site stats
बाह्रखरी :: Baahrakhari
विशेष
एक्लै जँघार तर्दा

विशालनगर निवासी बूढामावली भरत पराजुलीको घर छोडेर हाँडीगाउँमा डेरा सरेको थिएँ । काभ्रे, सर्वझाङका कृष्ण सापकोटा र फट्टकशिलाका रामजी पौडेल मेरा कोठेसाथी बन्न आइपुगे । त्यस्तै तीन महिनाजति भएको थियो हामी सँगै बसेको । रानीपोखरी संस्कृत प्रधान पाठशाला (दरबार हाइस्कुल)बाहेक टंगालकै रात्रि विद्यालयमा पनि भर्ना भएर कक्षा ६ मा अंग्रेजी पढ्दै थिएँ म । २०२४ जेष्ठ ९ गतेको कुरा । त्यतिखेर घर जानैपर्ने खास काम त थिएन, तर उसै पनि कुनै न कुनै बहाना खोज्दै नयाँनौला ठाउँतिर बुर्कुसी मारौँजस्तो लाग्ने बेला ! छोप, चिउरा, सखर, बेसार, भुटुन सकिएको पनि निकै दिन भइसकेको थियो । बर्खा लागेपछि झरीवर्षा र खोलानाला, बाढीपहिरोले गर्दा पूर्व एक नम्बर सीपापोखरेको आफ्नो घर गइरहन उसै सम्भव थिएन, त्यति बेरको सम्भावित नियास्रो मेट्न पनि यति बेर घर जानैपर्ने पूरक निहुँ समेत थपियो ।

धेरै सोच्नुपर्ने विषय थिएन । सल्लाह गर्नुपर्ने कुरा पनि थिएन । फुक्काफाल जिन्दगी । शुक्रबारे हाफ छुट्टीलाई पूरै छुट्टी मानेर स्कुल बंक गर्ने सुर चल्यो । शनिबार बिदै भयो । कुन्नि के परेर हो, आइतबार पनि बिदा रहेछ ।

कृष्णप्रसाद, रामजी र म बसेका छौँ हाँडीगाउँको पुरानो बान्कीको बुर्जावाल एउटा घरमा । सहरिया परिवारमा फेला परेको यो हाम्रो गरिमामय डेरा थियो । आक्कलझुक्कल घरबेटी दिदी हाम्रो कोठाभित्र फुत्त पसेर विस्तरामा आसन जमाउँदै बसिदिँदा भने किन हो कुन्नि अलि धकाएजस्ता हुन्छौँ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आईएतिर पढ्दै गरेकी ती दिदी मुआँ घरमा न होइसेको मौकामा हाम्रो रुममा छिरेर नबुझेका पाठहरू पढाइसिकाइ दिने पनि गर्नुहन्छ । जुत्ताकपडाको सरसफाइ र कोठाको व्यवस्थापन भाँडाबर्तनको राखनधरनजस्ता विषयमा कडा निर्देशन पनि दिनुहुन्छ ।

तर, के कस्तो मुड चलेर हो, कहिलेकाहीँ भने त्यस्तैउस्तै कुरा गरेर अभर पारिदिनुहुन्छ । हामी लाजले राता कान पार्दै जवाफै नदिई हाँसेर टारिदिन्छौँ । घरबेटी बा भने गाँजा उडाउन र हार्मोनियम बजाउनमै व्यस्त । बिन्दास जिन्दगी सधैँका भोला !

बेलाबेला वल्लोपल्लो घरको बार्दलीबाट मिल्दो उमेरका नानीबाट पनि हामीउपर लाइन मार्ने थप काम भइरहन्छ । तिनीहरूका सामु पर्दा भने हामी साँढा पल्टिएका हुन्छौँ । त्यसैले सडकको सार्वजनिक धारो रुँगेर बाल्टिनमा पानी थाप्नुपर्दाचाहिँ रुमालले आँखाबाहेक पूरै अनुहार ढाकेर मात्र गइन्छ । लुगा, भान्सा सफा गर्ने र पानी ल्याइदिने मान्छे खोज्दाखोज्दै अझै पाउन सकिएको छैन ।

घर जाने पक्का भएपछि बिहान हतारमै भातभान्सा तयार भयो । अलिअलि सल्लाह अगिल्लै दिन भए पनि खानपिन सकेपछि मात्र त्यसै दिन जाने मुक्कुर निर्णयमा पुग्यौँ ।

“ह्या ! यी भाँडासाँडा पनि आज नमाझौँ, घरबाट फर्की आएपछि माझौँला ।” कृष्णले जुठा भाँडा बाटामा खात लगाउँदै भने । उनैको पालो परेछ त्यस दिन भाँडा माझ्ने । अरूले विनाबित्थाँ नाइँनास्ती गर्ने मेसै मिलेन ।

एकेक जोर लुगाफाटो आङमा हुल्यौँ । एकेक जोर पट्याइवरी झोलामा भर्यौँ । अनि, झोलाझाम्टा भिरेर बाटो लाग्ने तरखर के गर्दै थियौँ, रामजीले हामीलाई मात्र पठाएर आफू एक्लै बस्ने आशय देखाए ।

पारि घरको बार्दलीतिर एकलौटी लाइन मार्ने सुरमा रैछन् भन्ने लाग्यो । समात्यौँ एकएक पाखुरा दुवै भाइले, झार्यौँ खँगार्दै भर्याङबाट तल सडकमा । अनि, लाग्यौँ हाँडीगाउँको ओरालोतिर ।

धोबीखोले फाँटभरि अघिल्लो दिन परेको पानीको भल छोपाइमा किसानहरू खेतका कान्ला तास्दै, आली लगाउँदै, चिल्याउँदै र डिलमा भटमास रोप्दै रहेछन् । कतैकतै फाट्टफुट्ट बीउ काढेर रोपाइँ पनि चल्दै रहेछ । सुरिलो स्वरमा असारेगीत सुनिँदै थियो रोपाहारहरूको ।

भत्क्यापुलमुनि पिलरको कन्दनी बनेर फन्का मारिरहेको धोबीखोलाको घुमाउने दह आज धमिलो रहेछ । हिउँदभरि संग्लो पानी भरिने त्यो दहमा देख्यापिच्छे पौडी नखेली बस्दैनथ्यौँ हामी । शनिबार त नियमितजस्तै थियो, हाम्रो मनमौजी जलक्रिडा ।

तर, घर जान बाटो लागिसकेकोले फिलहाल त्यो सम्भव लागेन । “कि मार्ने हो त एकएक डुबुल्की ?”

