नेपालका राष्ट्र वा सरकार प्रमुख प्रायः पहिलो विदेश भ्रमण भारतमा गर्छन् । तर, तिनको भ्रमण नेपाली मिडियाका लागि महत्त्वपूर्ण हुने गरे पनि भारतीय सञ्चार माध्यमका लागि भने खासै महत्त्वको विषय बन्ने गरेको छैन । नेपालमा ०६२÷०६३ को परिवर्तनपश्चात ११ वटा सरकार बने । तीमध्ये मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र प्रधानमन्त्री झलनाथ खनालबाहेक सबैले भारत भ्रमण गरेका छन् । सबैले आफ्नो भ्रमण ऐतिहासिक महत्त्वको भएको दाबी पनि गरेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्री भएजस्तै भारतको भ्रमणमा पनि चौथोपटक बुधबार निस्किएका छन् । यो ०६२÷०६३ को परिवर्तनपश्चात भने प्रधानमन्त्रीका हैसियतमा देउवाकोे पहिलो विदेश भ्रमण पनि हो । देउवा भारतका नयाँ राष्ट्रपति रामनाथ कोविंदलाई भेट्ने पहिलो विदेशी सरकार प्रमुख हुनेछन् ।
संविधान सभाको निर्वाचनपछि नेपालमा ७ प्रधानमन्त्री भए । तीमध्ये पुष्पकमल दाहाल ’प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, सुशील कोइराला र केपी ओली नयाँ अनुहार हुन् । देउवामात्रै पहिले नै प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् । ती नयाँ अनुहारमा सुशील कोइरालाले भारतको राजकीय वा औचारिक भ्रमण नगरे पनि नरेन्द्र मोदीको
शपथ ग्रहण कार्यक्रममा नेपालको प्रधानमन्त्रीका रूपमा सहभागी भएका थिए । प्रधानमन्त्रीका हैसियतका भारत भ्रमण नै नगर्ने झलनाथ खनालमात्रै छन् ।
(दोस्रो जनआन्दोलनपछि प्रधानमन्त्रीका रूपमा गिरिजाप्रसाद कोइरालाको भ्रमणलाई भारतले विशेष महत्त्व दिएको थियो । तत्कालीन प्रधानमन्त्री डा. मनमोहन सिंह कोइरालाको स्वागतमा विमानस्थलमा आफैँ उपस्थित भएका थिए ।)
यस अवधिमा पुष्पकमल दाहाल दोहोर्याएर प्रधानमन्त्री भए । उनले दुवैपटक भारत भ्रमण गरे पनि पहिलोपटक जति महत्व पछिल्लो भ्रमणमा पाएनन् । भारतीय पत्रकार व्रजेश शर्माका अनुसार पहिलो पटक प्रधानमन्त्रीका हैसियतमा दाहाल भारत पुग्दा भारतीय मिडियाले उनलाई माओवादी अध्यक्ष प्रचण्डका रूपमा बढी महत्व दिएका थिए । उनी सम्झन्छन् – त्यसो त पहिलो संविधान सभामा बहुमत ल्याएको शक्तिशाली प्रधानमन्त्रीका हैसियतमा उनले भारत भ्रमण गरेका थिए । उनको हाउभाउ पनि त्यति बेला हेर्न लायक थियो ।
भारतीय नागरिकलाई पनि उनका बारेमा कौतुहल थियो । पूर्वविद्रोही नेता राजकीय अतिथिका रूपमा आउँदा भारतका मिडियाले उच्च महत्त्व दिएकोे शर्माको धारणा छ । उनी भन्छन् — “त्यो कभरेज चीनका राष्ट्रपति सी जिनपिङको भन्दा कम थिएन ।” मोदी प्रधानमन्त्री भएपछि सी जिनपिङले भारत भ्रमण गरेका थिए । तर, दोस्रोपटक गत वर्ष प्रधानमन्त्रीका रूपमा आउँदा भने दाहालले भारतीय मिडियाबाट खासै महत्त्व पाएनन् । सरकारका तर्फबाट राजकीय सम्मान उस्तै भए पनि मिडिया कभरेजका दृष्टिले उनको भ्रमण फिक्का नै रह्यो ।
