हालै म काठमाडौंको बौद्धस्थित एउटा अस्पतालमा पुगेकी थिए । हजुरबालाई दम र कलेजाको रोगले च्यापेका कारण अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा उहाँलाई कम्तीमा ३ —४ दिन अस्पतालमै राख्नुपर्ने भनियो । डाक्टरको सल्लाह नमान्ने कुरै आउँदैन । तदनुरूप एक कुरुवासहित हजुरबालाई अस्पतालमा राखियो । ती ३ देखि ४ दिनको अस्पताल वास हाम्रो परिवारका लागि सामान्य थिएन र बनेन पनि । त्यो एकखालको सजाय जत्तिकै थियो ।
अस्पतालमा बिरामीको उपचार हुन्छ । मृत्युको त्रास बोकेर गएकाहरू पनि अस्पतालबाट जीवन लिएर फर्कन्छन् । त्यसैले त अस्पताल र डाक्टरलाई सबैले विश्वास गर्छन् । पहिलेभन्दा आधुनिक समाजमा स्वास्थ्य उपचार प्रविधिमा पनि धेरै फेरबदल आएको छ । स्वास्थ्य र उपचारसम्बन्धी नागरिक चेतनाको अभिवृद्धिकै कारण धेरै सुविधासम्पन्न स्वास्थ्य संस्थाको स्थापना भइरहेको छ । तर, पछिल्लो समय यो अभिवृद्धि गुणात्मक नभएर मात्रात्मक बढी हुनपुगेको देखिएको छ । उपचार गर्ने स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा हेलचक्य्राइँ, बेथिती र पैसा असुली गर्ने अस्वस्थ प्रतिस्पर्धाजस्तै सुरु भएको छ अस्पतालहरूमा ।
हुन त स्वास्थ्य संस्थाभित्र नकारात्मक पक्षमात्र छैनन् । तर, सकारात्मक पक्षलाई नकारात्मक पक्षले बिस्तारै जित्दै गएको छ । फलस्वरूप, स्वास्थ्य संस्था प्रतिदिन दूषित र बदनाम हुँदै गएका छन् । अब स्वास्थ्य संस्था सेवामूलक भन्दा नाफाखोरीतर्फ उन्मुख भएका छन् । अस्पतालहरू बिरामीका सहारा र हौसला नभई बाध्यता बन्दैगएका छन् ।
उपचार गर्ने अस्पताल आफैँ बिरामी परेका छन् । बिरामीको वार्ड, शौचालय, डष्टबिन, बेसिन सबै रोगको भण्डारजस्ता देखिन्छन् । यिनलाई हेर्नेबित्तिकै अस्पतालको सरसफाइको अवस्थालाई सजिलै थाहा हुन्छ । सयौँ बिरामीलाई उपचार गर्न सक्ने अस्पतालले अँरिगालको गोलो जस्तै पर्रा छुटेर आउने लामखुट्टे रोक्न सक्तैन । सुत्ने समयमा लामखुट्टेले बिरामी होस् वा कुरुवा कसैलाई बाँकी राख्दैन । लामखुट्टे भगाउने औषधि अस्पतालमै उपलब्ध छैन । अस्पताल व्यवस्थापनलाई यस्ता विषयमा सोच्ने फुर्सदै छैन । रातभर लामखुटेको टोकाइ सहेर बस्नुपर्छ ।
एउटा बिरामी र अर्को बिरामी सुत्ने बेडको दूरी कति हुनुपर्छ भन्ने पनि मापदण्ड भएजस्तो देखिँदैन । बेड भरसक धेरै अटाउन पाए हुन्थ्यो भन्ने हिसाबले मान्छे छिर्नसमेत गाह्रो हुने गरी बिरामी कोचिएको छ । अस्पतालमा सरसफाइ र बडारकुडार गर्ने पनि कुनै निश्चित समय छैन । जति खेर फुर्सद अथवा मनलाग्यो त्यति खेर बडार्दा निस्कने धुलोले पनि बिरामीलाई त्यतिकै सास्ती दिएको देखियो । यस्तो सरसफाइमा विद्युतीय उपकरणको प्रयोग गरेको भए बिरामी र कुरुवाले धुलो खानुपर्ने थिएन ।
स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाका कर्मचारीले गर्ने व्यवहारले बिरामी आधा निको हुन्छ भनिन्छ । त्यस अस्पतालमा यी सबै कुराको खडेरी परेजस्तो देखिन्छ । विभिन्न जातजाति, धर्म, लिंग, वर्ग, क्षेत्रका मानिस एउटै थलोमा उपचारको लागि पुग्छन् । तिनीहरूसँग स्वास्थ्यकर्मी र कर्मचारीले गर्ने रुखो व्यवहारले नभएको रोग पनि उम्रिएर आउँछ ।
आफूलाई अब्बल भन्ने अधिकांश स्वास्थ्य संस्था अझै पनि अपांगमैत्री छैनन् । अस्पतालका भवनहरू गगनचुम्वी छन् । अस्पतालमा राखिएका लिफ्ट प्रायः बिग्रिरहेका हुन्छन् । भएका पनि कतिपय बिरामीले लिफ्ट चलाउन जान्दैनन् । त्यहाँ उनीहरुलाई सहयोग गर्ने कर्मचारी प्रायः देखिनैनन् । लाग्छ, स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाले नै स्वास्थ्य समस्या निम्त्याउने संरचना बनाइरहेका छन् ।
सामान्यतया व्यक्तिको आर्थिक हैसियतले बिरामीलाई कुन अस्पताल लाने वा जाने निक्र्योल गर्छ । महंगा अस्पतालमा सेवा सुविधा पनि राम्रै हुन्छ तर त्यहाँ सामान्य मानिसको पहुँच हुँदैन । अस्पतालको वर्गअनुसार सेवा, सुविधा, पैसा फरक फरक हुन्छन् । अर्थात्, बिरामीको उपचारमा पनि भेदभाव वा असमानता पाइन्छ । पैसा तिर्न नसकेर गम्भीर बिरामीलाई घर फिर्ता गर्नुपर्दा बिरामी र बिरामीका आफन्तको मुटु कति छियाछिया हुन्छ होला ?
अस्पतालमा एक बिरामी बराबर एक कुरुवा बस्नु पर्ने हुन्छ । तर कुरुवालाई दिन बिताउन त्यति सहज छैन । त्यसका लागि अस्पतालले लाइब्रेरी, पत्रपत्रिका आदिको व्यस्था गर्नुपर्छ भन्ने सोच किन कसैको नपुगेको होला ? बिरामी कुुरुवालाई पनि आराम चाहिन्छ । आराम नभए ऊ पनि बिरामी पर्छ भन्ने हाम्रा अस्पताल सञ्चालकहरूको सोचाइमा कहिले आउला ? त्यसैले त बिरामी कुरुवाहरू बिरामीभन्दा पनि रोगीजस्ता भएर अस्पतालबाट बाहिर निस्कन्छन् । बिरामी हेर्न आउनेलाई बिरामीसँग बोल्नसमेत अस्पतालले अनुमति दिँदैन । ठुलो अक्षरले बिरामीको वार्डमा बस्न र कुराकानी गर्न मनाही भनेर लेखिएको हुन्छ । बिरामीले आफन्तसँग कुरा गरेर हल्का हुनसमेत पाउँदैनन् अस्पतालमा । यो कारागार हो कि उपचार गर्ने ठाउँ ?
अस्पतालमा डाक्टरले बिरामीलाई दिने समय भनेको त्यस्तै ५ मिनेट जति होला । त्यसबाहेकको निरीक्षणमा नर्स र सहायकहरू संलग्न हुन्छन् । तिनले बिरामीसँग गर्ने व्यवहार सारै रुखो हुन्छ । पहिले जस्तो शरीरको जाँचबाट निदान नगरी अब ल्याव परीक्षण अनिवार्य जस्तै भएको छ । दिसा, पिसाव, रगत, थुक, खकार आदिको जाँच गरेर मात्रै रोग पत्ता लगाइन्छ । त्यसैअनुसार उपचार अगाडि बढाइन्छ । त्यसैले हो कि चिकित्सकहरू बिरामीसँग केही सोध्न, बुझ्न र कुरा गर्नै चाहँदैनन् । उनीहरू मेसिनजस्ता भएका छन् ।
पहिला धामीझाक्रीमा मानिसको विश्वास थियो । अहिले मेडिकल हल, क्लिनिक आएका छन् । छिटो उपचार हुने, घन्टौ लाइन बस्न नपर्ने, कडा औषधिको प्रयोगका कारण सजिलो र रोग पनि चाँडै निको भएजस्तो हुन्छ तर त्यसले शरीरमा पार्ने प्रतिप्रभाव रोगभन्दा खतरनाक बन्दैगएको छ । एन्टिवायोटिक औषधिको जथाभावी प्रयोग, तालिम नै प्राप्त नगरेका स्वास्थ्यकर्मी, हचुवाको भरमा औषधि उपचारजस्ता समस्या गाउँदेखि सहरसम्म देखिएका छन् । नाफा वा व्यापारमा मात्र केन्द्रित भएर सञ्चालित यस्ता स्वास्थ्य संस्थाले जनताको जीवनमाथि खेलबाड गरिरहेका छन् । अहिलेको विश्वव्यवस्था पुँजीवादी अर्थव्यवस्था हो । पुँजीवादीको मुख्य ध्याउन्ना नै बढी नाफा गर्नु हो । यसैको छाप स्वास्थ्य क्षेत्रमा पनि परेको छ ।
स्वस्थ रहन पाउनु व्यक्तिको आधारभूत अधिकार हो । तर, स्वास्थ्य सेवा प्रदान गर्ने संस्था यी कुरामा संवेदनशील देखिँदैनन् । अस्पतालले बिरामीको औषधिमात्र हैन मनोसामाजिक उपचार पनि गर्नु जरुरी हुन्छ । अस्पताल भौतिक संरचना, उपयुक्त वातावरण, उपकरण, शौचालय, सरसफाइ, मानवीयताआदिको समुच्चा संयन्त्र हुन सक्नुपर्छ । तबमात्र अस्पतालमा बिरामीको उचित उपचार हुनसक्छ । डाक्टर र बिरामीको सम्बन्धमा आत्मीयता नरहने हो भने सामाजिक उत्तरदायित्व र मानवीय संवेदना पनि छायाँमा पर्न जान्छ ।
स्वास्थ्य क्षेत्रको नियमित अनुगमन नै हुँदैन । स्वास्थ्य संस्था निर्बाधरूपमा चल्न पाउनुपर्छ । उनीहरूले शुल्क पनि लिन पाउनु पर्छ । त्यहाँ धेरैको जीविका, नाम, श्रम, व्यवसाय जोडिएको हुन्छ । तर, प्रश्न गुणस्तर र मानवोचित व्यवहारको हो । गुणस्तरीय स्वास्थ्य सेवा दिन नसके पनि अस्पताल सञ्चालन गर्न दिइरहने काम भने बिरामीमाथि गरिएको अपराध नै हो ।
राष्ट्रिय विकास मानव विकास, आर्थिक विकास, सामाजिक विकास अर्थात् स्वस्थ व्यक्ति र स्वस्थ समाजमा निर्भर हुन्छ । हामी बोलीमा सामाजिक उत्तरदायित्वको विषयलाई खुब उठाउँछौ । तर, व्यवहारले त्यसप्रति कति गम्भीर छौँ भन्ने स्पष्ट भएको छ । बोलाइ र गराइमा हुने असमान व्यवहार नै यसको जड हो । त्यसैले स्वास्थ्य क्षेत्रलाई व्यवसायमुखीभन्दा जनमुखी सामाजिक बनाउन जरुरी छ । स्वास्थ्यजस्तो संवेदनशील विषय पैसासँग मात्र जोडिनु हुन्न ।