site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सुन्दर फुटबल पस्कनेछौँ’
SkywellSkywell

काठमाडौं । नेपाली फुटबलमा चर्च ब्वाइज युनाइटेड नौलो नाम होइन । पछिल्लो दशक झनै धेरै सुनिएको नाम हो । अब झनै धेरै सुनिनेछ । कम्तीमा सहिद स्मारक ‘ए’ डिभिजन लिग भर । कारण, चर्च ब्वाइज मंगलबार मात्र बाँसबारी क्लबमाथि ५–१ को विजय हासिल गर्दै नेपालको शीर्ष डिभिजन लिगमा उक्लिएको छ ।

शीर्ष डिभिजनमा नखेल्दा पनि चर्च ब्वाइजको नाम चर्चामा आउनुका कारण हो, क्लबको आफ्नै ग्राउन्ड । ‘ए’ डिभिजन लिगकै धेरै क्लबहरूको आफ्नो ग्राउन्ड छैन । एएफसी क्लब लाइसेन्स लिनुपर्ने भएपछि पछिल्लो समय क्लबहरूले ग्राउन्डको जोहो गर्न थालेका छन् । यद्यपि, अझै सबै क्लबहरूसँग आफ्नै मैदान छैन । लिग अवधिभर ती क्लबहरूले प्रशिक्षण गर्ने ग्राउन्डमध्येको एक हो, चर्च ब्वाइजको ग्राउन्ड ।

चर्च ब्वाइजको पहिचान मंगलबारबाट फेरिएको छ । ‘ए’ डिभिजन लिग खेल्ने क्लबमा आफूलाई उभ्याएको छ । त्यो पनि दमदार रूपमा । वि.सं. २०६६ सालमा ललितपुरको खेलकुद विकास समितिमा दर्ता भएपछि फुटबलमा यसको औपचारिक यात्रा सुरु भएको थियो । फुटबल खेल्नकै लागि स्थापित क्लबले सुरुका दिनमा निकै संघर्ष गर्नुपर्‍यो ।

KFC Island Ad
NIC Asia

एन्फाको ट्रयाकभित्र छिर्नका लागि लगातार पाँचपटकको प्रयास सफल भएन । तर, चर्च ब्वाइजले हरेस खाएन । अन्ततः ०७६ मा ‘सी’ डिभिजन लिगमा छनोट हुन सफल भयो । ०७७ को ‘सी’ डिभिजन लिगमा चर्च ब्वाइज च्याम्पियन बन्दै ‘बी’ डिभिजन लिगमा उक्लियो ।

‘बी’ डिभिजन लिगमा पनि चर्च ब्वाइजको गतिलाई बाँकी १३ क्लबले रोक्न सकेनन् । त्यसैले एक खेल बाँकी हुँदै च्याम्पियनको हैसियतमा शीर्ष डिभिजन लिगमा उक्लन सफल भयो ।

Royal Enfield Island Ad

पछिल्लो समय फुटबल धेरै प्राविधिक बनेको छ । तर, चर्च ब्वाइजका अध्यक्ष तथा टिम व्यवस्थापक रुवेन राई सफलताको राज खुलाउँदै भन्छन्, “फुटबल मनबाट खेल्नुपर्छ, चाहे त्यो खेलाडीले होस् या व्यवस्थापनको तर्फबाट होस् । मेरो टिमले सुरुबाटै मनदेखि खेल्यो । त्यसैले आज हाम्रो वर्षौँदेखिको सपना पूरा भयो ।”

चर्च ब्वाइजलाई नेपाली फुटबलकै सबैभन्दा उच्चस्तरमा पुर्‍याउन विशेषगरी चार खेलाडीको योगदान महत्त्वपूर्ण रह्यो । फरवार्ड कुवेर न्यौपाने, रक्षक सनम राई र एनोस मगर तथा मिडफिल्डर साइमन लिम्बू । यी चार खेलाडी कठिन परिस्थितिमा पनि विचलित भएनन् । क्लबको साथ छोडेनन् । त्यसैले त क्लबले पनि उनीहरूलाई माया गरिरह्यो । क्लबका अध्यक्ष राईले पनि मंगलबार खेलपछिको प्रतिक्रियामा उनीहरूको नाम लिन छुटाएनन् ।

“यहाँसम्म आइपुग्न विशेषगरी चार खेलाडीको योगदान महत्त्वपूर्ण छ । उहाँहरूलाई विशेष धन्यवाद दिन चाहन्छु । उहाँहरू क्लबका निम्ति खम्बाका रूपमा रहनुभयो,” राईले थपे, “सी डिभिजन छनोटदेखि नै उहाँहरू हामीसँगै हुनुहुन्छ । टिम संरचनाको मुख्य खम्बा भनेको उहाँ नै हो ।”