तैपनि, दहको छेउ पुगेपछि मैले भनी हेरेँ । रामजी त ठिक पर्न आँटिहाले झोला बिसाएर । कृष्णले छेकी हाले । भन्दै थिए, “घर पुग्न ढिला भए आधा बाटोमा कता बास बस्ने अनि ?”

बीचबाटोमा बास पर्दा अनेकौँ समस्या झेलिआएका भुक्तभोगी रहेछौँ हामी । आ–आफ्ना अनुभव बाँडचुँड गर्दै पैदल गोरेटो समातेर गणेशस्थानतिर उकालो लाग्यौँ । मन्दिरअगाडि दशऔँली जोडेर गणेशजीको दर्शनसँगै मंगलमय यात्राको लागि प्रार्थना गर्यौँ ।

चाबेलचोकैको किराना पसलमा एकेक सुकाको नरिवल र मिश्री किन्याैँ दिउसोलाई बाटाखर्च । अनि, चुच्चेपाटी नाघेर बौद्ध गुम्बाअगडिका केही ठूला पसल र दुईचार भट्टी छोडेर तेर्सियौँ ।

कतै आली नै आली, कतै कुलैकुला हिँड्नुपर्ने मज्जैको हविगत थियो जोरपाटीदेखि नै बाटाको । एक मोहोर तिरे साँखुसम्म जाने लरी पाइन्छ भन्ने सुनेका थियौँ । तर, बाटाको हविगत देख्ता पत्यार लागिरहेको थिएन ।

वाग्मतीमाथिको फलामे पुल तरेर गोकर्ण जंगलको किनारतिर लाग्दा पर्खालभित्र चउरमा मृगका पाठा खेलेको अनि मयूर नाचेको लोभलाग्दो दृश्य देखेको थिएँ । चारपाँच वर्षअघि मामासँग घोडेजात्रा हेर्न काठमाण्डू आउँदा त्यो अवसर जुरेको थियो ।

सधैँभरि देउपुर, नगरकोटतिरबाट उपत्यका भित्रिने म सीपावासीका लागि आज हिँडेको यो बाटो नितान्त नौलो लागिरह्यो । रामजीलाई सोधी हेर्दा ती जनावर र चराहरू जंगलबाट चउरतिर अपराह्नपछि मात्र निस्कने बताए ।

मध्याह्नको बेला कवै नदेखिने मृगका खेल अनि मयूर नाचेका रमिताको दृश्यावलीबाट विमुख बन्दै लागियो धरमथलीको उकालो । नर्कट, वनमारा र सिस्नोघारीले छोपेका हिलेखोल्सा, कुलेसा, पाखाका डिल र नागबेली परेको उकालो ओरालो तरतरी पसिना झार्दै डाँछी, धर्मस्थलीका पच्याङ्गहरू कस्सिएर पार गर्दै गयौँ ।

जथाभावी काटेर कुलो वारपार गराउँदा लरी चल्ने भनेको बाटो पनि उसै बेमाख बनेको थियो । शिरमा सिंहराज र तलपट्टि पुष्पगुच्छासहितको कलश, मातृका र मंगलमूर्ति गणेशजीले पहरेदारी गरिरहेको बडेमानको घुमाउने ढोकाभित्र सरासर छिर्यौँ । भौला ध्व अर्थात् साँखु सहर छिर्ने बेहुला ढोका भनिँदो रहेछ यसलाई । ढोकाभित्र छिर्नेबित्तिकै जताततै भेटिने गणेश र देवदेवीका मन्दिरले प्राचीन साँखु सहरको गरिमा प्रदर्शित गरिरहेका ।

त्यस्तै, ससाना मन्दिर र गुम्बावरपर बनेका ढुंगेधारा, सत्तल पाटी अनि धर्मशाला आदिले पनि साँखुको पुरातन सभ्यता र संस्कृतिको चिनारी जोगाइराखेको अनुभव गर्यौँ । बाटाको दुई किनारमा ठडिएका, कतै चोकअगाडि चारचोसा पसारेर तेर्सिएका ठूल्ठूला बुर्जावाल धौलेघरको सम्भ्रान्त सहर लाग्यो साँखु । क्षेत्रफलको हिसाबले पाटन, भक्तपुरभन्दा निकै सानो भए पनि बुट्टेदार टुँडाल, मुँठल, चौकोस कोटलले सजिएका भव्य भवन र चिप्ला पेटीहरूको साँखु सहर विभिन्न आकारप्रकारका बुर्जा बार्दली कौसी र आँखीझ्यालले झनै सभ्रान्त लाग्यो ।

त्यो ऐतिहासिक सहर हेर्दै जाँदा ठूल्ठूला पसलमा गद्दामाथि आसन जमाएर बसेका साहुजी र राम्रा लुगा लगाएका नरनारीले नागर सभ्यताको बयान पस्किरहेका । सहर नाघेर अलि पर पुग्दैखेरि पारिभित्ता जंगलको माझमा बज्रबाराही माईको मन्दिर पहेँलो गजुरमा टलक्क टल्किएको देखियो । हिन्दु, बौद्ध दुवै धर्मको धरोहर त्यो मन्दिरमा विराजमान माईको बाटैबाट दुई हात जोडेर दर्शन गर्यौँ र मनमनै आशीर्वाद मागेर बाटो लाग्यौँ ।

