काठमाडौं । चालु आर्थिक वर्षको सुरुआतदेखि नै उकालो लागको धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक तेस्रो कारोबार दिन पनि बढेको छ ।
सोमबार १८ अंक बढेको नेप्से परिसूचक आज १६.२७ अंक बढेर बन्द भएको छ । आर्थिक वर्षको पहिलो दिन आइतबार करिब दुई अंकले बढेको थियो ।
आज नेप्से परिसूचक ०.८० प्रतिशत वृद्धि भएर २०४५.६९ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.७१ प्रतिशत बढेर ३९१.५३ विन्दु कायम भएको छ ।
आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब एक अर्ब रुपैयाँ बढेको छ । सोमबार एक अर्ब ३१ करोड रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार ९८ करोड ६३ लाख बढेर कारोबार रकम दुई अर्ब २९ लाख पुगेको छ ।
आज २१३ धितोपत्रको ५७ लाख १३ हजार २४८ कित्ता सेयर खरिद–बिक्री भयो ।
कारोबारमा आएका १३ वटै समूहको समूहगत परिसूचक बढेको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा वित्त समूह रहेको छ । यो समूहको परिसूचक २.७७ प्रतशित वृद्धि भएको छ ।
यस्तै, लघुवित्त समूहको १.८३ प्रतिशत, व्यापार समूहको १.५९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १.२४, विकास बैंक समूहको १.१८ प्रतिशत र होटेल तथा पर्यटन समूहको परिसूचक एक प्रतिशतले बढेको छ ।
यसैगरी, निर्जीवन बिमा समूहको ०.९ प्रतिशत, जीवन बिमा समूहको ०.८२ प्रतिशत, हाइड्रोपावर समूहको ०.६८ प्रतिशत, लगानी समूहको ०.५३ प्रतिशत, बैंकिङ समूहको ०.४८ प्रतिशत, अन्य समूहको ०.२१ प्रतिशत र म्युचुअल फन्ड समूहको परिसूचक ०.०९ प्रतिशतले वृद्धि भएको छ ।
आज सर्वाधिक सेयर मूल्य वृद्धि इमर्जिङ नेपाल लिमिटेडको भएको छ । यो कम्पनीको सेयर मूल्य ८.०१ प्रतिशतले वृद्धि भएको छ ।
सर्वाधिक रकमको सेयर खरिद–बिक्री शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यो कम्पनीको १५ करोड ९७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।