site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वतन्त्र उमेदवारले जिते काम गर्न सक्छन् ? यस्तो छ विज्ञको धारणा 
SkywellSkywell

काठमाडौं । चुनाव आउन चार दिन मात्र बाँकी छ । चुनावी अभियान जोडतोडले चलेको छ । राजनीतिक दल, स्वतन्त्र उमेदवार र बागी उमेदवारहरू जितका लागि प्रचार–प्रसारमा छन् । 
 
मेयर पदका लागि उठेका स्वतन्त्र उमेदवारहरूले जिते पनि काम गर्न नसक्ने भनेर केही मतदाताको अड्कलले सामाजिक सञ्जालका भित्ताहरू रङ्गिएका छन् । 
  
सुरक्षा मामिला विज्ञ डा. इन्द्र अधिकारी ट्विटरमा काठमाडौं महानगरपालिकामा मेयरको उमेदवारको लागि उठेका बालेन शाहमाथि विश्वस्त हुन नसक्ने भन्दै ट्विट लेखेकी छन्, ‘काठमाडौंका स्वतन्त्र उमेदवार बालेन शाह न विश्वस्त हुने समूह, न संगठन, न कुनै भरपर्दाे आधार, न सिद्दान्त, न त जवाफदेहिताका लागि ठाउँ ! ‘राजनीति बदल्ने’ कसरी ? प्रतिबद्धता पूरा नगरी मैदानबाटै भागे के गर्ने ? कमसेकम कालो चश्मा खोलेर आँखा जुधाएर बहस गरेको र भोट मागेको हेर्न मन छ है पहिले !’ 

उनको ट्विटमा कमेन्ट गर्दै ट्विटर प्रयोगकर्ता शिव घिमिरे लेख्छन्, “कस्तो तर्क हो ? भागे के गर्ने रे ! विद्यासुन्दर मेट्रो/मोनोबाट भागे त ! के गरियो र ? बालेन शाहलेले मेट्रो/मोनो जस्तो हावादारी र ५ वर्षमा असम्भव योजना त खासै पेश गर्या छैनन् नि ! अनि चस्मा लार/नलार बहस गर्नु महत्वपूर्ण हो कि तथ्य, योजना, तर्कपूर्ण बहस गर्नु महत्वपूर्ण हो ?”
जवाफमा अधिकारी लेख्छिन्, “उनको दल जवाफदेही हुन्छ, आवधिक चुनावमा दण्डित गर्न सकिन्छ ।”

यसैगरी, पूर्व जलस्रोतमन्त्री दीपक ज्ञवाली अधिकारीकै ट्विटमा कमेन्ट गर्दै लेख्छन्, ‘तपाईंका ठूला दल नेपाली कांग्रेस, एमाले माओवादी कहाँ जवाफदेही भए । विगत डेढ दशकमा क्रिपया देखाइदिए आभारी हुने थिएँ । यस्ता बारम्बार फेल्डलाई कति शंकाको घेरा दिइराख्ने ? दल भक्तिभन्दा स्वतन्त्र नागरिक भएर तर्क गरे बेस ।’

KFC Island Ad
NIC Asia

स्वतन्त्र उमेदवारको उमेदवारीलाई लिएर सामाजिक सञ्जालमा उठेका यी प्रश्नबारे यी उमेदवारहरू जानकार नभएका होइनन् । पोखरा महानगरपालिकाबाट अटेरी उमेदवारका रुपमा उठेका लेखक गनेस पौडेल स्वतन्त्र उमेदवारले पार्टीका उमेदवारलेभन्दा निर्धक्क दबाबरहीत काम गर्न सक्ने बताउँछन् । उनकाअनुसार धेरै मानिसले यस विषयमा चासो राख्ने गरेको र यसलाई राजनीतिक पार्टीले गलत तरिकाले व्याख्या गर्ने गरेको बताए । भन्छन्, “स्वतन्त्र उठ्दा जनताप्रति मात्रै जवाफदेही हुन्छन् । तर, पार्टीका उमेदवार पार्टीका लागि जवाफदेही हुने, पार्टीको लागि चन्दा उठाउनुपर्ने र कार्यकर्ता पाल्नुपर्ने जस्ता काममा ध्यान दिनुपर्छ ।”
 
