site stats
बाह्रखरी :: Baahrakhari
विशेष
६० वर्षमा ई–रिक्सा चलाउँदै सीता, उमेर हदबन्दीले पाइनन् लाइसेन्स

गगन ढकाल


झापा । काँकडभिट्टा बजारमा बिहानै ई–रिक्सामा पाउरोटी बेच्दै हिँड्ने ६० वर्षीय लीलाकुमारी कार्की (सीता) दिनभर अटो स्ट्यान्डमा यात्रु कुरेर बस्छिन् । चाउरी परेको गाला तर पनि फरासिली देखिन्छिन् सीता ।
 
सबेरै उठ्छिन् । बिस्कुट फ्याक्ट्रीमा गएर ई–रिक्सामा सामान लोड गर्छिन् । काँकडभिट्टा बजार परिसरका विभिन्न पसल र मानिसको घरघरमा पुर्याएर बेच्छिन् । अनि, आफ्नो घर गएर हतारहतार खाना खाई अटो स्ट्यान्डमा आएर यात्रुको प्रतीक्षा गर्नु उनको दैनिकी हो ।
 
करिब अढाई वर्षअघि काँकडभिट्टाको अटो स्ट्यान्डमा एक महिलाले ई–रिक्सा पालोमा राखेको देखेर सबै आश्चर्यमा परे । त्यसअघि स्थानीयले महिला ई–रिक्सा चालक देखेका थिएनन् ।
 
घर सञ्चालन गर्ने क्रममा उनी ऋणमा परिन् । अर्थोपार्जनका लागि अनेक उपाय सोचिन् । तर, कुनै उपाय निकाल्न नसक्दा भागेर बेपत्ता हुने, आत्महत्या गर्ने, भारत गएर काम गर्ने र पसल गर्नेलगायत योजना बनेको उनी बताउँछिन् । यी पनि कुनै उपयुक्त देखिनन् । अन्ततः उनले ई–रिक्सा चलाउने योजना बनाइन् ।

“सबै विकल्पमध्ये ई–रिक्साबाट आम्दानी हुन्छ भन्ने लाग्यो,” उनी भन्छिन्, “त्यसपछि एक छिमेकीसँग ऋण गरेर सेकेन्ड ह्यान्ड रिक्सा खरिद गरेँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रिक्सा चलाउन सिक्न थालिन् । पहिलो दिन नै घरबाट स्ट्यान्डसम्म सफारी लिएर जाने क्रममा उनी दुर्घटनामा परिन् । “मानिसले पल्टेको सफारी उठाउनुभन्दा पनि सफारीचालक खोजे । मलाई चालक भनेर विश्वासै गरेनन् । म घाइते खुट्टा खुच्याउँदै अस्पताल पुगेँ,” उनले भनिन् ।

उनलाई सुरुसुरुमा असहज महसुस भएको थियो । उनी भन्छिन्, “पहिले काँकडभिट्टनमा म मात्र महिला थिएँ, अलि असहज महसुस हुन्थ्यो । तर, अहिले १० जना छौँ, वास्तै लाग्दैन ।”

०५२ सालमा बहराइन गएका श्रीमान् गुमाएकी उनले धेरै दुःखकष्ट भोगेकी छन् । श्रीमान्को मृत्युपश्चात् चार छोराछोरीको रेखदेख उनको काँधमा आयो । गरिबीका कारण छोराछोरीलाई उपयुक्त शिक्षा दिन सकिनन् ।

०५८ सालमा दोस्रो विवाह गरिन् । तर, विवाह गरेको केही वर्षमै दोस्रो श्रीमान् बेपत्ता भए । जुन अपेक्षाबमोजिम विवाह गरेकी थिइन्, त्यो पाउन सकिनन् । “जुन सहयोगको आसमा दोस्रो विवाह गरेकी थिएँ, त्यो नपाउँदा म निराश भए,” उनी भन्छिन् ।

घर व्यवहार सञ्चालनका लागि लिएको ऋण तिर्न नसक्दा सिर्जना भएको संघर्षले बाँच्न सिकाएको उनी बताउँछिन् ।

उमेर हदबन्दीका कारण सवारीसाधन चालक अनुमतिपत्र नपाउँदा उनी दुःखी छिन् । “अढाई वर्षदेखि ई–रिक्सा चलाउँदै आएकी छु । तर, उमेर हदबन्दीका कारण सवारीसाधन चालक अनुमतिपत्र छैन,” उनले भनिन् ।

बसी खाने उमेर भए पनि बाध्यताले आफू चालक भएको उनी बताउँछिन् । “छोराछोरीहरू यो उमेरमा रिक्सा नचलाए हुन्थ्यो भन्छन्, तर गरिबीले बाध्य छु” उनी बताउँछिन् ।

ई–रिक्सा चलाएको भन्दै सुरुसुरुमा खिसिटिउरी गर्नेहरूले अहिले प्रशंसा गर्ने गरेको उनी बताउँछिन् । सबै महिलालाई स्वरोजगार बन्न उनको आह्वान छ ।

केही साताअघि उनलाई अखिल महिला संघ मेचीनगरले संघर्षशील महिलाका रूपमा सम्मान गरेको थियो ।

(प्रशिक्षार्थी पत्रकार)
 

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  ०६:२९
प्रतिक्रिया दिनुहोस्