site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसपीपी 'सम्झौता' : सैन्य प्रयोजनका लागि कि विपद् व्यवस्थापन ?

काठमाडौं । अमेरिकी सैन्य सहयोग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा नेपालको सहभागितालाई लिएर देखिएको विवाद तत्काल मत्थर हुने संकेत देखिँदैन । एकपछि अर्को गरी आइरहेका विभिन्न सार्वजनिक कागजात तथा वक्तव्यबाजीले विवाद झन पेचिलो बन्ने देखन्छ ।

सुरुमा पाँच दलीय गठबन्धन नेतृत्वको वर्तमान सरकारले सम्झौता अगाडि बढाएको भनेर चर्को आलोचना भयो । तर, बिहीबार अपराह्नतिर जब तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नेपाली सेनाले एसपीपीमा नेपालको सहभागिताबारे अमेरिकी दूतावासलाई पत्र पठाएको देखियो विवादले राजनीतिक रूप लिने देखिएको छ ।

अहिले एसपीपी सम्झौताका लागि कहिले, कुन सरकारको पालोमा पहल भएकोदेखि यो सैन्य सम्झौता वा विपद् व्यवस्थापनका लागि हो भन्नेसम्मका प्रश्न उठिरहेका छन् । 

बुधबार काठमाडौंस्थित अमेरिकी दूतावासले पत्रकार सम्मेलन गर्दै एसपीपीमा सहभागी हुन नेपालले गरेको प्रस्ताव स्वीकार भइसकेको जनाएको थियो । तर, बुधबार साँझ नै नेपाली सेनाले एसपीपीमा अहिलेसम्म कुनै प्रक्रियासमेत नबढेको दाबीसहितको विज्ञप्ति जारी गर्‍यो । आज (बिहीबार) सेनाले नै एसपीपीमा सहभागी हुन अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि विवाद थप पेचिलो बनेको हो । भोलि (शुक्रबार) बिहान ९ बजे एसपीपीबारे छलफल गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई छलफलका नै लागि बोलाएको छ ।

विवाद कसरी सुरु भयो ?
एसपीपीअन्तर्गत नेपाली सेनाले अमेरिकी युटा राज्यको नेसनल गार्डसँग सहकार्य गर्न १० बुँदे प्रस्तावित सम्झौता यसै साता सार्वजनिक भयो । सम्झौता बाहिरिएसँगै संसद्, मिडिया र सामाजिक सञ्जालमा शेरबहादुर देउवा नेतृत्वको सरकारको चर्को विरोध भयो । 

बिहीबार दिउँसोसम्म नेकपा (एमाले)का सांसदहरूले संसद्मा एसपीपी सम्झौताले असंलग्न परराष्ट नीति, भूराजनीतिको दलदलमा नेपाललाई धकेल्न खोजेको भनेर चर्को आलोचना गरे ।

सांसद भीम रावलले कांग्रेसबाट प्रतिनिधित्व गर्दै स्वर्गीय प्रधानमन्त्री सुशील कोइरालाले सन् २०१५ मा एसपीपी सम्झौताका लागि पत्र लेख्न लगाएको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरे । बिहीबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमा रक्षा मन्त्रालयलाई प्रश्न उठाउँदै उनले २०१७ मा स्वयम् प्रधानमन्त्री देउवाले पनि एसपीपीका लागि सेनालाई पत्र लेख्न लगाएको दाबी गरे ।

एमालेका अर्का सांसद ईश्वर पोखरेलले एसपीपी सम्झौतामा एमालेको नाम जोडको भनी निन्दा गरे । आफू रक्षामन्त्री हुँदा यो विषय उठेको र कार्यदल बनाई एसपीपी नेपालको असंलग्न परराष्ट्र नीति विपरीत भएको निष्कर्ष निकाल्दै त्यसलाई रोकेको उनको दाबी थियो । 

तर, जब बिहीबार अपराह्नतिर जब तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकारका पालामा नेपाली सेनाले अमेरिकी दूतावासलाई पत्र पठाएको देखियो अहिले आलोचना एमालेतिर तेर्सिएको छ ।

