site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्वतन्त्र उमेदवारको जितले राजनीतिक दललाई के फरक पार्ला
SkywellSkywell

काठमाडौं । यसपालिको स्थानीय चुनावमा ठुलो संख्यामा स्वतन्त्र उमेदवारहरूले जितेका छन् । ठुला भनिने राजनीतिक दल र प्रभावशाली भनिने नेताहरूलाई नराम्ररी पछार्दै धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवार हर्कराज राई विजयी भए । सुदूरपश्चिममा धनगढी उपमहानगरपालिकाको मेयरमा अर्का स्वतन्त्र उमेदवार गोपाल हमाल निर्वाचित हुँदा काठमाडौं महानगरपालिकामा बालेन्द्र शाह उर्फ बालेनलाई जनताले चुने । 

सुरुदेखि नै लिड गरेका बालेनको बुधबार अपराह्नसम्म ठुलो मतान्तरले जित सुनिश्चित भइसकेको छ । प्रमुख राजनीतिक दलका प्रतिस्पर्धीहरू नेपाली कांग्रेसकी सिर्जना सिंह र नेकपा एमालेका केशव स्थापित बालेनभन्दा निकै पछाडि परे । राजनीतिक दलहरूले भित्री बस्तीको मत गणना सुरु भएपछि बालेनले पछारिने दाबी गरेपनि परिस्थिति बदलिएको छ । 

देशकै महत्वपूर्ण नगरमा स्वतन्त्र उमेदवार विजयी भएपछि अहिले नयाँ बहस सुरु भएको छ । चिया पसल, चौतारी, सामाजिक सञ्जालदेखि मिडियासम्म उनीहरूको पक्ष र विपक्षमा बहस भइरहेको छ । 

Dabur Nepal
NIC Asia

धरानका राईले चुनावअघि भोट माग्न एक्लै हिँडेका भिडियोहरू टिकटक र फेसबुकमा 'भाइरल' बनेका छन् । उनले तत्कालीन जनप्रतिनिधिसँग प्रश्न उठाउँदा कार्यालय कक्षबाट बाहिर निकालेका भिडियोमा सर्वसाधरणले राईको पक्षमा टिकाटिप्पणी गरिरहेका छन् ।

काठमाडौंका बालेनले दिएका छोटा र सटिक जवाफहरू पनि सामाजिक सञ्जालमा 'भाइलर' छन् । धनगढीका हमालको चर्चा पनि कम छैन ।

कतिले स्वतन्त्र उमेदवार जित्नु भनेको लोकतन्त्रको सुन्दर नमुना भनेर टिप्पणी गरिरहेका छन् त कतिपयले यसले दलीय व्यवस्थामा नै खलल पर्ने बताइरहेका छन् । स्वतन्त्र उमेदवारले जनताका आधारभूत आवश्यकतालाई मुद्दा बनाएकाले पनि उनीहरू दलमाथि हाबी भएको कतिपयको बुझाइ छ । जस्तो राईले धरानमा वर्षौंदेखि समस्याका रूपमा रहेको खानेपानीको मुद्दा उठाएका थिए भने बालेनले काठमाडौंको फोहोर र प्रदूषणको मुद्दा उठाएका थिए । जसलाई पत्याएर जनताले भोट दिए र जिताएर समाधान गर्ने ठाउँमा पठाए । 

स्वतन्त्र उमेदवारहरूको जितबाट प्रमुख राजनीतिक दलहरूले विश्लेषण गरेर पाठ सिक्नुपर्ने विज्ञहरू बताउँछन् । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका सह–प्राध्यापक डा. रेशम थापा यसलाई जित र हारको रूपमा मात्र हेर्न नहुने बताउँछन् । समसामयिक राजनीतिमा यसको असर र सामाजिक पाटोमा यसले पारेका प्रभावबारे विश्लेषण हुनुपर्ने उनको भनाइ छ । अघिल्लोपटक छ स्थानमा मात्र स्वतन्त्र उमेदवारले चुनाव जितेकोमा यसपटक ११ स्थानमा जित्नु सुखद उपलब्धि भएको उनी ठान्छन् । काठमाडौंजस्तो ठाउँमा स्वतन्त्र उमेदवारले काम गर्न सक्दैन भनिरहेको बेला उनी आन्तरिक ब्युरोक्रेसीलाई कसरी परिचालन गर्छन् त्यसमा भरपर्ने बताउँछन् ।

“स्थानीय तहमा बेरुजुको समस्या छ,” उनी भन्छन्, “बालेनजीको कम उमेर र ब्युरोक्रेसीको अनुभव पनि खासै छैन । प्रोजेक्ट सुरु भएदेखि अन्त्य गरी अडिट गर्दासम्म प्रोजेक्ट सफल पार्ने गरी ब्युरोक्रेसी चलाउन जान्नु हुन्छ कि हुँदैन भन्ने कुरामा मात्र अलि डर हो ।”

राजनीतिक विश्लेषक मुमाराम खनाल भने स्वतन्त्रबाट उठे पनि सबै उमेदवारलाई एकै प्रकृतिमा मूल्यांकन गर्न नहुने बताउँछन् । उनकाअनुसार हमाल धनगढीका अभियन्ता र त्यहाँको राजनीतिक तथा आर्थिक पाटोसँग लामो समयदेखि काम गरेका मान्छे हुन् । हमाल अघिल्लो निर्वाचनमा झिनो मतको अन्तरले हारेका थिए । राई पनि धरानका एक खालका अभियन्ता हुन् । जसले एक्लै भएपनि सधैँ स्थानीय सवलीकरण 'मुभमेन्ट' चलाए ।

