काठमाडौं । नेपाल खाद्य संस्थान र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडसँग पर्याप्त खाद्यान्न तथा खाने तेल भए पनि बाढी पीडितको तर्फबाट माग नआएको सरोकारवला संस्थाहरुले बताएका छन् ।
पूर्ति मन्त्रालयले हप्ता दिनअघि नै संस्थान र कर्पोरशनलाई ४५ देखि ५० हजार परिवारलाई पुग्ने गरी चामल, कर्णालीको दाल, नुन, खाने तेललगायतका सामग्री तयारी अवस्थामा राख्न निर्देशन दिएको थियो ।
ती संस्थाहरुले पर्याप्त मात्रामा खाद्यान्नलगायत सामग्री तयारी अवस्थामा राखेको जनाएका छन् । संस्थानका बिक्री वितरण विभाग प्रमुख सुरेन्द्र राज विष्टले संस्थानसँग मुलुकभरमा २ लाख १४ हजार क्वीन्टल चामल रहेको बताए । “त्यो बाहेक राजापुर र धनगढीमा ११ हजार क्वीन्टल गहुँ छ,” उनले भने, “९ सय ८२ क्वीन्टल कर्णालीको सिमी संस्थानको काठमाडौं स्थित थापाथली र ललितपुरको नख्खुस्थित केन्द्रीय गोदाममा स्टक गरिएको छ ।”
त्यस्तै उनले सोही गोदामहरुमा १३ क्वीन्टल उवा र ७ सय क्वीन्टल फापर रहेको जानकारी दिए । उनका अनुसार आपूर्ति मन्त्रालयले करिब १५ हजार क्वीन्टल चामल र हजार क्वीन्टल सिमी बाढी पीडितका लागि तत्काललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको थियो ।
यद्यपि सम्बन्धित क्षेत्रहरुबाट त्योभन्दा कम परिमाणमा मात्र खाद्यान्नको माग भइआएको उनको भनाइ छ । “संस्थानमा हालसम्म ७ हजार ५ सय ११ क्वीन्टल ७० किलोमात्र माग विभिन्न खाद्यान्नको भएकोमा त्यति नै परिमाण पठाइसकेका छौं,” उनले भने, “प्रक्रिया अनुसार सम्बन्धित जिल्लाको जिल्ला दैवी प्रकोप उद्धार समतिले माग भर्पाइसहित चिठ्ठी पठाउनेबित्तिकै आवश्यक खाद्यान्न उपलब्ध तत्काल गराउने व्यवस्था गरिएको छ ।”
उनका अनुसार सबैभन्दा बढी मोरङ्ग जिल्लामा ४ हजार ५७४ क्वीन्टल चामल पठाइसकिएको छ । त्यस्तै सुनसरीमा १ हजार ११० क्वीन्टल, महोत्तरीमा ७२, बर्दियामा ५ सय ७७ क्वीन्टल २० किलो, पर्सामा ९९ क्वीन्टल ९० किलो, बारामा ८० क्वीन्टल १० किलो र सप्तरीमा ९ सय ५८ क्वीन्टल ५० किलो चामल पठाइएको छ । सिमी ४० क्वीन्टल रौतहटलगायतका जिल्लाहरुमा पठाइएको छ ।
उनले भूकम्पको समयमा समेत खाद्यान्नको अभाव नभएको स्मरण गराउँदै उक्त अवधिमा ४२ हजार क्वीन्टल उपलब्ध गराएको जानकारी दिए ।
त्यस्तै, कर्पोरेशनका एसिस्टेन्ट जेनेरल म्यानेजर कुमार राजभण्डारीले पनि कम्पनीमा हालसम्म बाढी पिडीतहरुको तर्फबाट तयारी अवस्थामा रहे पनि तेलको माग नभएको बताए । “अहिलेसम्म ९ हजार ७ किलो नुनको मात्र माग आएकोले त्यति नै पठाएका छौं,” उनले भने, “रौतहटबाट ५ हजार, विराटनगरबाट ३ हजार ९५० र सुनसरीबाट ७ सय ५० किलोको माग भएको थियो ।”
कर्पोरेशनसँग हाल चिनी १५ हजार टन स्टकमा रहेकोे उनको भनाइ छ । “केहि दिनभित्रै अर्को १० हजार टन चिनी आइपुग्दै छ,” उनले भने, “नुन १ लाख ३५ हजार टन र खाने तेल ६ हजार लिटर हामीसँग स्टकमा छ ।” उनका अनुसार स्टकमा रहेको नुनले १० महिनासम्म र चिनीले दशैतिहार र छठ पर्वसम्म मुलुकलाई धान्छ ।
हाल कर्पोरेशनसँग पर्याप्त नुन, खाने तेल, चिनी रहेको भन्दै नाकाबन्दीको समयमा समेत नुन र चिनीको अभाव हुन नदिएको उनले स्मरण गराए ।