site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अल्मुताइरीको कार्यकाल : विवाद, विवाद र विवाद 
SkywellSkywell

काठमाडौं । एउटा हिन्दी फिल्म छ, डर्टी पिक्चर । नायिका हुन् विद्या बालन । यसमा उनको एउटा चर्चित डायलग छ । जुन उनले पटक–पटक दोहोर्याउँछिन् । विद्या बालन भन्छिन्,– फिल्म तीन चिजका कारण चल्छ– इन्टरटेन्टमेन्ट, इन्टरटेन्टमेन्ट र इन्टरटेन्टमेन्ट । म त्यही इन्टरटेन्टमेन्ट हुँ ।

विद्या वालनको डायलगजस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको हकमा पनि लागु हुन्छ । तर, शब्द भने फरक छ । र त्यसको अर्थ पनि फरक छ । त्यो हो, विवाद, विवाद र विवाद । 

हो, सम्भवतः अल्मुताइरी नेपाली फुटबलमा सबैभन्दा विवादित विदेशी प्रशिक्षक हुन् । उनको प्रशिक्षणमा नेपाली टोलीले कस्तो नतिजा निकाल्यो त्यो अर्कै बहसको विषय हो । तर, उनी नेपाली फुटबलको मुख्य प्रशिक्षक नियुक्त भएपछि निरन्तर विवादमा छन् । गत चैतमा उनी नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भए । सुरुमा शान्त बसेका अल्मुताइरीलाई नेपाली फुटबलको राजनीति बुझ्न समय लागेन । 

KFC Island Ad
NIC Asia

त्यसपछि, एकाएक एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङमाथि खनिए । सामाजिक सञ्जालमा निकैै सक्रिय अल्मुताइरीले फेसबुकमा स्टाटस लेखे, “प्रिय नेपाली समर्थकहरू, म राजीनामा दिन एन्फा जाँदै छु । र, मेरो राजीनामाको कारण वरिष्ठ उपाध्यक्ष हुन् । विगत तीन सातादेखि हरेक दिन उनले ममाथि ‘ड्रामा’ गरिरहेका छन् । पंकज नेम्वाङ मलाई आशा छ, अब तपाईंलाई खुसी होला ।”

अल्मुताइरीले सामाजिक सञ्जालमा राखेको यही ‘स्टाटस’ पछि फुटबललाई तरंगित बनाइदियो । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र पंकज नेम्वाङ मिल्नै नसक्क्ने गरी दुई ध्रुवमा विभाजित भए । असार ६ गते हुने एन्फा निर्वाचनमा दुवैले अध्यक्ष पदका लागि उम्मेदवारी दिइसकेका छन् । एन्फा अहिले दुई कित्तामा विभाजित छ । 

Royal Enfield Island Ad

अल्मुताइरीले राजीनामा दिन्छु भने, तर उनले एन्फामा राजीनामा बुझाएनन् । एन्फामा विवादको बिउ बिजारोपण गरे छाडे । नेम्वाङलाई विवादमा तान्नुको पछाडि कथा भिन्न छ । सार्वजनिकस्थलमा धूम्रपान गर्दा प्रशिक्षक अल्मुताइरीलाई पत्रकार विभा थापाले प्रश्न गरे । त्यसमा अल्मुताइरीले जवाफको सट्टा पत्रकारलाई हप्काए । त्यसले विवादको जन्म भयो । अनि आरोप लगाए, पंकजले ती पत्रकारको पक्ष लिए । 

विवादले उग्र रूप लियो । नेम्वाङ पक्षले मुख्य प्रशिक्षकले राजीनामा दिनुपर्ने माग गरे । एन्फा नेतृत्वले विवाद मिलाउन सकेन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र युवा तथा खेलकुद मन्त्रालयलाई गुहार्नुपर्‍यो । एन्फा प्रवक्ता किरण राईले पदबाट राजीनामा दिए । त्यसपछि एन्फामा राजीनामा दिनेको लर्को नै लाग्यो । 

त्यो विवाद साम्य हुन नपाउँदै उनले अर्को अभिव्यक्ति दिए, फेसबुकमार्फत नै । उनी भने, “आफू आउनुअघि नेपाली खेलाडी तथा पदाधिकारी जित्नका लागि भन्दा पनि विदेश घुम्नका लागि जाने गरेका थिए ।” त्यसमा पनि उनी विवादित बने । पूर्व खेलाडीहरू आक्रोशित बने । अन्ततः अल्मुताइरीले माफी नै मागे । र, आफ्नो आशय फरक रहेको प्रतिक्रिया दिए । लगातार दुई ठूला विवादमा मुछिएका अल्मुताइरीले खेलाडीलाई अनुशासनमा बस्नुपर्ने भन्दै सामाजिक सञ्जाल चलाउन नियन्त्रण गरे मिडियामा बोल्न पनि कडाइ गरे । मिडियामा बोल्न रोक नै लगाए । खेलाडीलाई रोक लगाए । तर, आफूले भने सामाजिक सञ्जालमा सक्रियता बढाए ।