उसो त संसद्मा बैठकमा रक्षामन्त्री एवम् प्रधानमन्त्री देउवाका तर्फबाट जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले नेपाल एसपीपीमा आवद्ध नभएको बताएका थिए । उनले संसद्लाई सम्बोधन गर्दै नेपाल आवद्ध हुने निर्णय नगरेको र सोच पनि नराखेको जिकिर गरे । 

यसअघि बुधबार काठमाडौंस्थित अमेरिकी दूतावासले पत्रकार सम्मेलन गरेर उक्त सम्झौता झुटो भएको र एसपीपीका लागि नेपालले नै पहल गरेको स्पष्ट पारेपछि घटनाले अर्कै मोड लिएको थियो । अमेरिकी राजदूतावासका उपप्रमुख मानुएल पी. मिकलरले सन् २०१५ मा नेपालले कार्यक्रममा सहभागी हुन पहिलो पटक र २०१७ मा पुनः कार्यक्रममा सहभागी हुन दोस्रोपटक अनुरोध गरेपछि सन् २०१९ मा अमेरिकाले नेपालको सहभागिता सुनिश्चित गरेको दूतावासको भनाइ थियो ।

जवाफमा बुधबार राति नै जंगी अड्डाले मौनता तोड्दै विज्ञप्ति जारी गर्‍यो । विज्ञप्तिमा सेनाले अमेरिकी सेना वा सरकारसँग एसपीपीसम्बन्धी कुनै पनि सम्झौता नगरेको दाबी गरेको थियो । सेनाले एसपीपीमा संलग्न हुनका लागि आफूले पत्राचार नगरेको र कहिल्यै नगर्ने पनि भनेको थियो ।

सेनाको विज्ञप्तपछि अधिकांशलाई लागेको थियो– आधिकारिक निकाय सेनाले नै स्पष्ट पारिसकेपछि अब 'च्याप्टर क्लोज' भयो ।

तर, सेनाले गरेको दाबी १२ घण्टा पनि नबित्दै अर्को पत्र सार्वजनिक भयो । नेपाली सेनाको औपचारिक लोगो नभएको उक्त पत्रमा एसपीपीमा सामेल हुन भन्दै सेनाले २०७२ कात्तिक १० मा पत्र लेखिएको थियो । पत्रमा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको हस्ताक्षर छ । पत्रमा चाँडै एसपीपीको सदस्य बन्न लागेकामा खुसी व्यक्त गरिएको थियो ।

अन्ततः एसपीपीका विषयमा नेपाली सेनाले बुधबार राति जारी गरेको विज्ञप्ति पनि गलत सावित भयो ।

विपद् व्यवस्थापनका लागि मात्रै !
तर, सेनाका प्रवक्ता नारायण सिलवाल एसपीपीबारे गरिएको खण्डन गलत नभएको दाबी गर्छन् । सन् २०१५ मा लेखिएको उक्त पत्र आधिकारिक भएको तर त्यसबेलाको विशेष परिस्थितिमा लेखिएको उनको दाबी छ । 

प्रवक्ता सिलवालकाअनुसार नेपालमा भूकम्प गएपछि विश्वका कैयौँ देशसँग सहयोगका लागि आग्रह गरिएको थियो । त्यसबेला अमेरिकासँग पनि सहयोग माग्दा उक्त पत्र लेखिएको उनको भनाइ छ । विपद् व्यवस्थापन, हेलिकप्टर लजिस्टिक, अत्यावश्यक भौतिक संरचनाबारे अमेरिकी अनुभव र प्रतिक्रियाको लागि पत्र लखिएको उनले बताए ।

“अमेरिकामा उक्त कार्य नेशनल गार्डले गर्छ,” उनले भने, “त्यो बेलामा आईपीएस पनि थिएन । अहिलेको जस्तो भूराजनीतिक संवेदनशील विषय उठेको पनि थिएन ।”

यसैबीच अमेरिकी दूतावासले नेपालले एसपीपीमा सहभागी हुन नचाहे पत्राचार गरेर रद्द गर्न सक्ने स्पष्ट पारेको छ । एसपीपी कार्यक्रममा करिब ९० देश सहभागि छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असार २, २०७९  २३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro