदै गरेका सवारी साधनका यात्रु अलपत्र परेका छन् ।

पानी परिरहेकाले पहिरो झरिरहेको छ । करिब तीन घण्टादेखि अविरल वर्षा भइरहेकाले मर्स्याङ्दी नदीमा पानीको बहाव बढेमा सडक कटान गर्ने उच्च जोखिमसमेत रहेको छ । ४२ किलोमिटरको यस सडकमा बर्खायाममा सवारी साधन तथा यात्रुहरूलाई निकै समस्या भइरहेको छ । रासस

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  २२:५४