
काठमाडौं । पाल्पालाई पहाडकी रानी भनिन्छ । त्यही पहाडकी रानी पाल्पाको एक प्रमुख चिनारी हो, रानीमहल । रानीमहल अर्थात् प्रेमको प्रतीक । जसलाई विश्वकै मानव निर्मित सात आश्चर्यमध्ये एक ताज महलसँग पनि तुलना गरिन्छ ।
तत्कालीन पश्चिम कमाण्डका कमाण्डर एवम् बडाहाकिम जनरल खड्गशमशेर राणाले आफ्नी रानी तेजकुमारीको सम्झनामा रानीमहल बनाएका थिए । रानीको प्रेम प्रतीकको रूपमा बनाइएका कारण यस दरबारलाई नेपाली ताज महलका रूपमा लिइन्छ । कालीगण्डकी नदीको तटमा विशाल चट्टानमाथि ठडिएको रानीमहल हेर्नमा जति आर्कषक छ, यसको पुरातात्विक महत्व पनि उत्तिकै छ ।
यहाँ रानीमहलको चर्चा गर्नुको कारण फरक छ । कुनै प्रेम प्रसंग वा पुरातात्विक हिसाबले होइन । चर्चा हुँदैछ, खेलकुदका कारणले । रानीमहलको काखमा चैत २४ गतेबाट बिच भलिबल प्रतियोगिता हुँदैछ । लामो इतिहास बेकेको भए पनि रानीमहल सधैँ छायामा परेको थियो । वर्षौंदेखी अलपत्र अवस्थामा रहेको महलको संरक्षणका लागि विभिन्न मोडलमा चर्चा भए । तर कुनैले मूर्त रुप लिन सकेन । पछिल्लो समय यसको संरक्षणका लागि स्थानीय निकाय तानसेन नगरपालिकालाई जिम्मा लगाइएको छ ।
त्यही ऐतिहासिक र पुरातात्विक महत्व बोकेको महलको प्रचारप्रसारका लागि त्यहाँ बिच भलिबल गर्न लागेको सञ्जय स्मृति फाउन्डेसनकी अध्यक्ष निरोज मास्के बताउँछिन् । उनी थप्छिन्, “एकदम सुन्दर ठाँउमा छ । पर्यटकीय हिसाबले पनि यसको प्रचुर सम्भावना छ । त्यसको प्रचारमा थोरै भने पनि टेवा पुर्याउन सकिन्छ कि भन्ने उद्देश्यले हामीले त्यहाँ बिच भलिबल आयोजना गर्न लागेका हौं ।”
नेपाल भलिबल संघसँगको सहकार्यमा सञ्जय मेमोरियल फाउन्डेसनले चैत २४, २५ र २६ गते राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा तीनवटा विभागीय टिम र सात प्रदेश गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीको सहभागिता हुने आयोजकले जनाएको छ । प्रदेश टिमहरुको छनोट प्रक्रिया लगभग सकिएको अवस्थामा छ । जिल्ला भलिबल संघसँगको सहकार्यमा प्रदेश टिमको छनोट गरिएको हो ।
“प्रदेशका केही टिमहरुले खेलाडीको नाम पठाइसकेको अवस्था छ । विभागीय र प्रदेशका केही टिमको नाम आउन बाँकी छ,” नेपाल भलिबल संघकी उपाध्यक्षसमेत रहेकी मास्केले भनिन्, “अहिले भलिबलका विभिन्न प्रयितयोगिताहरु भइरहेका छन् । त्यसमा खेलाडी घाइते हुन सक्ने भएकाले नाम आउन केही ढिला भएको हो ।”
फाउन्डेसनले गत चैत २ गते राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाही र कलाकार धिरेन शाक्यलाई प्रतियोगिताको सद्भावना दूतका रुपमा नियुक्त गरिसकेको छ । त्यस्तै प्रतियोगिताको सफल आयोजना गर्नका लागि पूर्वगभर्नर चिरन्जीवी नेपालको संरक्षकत्वमा २३ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । समितिमा फाउन्डेसनका पदाधिकारीसहित काठमाडौं र पाल्पामा रहेका प्रतिष्ठित सामाजिक व्यक्तित्व तथा संघ संस्था सदस्य रहेका छन् ।
आयोजक समितिमा उवासंघ पाल्पा, पाल्पा व्यापार संघ, होटल संघ, खेलकुद विकास समिति, महिला उद्यमी संघहरूलगायत विभिन्न संस्था रहेका छन् । पाल्पाका राजनीतिक दल दलहरूलाई समावेश गरी सल्लाहकार समिति गठन गरिएको फाउन्डेसनका अध्यक्ष निरोज मास्कोले बताइन् । त्यस्तै नेपाल भलिबल संघका सल्लाहकार नारायण शर्मालाई आयोजक कमिटीको सल्लाहकारमा मनोनीत गरेको पनि मास्केले बताइन् ।
पाल्पामा आवश्यक संयोजन र व्यवस्थापनका लागि पाल्पा उद्योग वाणिज्य संघलाई जिम्मेवारी तोकिएको छ । स्थानीय संघ संस्थाको सहभागिताले प्रतियोगितामा स्थानीय अपनत्व महसुस हुने र खेल सम्पन्न गर्न ठूलो महत्व राख्ने अपेक्षा फाउन्डेसनले गरेको छ ।
भलिबलको एउटा आधिकारिक विधा भए पनि बिच भलिबल नेपालमा निकै कम खेलिने खेल मध्येमा पर्छ । नेपालमा बिच भलिबलको सुरुआत गर्ने श्रेय पनि फाउन्डेसनकी अध्यक्ष मास्केलाई नै जान्छ । २०१९ मा काठमाडौंमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) पछि नेपालमा भलिबलको कुनै पनि प्रतियोगिता भएका छैनन् ।
के हो बिच भलिबल ?
खासगरी समुन्द्र छेउको बालुवामा खेलिने फरक प्रकृतिको खेल हो, बिच भलिबल । एक टोलीमा दुई जना खेलाडी खेल्छन् । नेपालमा समुद्र नभएकोले प्रायः खोला छेउमा बालुवाको कोर्ट बनाएर बिच भलिबल खेलिने गरिन्छ । इन्डोर भलिबलमा जस्तै एउटा टिमले ‘तीन टच’मा बल अर्को कोर्टमा पठाउनुपर्छ । एक खेलाडीले एकै समयमा दुई दुई पटक बल टच गर्न पाउँदैन ।
बिच भलिबल १९१५ मा अमेरिकाको हवाईस्थित वाईकीकी बिचमा आयोजना भएको मानिन्छ । दुई खेलाडी हुने आधुनिक बिच भलिबल भने पहिलो पटक क्यालिफोर्नियाको सान्ता मोनिकामा भएको मानिन्छ । १९९६ को एटलान्टा ओलम्पिकबाट बिच भलिबलले ओलम्पिक खेलको मान्यता पाएको हो । त्यसको दुई वर्षपछि १९९८ मा बैंकक एशियाली खेलकुदको १३औँ संस्करणबाट बिच भलिबलले एशियाली खेलकुदमा पनि प्रवेश पाएको हो ।
नेपाली खेलाडीले एशियन बिच गेम्स र दक्षिण एशियाली बिच गेम्समा पनि भाग लिइसकेका छन् ।