एक दशकका अवधिमा भारत भ्रमण गर्ने नेपाली प्रधानमन्त्रीहरुमा दाहालपछि भारतमा महत्त्व पाएका अर्का प्रधानमन्त्री बाबुराम भट्टराई हुन् । किनभने उनी माओवादी नै भए पनि भारतको भूमिकामा विषम परिस्थितिमा पधानमन्त्री बनाइएका थिए ।
एक दशक देखि भारतमा अन्तर्राष्ट्रिय समाचार संस्थामा कार्यरत पत्रकार कृष्ण पोखरेलका अनुसार एक दशकमा नेपालका प्रधानमन्त्रीहरु प्रत्येक वर्षजस्तो भारत भ्रमणमा छन् । भारत पुग्ने नेपाली प्रधानमन्त्रीहरुमा दाहालको पहिलो र भट्टराईको भ्रमणलाई मात्र चासो राखेर हेरिएको देखियो । अन्तर्राष्ट्रिय मिडियाले समेत ती भ्रमणलाई महत्त्व दिएका थिए । भारतीयहरुलाई केले आकर्षित ग¥यो भन्न नसकिने बताउँदै उनले भने – मिडिया कभरेजका दृष्टिले यी दुई प्रधानमन्त्रीको भ्रमणले भारतमा अनुमान गरिएभन्दा महत्त्व पाएको देखियो ।
यथावत पाक्षिकका सम्पादक तथा वरिष्ठ पत्रकार रामबहादुर रायका अनुसार नेपालको पछिल्लो परिवर्तन पछि भट्टराई त्यस्ता पात्र थिए जो नेपालमा गिरिजाप्रसाद कोइरालापछि भारतले रुचाएको त्यो तहका नेता थिए । रायका अनुसार गिरिजाप्रसादको निधनपछि भारत नेपालमा त्यस तहमा आफ्ना विश्वास पात्रको खोजीमा थियो । त्यही अवसरमा नेपालको विषम परिस्थितिमा भारतको सहयोग र भूमिकामा बनाइएकाले पनि उनको भारत भ्रमण उच्च चासोको विषय भएको थियो । त्यस भ्रमणमा उनले बिप्पा सम्झौतासमेत गरेका थिए ।
नेपालमा प्रधानमन्त्री हुनासाथ भारत भ्रमण गरेर अन्तर्राष्ट्रिय जगतमा पाइला राख्ने परम्परा नै भएको छ । पहिलो विदेश भ्रमण प्रायः प्रधानमन्त्रीहरूले भारतलाई नै बनाउने गरेका छन् । यस पटक पनि त्यही परम्पराले निरन्तरता पाएको छ ।
भारतमा कार्यरत नेपाली मूलकी पत्रकार पुष्पा उपाध्यायका अनुसार पछिल्ला वर्षमा भारतीय सञ्चार माध्यममा नेपालको कभरेज सकारात्मकभन्दा नकारात्मक विषयमा बढी हुनेगरेको छ । एबीपी टीभीमा कार्यरत उपाध्याय भन्छिन् — “नेपालका राष्ट्र प्रमुख वा सरकार प्रमुख आउँदा मिडिया कभरेज सामान्यमात्र हुने गर्छ, भारतबाट नेपालमा हुने भ्रमणलाई जस्तो महत्त्व दिइँदैन ।” उनी भन्छिन् – नेपालका लागि भारत र चीन समदूरीका छिमेकी हुन् । नेपालका समदूरीका छिमेकी भए पनि भारत र चीनविपरित धु्रवका शक्ति भएका छन् । यतिबेला दुवै देश सीमा विवाद चरम तनावमा पुगेको छ । यस्तो अवस्थामा नेपालको साथ आफ्नो पक्षमा देखाउन दुवैको प्रयास हुन्छ । त्यस बारेमा नेपालको धारणा प्रकट गराउन यो भ्रमण भारतका लागि उपयुक्त अवसर हुनसक्छ ।
मिडिया कभरेजका हिसावले भारतमा देउवाको यस भ्रमणले कति महत्व पाउला त ? नेपालको राजनीतिक घटना क्रम र भारत र चीन विवादको विषयले नेपालका प्रधानमन्त्रीको भारत भ्रमण सम्बन्धित बिटका पत्रकारका लागि चासोको विषय हुनसक्छ । तर, भारतमा विदेशी उच्च अतिथिको आवागमन निरन्तर जस्तै भइरहन्छ । त्यसमा पनि मिडियाको कभरेज देश, व्यक्ति, प्रसंग, समय, सन्दर्भअनुसार हुने गर्छ ।
भारतमा प्रत्येक महिना कुनै न कुनै देशका राष्ट्र प्रमुख वा सरकार प्रमुख आउने भएकोले पनि नेपालका राष्ट्र प्रमुख वा सरकार प्रमुखको भ्रमणले पर्याप्त महत्त्व नपाउने पत्रकार पोखरेलको अनुभव छ । नेपालका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र केपी ओली आउँदा भारतका मिडियामा सामान्य कभरेजमात्र भएको उनको अनुभव छ ।
अहिले चीन र भारतको विवाद, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा अमेरिकी सैनिक थप गर्ने र भारतलाई सहयो गर्न गरेको आग्रहजस्ता विषय भारतीय मिडियाका खुराक भएका छन् । यसैगरीे ‘तीन तलाक’ (सम्बन्ध विच्छेद) का बारेमा सर्वोच्च अदालतको फैसला अर्को चर्चाको विषय बनेको छ । सम्भवतः यिनै विषयले यस साता बढी चर्चा पाउनेछन् ।
भारतको गुजरातको सन्देश दैनिकमा कार्यरत नेपाली मूलका पत्रकार किशोर रिमालका अनुसार गत बैशाखमा नेपालकी राष्ट्रपति विद्यादेबी भण्डारीको भ्रमणलाई पनि भारतीय मिडियाले उच्च महत्त्व दिएन । भारतका राष्ट्रिय भनिनेमध्ये कमै सञ्चार माध्यमले राष्ट्रपति भण्डारीको भ्रमणलाई कभरेज गरे । रिमाल भन्छन् — “भण्डारी भारत भ्रमणमा आउँदा सोमनाथको दर्शन गरेको तस्बिरले उच्च महत्वका साथ कभरेज पाएको थियो । अहिले पनि देउवाको भारत भ्रमणको नेपालमा जति चर्चा भए पनि भारतमा सामान्यमात्र हुने उनको अनुमान छ । रिमालका अनुसार देउवाले भारत र चीनबीचको विवादका बारेमा मुख खोले भनेमात्र भारतीय मिडियाले महत्व दिनेछ । नभए खासै महत्त्व नदिन सक्छ ।
भारतका वरिष्ठ पत्रकार मदनलाल हिन्दका अनुभवमा मिडिया कभरेजका लागि व्यक्तित्वले पनि फरक पार्ने गरेको छ । ईन्डियन एक्सप्रेसमा निरन्तर ४५ बर्ष काम गरेका अनुभवी पत्रकार हिन्द भन्छन् – दुई देशको सम्बन्धका बारेमा त झन् एजेन्डाको महत्त्व हुन्छ । पछिल्ला वर्षमा प्रत्येक ९–१० महिनामा हुने नेपालको सरकार परिवर्तन र सरकार प्रमुखहरुको भारत भ्रमणले भारतका मिडियामा खासै चर्चा पाउन छाडेको हो ।
यस पटक प्रधानमन्त्री देउवाको भारत भ्रमणले भारतीय मिडियमा कत्तिको कभरेज पाउँछ भन्ने नेपाल र नेपाली मिडियाका लागि चासोको विषय भएको छ ।