कुवेती नागरिक अल्मुताइरी गत चैतमा नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त हुँदा नेपालले कतारमा हुने फिफा विश्वकप–२०२२ तथा चीनमा हुने एएफसी एसियन कप–२०२३ को छनोट प्रतियोगिता खेलिरहेको थियो ।  अल्मुताइरीले नेतृत्व लिँदा नेपालको विश्वकप छनोटमा अघिल्लो चरण पुग्ने सम्भावनाा सकिसकेको थियो । तथापि, एएफसी एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने सम्भावना बाँकी थियो । र नेपालले साफ च्याम्पियनसिप खेल्दै थियो ।

कुवेतमा सम्पन्न छनोट प्रतियोगितामा नेपालले चाइनिज ताइपेईमाथि २–० को विजय हासिल ग¥यो भने जोर्डन र अस्ट्रेलियासँग पराजित भयो ।  त्यसपछि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्यो । एउटामा १–१ को बराबरी खेल्यो भने अर्कोमा २–१ ले पराजित भयो । कतारमा ओमानसँग मैत्रीपूर्ण खेलमा ७–२ ले पराजित हुँदै नेपाली टोली साफ च्याम्पियनसिप खेल्नका लागि माल्दिभ्स गयो । 

माल्दिभ्समा नेपाली टोली पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन सफल भयो । त्यहाँबाट अल्मुताइरीले पुनः अर्को विवादित अभिव्यक्ति दिए । आफु नेपाल नफर्किने ।  अन्तिम तीन दिनमा मैले धेरै नराम्रो अनुभव गरेँ । ममाथि धेरै आरोप लाग्यो । हिजो हाम्रो ३ बजे ट्रेनिङ थियो । त्यसकारण सहायक प्रशिक्षक र अर्को एकजना खेलाडी प्रि–म्याच प्रेस कन्फ्रेन्समा आएका हुन् ।

एउटा मिडियाले त्यसैलाई समाचार बनायो र मजाक उडायो,” नेपालका प्रशिक्षक अल्मुताइरीले साफको फाइनलमा स्थान बनाएपछि भनेका थिए, “आफ्नो प्रशिक्षकलाई त सम्मान गर्नुपर्छ । हामी प्रशिक्षक हौँ । नोकर होइनौँ । हामी परिवार हौँ । हामी मानव हौँ । हाम्रो बच्चाहरू छन् । मैले त्यो मिडियालाई सोधेँ । म्याच फिक्सिङको आरोप लगाएर खुसी भयौ ? गर्व महशुस भयो ? म नोकर होइन । प्रशिक्षक हुँ । फुटबल विकासका लागि नेपाल आएको हुँ । मैले नेपालमा भएको पत्रकार सम्मेलन भनेको थिएँ । म इतिहास रच्न चाहन्छु । त्यो आज पूरा भएको छ । अब हामी शनिबार फाइनल खेल्नेछौँ । यो मेरो अन्तिम खेल हुनेछ । त्यो खेलपछि म कहिल्यै नेपाल फर्किने छैन ।”

तर, उनी आफ्नो अभिव्यक्तिमा लामो समय टिक्न सकेनन् । फाइनलमा भारतसँग पराजित भएलत्तगै उनले पुनः नेपाल फर्किने संकेत दिए । फाइनल खेलमा पनि उनी टच लाइनमा बस्न पाएनन् । कारण उनी निलम्बनमा थिए । निलम्बनमा परेपछि उनले आफूमाथि आयोजकले अन्याय गरेको र न्यायका लागि कोर्ट अफ आर्बिट्रेस फर स्पोर्टस (सीएएस), फिफा र एएफसीमा जाने बताए । तथापि, उनी कतै गएनन् ।  नेपाल नफर्किने घोषणा गरेका अल्मुताइरी माल्दिभ्सबाट सीधै कतार गए । नेपाल फर्किएनन् । उनलाई फकाउन एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा उतै गए । अन्ततः एन्फासँगको सम्झैता नविकरण गरेर अल्मुताइरी २०२२ को सेप्टेम्बरसम्म नेपाल बस्ने गरी फर्किए । 

खेलाडीसँग विवाद

आफ्नो अस्पष्ट योजना सुनाएर बिदा मनाउन उनी पुनः नेपाल फर्किए । उनी बिदा मनाउन गए । तर, नेपालमा भने शीर्ष डिभिजनको शहिद स्मारक ‘ए’ डिभिजन लिग चलिरहेको थियो । उनी आधाजसो लिगका खेलमा उपस्थित भएनन् । अनलाइनमार्फत खेल हेरिरहेको दाबी गरे । नेपाल फर्किएपछि अफ्रिकन राष्ट्र मोरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि खेलाडीको नाम सार्वजनिक गरे । क्लबका प्रशिक्षकहरूले ‘आफ्ना खेलाडीलाई मुख्य प्रशिक्षक अल्मुताइरीले राष्ट्रिय टिममा पर्ने हो भने जोगिएर खेल्न भनेको’ आरोपसमेत लगाउन भ्याए ।

क्लबका पदाधिकारीले त्यतिबेला अल्मुताइरीबाट अनावश्यकरूपमा हस्तक्षेप भएको बताएका थिए । त्यसमा अल्मुताइरीले स्पष्टीकरण नै दिनुपर‍्‍यो । त्यसमा अल्मुताइरीले भनेका थिए, ‘‘मैले कहिल्यै पनि खेलाडीलाई लिगको खेलमा शतप्रतिशत ध्यान दिएर नखेल्नु भनेको छैन । क्लबमा शत प्रतिशत समय र ध्यान नदिनेले राष्ट्रिय टोलीमा पनि शतप्रतिशत नतिजा दिँदैन भन्ने मेरो विश्वास छ । ? मेरो उपस्थितिले खेलाडी तथा क्लबलाई दबाब सिर्जना भएको हो भने मसँग समस्या समाधानको एक उपाय छ । म टेलिभिजनमा लिगका खेल हेर्छु ।” 

लिग सकिएपछि नेपाली टोली एएफसी एसियन कप छनोटमा जुटेको थियो । कतारमा अफगानिस्तानविरुद्ध दुई मैत्रीपूर्ण फुटबल खेल्ने योजनामा थियो । एकाएक अल्मुताइरी पुनः विवादमा परे । यसपटक उनी आफ्नै ‘सन्तान’ जस्ता खेलाडीसँगको विवादमा मुछिएका हुन् । 

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले बैशाख १३ गते राति होटल छाडे । उनीहरूले वैशाख १५ पत्रकार सम्मेलन गर्दै मुख्य प्रशिक्षक अल्मुताइरीको ज्यादतीका कारण टिम छाड्नुपरेको बताएका थिए । उनीहरूले ‘अल्मुताइरीबाट तानाशाह व्यवहार गरेको भन्दै उनको अन्डरमा खेल्न नसकिने’ बताएका थिए । तर, १० खेलाडीसँगै कप्तान किरण चेमजोङ र विकेश कुथुलाई बाहिर राख्दै अल्मुताइरीले एएफसी कप छनोटका लागि टिमको घोषणा गरिसकेका छन् । 

अल्मुताइरी र खेलाडी बीचको विवादमा एन्फाले गठन गरेको विवादको समस्या पहिचान र सिफारिस कार्यदलले जेठ चार गते प्रतिवेदन बुझाइसकेको छ । अवकाशप्राप्त मेजर जनरल तथा पूर्वखेलाडी भिक्टर राणाको संयोजकत्वमा बनेको कार्यदलले २८ पृष्ठ लामो प्रतिवेदनमा ९ बुँदे सुझाव समेट्दै प्रतिवेदन बुझाएको थियो । जसमा एसियन कप छनोट प्रतियोगितापछि मुख्य प्रशिक्षक अल्मुताइरीको विकल्प खोज्न सुझाएको छ ।

अल्मुताइरीबारे कार्यदलको निष्कर्ष छ, “एकै पटक ९ जना खेलाडी क्याम्प छाडेर जानुमा मुख्य प्रशिक्षक, व्यवस्थापक तथा एन्फा सचिवालयको पनि अवश्य केही त्रुटि छन् । मुख्य प्रशिक्षकको स्वास्थ्य स्थितिले गर्दा उत्तेजक र तनावमा देखिनु, स्वास्थ्य परीक्षणको लागि विदा स्वीकृत रहेको अवस्था, फरक सामाजिक र सांस्कृतिक परिवेश, बारम्बार विवाद, तथा सामाजिक सञ्जालमा अनावश्यक टीका–टिप्पणी जस्ता क्रियाकलापले गर्दा राष्ट्रिय टिममा स्वच्छ वातावरण नभएको देखिन्छ । यस्तो अवस्थामा भविष्यमा अरू समस्या उब्जने प्रवल सम्भावनालाई समेत नकार्न सकिदैन । तसर्थः एसिया कप छनोट प्रतियोगिता पछि कतार फुटबल संघसँगको सहयोगलाई निरन्तरता र सहमति कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरिन्छ ।”

अहिले, एन्फा चुनावमा होमिएको छ । कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्नका लागि एन्फा कार्यसमिति बैठक बस्नुपर्ने एन्फा महासचिव इन्द्रमान तुलाधर बताउँछन् । चुनावका कारण एन्फा कार्यसमितिको बैठक बस्ने सम्भावना न्यून छ । चुनाव पछि कुन नेतृत्व आउँछ, त्यो पछि नै थाहा हुनेछ । उनीहरूले त्यस सुझावलाई कार्यान्वयत गर्छन् कि गर्दैनन्, त्यो पनि अनिश्चित नै छ । त्यसका बाबजुद नैतिकताका आधरमा अल्मुताइरीले साँच्चिकै राजीनामा दिन्छन् कि दिँदैनन्, त्यो पनि अनिश्चित नै छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro