site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारले चियालाई बेवास्ता गर्‍यो : झलनाथ
फाइल तस्बिर ।

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं सांसद झलनाथ खनालले सरकारले चियालाई बेवास्ता गरेको आरोप लगाएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले देशमा चियाको उत्पादन बढिरहेको भन्दै यसलाई नीति, कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न नसकेको गुनासो गरे । सरकारले चियाका बारेमा गम्भीर भएर सोच्नुपर्नेमा उनले जोड दिए ।

Argakhachi Cement Island Ad

उनले राज्यले ध्यान नदिँदा चिया उत्पादकहरूले थुप्रै समस्या भोग्नुपरेको उल्लेख गरे । सिंगो नेपाललाई चिया क्षेत्रमा रूपान्तरित गर्न सकिने भन्दै उनले चिया उत्पादकलाई संरक्षण नगर्ने हो भने उत्पादकले चियाका बोट नै उखेल्ने स्थिति सिर्जना हुने चेतावनी दिए ।

चियाका बारेमा सरकारले अनुसन्धान र योजना बनाएर अघि बढ्न आवश्यक रहेको उनले औँल्याए ।

“इलाममा चिया उत्पादन विस्तार हुँदै गएको छ । देशमा पनि चिया फैलिँदै गएको छ । त्योतिर सरकारले बिल्कुलै बेवास्ता गरिरहेको छ । यस वर्षको नीति, कार्यक्रम आउँदा प्रधानमन्त्रीको ध्यान त्यसमा जाला कि भन्ने अपेक्षा गरेको थिएँ । तर, प्रधानमन्त्रीले अघि सारेको नीति, कार्यक्रम सम्माननीय राष्ट्रपतिको मुखबाट आयो, तर चियाको बारेमा कतै उच्चारण हुन सकेन,” उनले भने, “अर्थमन्त्रीबाट आउँदा पक्कै आउँछ होला, बजेटमा आउँछ होला, किनभने यो देशको कृषि उपजमा महत्त्वपूर्ण हो भन्ने थियो । तर, उहाँको बजेटमा पनि कतै चियाको चर्चा हुन पाएन । हामी बिदाको बेलामा चिया पिउन जुन बेलामा पनि जान्छौँ, तर चियाको बारेमा जुन ढंगले ध्यान आकर्षित हुनुपर्ने हो, त्यो भएन ।”

सरकार ‘कमिसनखोरी’ अर्थतन्त्र विकास गर्न लागिरहेको आरोप पनि उनले लगाए । उनले देश आर्थिक संकटतर्फ गइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

इलाममा चियाको संग्रहालय बनाउन समेत माग गरे । सांसद खनालले चियाको न्यूनतम मूल्य तोक्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १५:३९
प्रतिक्रिया दिनुहोस्