लप्सेफेदीमा रहेको एउटै होटेलमा थुपुक्क बसेर भुटेको आलुसँग एकेक चखन्ती चिउरा र तात्तातो चिया सँगसँगै उदरस्थ गर्यौँ अनि जुरुक्क उठेर खुरुक्क जहर्सिङ पौवातिर वनैवनको ठाडो बाटो उकालो लाग्यौँ । लमतन्न पर्वतको भिरालो जमिनमा नानाथरी कुकाठको पटेर झाडी । बीचबीचमा बाङ्गे सल्लाहरू तालुकदारी हैकम देखाएर अरू होचा, साना रूख, बुट्टाजतिलाई कज्याउँदै ठाडो शिर उभिएका देखिए ।

दुईतिरका पाखालाई चट्ट चिरेर तल झरेको गहिरो खोल्साको बाटो, कतै पाखाभित्तातिर चढ्दै र कतै ओर्लिंदै गरेको । हिउँदमा थोरै पानी र धेरै मान्छे हिँड्ने खोल्साको बाटावारिपारि पहराको तलमाथि दौडिरहेका लोखर्के, छेपारा र भानेमुङ्ग्राहरू विजातीय जमातसँग विभिन्न थरीका खेल खेल्दै गरेका देखिए । कति बेर त के सुर चढेर हो, हामी आफैँ पनि को चाँडो माथि पुग्ने भन्दै दौडिने अनि अर्कोले अगाडि जानेको पाखुरा समातेर तलतिरै तान्ने गर्दथ्यौँ ।

उसै पनि थकाइले चुर पार्ने खालको उकालोमा हाँस्दै, खेल्दै गयौँ, केही बेर यो आत्मघाती खेल । जंगलको बीचजस्तो पुगेपछि ठूल्ठूलो स्वर गरेर स्याल, हाइना र कागहरू कराउन थाले । त्यो संयुक्त क्रन्दन सुनेपछि वरपर कतै चितुवा, बाघ भएको आभास भएर हाम्रो पनि होस ठेगानमा रहेन । अनि त अझै बेतोडले स्वाँ...फ्वाँ गर्दै उकालो बाटो ततायाँै ।

केही बेरको यात्रापछि लङ्गुरा काठको कुस्त भारी बोकेर खाली खुट्टा तलतिर झर्दै गरेका भोटो कछाडधारी एक हुल अधबैँसे पुरुष भेटिए । माथि आकाशबाट देउता नै हाम्रा रक्षक बनेर धरतीमा ओर्लिएजस्तो लाग्यो । डरत्रासको बादल कता भाग्यो भाग्यो । घरगोठ, पाली, छाप्रा बनाउने प्रयोजनका लागि वनबाट डाँडा, भाँटा, बलाको भारी ल्याए हुन् भन्ने अन्दाजमा थियौँ, हाम्रा घरतिर पनि यस्तै चलन भएर होला ।

लप्सेफेदीमाथिको लम्बेतान उकालो बल्लतल्ल पार भएर ढुंगेधारामा उत्रियौँ । जहर्सिङ पौवाकै तल्लो फेटको दम्स्याइलो फराक सिमसारमा गाईभैँसी र भेडा चराउन लागेका गोठाला भेटिए । अनि मात्र त्यो बिरानु जंगलको भयावहबाट पूर्ण रूपको मुक्ति मिलेको भान भयो । लामो सास फेरेर खलपत्रे बाटाछेउ एकछिन सुस्ताउने तर्खरमा थियौँ ।

तर, चउरमा टुसुक्क बस्न नभ्याउँदै कृृष्णका मोजामा रातो दाग देखियो । सबैजनाले आआप्mना जुत्तामोजा खोलेर हेर्दै गयौँ । मोजाभित्र पसेर जुकाले रगत पिएर बेमाख बनाइसकेछन् ।

“हन, कति छिटा हुन् यहाँका जुका पनि ? कहिले पसिभ्याए हाम्रा मोजाभित्र ?”

आआफै बोल्दै मोजा खोल्दै आत्तिएजस्ता भयौँ उतिबेरै । जुका टिपेर फाल्ने काम औधी घिनलाग्दो भएर होला, हामी डरले छेरभालु बन्दै गोठालाहरूसँग हारगुहार माग्न पुग्यौँ । एकजना अलि बूढा गोठाला बाले साथमा ल्याएको नुन, खुर्सानी र टिम्मुरको धुलो गोडाभरि लगाइदिएर जुकाहरूलाई ठाउँको ठाउँ ठहरै पारे र हाम्रो जिउज्यानको हिफाजत गरिदिए ।

भन्दै थिए, “नुन, खुर्सानी र टिम्मुरको धुलो नबोकी यो सिमसारमा त निस्कनै हुन्न । आफू आउनै नपाई जुकाले गन्धबाटै मान्छे आएको चाल पाइसक्छन् !”

उसै पनि प्रसन्नचित्तका लाग्ने हलेदेवासी गोठाला बा बोली नछुट्त्तै पहिले आफैँ खित्का छोडेर हाँस्दा रहेछन् । हामी पनि उनीसँगै हाँस्यौँ मज्जैले । जुकाको त्रासले असिनपसिन भएको बेला उनीसँगै रुञ्चे हाँसो हाँस्दा भने निकै मजा आइरहेथ्यो ।

जहर्सिङ पौवाको खलपत्रे चउर नाघेर केही तेर्पे, केही ठाडै उकालो फटाफट पाइला चलाउँदै गयौँ । अलि माथि भञ्ज्याङमा पुगेपछि शीतल हावा खान लागियो । यहाँ त पक्कै जुका छैनन् भन्ने विश्वासमा ढुंगामाथि झोला बिसाएर आराम गर्दै थियौँ, बेला घर्किजाने डरले अर्को तनाव सिर्जना गर्यो । तैपनि, उत्तरका हरिया डाँडा, खोला र सेतो हिमाल उता पश्चिमका हरिया फाँट र पहेँला गजुरमा धपक्क बलेजस्तो देखिने काठमाण्डू उपत्यका अनि लमतन्न लम्किएको शिवपुरी नगरकोटको  हराभरा पर्वत शृंखला पनि हेरयौँ, मज्जैले धीत मर्ने गरी ।

