site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भीम अस्पतालका १७४ स्वास्थ्यकर्मीले पाएनन् कोरोना जोखिम भत्ता, आन्दोलन चर्काउने चेतावनी
Tiktok banner adTiktok banner ad

बुटवल । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले कोरोना जोखिम भत्ता नपाएको भन्दै आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । संघर्ष समिति गठन गरी उनीहरूले जोखिम भत्ता नपाए आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएका छन् ।

संघर्ष समितिका अध्यक्ष गोपाल उपाध्यायले सरकारले गरेको निर्णयानुसार श्रमको मूल्य पाउनुपर्ने स्वास्थ्यकर्मीको माग रहेको बताए । “सरकारले कोरोना जोखिम भत्ता दिने नभनेको भए हामीले माग्ने थिएनौँ,” उनले भने, “सरकारले गरेको निर्णय र आफूहरूले पाउनुपर्ने अधिकार मागेका हौँ ।”

०७८ साल वैशाखदेखि कोरोना महामारीको दोस्रो लहरका समयमा स्वास्थ्यकर्मीले जोखिममा सेवा गरेको बारे सबैलाई अवगत भएको उनको भनाइ छ । उनले प्रदेश सरकारले ५० प्रतिशत र संघीय सरकारले ५० प्रतिशत गरी १०० प्रतिशत भत्ता दिने भनिए पनि हालसम्म एक रुपैयाँ नपाएको बताए ।

स्वास्थ्यकर्मी उपाध्यायले भने, “केही नपाएपछि माग्दै नमाग्ने भन्ने कुरा हुँदैन । देशका १७ हजार स्वास्थ्यकर्मी कोरोना जोखिम भत्ता पाउनबाट वञ्चित छन् ।”

यही असार १६ गतेसम्म संघर्ष समितिले आन्दोलनका कुनै कार्यक्रम नगर्ने र सरकारको निर्णय पर्खने उनले बताए । माग पूरा नभए सोही दिन आन्दोलनका कार्यक्रम घोषणा गर्न सकिने उनको भनाइ छ ।

उपाध्यायका अनुसार भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले ६ महिनाको एक करोड ४९ लाख ८० हजार रुपैयाँ रकम पाउन बाँकी छ ।

संघर्ष समितिका उपाध्यक्ष एवं बालरोग विशेषज्ञ डा. आरिफ हुसेन आफूहरूको आन्दोलन स्वास्थ्यकर्मीको हक, अधिकारको पाउनका लागि हुने बताउँछन् । उनले भने, “हाम्रा कुरा स्वास्थ्य मन्त्रालय र नेपाल सरकारले सुनोस्, अस्पतालबाट पठाइएको कर्मचारीले राम्रो प्रतिक्रिया लिएर आउनुस् भन्ने अपेक्षा हो ।”

स्वास्थ्यकर्मीले कोरोना महामारीका बेला आफ्नो ज्यान जोखिममा राखेर काम गरेको नागरिकले राम्रोसँग बुझेको उनले बताए । “यदि, सरकारले भत्ता नदिने भनेको भए पनि हामी काम गर्दथ्यौँ । कहिल्यै पनि स्वास्थ्यकर्मी पछाडि हट्ने कुरै आउँदैन,” उनले भने, “भोलिका दिनमा समस्या आए भने पनि हामी पछाडि हट्ने छेनौँ । ज्यानको बाजी लगाएर काम गर्छौँ ।”

सरकारले झुटो आश्वासन दिएर स्वास्थ्यकर्मीको भावनासँग खेल्नु उचित नभएको उनको भनाइ छ । सरकारले स्वास्थ्यकर्मीको माग असार मसान्तसम्म सम्बोधन गर्नुपर्ने उनले माग गरे ।

संघर्ष समितिका सचिव जनकराज पन्तले कोरोना जोखिम भत्ता हालसम्म पनि पाउन नसकेकाले आन्दोलनमा उत्रिनुपर्ने बाध्यता रहेको बताए ।

उक्त अस्पतालका १७४ स्वास्थ्यकर्मीले कोरोना जोखिम भत्ताबापतको रकम पाएका छैनन् । स्वास्थ्यकर्मीले संघर्ष समितिमार्फत रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको पनि ध्यानाकर्षण गराएका थिए ।

भीम अस्पताल विकास समितिका अध्यक्ष कुलप्रसाद न्यौपाने सरकारले स्वास्थ्यकर्मीलाई आश्वासन दिएकाले जोखिम भत्ता उपलब्ध गराउनुपर्ने बताउँछन् । उनले महामारीमा काम गरेका स्वास्थ्यकर्मीले भत्ताको अपेक्षा गर्नु स्वाभाविक भएको बताए । स्वास्थ्यकर्मीले पाउनुपर्ने भत्ताका लागि पहल भइरहेको उनले जानकारी दिए ।

अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. शकुन्तला गुप्ताले स्वास्थ्यकर्मीले पाउनुपर्ने कोरोना जोखिम भत्ताका लागि पटक–पटक मन्त्रालयमा पत्र पठाइएको बताइन् । अहिले एक कर्मचारीलाई काठमाडौंस्थित मन्त्रालयमै पठाएर भत्ता उपलब्ध गराउन आग्रह गरिएको उनले जानकारी दिइन् ।

उनले स्वास्थ्यकर्मीलाई सेवा ठप्प पार्ने काम नगर्न आग्रह गर्दै भत्ता उपलब्ध गराउन निरन्तर पहल गरिरहेको बताइन् । “पैसा दिन तयार छौँ, तर पैसा नआएकाले रोकिएको हो ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  ११:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro