site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपालले पायो २०३ रनको लक्ष्य

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा घरेलु टोली युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध जितका लागि २०३ रनको लक्ष्य पाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । त्यसपछि ब्याटिङ गरेको यूएईले ५० ओभरमा ९ विकेट गुमाएर २०२ रन बनाएको हो । 

यूएईका ओपनरका मुहम्मद वासीम र चिराग सुरीले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गरेका थिए । वासीमले ३३ रन बनाए भने सुरीले २६ रन जोडे । वृत्या अरविन्दले २४ रन बनाए । चुन्दगापोयल रिजवानले ४ रन बनाएर पवेलियन फर्किए । रोहन मुस्तफा र बासिल हमीदले पाँचौं विकेटका लागि ४७ रनको साझेदारी गरे । हमीदले १७ रन जोडे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मुस्तफाले ७३ बलमा ६० रन बनाए । उनले दुई चौका र एक छक्का प्रहार गरेका थिए । मुस्तफाले कशिफ दाउदसँग पनि छैटौं विकेटका लागि २० रनको साझेदारी गरे । मुस्तफालाई नेपालका सोमपाल कामीले बोल्ड गरेका थिए । एलिसान शरफुले २१ रन बनाए । 

नेपालका कप्तान सन्दीपले तीन विकेट लिए भने सोमपाल र करण केसीले समान २ विकेट लिए । दीपेन्द्रसिंह ऐरी र आरिफ शेखको नाममा एक एक विकेट रह्यो । 

त्रिदेशीय शृंखलामा नेपालको यो तेस्रो खेल हो । यसअघि यूएईविरुद्धको पहिलो खेलमा नेपाल ४८ रनले पराजित भएको थियो । नेपाललाई आज उक्त हारको बदला लिने अवसर पनि छ । पहिलो खेलमा पनि नेपालले टस हारेर पहिले बलिङ गरेको थियो । पहिलो खेलमा नेपालले १६९ रनको लक्ष्य पाएको थियो । नेपालले १२० रन मात्र बनाउन सकेको थियो । 

अघिल्लो खेलमा यूएई पीएनजीसँग ६ विकेटले पराजित भएको थियो । 

प्रतियोगिताको पहिलो खेलमा नेपालले पीएनजीलाई दुई विकेटले हराएको थियो । नेपालले यूएईविरुद्ध खेलेको पछिल्लो टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ । आसिफ शेख, सागर ढकाल र कमलसिंह ऐरीको स्थानमा विनोद भण्डारी, विक्रम सोब र पवन सर्राफले टोलीमा स्थान बनाएका छन् । 
 

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १५:०३
प्रतिक्रिया दिनुहोस्