डाँडो काटेर ओरालो खुर्मुरिँदै बागधारा पुग्यौँ । बाटामाथि, मुनि छरिबरी घरैघर भएको त्यो गाउँमा पुग्दै रामजीले भने यहाँका कुकुर खतरा छन् । कुरा सुन्दै हामी होसियार बन्यौँ । त्यसैको अलि तल नाङ्ले गाउँ पुग्दा कृष्णले भने यहाँका भैँसी डेन्जर छन् । मचाहिँ अनुमान गर्दै थिएँ, बिचरा दुवै साथी कुनै दिन यी गाउँका कुकुर र भैँसीबाट पीडित रहेछन् ।

एकपटक त्यही बाटोमा चरिरहेको भैँसीलाई हप्काउँदा कृष्णलाई बेतोडले दपेट्दै सिङमा उनेर झन्डै परमधाम पुर्याएछ । अर्को पीडित रामजीलाई पनि कुनै दिन त्यसै गाउँमा भोटेकुकुरको बथानै पछि लागेर बेतोडले दपेटेछ । त्यो कुरा सुनाउँदा रामजी, कृष्ण दुवै यति बेर पनि डरले थर्कमानजस्ता देखिन्थे । मचाहिँ अक्सर देउपुरतिरको बाटो हिँड्ने भएकाले त्यताको पदयात्रामा उति अभ्यस्त थिइनँ ।

कुवापानी नाँघेर चाँपाबोट पुग्दा पश्चिम आकाशमा एक जुवाजति घाम बाँकी देखिए । “भारेगाउँ वास बस्ने त ?,” मैले प्रस्ताव राखेँ ।

मेरी सानीमा गीर्वाणकुमारीको घर थियो, त्यहीँ अलि पर भारेगाउँमा । तर, दुवै साथीले मान्दै मानेनन् । चाँपाबोटे चउरदेखि तलतिरको नागबेली ओरालो खुर्मुरिँदै गयौँ । बायाँ जर्घेखोला र दायाँ ढाँडखोलाको फाँट । घरी यता घरी उताको दृश्यवलीमा आँखा डुलाउँदै चंगाजस्तै हल्का मन लिएर चलायमान थियौँ । बाटावरिपरि पाखैभरि उँडालु, धुर्सल, धाइरो फुलेर रङबिरंगी देखिन्थ्यो । तर, धाइराको फूल टिपेर चुस्न पनि भ्याइएन ।

अझै अलिकति वनबुट्यान बाँकी थियो, फट्टकशिला भञ्ज्याङ निस्कन । पहेँला घाम हुँदा छाप भञ्ज्याङको चौतारीमा निस्किएका थियौँ । युगौँ पुरानो लाग्ने विशालकाय पिपलबोटको छहारीमुनि थुप्रै गाउँले महिलाहरू घाँसका भारी र पतकरका थुन्से बिसाएर थरक मार्दै रहेछन् । त्यसै चौतारीको अर्को दिशापट्टि हामी पनि झोला बिसाएर टामाटुमी बस्यौँ ।

एकै छिनपछि हिँड्ने तर्खर गर्दै थियौँ, भरे मेरो घर जाऊँ भन्ने रामजी, मसँग मेरा मावली जाऊँ भन्ने कृष्ण । दुवैले दुईतिरबाट मेरा पाखुरा समातेर तानातान गर्न थाले । हाम्रो गलफतीको मजा लिँदै महिलाको बथानबाट अलि घोर्लेजस्ता दिदीहरू हाम्रा आगाडि आएर जिस्क्याउन थाले ।

“भाइ, तिमी अन्त नजाऊ । हामीसँग हाम्रै घर हिँड !,” एउटीले भनिन्, “दूधभातमाथि घिउ, मह हालेर खुवाऊँला, को खाई को खाई बाबु भन्दै । सँगै बसाऊँला, नरम ओछ्यान दिऊँला, तातोन्यानो पारौँला ।”

आआफैँ अट्टहास गर्दै ऊभन्दा ऊ चाँडो भन्दै गए दिदीहरू । “दूधमै पौडी खेल्न दिऊँला छप्ल्याङछप्ल्याङ गरेर । बाँकटे हाने पनि हान, भ्यागुते खियाए पनि खुसी । पौडी खेल्न सकेजति दिऊँला ।”

अर्की नखर्माउली दिदी उखरमाउलो अट्टहास गर्न थालिन्, छोपौँला झैँ गरेर । “भुत्ले साग (कुखुरा) खोज्छौ भने पनि साँप्रा, फिला जेजे भन्छौ अगाडि सारिदिऊँला ।”

आआफैँ घुतुतुत्त हाँस्दै अरू दिदीहरू पनि छोप्न आइपुगे । हामी पनि जाने भ्याएसम्म जवाफ त दिँदै थियौँ, तर हात्तीको बथानमा मृगशावक भएछौँ । नानाथरी उटुङ्ग्या बात भन्दै आफैँ मरीमरी हाँस्दै बैँस छचल्किएका ती ऐभाँतीहरूले भलिभाँती जिस्क्याए हामीलाई ।

मज्जैको खैलाबैला भयो त्यो छापभञ्ज्याङको चौतारीमा । अन्त्यमा आफैँ हतारिए तिनीहरू ! “ल भाइ हो, राम्रोसँग जानु है !” भन्दै दिदीहरू आआप्mना भारी बोकेर छापतिर उँभो लागे ।

“हस् दिदी हो, राम्रोसँग जानु, फेरि भेटौँला !” भन्दै हामी पनि नेपालथोकतिर तेर्सियौँ । गाउँमाथि दोबाटोमा निस्किँदा झम्केसाँझ मज्जैले छिप्पिएको थियो । चराहरू आआफ्ना गुँडमा बास बसिसकेका । कृष्ण भाइ मावलीतिर लागे । म रामजीसँगै उनकै घरमा भित्रिएँ ।

बेलुकी रामजीका आमा हजुरआमाको मेजमानीको फेला परेथेँ म । थकाइले चुर परेर भात खाँदा समेत उँघ्न थालेछु । हतारहतार खाना भ्याएर चिसै हात लिएर बिस्तरा पुगेँ । एकै निद्रामा भोलिपल्टको घाम आफू सुतेको बार्दलीभरि झलमल्ल भइसकेछ ।

बिहानै हातमुख धोएर कृष्णको मावली पसेको । उनका मामा पण्डित जगन्नाथ ढुंगाना मेरा दीक्षा गुरु पनि हुनुभएकोले एकपल्ट भेटदर्शन गरेर जाऊँ भन्ने लागेको ।

सात सय सिपादेखि उँभो ढाप किउललगायत लेकखोला र तलतिर मण्डन, तिमाल फेटभरि ख्याति कमाएका जगन्नाथ पण्डित गृहस्थ भएर पनि साधुसन्तजस्तै ज्ञानी, सदाचारी र मृदुभाषी तथा कुशल पुराणवाचकमा विख्यात हुनुहुन्थ्यो । मेरा आफ्नै दीक्षागुरु समेत भएकाले भेट गरेर आशीर्वाद लिनु पनि अनिवार्य थियो ।

नभन्दै त्यता पस्दा गुरु त भेट हुनु भएन, तर गुरुआमाले वात्सल्यपूर्वक फलैँचामा बसालेर पढाइबारे धेरै कुरा सोधखोज गर्नुभयो । पहिले नै म आउने खबर पाएर उहाँले भातभान्सा तयार गर्नुभएको रहेछ । त्यहाँ पनि साँच्चीखाले मेजमानीको फेला परियो ।

बिहानी खाना खाई भ्याएपछि कृष्ण लाग्ने भए आफ्नै घर काभ्रे, सर्वझाङतिर । म लाग्ने भएँ आफ्नै घर सीपा पोखरेतिर । दुवैजना अलि परको गौडासम्म सँगै गएर छुट्टियौँ ।

सत्रवर्षे एक्लो ज्यान फुक्काफाल त भइगयो । नेपालथोकबाट ठाडै ओरालो बुर्कुसी मार्दै तलतिर झरेँ । चिलाउने, साल, कटुसघारीले ढाकेको ओरालो बाटो अररी वसन्तेका काँडा बिझाउँदै, कतै ठोसा ढुंगामा ठोस्सिँदै, कतै डिलकान्लाबाट हुत्तिँदै घण्टाभर नबित्दै फट्केश्वर महादेवस्थान निस्किएँ ।

शिवजीको दर्शनपछि अलि बेर सुस्ताएर सिम्ले फाँट हुँदै काफचउरमुनि पुग्दा आङमाथि केही वस्तुले छोपेजस्तो लाग्यो । झलक्क मध्यरातमा देखिने गरेको राँके भूत सम्झिएँ । दाइँको बेला खट्पाबिसीको खलेकटेरीमा बस्दा त्यसै मूल बाटामाथि राँकाहरू ढाँडबिसीको पखेरादेखि फट्केश्वरसम्म सर्दैसर्दै रात छिप्पिएर पूर्व उज्यालो हुन लाग्दा आफैँ झापझुप निभेको देखेको थिएँ ।

आज त्यही ठाउँमा आफू एक्लै हिँड्दा पुराना कुरा सम्झिएर आङ जुरुंगजुरुंग गर्दै थियो । अनि, फेरि उत्ति बेरै दिनको छक्कालमा त्यो भूतसुत केही आउँदैन भन्ने विश्वासमा मन आफैँ दह्रियो । तेर्सो मूल बाटो पाइला चाल्दै गएँ ।

सरासरी सीपाघाट निस्किएर घिलिङबाट पारि तरौँ भन्ने थियो बुद्धिमा, तर मनले जँघार तरेर खट्पाबिसीतिर लाग्ने अठोट लियो । अनायास पाइलाहरू बरालिँदै सानो गोरेटो समातेर इन्द्रावतीको बगरतिर झरेँ । मावली बस्दा सानै उमेरदेखि हिँउदे फाँटमा गोरु जुधाउने, कान्ला फट्किने, गिर खेल्ने, गट्टा खेल्ने, पौडी खेल्ने गरेको खट्पाबिसी एकपटक पुगौँ अनि मामासँग गोठमा एक छिन भलाकुसारी गराैँ भन्ने लागेको ।

साथै, शिवराम, पण्डिते हरिबाबु, रामजी सानुकान्छो आदि बाल्यकालका साथीभाइ पनि खट्पाबिसीमा पक्कै भेट हुन्छन् भन्ने थियो । मावली छोडेर सहरतिर पढ्न बसेदेखि तिनीहरूसँग खासै भेट हुन सकेको थिएन ।

कालढुंगामुनि दुई भंगालोे परेको रहेछ इन्द्रावती । मामा आएर जँघार तार्नुहोला भन्ने अठोट लिँँदै बगरैबगर खोलो बगेतिर लागेँ । पारि बालुवा खेतको कटेरामा मामा पक्कै हुनुहुन्छ भन्ने विश्वासमा कौलासेर बोलाउँदै सुसेल्दै र हातले इसारा पनि गर्दै गएँ । कत्ति बोलाउँदा पनि मामाले न सुनेपछि अलि सनक पनि चल्दै थियो, जसो त पर्ला भन्ठान्दै हान्निएँ सरासर खोलातिर ।

तर, नगिच पुग्दा त इन्द्रावतीको प्रवाह साविकभन्दा अलि बढेजस्तो लाग्यो । दशहराकै दिन परेछ । त्यसै दिनदेखि खोलो पनि दश हात बढ्छ रे भन्ने हजुरआमाले भनेको कुरा यति बेला सम्झनामा आयो । फेरि, उतिबेरै सानोतिनो पहिरो या खोलाखोल्साको बाढीले रङ बदलिएर रातै देखिए पनि पानीको प्रवाह खासै बढेजस्तो लागेन ।