चर्च ब्वाइज नाम सुन्दा अलि फरक लाग्न सक्छ । तर, अध्यक्ष रुवेन राई नामको पछाडि खास अर्थ नरहेको दाबी गर्छन् । उनी भन्छन्, “यो विशुद्ध रूपमा फुटबल खेल्नका लागि जन्मिएको क्लब हो । हामीले सुरुमा हिमालयन स्पोटर््स राख्न खोजेका थियौँ, तर त्यो नाम अर्कैले प्रयोग गरिसकेको रहेछ । त्यसपछि हामीले चर्च ब्वाइज युनाइटेड भनेर नाम दियौँ । महावीर, संकटा, सरस्वती भनेजस्तै यो पनि एउटा क्लब हो ।”

साधारण सदस्यबाट अउने सदस्यता शुल्क, प्रायोजनको रकमबाट आउने शुल्क, स्वेच्छिक अनुदानहरू र एन्फाले तयारीस्वरूप दिने रकम नै क्लबको मुख्य आम्दानी स्रोत हुन् । ‘बी’ डिभिजन लिग खेल्न क्लबले झन्डै आधा करोड खर्च गरेको छ । ‘ए’ डिभिजन लिग खेल्नका लागि अझै बढी खर्च हुनेछ ।

‘ए’ डिभिजन लिग खेल्ने योजनाबारे अध्यक्ष राईले भने, “हाम्रो एउटा लक्ष्य पूरा भएको छ । लगातार दुईवटा लिगमा च्याम्पियन भयौँ । अब ‘ए’ डिभिजन लिगका लागि योजना बनाउनेछौँ । ‘ए’ डिभिजन लिगमा पनि च्याम्पियन हुन्छौँ भनेर भन्दैनौँ । तर, हामी सुन्दर फुटबल पस्कनेछौँ । अहिलेको लागि यत्ति नै भन्छु ।”

 

टिमका चार खम्बा
अध्यक्षले टिमका चार खम्बा भनेका खेलाडीमध्येका एक हुन्, सनम राई । सनम राई टिमका कप्तान पनि हुन् । एक खेलअगावै च्याम्पियन भएपछि सनमले छाती चौडा बनाउँदै भने, “टिमको मिहिनेत सफल भएको छ । सी डिभिजन छनोटदेखि यहाँँसम्म आफ्नै कप्तानीमा ल्याउन पाउँदा मलाई गर्व लागेको छ । ‘ए’ डिभिजन लिग खेल्ने हाम्रो सानैदेखिको सपना पूरा भएको छ । मलाई विश्वास गरेर जुन जिम्मेवारी दिनुभएको थियो, त्यो पूरा गर्न सफल भएको छु ।”

सनमले एन्फा एकेडेमीमा भर्ना हुनका लागि निकै मिहिनेत गरेका थिए । तर, सफल भएनन् । उनका भाइ भने सफल भए, सन्जोग राई । सन्जोग राष्ट्रिय टिममा पनि पर्न सफल भइसकेका छन् । चर्च ब्वाइजलाई ‘सी’ डिभिजन छनोटदेखि ‘ए’ डिभिजन लिगसम्म ल्याउन सनमले पनि धेरे दुःख गरेका छन् ।

“फर्केर हेर्दा सम्झनलायक क्षणहरू धेरै छन् । हामीले ‘सी’ डिभिजन लिगमा धेरै संघर्ष गर्नुपर्‍यो । टिम सेट भइसकेको थिएन । सुरुवाती–११ राम्रो थियो । तर, बेन्च कमजोर थियो । त्यति बेला एकदम संघर्ष गर्नुपरेको थियो,” पुराना दिन सम्झँदै सनमले भने, “बी डिभिजनमा जुन टिम बनाएका थियौँ, त्यो राम्रो बन्यो । सबै खेलाडीहरूले विश्वास गरेअनुसारको प्रदर्शन गरे । हामी संघर्ष गर्दै यहाँसम्म आइपगेका हौँ । एकदम मिहिनेत गरेका थियौँ । मिहिनेत र पसिनाको फल आजको दिनमा प्रमाणित भएको छ ।”

सनमले चर्च ब्वाइज मात्र होइन, यसअघि च्यासल युथ क्लबलाई पनि ‘ए’ डिभिजन लिगसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । तर, च्यासलले ‘ए’ डिभिजन लिगमा उक्लिएपछि सनमलाई बिर्सियो । नयाँ खेलाडी अनुबन्ध गर्‍यो । सनमलाई टिमबाटै निकालिदियो । ‘ए’ डिभिजन लिग खेल्ने सनमको सपना त्यति बेला नराम्रोसँग चकनाचुर भयो । त्यसको पीडा सनमले अझै भुल्न सकेका छैनन् ।

