पोखरा । बुधबार बिहान जिल्ला अदालत कास्कीको इजलास नम्बर ६ मा मिसिलहरू छरपस्ट भुइँमा थिए । कार्यालयको नियमित सफाइ गर्ने कर्मचारीले कागजात भुइँमा छरपस्ट देखेपछि इजलासभित्र अनधिकृत व्यक्ति रातको समयमा प्रवेश गरेको पुष्टि भयो ।
त्यतिमात्रै होइन, जिल्ला अदालत कास्कीका १ नम्बर न्यायाधीशको कार्यकक्षमा पनि कागजात भुइँमा नै थिए ।
त्यसपछि प्रहरीमा खबर पुग्यो । प्रहरीले मुचुल्का उठायो । उक्त इजसालमा मात्र ३५३ मुद्दाका मिसिलहरू थिए । कागजात भुइँमा छरिएको देखिएपछि मिसिल प्रमाणहरू चोरी त भएनन् भन्ने आशंका अदालतका कर्मचारीहरूले गरे ।
वडा प्रहरी कार्यालय बैदामको अगाडि रहेको अदालतमा २४ घण्टा असई कमाान्डका सातजना प्रहरीले सुरक्षा दिन्छन् । तर, कडा सुरक्षाका बिचमा पनि अदालतभित्र कसरी प्रवेश भयो र कुनै कागजात त लगेनन् भन्ने प्रश्न र शंका अदालतमा चल्यो ।
इजलासभित्र नै व्यक्ति छिरेपछि प्रहरीले अनुसन्धानलाई प्राथमिकताका साथ अगाडि बढायो । प्रहरीले बुधबार नै घटनामा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको थियो ।
प्रहरीले अवैध रूपमा अदातलतको कक्षमा गएको आरोपमा अजुर्न परियार (दावा) लाई प्रक्राउ गरेको हो । उनी यसअगाडि चारपटकसम्म लागुऔषध मुद्दासहित पछिल्ला पाँच वर्षमा ८ पटक विभिन्न मुद्दामा पक्राउ परिसकेका छन् ।
प्रहरी अभिलेखअनुसार दावा २०७३ सालमा पहिलोपटक अभद्र व्यवहार मुद्दामा पक्राउ परेका थिए । त्यसपछि चोरी, पोखरा र रूपन्देहीमा लागु औषधलगायत मुद्दामा पक्राउ परेका उनी गत फागुन २३ गते अन्तिमपटक थुनामुक्त भएका थिए ।
प्रहरीले लागुऔषध सेवनकर्तालाई सूचीमा राखेर अनुसन्धान गरेको थियो ।
दावाले दिएको प्रारम्भिक बयानअनुसार लागुऔषध खोज्ने क्रममा अदालतभित्र प्रवेश गरेको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।
अदालतको आडैमा रहेको फिर्के खोला किनारमा प्रहरीले लागुऔषध नष्ट गर्ने गर्दछ । प्रहरीकाअनुसार सोही ठाउँमा लागुऔषध भेटिने शंकामा अर्जुन त्यहाँ पुगे । त्यहाँ जानुअगावै उनले ८/९ गिलास घरेलु मदिरा सेवन गरेका थिए । उनले तीन एम्पुल लागुऔषध भेटेर सेवन पनि गरे । त्यसपछि थप लागुऔषध खोज्ने क्रममा उनी बार नाघेर अदालतभित्र छिरेका थिए ।
“अहिले पनि डिस्पोज क्षेत्र खोतलेको भेटेपछि हामीले लागुऔषध प्रयोग गर्नेहरू खोज्यौँ । सोधपुछ गर्दा उसले स्वीकारेको हो,” तिवारीले भने ।
प्रहरीले लिएको प्रारम्भिक बयानमा दावाले कुनै कागजात चोर्ने वा नष्ट गर्ने उद्देश्य नभएको दाबी गरेका छन् । उनले लागुऔषध र पैसा भेटिन्छ कि भनेर अदालत छिरेको र त्यसैको खोजीमा ताल्चा फोरेर टेबल र दराज खोतलेको बयान दिएका कास्की प्रहरी प्रमुख रमेश थापाले जानकारी दिए ।
बुधबार राति ताल्चा फोरिएको इजलास र फाँट नम्बर ६ मा अदालतले सीसीटीभी क्यामेरा जोडिएको छैन । अदालतका अन्य फाँट र परिसरमा सीसीटीभी क्यामेरा राखिए पनि उक्त इजलास नयाँ भवनमा भएकाले सीसीटीभी क्यामेरा छैन ।
प्रहरीकाअनुसार दावा अदालत भवनको परिसरबाट पछाडिबाट काँडेतार नाघेर बाहिर निस्किएका थिए । राति सडकमै बास बसेर दावा बुधबार बिहान घर गएको प्रहरीले जनाएको छ ।
अदालत परिसर वरिपरि मंगलबार रातिदेखि देखिएका व्यक्तिहरूलाई निगरानीमा राख्दा दावालाई पक्राउ गर्न सफल भएको प्रहरीको भनाइ छ ।
उनीमाथि अनधिकृत प्रवेश तथा आपराधिक उपद्रव र नकबजनी चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको थापाले जानकारी दिए ।