तर्ने आँट लिएर खोलाको छेउमा पुगेँ । आँखा भने यताउता भौँतारिँदै थिए । हामीलाई बाल्यकालदेखि नै मनोरञ्जन गराउन सुडो पसार्दै बग्ने सुँडिया दह आज भेटिएन । लोहोरे ढुंगा र बालुवाको थुप्रोले पुरिएर भुसुक्कै मासिएको देखेपछि बौलाहा बाढीप्रति ख्याल रिस त उठेन ! उति बेर सानो भंगालोमा बनेको त्यो दहको वरपर टाढाटाढासम्म बाक्लो काँसघारी सिर्सिरे हावाको वेगसँगै लैवरी गर्दथ्यो । त्यसै काँसघारीको दमारमा चर्को घामले आङ टट्टाएपछि हामी शीतल ताप्ने गर्दथ्यौँ ।

त्यसै दमारमा जुरेली, हुट्टिट्याउँ चखेवालगायत अनेकौँ चराहरूले गुँड लगाएर फूल कोरल्ने, चल्ला हुर्काउने गर्दथे । पहिलेदेखिको साविक भंगालोको ठाउँमा मूल खोलै पसेर बगरखेत र काँसघारीमाथि चढाई गरेको देख्ता मन भरंग भयो । यति बेर बालुवा र लेदो मात्र भरिएको देखियो परपरसम्म ।

‘मामा... मामा !’ जति कौलासेर बोलाउँदा पनि मामाले सुन्नु भएन । उपेक्षा हो कि न सुनेकै हो ? मनमनै नजानिँदो ईख पनि पलायो ।

रातो बाढी लिएर बग्दै गरेको इन्द्रावती दुई भंगालामा फाटेको ठाउँबाट आफैँ जघार तर्ने सोचेँ । अनि, खोलो बढेर अभर पार्ला भन्ने डरले हत्तपत्त वारि भंगालोेको किनारमा फुकालेँ लुगा । केही टाउकामा बाँधेँ फेटा बनाएर । कतिपय सिउरिएँ काँध र कम्मरमा । काँधमाथि झोला लर्काउँदै पसेँ इन्द्रातीको पानीमा ।

अलि गहिरो दहमाथिबाट खोलाकै गतिमा तलतल हेलिँदै जाँदा ठाडो छिरा परेको ठाउँभन्दा अलि माथि बगरमा टक्क टेक्न पुगेछु । कम्मरमाथिमाथि आउने त्यो हिमनदीको चिसो पानीले कम्ती अत्याएन जेठको धूपमा पनि । तैपनि, ओभानै कपडासहित आधा खोलो पार भएँ भन्ठानेर निकै हौसिएको थिएँ ।

अर्को भंगालो किनारमा दौडिँदै पुग्दा त ‘हिस्स बूढी हरिया दाँत’ भनेझैँ पो भएँ म । यसो हेर्दै थाहा भयो, त्यो त भंगालोे मात्रै नभएर मूल खोलै पो रहेछ । पारिबाट देख्ता मात्र सानो लागेको । त्यसको वेग र प्रवाहको तीव्रता देखेर आङ ढक्क फुल्यो । शिर गह्रौँ भयो । मनले हरेस खान खोज्यो ।

तीनघरे बसाइको बेला त्यही खट्पाबिसीमा गोठालो जाँदा शिवराम दाइले मलाई कैयौँपटक हिउँदमासको मुल्कोमा हुलिदिन खोजेका थिए, पौडिन सिपालु होला भनेर । तर, मचाहिँ भागीभागी हिँड्थेँ, उनले नभेट्ने गरी । एकदुईपटक हामफालेर खतरा मोलेको भए आज कति सिपालु हुने थिएँ होला बाँकटे हानेर पौडी खेल्न । पश्चात्तापले ओस्सिएका कुरा मनमनै खेलाउँदै पनि थिएँ ।

केही नराम्रा विचार पनि यति बेर मनको आँगनमा रत्यौली खेल्दै थिए । यो बालाबैँसमै बाढीसँगै बगेर संसार छोड्नुपर्ने त होइन ? केही वर्षअघि तल चमेर्या टुडामुनि जँघार तर्न लाग्दा बगेर स्वर्गे भएकी ठूलाबाकी १७ वर्षे छोरी सुन्तली दिदीलाई सम्झिएँ । उनको उज्यालो अनुहार र मिठो बोलीवचन अझै कानमा परिरहेजस्तो लाग्यो । मन भरंग भयो ।

ह्वास्स खपी नसक्नु दुर्गन्ध आएपछि वरिपरि आँखा घुम्न थाले । म भएभन्दा दश हातजति तल खोला किनारकै दुई ढुंगाको अन्तरमा मान्छेको लास अड्किएको रहेछ । नाक, मुख छोपेर नगिचबाट हेरेँ । चिल, गिद्धले लुछेर, ठुँगेर हाडखोडको कंकाल र लामो कपाल मात्र बाँकी रहेको त्यो लास कति दिनदेखि त्यहाँ बेवारिसे थियो कुन्नि ! भैरव अर्यालको ‘एक टुक्रा हाड’ कविता याद आयो ।

क्षतविक्षत अनुहारमाथिबाट लामो कपाल पानीमा लहराएको देख्ता महिलाको लास भन्ने त यसै स्पष्ट थियो, त्यसमाथि नारीमा काँचका चुरा टल्किएका देखेपछि झनै मन उद्विग्न भयो । यता, त्यही लासमाथि लुछाचुँडी गर्नकै लागि आकाशमा कावा खाइरहेका चिल, गिद्धहरू आफैँलाई ठुङ्न आइलाग्ने डरले मन झस्कियो ।

एकपटक फेरि ‘मामा...मामा...!’ भन्दै अनायासै चिच्याएछु । खोलाको उच्च आवाजमा दबिएको मेरो झिनो स्वर सुनिदिने कतै कोही देखिएन । उल्टै घाँटी सुकेर प्याकप्याकी परेँ म । भर्खर आएकै बाटो फर्किजाऊँ भन्दा पनि मनले मानेन ।

