site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपालको पर्यटन प्रर्वद्धनका लागी बंगलादेशमा 'अमेजिङ नेपाल'फोटो प्रदर्शनी

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह नेपालको रजतमहोत्सवका अवसरमा मुलुकको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सोमबार बंगलादेशको राजधानी ढाकामा फोटो प्रदर्शनी गरेको छ । राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष एवं राससका फोटो पत्रकार प्रदीपराज वन्त र कोषाध्यक्ष सागर श्रेष्ठले सोमबार ढाकामा फोटो प्रदर्शनीमार्फत नेपाल घुम्न जान प्रेरित गर्ने उदेश्यले फोटो प्रदर्शन गरिएको बताएका छन् । 

उनीहरूले नेपाल एक उत्कृष्ट पर्यटकीय गन्तव्य रहेकाले नेपाल पुगेर मनोरञ्जन लिन आह्वान गरेका छन् । 

अमेजिङ नेपाल नाम दिएर आज आयोजना गरिएको फोटो प्रदर्शनीमा नेपालका उत्कृष्ट पर्यटकीय एवं धार्मिक क्षेत्रका करिब दुई दर्जन बढी तस्बिरहरू प्रदर्शनमा राखिएका थिए ।

Argakhachi Cement Island Ad

समूहका अध्यक्ष वन्तले राष्ट्रिय फोटो पत्रकार समुह स्थापनाको २५ वर्ष पुगेको अवसरमा वार्षिक रूपमा विविध कार्यक्रम गरी मनाउनेक्रममा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ढाकामा फोटो प्रदर्शनी गरिएको जानकारी दिएका छन् ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपालले बंगलादेश फोटो जर्नालिस्ट एसोसिएसनसँगको समन्वयमा फोटो प्रदर्शनी गरिएको हो  । 

फोटो प्रदर्शनीमा बंंगलादेश फोटो जर्नालिस्ट एसोसिएसन ढाकाका अध्यक्ष शोहेल हैदर, सचिव अख्तर अहमद तथा एसोसिएसनका संस्थापक सदस्य एवं वरिष्ठ पत्रकार काजी रौनक हुसेनलगायतका पत्रकारहरूले प्रदर्शनीमा राखिएका तस्बिर अवलोकन गरेका थिए ।

प्रदर्शनीमा एसोसिएसनका अध्यक्ष हैदरले नेपाल र बंगलादेशबीच दशकौँदेखि सम्बन्ध प्रगाढ रहेको र यस्ता कार्यक्रमले सम्बन्ध थप बलियो बनाउन सहयोग गर्ने बताए । उनले दुवै देशमा यस्ता कार्यक्रम निरन्तर रूपमा हुनुपर्नेमा जोड दिएका थिए । 

नेपालको राष्ट्रिय फोटो पत्रकार समुह र बंगदालेश फोटो जर्नालिस्ट एसोसिएसनबीच २०औँ वर्षदेखि भाइचारा सम्बन्ध कायम रहेको र सामुहिक रुपमा विभिन्न कार्यक्रहरू आयोजना हुँदै आएका छन् । फोटो प्रदर्शनी कार्यक्रमका लागि राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदिपराज वन्त र कोषाध्यक्ष सागर श्रेष्ठ ढाका पुगेका हुन् ।

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  २१:३६
प्रतिक्रिया दिनुहोस्