site stats
बाह्रखरी :: Baahrakhari
खेल
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा

काठमाडौं । ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७  को तयारी पूरा भएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष तथा अवार्ड मूल समारोह समितिका संयोजक दुर्गानाथ सुवेदीले बताएका छन् ।

चैत ८ गते (मंगलबार) कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने १८औँ संस्करणको स्पोर्ट्स अवार्ड कार्यक्रम अपरान्ह ३ बजे सुरु हुनेछ । 

पल्सर स्पोर्ट्स अवार्डमा विभिन्न नौ विधाका खेलाडीलाई सम्मान गरिनेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कोभिड–१९ महामारीका कारण २०७७ सालमा उल्लेख्य मात्रामा  खेलकुद गतिविधि नभएकाले पछिल्लो दशकसम्म नेपाली खेलकुदमा गरेको योगदान, उपलब्धि र निरन्तरताको आधारमा अवार्ड प्रदान गरिने जनाइएको छ । 

अवार्डमा पिपुल्स च्वाइस विधाको भोटिङ चैत ७ गते राति १२ बजे सकिँदै छ । 

यस संस्करणमा पिपुल्स च्वाइसका लागि फुटबलकी एन्जिला तुम्बापो सुब्बा, टेबलटेनिसकी एलिना महर्जन, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल प्रतिस्पर्धामा छन् । 

उनीहरूका लागि समर्थकले विद्युतीय भुक्तानी माध्यम ई–सेवामार्फत मतदान गर्न सक्नेछन् । त्यस्तै एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको फेसबुक पेजमा गएर फोटोमा लाइक गरेर पनि मतदान गर्न सक्नेछन् । 

ई–सेवाबाट आउने मतको मतभार ५० प्रतिशत हुनेछ भने फेसबुक पेजको लाइकको मतभार २५ प्रतिशत हुने छ ।त्यस्तै, ओलम्पिकबाट मान्यता प्राप्त खेल संघका मुख्य प्रशिक्षक र नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यले गर्ने मतदानको मतभार समान १२.५ प्रतिशत हुने छ । 

त्यसबाहेक पल्सर स्पोर्ट्स अवार्डमा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफ–टाइम एचिभमेन्ट, टिम अफ दी इयर र अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मानको घोषणा विजेता घोषणा गरिनेछ । 

२०५२ साल भदौ २५ गते स्थापना भएको एनएसजेएफले २०५३ देखि अवार्ड कार्यक्रम सुरु गर्दै आएको हो । 

कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण निर्धारित समयभन्दा केही ढिला हुन लागेको हो । 

अवार्ड कार्यक्रम एनटीभी प्लस एचडी, एनटीभी न्यूज एचडी, एक्सन स्पोर्टस एचडी, इमेज च्यानल एचडी टिभीबाट प्रत्यक्ष प्रसारण हुनेछ । साथै एनएसजेएफको युट्युब च्यानल, फेसबुक पेज र खेलकुद अनलाइन च्यानलबाट पनि प्रत्यक्ष प्रसारण गरिने छ ।

कार्यक्रममा सहभागी हुन एआईपीएस एसियाका महासचिव अमजद अजिज मलिक नेपाल आएका छन् । 

उनले एसियाली खेल पत्रकारको संगठनमध्ये एनएसजेएफ सक्रिय एवं उदाहरणीय रहेको भन्दै प्रशंसा गरे । मलिकले अवार्ड कार्यक्रमलाई एआईपीएस एसियाको वार्षिक क्यालेन्डरमा समावेश गरिसकिएको बताए । उनले कार्यक्रमलाई एसियाकै उत्कृष्ट अवार्ड कार्यक्रम भएको भन्दै प्रशंसा गरे । 

गत वर्षजस्तै यसपटक पनि वर्षको उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक र पिपुल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्ने छन् । 

अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।
 

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १५:५०
प्रतिक्रिया दिनुहोस्