पहिले खोलाको गतिसँगै तलतल झरेर जँघार तरेको भंगालो अब उल्टो माथिमाथि पाइला चालेर पारि तर्न सम्भव छैन भन्ने लाग्यो । ठाडो पानीको बेगले लफन्ड्याएर बगाइलाने डरले धुकचुक बनायो । अरू जुक्ति नभेटेपछि जसरी पनि त्यही मूल भंगालो तर्नैपर्छ भन्ने अठोट जाग्यो ।

रमेश ढुंगेल सरले पढाएको अंग्रेजी कविताको हिरो रबिनहूड सम्झिएँ । आफूलाई पनि आज त्यस्तै बहादुर पात्र बन्ने साहस जाग्यो । निडर बन्न खोज्दै फुकालेँ सबै लुगा । थुपारेँ ढुंगामाथि । एउटा मसिनो रुमाल र सुरुवाल कम्मरमा टनटनी बाँधेर पसेँ इन्द्रवतीमा । जमिन भेटेसम्म गोडाले टेक्तै खोलाकै गतिमा पारिपारि सर्दै गएँ ।

गोडाले भुइँ भेट्न छोडेर टुप्लुक्क डुबेपछि सतहमा उत्रिएर बाँकटे खियाउन थालेँ । तर, मुल्काले टाउकोमा ड्यामड्याम बजाउँदै लग्यो, छालले ह्वातह्वाती हानेर नाक, मुखबाट धमिलो पानी पस्न थाल्यो । भएभरको ताकत झिकेर मुन्टो ठड्याउँदै जुरा, मुल्कासँग लाप्पा खेल्दै गएँ । जति मुन्टो लुकाउँदा र ठड्याउँदा पनि अल्गा छालहरूले हान्याहान्यै गरे । हातगोडा गलेर फत्रक्कै भए ।

बाँच्ने भए आत्तिनु हुन्न भन्ने दिव्यज्ञान जागिरहेथ्यो मनमा ! भएभरको साहस झिकेर फेरि गोडाले भुइँ टेक्न खोज्दा त सुइत्तै पसेँ पानीभित्र । अनि, हातले एक छिन भित्रभित्रै मुन्टो लुकाएर बाँकटे खियाउँदै खोलाको गति छल्दै गएँ । फेरि, तुरुन्तै सतहमा उत्रिएर सास फेर्दै भ्यागुते खियाउँदै पल्लो किनारतिर सर्दै मुल्को पार गरेँ । खोलामा नपस्दासम्म आत्तिएको मन जँघार तर्न थालेपछि आफैँ धैर्यको अवतार बन्न पुग्यो ।

तर, डेढ सय गजजति तल पुगेर पार हुँदा हातगोडा जाम भएछन् । किनारमा निस्किँदा सास फेर्दै हिँड्न समेत गाह्रो भयो । जरुवा खोजेर पानी खाएँ । एक छिन ढुंगामाथि बसेर लामो सास फर्दै आराम गरेँ । उतिबेरै जँघार तर्न सकेकोले नयाँ जिन्दगी पाएजस्तै लागेर खुसीले उफ्रिएँ पनि । त्यतिखेरै देउता पितृ सबैतिरको आशीर्वादले आफू पार लागेको सम्झिएको थिएँ ।

पार लाग्नासाथ भिजेको अन्डरवेरलाई ठाउँको ठाउँ निचोर्दै त्यहीँ सुकाएँ । कम्मरमा बाँधेको सुरुवाल पनि बेस्मारी निचोरेर दुई खुट्टामा उनेँ । रुमाल निचोरेर आङमा ओड्दै लागेँ बालुवा खेततिर । गोठमा पुग्दा थाहा भो, मामा त बिहानैदेखि तल्लो बगरखेतमा आलिकान्ला गर्ने खेताला लगाउन जानुभएको रहेछ ।

पण्डिते, हरिबाबु, शिवरामलगायत अरू साथी पनि चरोमुसो कोही भेटिएनन् । दौडिँदै तल्लो बगर मेलामा पुग्दा भिजेको सुरुवाल र रुमालमा बेरिएको मलाई देखेर पहिले त मामा त्यतिकै आत्तिएजसरी हडबडाउनुभयो । मैले सबै बेलिबिस्तार लगाएर काल्ढुंगामुनिबाट जँघार तरेको कुरा गर्दा झन् आत्तिएझैँ हुनुभयो । र, रोउँलाझैँ गरेर मलाई सुम्सुम्याउन थाल्नुभयो ।

उत्तिखेरै फेरि बौलाहा ! उल्लु ! भनेर हप्काउन थाल्नुभयो । तल घाट छँदाछँदै किन त्यसरी जँघारमा पसेको ? किन यहाँको पारि न आएर माथि काल्ढुंगामै जँघार तर्ने अर्घेल्याइँ गरेको ? केही जानी खोलाले बगाएर लगेको भए के हुन्थ्यो ?

आदि इत्यादि धेरैथरी जटिल र डरत्रासका कुरा उधिनेर मलाई र्याख्र्याख्ती पार्नुभयो, केशव मामाले । यसो हेर्दा मामाका आँखाबाट तरतरी आँसु झर्दै रहेछन् । मलाई पनि निकै पछुतो लाग्यो । सम्भावित खतराको आकलन गर्दै आफ्नै जिउज्यानको मायामा अनायास पश्चात्तापका आँसु झरे, मेरा पनि ।

खेताला लागेका दुईजना लाठे ठिटालाई जँघारपारि छुटेका मेरा सामान लिन पठाउनुभयो मामाले । मैले पनि उनीहरूसँगै कालढुंगासम्म गएर बगरमा राखेको मेरो झोला, लुगा र जुत्ता वारिबाटै देखाइदिएँ । बाँकटे हान्दै पुगे माझी केटाहरू पारिपट्टि । र, उतिबेरै ल्याए टाउकामा बाँधेर मेरा कपडा, झोला ।

अनि त फूर्ति बढिहाल्यो मेरो पनि । नभिजेको कपडा फेरेर मामा भएतिर फर्किएँ । अनि, एकाध घण्टा भलाकुसारी गरेर छुट्टिँदै आफ्नो घर पोखरेतिर लागेँ । खट्पाबिसी फाँट नाघेर भण्डारीथोकको बाटो पोखरेतिर उकालो लाग्दा पनि आँखा भने इन्द्रावतीकै प्रवाहतिर परिरहे । जँघार तर्दै गर्दा केही जानी बेहोस भएर बाढीको बेगसँगै खोलैखोला हुत्तिएको भए यतिबेर यो संसार छोडेर कहाँ पुग्थेँ होला ?

छोरो काठमाण्डू पढ्न बसेको सम्झिएर बाआमाले तत्काल खोजखबर गर्ने कुरा थिएन, बरू ढुक्क बस्नुहुन्थ्यो । साथी रामजी, कृष्णले पनि ‘घर गएर नफर्किने सुर गरेछ साथीले’ भन्ने अन्दाजमा महिनौँसम्म वास्ता नगर्न सक्थे । बाढीसँग हार खाएर समर्पित बनेको मेरो पार्थिव शरीर कहाँ पुगेर नदीले पाखा लगाइदिने थियो होला ? हत्तपत्त कतैबाट खोजखबर नभएको त्यो बेवारिसे लासलाई स्याल, काग, गिद्धले आहार बनाएर पक्कै आनन्द लिन्थे ।

विभीषिकपूर्ण यस्तै यस्तै मनोगत तरंगहरू प्रश्न, प्रतिप्रश्न बन्दै खेलिरहे मनमा । बाढीमा लाप्पा खेल्न पसेको आफ्नै दुःसाहसप्रति कुरीकुरी लाग्दै बाटो सरेछ । टन्टलापुर चर्को घाममा भण्डारीथोकको उकालो पार भएको पत्तै भएन ।

कार्कीछापको बरबोटे भञ्ज्याङ उत्रिसक्ता पनि आँखा भने तलतल बग्दै गएको इन्द्रावतीकै प्रवाहमा बाँकटे हान्दै थिए । भञ्ज्याङ काटेर अलि अगाडि पुग्दैमा ठूलो वनले छेकेर नदी प्रवाह देखिन छाड्यो । र, देखियो बाल्यकालको मेरो साथी फिसिलले उहिल्यै छेडेर गएको दुईपाखे घरको अवशेष र बारी । अहिले कहाँ पुग्यो होला त्यो फिसिल ? के भन्थ्यो कुन्नि उसले, बातैपिच्छे बाउले परपरी कान निमोठेर रातै बनाइदिन्थे ।

मुर्छा पर्ने गरी रुन्थ्यो बिचरो । एक दिन उसैकी आमाले हाम्रै बारीमा बदम खन्न लागेको मेलामा कुट्टाको पासाले टाउकामा ड्याम्म बजाएर त्यो दुब्लो ख्याउटे केटालाई मरणासन्न बनाइन् । मार हानेको चौपायाजस्तै हातखुट्टा फालेर फुस्रा आँख लगाउँदै बेहोस भयो । बदम खन्दै गरेका सबैजना आत्तिएर रुन, चिच्याउन थाले ।

हीरा दिदीले हतारहतार घरबाट पानी ल्याएर छम्किँदै प्याकप्याकी परेको मुखमा हालिदिनुभयो । धेरै बेर छटपटी गरेपछि बल्ल ‘मरेँ मरेँ’को आवाज निकालेर चिच्यायो । आमाचैँले काखमा लिएर थुमथुम्याउँदै फकाइफुल्याइ गरिन् । तालु फुटेर भलभली रगत बगिरहेको घाउमा हाम्री आमाले घरबाट मुठीभरि सिन्दूर ल्याएर लगाइदिनुभयो । छर्छरी रगत बगेर उसको जिउ र लडीबुडी गरेको बारीको माटो समेत राताम्मे देखिन्थ्यो ।

‘त्यसरी कुट्टाको पासाले बजाउँदा कञ्चटमा परेको भए भुतुक्कै हुने थियो, तै तालुमा परेर बाँचेछ’ भन्दै हुनुहुन्थ्यो हजुरआमाले । फर्सिले दम्पतीको एउटै सन्तान भएर पनि बाबुआमा दुवैले किन त्यो छ–सातवर्षे अदना केटामाथि सांघातिक आक्रमण गरिरहेका हुन् ? के घरमा पनि सधैँ यस्तै व्यवहार गर्छन् होला उसमाथि ? उप्रति देखाएको क्रूरता, निरीहता र कष्टसाध्य जीवनप्रति अनेकन् प्रश्न खेलिरहे मनमा ।

उतिबेरको आफ्नै आँखाअगाडिको सांघातिक प्रताडना सम्झिएर यतिखेर आँसु पो झर्न थाले । आज कहाँ पुग्यो होला अनि कस्तो भयो होला त्यो फिसिल ? हाँगाबिँगा हालेर एकपछि अर्को प्रश्न गिजोलिँदै खेलिरह्यो दिमागमा । एकतमासको मन लिएर हिँडिरहेँ ।

अलिबेरपछि आफ्नै घर पुग्दा पो झल्याँस्स बिउँझिएजस्तो भएँ । टक्रक्क फलैँचामा बसेर लामो सास फेरेँ । आमाले घरभित्रबाट पानी ल्याइदिनुभयो । कलकली पारेर अंखोरा रित्याएँ । बा खेताल लिएर तल्लाबिसी जानुभएको रहेछ । हजुरआमा आएर सञ्चोबिसञ्चोलगायत हालखबर सोध्नुहुँदा पनि मन नलागेजस्तो गरी जवाफ दिँदै गएँ ।

जँघार तरेको कुरा सम्झिँदा ढक्क जिउ फुल्यो । कसो बित्यास परेन भन्ठान्दै मन तरंगित बनिरह्यो । के भनौँ, कसो गरौँ भनेर मन हडबडाएकै थियो । विस्मृतिको अभ्यास गर्दै आफ्नै अनुहारको विषाद हटाउने प्रयास गरेँ । तत्काल आमा, हजुरआमालाई जँघार तरेर आएको कुरा बताउन सकिनँ, पीर मान्नुहुन्छ भनेर ।                                             

प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  ०९:२९
प्रतिक्रिया दिनुहोस्