site stats
बाह्रखरी :: Baahrakhari
खेल
बक्सिङ संघको लापरबाही : खेलाडी थाइल्यान्ड ओपन खेल्नबाट वञ्चित

काठमाडौं । नेपाल बक्सिङ संघको लापरवाहका कारण नेपाली खेलाडीले थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिता खेल्न नपाउने भएका छन् । प्रतियोगिताका लागि खेलाडी रजिष्ट्रेसन बन्द भइसकेपछि संघले खेलाडी छनोट गर्न लागेको छ । संघ समयमै चनाखो नबन्दा नेपाली खेलाडीले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने मौका गुमाउने भएको छ । 

नेपाल बक्सिङ संघले थाइल्यान्डको फुकेटमा हुने थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि चैत ५ गतेबाट छनोट प्रतियोगता आयोजना गर्दैछ । तर, एसियन बक्सिङ कन्फेडेरेसनले चैत ४ गते नै प्रतियोगिताका लागि खेलाडी राजिष्ट्रेसन बन्द गरिएको घोषणा गरेको छ । 

एसियन बक्सिङ कन्फेडेरेसनको घोषणासँगै नेपाल बक्सिङ संघले आयोजना गर्ने छनोट प्रतियोगिताको औचित्यमाथि नै प्रश्न उठेको छ । बक्सिङ संघले चैत १ गते मात्र सूचना प्रकाशित गरी चैत ५ देखी ७ गतेसम्म छनोट प्रतियोगिता आयोजना गर्ने जनाएको थियो । तर, अब नेपाल बक्सिङ संघको प्रतियोगिता अब केका लागि भन्ने प्रश्न खडा भएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तथापि, संघका प्रवक्त श्यामकाजी अवालेले छनोट प्रतियोगितालाई निरन्तरता दिने बताए । उनी भन्छन्, ‘‘एसियन बक्सिङ कन्फेडेरेसनले हिजो रजिष्ट्रिटेसन बन्द गरिएको सूचना प्रकाशित गरिसकेको छ । तर, हामीले त्यसमा लचकता अपनाउनका लागि अनुरोध गरेका छौं । यदी उहाँहरुले मान्नु भएन भने हामी छनोट हुने खेलाडीलाई अर्को प्रतियोगिताको लागि पठाउने छौं ।’’

प्रवक्ता अवालेले थाइल्यान्डमा पठाउन पाइएन भने भारतको गोवामा हुने ‘स्टेट लेभेल’को प्रतियोगिता खेलाउने बताएका छन् । त्यसमा नभए पनि उनले अन्य प्रतियोगितामा खेलाएर भरपाई गर्ने बताएका छन् । 

अन्य प्रतियोगितामा सहभागी गराए पनि नेपाली खेलाडीले एक राम्रो अन्तर्राष्ट्रिय प्रतियोगितमा खेल्न पाउने मौका गुमाएको छ । 

बक्सिङ संघकै महासचिव सविन भट्टचार्यले भने यस विषयमा आफूलाई केही थाहा नभएको बताए । उनी भन्छन्, ‘‘म महासचिव हुँ तर यस विषयमा मलाई केही थाहा छैन । बक्सिङ संघ नै एउटा परिवारले चलाइरहेको छ । यसविरुद्ध हामीले धेरै आवाज उठायौं । तर, अझै पनि कतैबाट सुनुवाई भएको छैन ।’’

 

भट्टचार्यले पहिले नै खेलाडीको नाम दर्ता गरिसकेर यो छनोट प्रतियोगिता देखाउनका लागि मात्र गर्न लागिएको हुन सक्ने बताए । उनी थप्छन्, ‘‘बक्सिङको विकासभन्दा पनि अध्यक्षहरु राजनीति गर्नमा व्यस्त हुनुहुन्छ । थाइल्यान्डमा हुने प्रतियोगिताका लागि नाम पठाइसकेर यो छनोट चैं नाटक मञ्चनमात्र गरिएको हुनसक्छ । राम्रोभन्दा पनि हाम्रो मान्छे टिपेर सहभागिता गराउने षडयन्त्र पनि हुनसक्छ ।’’

बक्सिङ संघले महिलातर्फ चार तौलसमूह ४८, ५४, ५७ र ६० किलो तथा पुरुषतर्फ तीन तौलसमूह ४८, ५४ र ६३ किलो स्पर्धामा प्रतिस्पर्धा गराउन लागेको छ । संघले खुला छनोट हुने भएकाले १९ देखी ४० वर्षको उमेर तोकेको छ । उल्लेखित तौलसमूहमध्ये उत्कृष्टताको आधारमा सहभागिता सुनिश्चितता गर्ने संघले सूचनामा भनेको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १४:२१
प्रतिक्रिया दिनुहोस्