site stats
बाह्रखरी :: Baahrakhari
खेल
चेस ओलम्पियाड टिमको अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौं । मित्रराष्ट्र भारतको चेन्नई सहरमा आयोजना हुने ४४औँ चेस ओलम्पियाडमा सहभागी हुने नेपाली टोलिको अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । 

नेपाल बुद्धिचाल संघको आयोजनामा सोमबार काठमाडौंमा सुरु भएको कार्यक्रममा ओलम्पियाड टोलिका खेलाडी तथा अफिसियलहरूको सहभागिता छ । मंगलबार सम्पन्न हुने दुई दिने कार्यक्रममा मनोविज्ञान, मोटिभेसन, खेल शैली तथा प्राविधिक विषयका प्रस्तुतिमाथि छलफल हुनेछ ।

Argakhachi Cement Island Ad

कार्यक्रमको पहिलो दिन मनोविद डा. नरेन्द्र ठगुन्ना, नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम, उपाध्यक्ष नारायणदास गमाल, महासचिव धरमबहादुर लामा तथा सचिव उमेश केसीले विभिन्न विषयमा आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको दोस्रो दिन पूर्व नेसनल च्याम्पियन एवं ओलम्पियाड खेलाडीद्वय सुरवीर लामा तथा केशव श्रेष्ठ लगायतले अनुभव बाँड्ने कार्यक्रम छ ।

आगामी जुलाईको २८ देखि अगस्ट ९ सम्म हुने ओलम्पियाडको पुरुषतर्फको टिममा वर्तमान नेसनल च्याम्पियन पुरुषोतम चौलागाईंसहित फिडेमास्टरद्वय रूपेश जयसवाल तथा क्षितिज भण्डारी एवं क्यान्डिडेटमास्टरद्वय विवेक थिङ तथा मिलन लामा छन् । त्यसैगरी महिलातर्फ नेसनल च्याम्पियन सुजना लोहनीसहित कृतिसरा अधिकारी, अनिशा न्यौपाने, विनिता कपाली र शान्ति थिङ छन् ।

सहभागी खेलाडीमध्ये रूपेशले २०१२ (रसिया) एवं २०१८ (जर्जिया) को अनुभव संगाली सकेका छन् भने सुजनासँग २०१६ (अवरवैजान) तथा २०१८ (जर्जिया)को अनुभव रहेको छ । त्यस्तै क्षितिज भण्डारी २०१६ (अजरवैजान) तथा विवेक २०१८ (जर्जिया) ओलम्पियाडमा सहभागी भएका छन् । अन्य खेलाडीको हकमा चेन्नाई ओलम्पियाड नयाँ अनुभव हुनेछ ।

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  २१:४२
प्रतिक्रिया दिनुहोस्