राजनीतिक दल, तिनका भातृ संगठन तथा कार्यकर्ताले अतिक्रमण गरेर बसेका सार्वजनिक जग्गा उनीहरूले फिर्ता गर्न नसक्ने पौडेलको भनाइ छ । भन्छन्, “नत उनीहरूले स्थानीय सरकारमा रहेका शिक्षा, स्वास्थ्य, न्यायिक समितिजस्ता महत्त्वपूर्ण समितिलाई राजनीतिक दबाबाट सुरक्षित राख्न सक्छन् ।”

 यसैगरी, अर्का स्वतन्त्र उमेदवार बालेन शाह स्वतन्त्र व्यक्तिले सजिलै काम गर्न सक्ने दाबी गर्छन् । उनले महानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट पास गर्न कठिन नहुने बताउँछन् । भन्छन्, “नगरपरिषदको बैठक नै लाइभ टेलिकास्ट गरेपछि बरु सम्भावित भ्रष्टाचारसमेत रोकिन्छ । नगरवासीले आफ्ना वडाध्यक्षले कुन मुद्दामा कस्तो समर्थन दिए थाहा पाइहाल्छन् ।”

के भन्छन् विज्ञ ?
त्रिभुवन विश्वविद्यालयका राजनीतिक शास्त्र विभागका प्रमुख प्रा.डा. रामकृष्ण तिवारी पार्टी प्रणालीबाट हेर्दा पार्टीको प्रतिनिधित्व नभएको व्यक्तिले नगरसभामा एजेण्डा पास गर्न नसक्ने यथार्थ भएको बताउँछन् । उनकाअनुसार स्वतन्त्र उमेदवारले लिएर जाने एजेण्डा राजनीतिक पृष्ठभूमिभन्दा पनि विकासका आधारमा लिएर जान्छ । “तर विकासका पृष्ठभूमिले मात्रै संसदीय चुनावमा काम गर्दैन,” उनले भने, “सभामा उसका योजनाहरु थन्किन्छन्, उसले ल्याएको नीति कार्यक्रम एकीकृत रुपमा लैजान सक्दैन ।”

उनी स्वतन्त्र उमेदवारको स्वतन्त्रतामाथि प्रश्न गर्छन् । हेर्दा स्वतन्त्र भए पनि कुनै न कुनै रुपमा दलमा सहभागी भएका हुनसक्ने उनको आंकलन छ । केही पार्टीले टिकट नदिएको झोँकमा विमति राखेर बागी उठेको र सत्ता गठबन्धनका कारण पार्टीप्रति वितृष्णा जागेर उठेको उमेदवारलाई स्वतन्त्र भन्न नमिल्ने उनको भनाइ छ । 
 
स्वतन्त्र उमेदवारलाई मत दिने मतदाता पनि कुनै न कुनै रुपमा पार्टीप्रति आस्था भएकै मानिसले दिने हुँदा स्वतन्त्र व्यक्तिको मत पायो भनेर भन्न नमिल्ने उनले बताए । भन्छन्, “बालेन शाहको गायन र गनेस पौडेलको साहित्य मन पराउनेले मात्र मत दिने हो । ती मत दिने पनि पार्टीकै सदस्य हुन् । उनीहरुले पूर्ण यी उमेदवारहरूलाई सर्पोट गरेको भनेर भन्न मिल्दैन ।”
 
काठमाडौंमा स्वतन्त्र उमेदवारको रुपमा शाहको नाम चर्चामा आइरहँदा उनी शाहको भिजन राम्रो भए पनि कार्यान्वयन गराउन नसक्ने दाबी गर्छन् । भन्छन्, “डोर–टु–डोर सेवा दिन्छु भनिराख्नु भएको छ । तर, यस्तो भिजनले मात्र काम गर्दैन । किनकि सबै मानिस प्रविधिमा दक्ष छैनन्, नत कर्मचारी नै दक्ष छन् ।”

उनी काठमाडौंको उमेदवारले करिब साढे तीन लाख मतदातालाई मात्र सेवा दिनेभन्दा पनि काठमाडौँमा बस्ने करिब ३० लाख जनताको समस्याको सम्बोधन गर्नसक्छु भनेर नेतृत्वमा आउनुपर्ने उनको भनाइ छ । भन्छन्, “त्यसैले भिजन राम्रो छ तर कार्यान्वयन गर्न सक्छन् जस्तो मलाई लाग्दैन ।”

तर, प्रा.डा. मीना वैद्य मल्ल भने फरक विचार राख्छिन् । त्रिभुवन विश्वविद्यालयका राजनीतिक शास्त्र विभागको पूर्व प्रमुखसमेत रहेकी मल्ल स्वतन्त्र उमेदवारले जिते काम गर्न नसक्ने भन्ने खालका टिकाटिप्पणी पूर्णरुपमा सत्य भन्न नमिल्ने बताउँछिन् । भन्छिन्, “राजनीतिमा नयाँ पुस्ता स्वतन्त्र उमेदवारमा आउनु यो चुनावको विशेषताको रुपमा मैले हेरेको छु । स्वतन्त्र उमेदवार हुन सक्दैन भन्ने पुरातन सोचाइ हो ।”

स्वतन्त्र उमेदवारले जितेमा काम गर्न गाह्रो छ भन्ने अभिव्यक्ति सान्दर्भिक नरहेको उनको भनाइ छ । भन्छिन्, “काम गर्न उसले जनसमर्थन जुटाउँन सक्छ, जनताले खोजेका कुरा पुर्याउन सक्छ भने यसले त झन् उसको काम गर्ने हौसला र अठोट बढ्छ ।” 

उनकाअनुसार चुनावमा उमेदवार छान्दा पार्टीभन्दा पनि उमेदवारको आधार लिनुपर्छ । “उसको भिजन कस्तो छ । विशेषज्ञता केमा छ ? त्यसलाई आधार लिनुपर्छ,” उनले थपिन्, “ विगतमा पार्टीका उमेदवारले हामी यो गर्छौं, त्यो गर्छौं भनेर घोषणापत्रमा गफ दिएका थिए । तर, स्वतन्त्र उमेदवारले सपना बाँडेका मात्र छैनन् । कसरी गर्ने भन्ने अध्ययन र अनुसन्धानको आधारमा बोलिरहेका छन् ।”
 
स्वतन्त्र उमेदवार कुनै पार्टीका होइनन् । काम गर्न सकेनन् भने भोलि कहाँ गएर समात्ने भन्ने प्रश्न धेरैजसो मतदाताले गर्ने गरेका छन् । प्रा.डा. वैद्य उक्त प्रश्न आंशिक रुपमा सत्य भए पनि फरक तरिकाले बुझ्नु पर्ने बताउँछिन् । उनकाअनुसार मेयर/उपमेयरको पद राजनीतिकभन्दा पनि प्राविधिक पद हो । जसको लागि प्राविधिक ज्ञान आवश्यक छ । भन्छिन्, “हामी स्मार्ट सिटीको कुरा गर्छौं, यस्तो सिटी बनाउन भिजन भएका युवा उमेदवार योग्य छन् । पार्टीको जिम्मेवारी हुन्छ भन्ने कुरा दोस्रो पक्ष हो । पहिला काम गरेर देखाउँन सक्ने उमेदवार त छानौँ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  २०:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro