काठमाडौं । नेपाली खेलकुदमा बेला बेला खेलाडी विदेशमा भागेका घटनाहरु थुपै छन् । खेलाडी विदेशमा भागेका मात्र होइन, अन्यलाई पनि खेलाडी बनाएर विदेशमा लैजाने र उतै पलायन हुने प्रवृत्ति नेपाली खेलकुदका लागि नौलो होइन । अहिले यस्तै एउटा घटना राष्ट्रिय खेलकुद परिषद (राखेप)मा अल्झिरहेको छ ।
नेपाल ओकिनावा सुरिकेन सोरिन रियु कराते डो संघका पदाधिकारीले राष्ट्रिय खेलकुद परिषदकै कर्मचारीको ‘हस्ताक्षर कीर्ते गरेर’ खेलाडी युरोपियन राष्ट्र स्विडेन लैजान लागेको खुलासा भएको छ ।
संघका अध्यक्ष संजय रंजितसहित ११ जनाले स्विडेन जानका लागि प्रकृया थालेका थिए । तर स्विडेनको दूतावासले शंकास्पद ठानेपछि नेपालको युवा तथा खेलकुद मन्त्रालयलाई खबर गरेको थियो । त्यसपछि अवैध ढंगबाट विदेशीन लागेको घटना बाहिर आएको हो ।
नेपाल ओकिनावा सुरिकेन सुरेनरियो कराते डो संघका अध्यक्ष रंजितले हस्ताक्षर दुरुपयोग गर्ने काम भएको स्विकार गरे पनि आफुले त्यस्तो काम नगरेको दाबी गरेका छन् । उनी भन्छन्, “त्यो दुरुपयोग गर्ने काम भएको रैछ । म राखेप कर्मचारी र संघको अध्यक्ष पनि भएको हुनाले ममाथि सबै आइपरेको छ । तर मैले त्यस्तो केही गरेको छैन । आफुले नगरेकाले स्विकार्ने कुरा पनि भएन । यस्तो काम गर्ने तीन चार जनाको नाम पहिचान गरेको छु । यकिन भएपछि सार्वजनिक गर्नेछु ।”
राखेपले यस घटनाको छानविन गर्नका लागि खेलकुद विकास विभाग प्रमुख बज्र केसीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । संयोजक केसीले यस विषयमा केही बोल्न चाहेनन् । उनी भन्छन्, “दुरुपयोग भयो भन्ने कुरा आइरहेको छ । यो विषयमा हामीले छानबिन गरिरहेका छौं । छानबिन भइरहेको विषयमा अहिले म आफैँ बोल्नु उपयुक्त हुँदैन । छानबिनबाट निचोड आएपछि विस्तृतमा सार्वजनिक गर्नेछौं ।”
राखेपका संघ संस्था विभाग प्रमुख सरोज पोखरेलको हस्ताक्षर दुरुपयोग भएको छ ।
पोखरेलले पनि दुरुपयोग भएको बताए । तर उनले थप बोल्न चाहेनन् । “छानबिन भइरहेको विषयमा अहिले केही नबोलौं ।”
नेपाल ओकिनावा सुरिकेन सुरेनरियो कराते डो संघका अध्यक्ष रंजित ललितपुर जिल्ला खेलकुद विकास समितिअन्तर्गतको करातेका सहायक प्रशिक्षक पनि हुन् । उनी आफैँ जाने तयारीमा रहे पनि ‘डकुमेन्ट’ बनाउने कार्यमा आफु संलग्न नभएको जिकिर गरेका छन् ।
“जाने भनेपछि मेरो आफ्नै र तीन, चार जना खेलाडीको नाम सिफारिस गरेको हुँ । तर डकुमेन्ट कसरी फरवार्ड गरे त्यो मलाई थाहा थिएन । संघको पत्र भने मैले नै दिएको हुँ,” रंजितले भने, “त्यो काम गर्नेमध्ये मैले शंकास्पद नाम पहिचान गरेको छु । तीमध्ये एक जना त पक्कै होलान् । यकिन भएपछि हामी कारवाही गर्नुका साथै र नाम सार्वजनिक पनि गर्नेछौं । उनीहरुले यस्तो नराम्रो काम गर्दा मेरै नाम बदनाम हुने स्थिति बनेको छ । के गर्ने के नगर्ने तनावमा छु ।”