
काठमाडौं । प्रतिनिधि सभाले शुक्रबार करिब साढे दुई वर्षपछि उपसभामुख पायो । ०७६ माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त थियो ।
उपसभामुख चयनका लागि आज भएको मतदानमा सत्तारूढ नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल निर्वाचित भएकी हुन् ।
प्रतिनिधि सभाको शुक्रबार बसेको दोस्रो बैठकमा भएको मतदानमा १४८ मत पाएर उनी उपसभामुखमा निर्वाचित भएकी हुन् ।
प्रतिनिधि सभामा तत्काल कायम रहेका २४२ सदस्यमध्ये भुसालको पक्षमा १४८ मत र एमाले उमेदवार विद्या भट्टराईको पक्षमा ९३ मत आयो ।
भुसाललाई सत्तारूढ गठबन्धनको समर्थन थियो ।
"यस सभाका माननीय सदस्य पुष्पा भुसाल गौतमलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४८ मत परेको र उक्त संख्या प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत भएकाले यस सभाका माननीय सदस्य पुष्पा भुसाल गौतमलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु," सभामुख अग्नि सापकोटाले भने ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने मतदानमा भाग लिएनन् । प्रतिनिधिसभाको अर्को बैठक साउन ४ गते बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ ।