काठमाडौं । अभिनेत्री दीया मास्केले ‘प्रकाश’ आफ्ना करिअरकै टफ चलचित्र भएको बताएकी छन् । अहिलेसम्म आफूले गरेका चलचित्रका क्यारेक्टरमध्ये ‘प्रकाश’को क्यारेक्टर टफ भएको उनको भनाइ छ ।
पर्दामा हेर्दा क्यारेक्टर जति सामान्य देखिन्छ त्यसलाई निभाउन त्यति नै कठिन हुने गरेको उनको अनुभव छ । “सीता मेरा लागि सिनेमा करिअरकै कठिन क्यारेक्टर बन्यो,” चलचित्र ‘प्रकाश’को ट्रेलर सार्वजनिक कार्यक्रममा उनले भनिन्, “हेर्दा सिम्पल देखिने क्यारेक्टर निभाउन झन धेरै कठिन हुन्छ । जुन मेरा लागि अहिलेसम्म सीता बन्यो ।”
चलचित्रमा निर्देशक अब्बल भए उसले कलाकारबाट राम्रो काम निकाल्न सक्ने उनको धारणा छ । आफूले निकाल्न खोजेको काम नपाएसम्म नछोड्ने निर्देशकले मात्रै राम्रो काम निकाल्ने र कलाकारले पनि मिहिनेत गर्ने उनी सुनाउँछिन् ।
“दिनेश राउतलाई रेणु योगीले क्रान्तिकारी निर्देशक भनिन् । तर, मैले जिद्धी र जब्बर निर्देशकको रुपमा पाएँ । जबसम्म आफूले खोजस्तो काम आउँदैन त्यो नपाएसम्म नछोड्ने स्वाभाव रहेछ,” दीया भन्छिन्, “आफूले खोजेको जस्तो काम नआउँदासम्म सम्झौता नगर्ने स्वाभाव मैले पाएँ । यो राम्रो काम निकाल्ने तरिका पनि हो ।”
चलचित्र ‘प्रकाश’को मुख्य कलाकारमा प्रदीप खड्का, दीया मास्के, रेणु योगी, प्रकाश घिमिरेलगायत छन् । महेन्द्र अधिकारीको निर्माणमा दिनेश राउतले निर्देशन गरेको चलचित्र भदौ १० गते रिलिज हुनेछ ।