तर, काठमाडौंको कुरा भने नितान्त फरक र राजनीतिमा अप्रत्याशित घटना भएको खनाल ठान्छन् । यी सबै घटनालाई राजनीतिक दलहरूप्रतिको वितृष्णा, स्थानीय तहमा सक्षम मान्छेलाई पाखा लगाउँदै दलीय आग्रहलाई ध्यान दिएको सन्देश गएको उनको भनाइ छ । भन्छन्, “पार्टीले स्थानीय तहको मनोविज्ञान, स्थानीय समस्या पाखा लगाउँदै खल्तीबाट मान्छे छान्दै दिएपछिको अवस्था हो ।” 

उनी अगाडि थप्छन्, “स्वतन्त्र व्यक्ति आउनु राम्रो कुरा हो । किनकि उसले धेरै राजनीतिक दलका व्यक्तिलाई रिझाउनु पर्दैन । उनीहरू सेवा प्रदायकबाहेक अन्य उद्देश्य लिएर आएका पनि छैनन् ।”

उनी स्वतन्त्र जनप्रतिनिधिले काम गरे जनताको मत जित्न सके उनीहरूलाई प्रधानमन्त्रीसम्म हुन पाउने अवसर रहेको बताउँछन् । दल खोल्न र रोज्नलाई उनीहरूलाई छुट छ । तर, स्थानीय तह सेवा प्रवाह र स्थानीय विकाससँग सम्बन्धित भएकाले दल र स्वतन्त्र मिलेर काम गर्न सक्छन् । “प्रदेशमा भएको भए फरक पर्थ्यो । किनकि त्यहाँ बहुमतबाट पास गर्नुपर्छ,” विश्लेषक खनालले थपे । 

भवन, कुलो, स्कुल, स्वास्थ्य चौकीजस्ता पूर्वाधार बनाउन उनीहरूलाई कसैले नरोक्ने खनालको विश्लेषण छ । तर, स्वतन्त्रबाट उठेकाले पनि भ्रष्टाचार गर्‍यो र आफ्नो स्वार्थपूर्ति गर्नतर्फ लाग्यो भने मात्रै समस्या हुने उनी बताउँछन् । भन्छन्, “दबाब के हुन्छ भने जनप्रतिनिधि दलप्रति मात्रै उत्तरदायी हुन्थ्यो । तर ऊ त सिधै जनताप्रति उत्तरदायी हुँदा काम गर्न झन दबाब हुन्छ ।”

तर राजनीतिक वातावरणमा बसेका मानिससँग बसेर काम गर्नुपर्ने भएकाले स्वतन्त्र जनप्रतिनिधिले त्यो माहोल भने बुझ्नुपर्ने उनी बताउँछन् । 

दलले पाठ सिक्लान् ?
त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका सह–प्राध्यापक थापा अघिल्लोपटक अहिले स्वतन्त्र उमेदवारले जितेका स्थानमा ०७४ मा निर्वाचति जनप्रतिनिधिले जनताले चाहेको सामान्य कुरा डेलिभर गर्न नसक्दा यसपटक नतिजा फरक आएको बताउँछन् । 

“सही समयमा सही उमेदवार उठेकाले यो नतिजा आएको हो । काठमाडौंकै हकमा ३२ वर्षीय बालेनको ठाउँमा ४२ वर्षको कोही पुरुष स्वतन्त्र उठ्थ्यो भने सायद यस प्रकारले मत नपाउन पनि सक्थ्यो,” उनले भने । अघिल्लोपटक पनि दलप्रति जनताको विस्तृष्णा बढेको संकेत आएको तर त्यो संकेतलाई राजनीतिक पार्टीले नबुझेको उनको भनाइ छ । 

विश्लेषक खनाल पनि डा थापाको भनाइमा सहमत छन् । “अघिल्लो निर्वाचनमा संकेत गएको हो, तर पाठ सिकेका छैनन् । काठमाडौंको नतिजाले भने अलि ठेस पुर्‍याएको छ,” उनले भने । 

उनकाअनुसार काठमाडौंको मेयरको राजनीतिक र आर्थिक महत्व मात्र होइन कूटनीतिक महत्व धेरै छ । संसारका कुनै पनि देशका पाहुना काठमाडौं आउँदा काठमाडौंको मेयर कुनै न कुनै रूपमा संलग्न हुन्छन् । न्युयोर्क, जापानजस्ता ठाउँबाट आएका मेयरले भेट्ने काठमाडौंकै मेयरलाई नै हो । उनी भन्छन्, “यहाँ लगानी गर्दा, केन्द्रीय सरकारसँग सम्बन्धमा रहिरहनुपर्ने हुुन्छ । किनकि ठुल्ठुला केन्द्रीय प्रशासनदेखि विश्वसम्पदा सूचीमा रहेका धरोहर यही छन् ।”

काठमाडौंको मेयरको संघीय सरकार र प्रादेशिक सरकारसँग पनि कनेक्सन हुुन्छ । “त्यसैले काठमाडौंको मेयर सबै पार्टीलाई हराएर एक स्वतन्त्र व्यक्तिले जित्नु भनेको ठूलो कुरा हो । तर दलहरूलाई अझै फरक परेको छैन ।” 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu