site stats
अविच्युरी
समाजसेवी तथा साहित्यकार भट्टराई रहेनन्

काठमाडौं  । विराटनगर निवासी पूर्व सरकारी कर्मचारी, समाजसेवी तथा साहित्यकार रेखबहादुर भट्टराईको ८८ वर्षको उमेरमा निधन भएको छ । 

वि.सं. १९९१ साल भाद्र ऋषिपञ्चमीका दिन जन्मिएका भट्टराई २००७ सालमा सरकारी सेवामा प्रवेश गरेर विशिष्ट श्रेणी (कामु सचिव) सम्म भइ सेवा निवृत्त भएका थिए । सरकारी सेवाबाट अवकाश भए पश्चात् भट्टराईले विराटनगरको सामाजिक क्षेत्रमा निकै ठूलो योगदान दिएका थिए भने साहित्य साधनामा पनि उल्लेख्य सक्रियता देखाएका थिए । 

S.A.U
Agani Group

एलिट क्लब विराटनगर, आदर्श पुस्तकालय, आदर्श उपभोक्ता संरक्षण समिति, परोपकार अभियान समूह, बिराट साहित्य संगम, उपभोक्ता जागरण अभियान, नागरिक अधिकार संरक्षण समिति, नेपाल बार एसोसियसन, पोखरिया माध्यमिक विद्यालय जस्ता मोरङका विभिन्न सामाजिक तथा शैक्षिक संस्थामा आबद्ध भट्टराई जनकल्याण मा.वि. काठमाडौंसँग पनि आबद्ध थिए । 

कवि, कथाकार तथा जिवनीकार भट्टराईले रचना गरेका कृतिमा मेरो कथा, वीपी कोइराला र समकालीन नेपाल, जीवन्त कथाहरू, चिन्तन प्रवाह, देश दुखेको बेला, जीवन्त सङ्घर्ष, अमरपथ, आदर्शपथ, जीवनपथ जस्ता विभिन्न विधाका नौ पुस्तक छन् । उनले ‘रेखबहादुर गंगादेवी सेवा पुरस्कार’ नामक अक्षय कोष स्थापना गरेका छन् जुन कोषले प्रत्येक वर्ष एक समाजसेवी र एक संस्थालाई नगद पुरस्कार प्रदान गर्दछ । भट्टराईले एम.ए. तथा बी.एल. सम्मको अध्ययन गरेका थिए । 

Global bank

चालीस वर्षको उमेर देखि मधुमेहको बिरामी भएको र केही वर्षपछि मृगौलाको समस्यासँग जुध्दै आएका भट्टराईको सिर्जना कर्ममा रोगले पछिसम्म पनि बाधा पु¥याउन सकेन । त्रियासी वर्षको उमेरदेखि डाइलाइसिस गराइरहनुपर्ने वाध्यताका बीचपनि भट्टराई अध्ययन र लेखनमा व्यस्त थिए । अन्तिम कृति ‘जीवन पथ’ लाई, “यो नै मेरो अन्तिम कृति हुनेछ” भनेर घोषणा गरेका भट्टराईको भनाई सार्थक पनि भयो । २०७९ साल वैशाख १६ गते डायलाइसिस गर्ने क्रममा स्वास्थ्यमा जटिल समस्या आएपछि उनले यो संसारबाट बिदा लिएका थिए । 

पिता भवानी प्रसाद भट्टराई तथा माता गायत्री देवीका तिन पुत्रमध्येका माइलो रेख बहादुर भट्टराईका श्रीमती गंगादेवी तथा तीन सुपुत्र प्रकाश, ज्योती र किरण छन् ।

 


 

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  ११:२०
प्रतिक्रिया दिनुहोस्