“च्यासल युथ ‘ए’ डिभिजन लिगमा उक्लिँदा पनि म टिममा नै थिए । तर, च्यासलले ‘ए’ डिभिजन लिगमा उक्लिएपछि हामीलाई बेवास्ता गर्‍यो । धेरै दुःख गरेर शीर्ष डिभिजनमा चढाएका थियौँ,” सनमले भने, “त्यति बेला मैले एक खेल मात्र खेलिनँ होला । कति धेरै दुःख गरेर त्यहाँसम्म पुर्‍याएका थियौँ । तर, हाम्रो मिहिनेतलाई उहाँहरूले बेवस्ता गर्नुभयो । मलाई एकदम दुःख लागेको छ ।”

चर्च ब्वाइजका सारथि ‘कृष्ण’ विक्रम लामा
पौराणिक ग्रन्थ महाभारतमा कौरव–पाण्डवको युद्धमा कृष्णले पर्दापछाडिबाट भूमिका खेलेका थिए । पाण्डवले युद्ध जिते, तर उनीहरूका पछाडि श्रीकृष्णले चाल चलेका थिए, अर्जुनका सारथि बनेर । कुरुक्षेत्रको युद्धमा पाण्डवको पछाडि कृष्णले भूमिका खेलेजस्तै चर्च ब्वाईजको ‘ए’ डिभिजन लिग यात्राको लडाइँमा विक्रम लामाको भूमिका कृष्णको जस्तै रह्यो ।

पर्दाअगाडि विक्रम देखिएनन् । ‘अर्जुन’का रूपमा कविचन्द्र राईलाई प्रस्तुत गरे । तर, पर्दा पाछाडिबाट रणनीति बनाउने काम उनै विक्रमले गरे । विक्रम थ्री स्टार क्बलका कप्तान हुन् । खेलाडी करियरको उत्तराद्र्धमा छन् । राष्ट्रिय टोलीमा झन्डै दशकभन्दा लामो समय बिताए । पछिल्लो समय चोटले उनलाई सतायो । तर, गएको ‘ए’ डिभिजन लिगमा उनले थ्री स्टारको रक्षापंक्ति सम्हाले, अनन्त तामाङसँग मिलेर । उनको खास पोजिसन ‘डिफेन्सिफ मिडफिल्ड’ हो ।

मैदानमा पोजिसनजस्तै विक्रमले चर्च व्वाइजको टिममा बसेर रणनीति बनाए । र, सफल पनि भए । मंगलबार बाँसबारीलाई हराउँदै उपाधि पक्का गरेपछि विक्रमको उत्साह बेग्लै थियो, बेन्चमा । मैदानमा गोल गरेसँगै उनको उत्साह हेर्नलायक थियो । चर्च ब्वाइजसँग विक्रमको संलग्नता सुरुआती दिनदेखि नै हो ।

“सुरुआती दिनदेखि नै म कतै न कतै रूपमा चर्च ब्वाइजसँग जोडिएको थिएँ । राष्ट्रिय टिममा र बाहिर रहेर खेल्दा मैले जुन कुरा सिकेँ, त्यसलाई यहाँ लागु गर्ने प्रयास गरेँ,” चर्च ब्वाइज ‘ए’ डिभिजन लिगमा उक्लिएपछि विक्रमले भने, “हामीले झन्डै साढे दुई महिनादेखि सँगै बसेर तयारी थालेका थियौँ । सुरुआतमा हामीले खेलाडीको फिटनेसमा जोड दियौँ । त्यसपछि प्राविधिक रूपमा निखार्ने काम गर्‍यौँ । लामो समय सँगै भएका कारण खेलाडीले एकार्कालाई राम्रोसँग बुझ्ने मौका पाए । त्यसको प्रतिफल आज मिलेको छ ।”

खेल करियरबाट सन्न्यास लिएपछि प्रशिक्षण करियर सुरु गर्ने हो ? प्रश्न सोध्नेबित्तिकै उनले भने, “मैले अझै सिक्नुपर्ने धेरै कुरा बाँकी छन् । प्रशिक्षण करियरबारे मैले अहिले नै केही सोचेको छैन । फुटबलबाट बाहिर हुँदिनँ । तर, प्रशिक्षक नै हुन्छु भनेर अझै निर्णय गरिसकेको छैन ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  १५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro