
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान सीता रानामगरको टिम टोर्नाडोसले फाल्कोन्सलाई ८ विकेटले हराउँदै फेयर ब्रेक इन्भिटेसनल क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
गए राति दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको फाल्कोन्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १५१ रन बनाएको थियो । १५२ रनको लक्ष्य टोर्नाडोसले १९.१ ओभरमा २ विकेट गुमाएर पूरा ग¥यो ।
टोर्नाडोसका लागि सोफी डिभाइनले ५१ रन बनाइन् । उनले स्टेर कालिससँग पहिलो विकेटका लागि ७६ रनको साझेदारी गरेकी थिइन् । कालिसले ४४ रन बनाइन् । कप्तान स्टेफेन टेलरले अविजित ३४ रन बनाइन् भने सन लुस १८ रनमा अविजित रहिन् ।
फाल्कोन्सका मारिजान काप र सोरिनारिन टिप्पोचले एक/एक विकेट लिए ।
त्यसअघि, पहिले ब्याटिङ गरेको फाल्कोन्सका कापले अविजित ६७ रन बनाएकी थिइन् । मारिको हिलले अविजित ३० रन जोडिन् । थिर्था सतिश १९ रनमा आउट भइन् । डानी वाट र सुजी बाटेसले समान ११ रन बनाए ।
टोर्नाडोसका चानिदा सुथिरुङले दुई विकेट लिइन् ।
नेपालकी सीताले प्रतियोगिताका सात इनिङ्समा चार विकेट लिइन् । दुई इनिङ्समा ब्याटिङ गरेर २२ रन बनाएकी थिइन् । उनी प्रतियोगिताको ‘टिम अफ दी टुर्जामेन्ट’मा पनि पर्न सफल भएकी छन् ।