
धनकुटा । सदरमुकाको संगम टोलमा सञ्चालित घरेलु उद्योगमा जुत्ताचप्पल किन्न आउनेको भीड लाग्थ्यो । उद्योगलाई माग धान्न भ्याइ–नभ्याइ थियो । तर, अहिले बजारमा पाइने रेडिमेड जुत्ता–चप्पलले स्थानीय बजार छायामा परेको छ ।
“अब त हामीले उद्योगमा ताल्चा लगाउनुपर्ने अवस्था भएको छ,” उद्योगी नविन रम्तेलले भने,“दुई वर्षयताको कोभिडले हाम्रो बचेखुचेको उद्यम पनि निमिट्यान्न पारिदियो ।”
धनकुटे छला जुत्ता–चप्पलको ब्रान्ड स्थापित हुनै पचास वर्ष लाग्यो । परम्परागत घरेलु प्रविधिबाट उत्पादन हुने यस्ता उत्पादनको माग केही अघिसम्म बाहिरी बजारहरुसम्म थियो । हातैले बनाइएको जुत्ता–चप्पल प्रति उपभोक्ताको राम्रो आकर्षण पनि थियो ।
तर, कोभिडपछि भने स्थानीय उद्योगको उत्पादन आधाभन्दा धेरै घटिसक्यो । रेडिमेड जुत्ता चप्पलको चेपुवामा परेको उद्योग अद्योगतितिर गएको उनले सनुाए ।
उद्योगीहरुका अनुसार चार दशक अघिदेखि धनकुटा सदरमुकामका विभिन्न स्थानमा सञ्चालित एक दर्जनभन्दा धेरै जुत्ता–चप्पल बनाउने उद्योगहरु अहिले विस्थापनको संघारमा पुगेका छन् ।
धनकुटा–७ संगमटोलममा व्यवसायीले दशकभन्दा धेरै घरेलु उद्योग चलाएका थिए । तीमध्ये धेरै त बन्द भइसकेका छन् ।
परम्परागत घरेलु प्रविधिबाट धनकुटामा उत्पादन हुने छालाको जुत्ताचप्पल जिल्लाभित्र पनि बिक्री हुन छाडेका छन् । अन्य सहरतर्फ हुने निर्यात पनि बन्द भएको छ ।
“गुणस्तर र टिकाउको हिसाबले यहाँ उत्पादन हुने छालाको जुत्ताचप्पल निकै लोकप्रिय छन्,” उद्योगी जय बोगटीले भने,“कोरोनाका कारण हाम्रो बिक्री पुरै घटेको छ । अब त उद्योग कसरी बचाउने भन्ने चिन्ता छ ।”
धनकुटेली उद्यमीले उत्पादन र गुणस्तरकै कारण राष्ट्रिय पुरस्कार समेत पाएका थिए । तर, त्यो साखले मात्र अब उद्योग धान्न कठिन भएको बोगटीले सुनाए ।
छालाको एउटा जुत्ता बनाउन समय लाग्छ । घरेलु उद्योगबाट उत्पादन हुने जुत्ताको मुल्य न्यूनतम १२ सयदेखि ३ हजार रुपैयाँसम्म पर्छ । अन्यको तुलनामा टिकाउ र गुणस्तरीय हुने गर्छ ।
ठूला कम्पनीले धेरै पुँजी लगाएर एकै पटक धेरै जुत्ता चप्पल उत्पादन गर्ने र उत्पादन गर्दा लागत खर्च पनि कम हुने गर्दा बजारमा सस्तोमा जुत्ताको अधिक माग हुन थालेको उद्योगीको भनाई छ । बोगटी भन्छन्,“घरेलु उद्योगले थोरै पुँजीमा थोरै संख्यामा जुत्ता उत्पादन गर्छ । लागत खर्च नै धेरै पुग्छ । त्यही भएर पनि अन्यको तुलनामा केही महंगो पर्छ ।”
पहिल्यै जुत्ताचप्पलको बजार स्थानीय थियो । उपभोक्ताहरु खरिद गर्न सोझै उद्योग आउँथे । स्थानीय बजारमा अहिले रेडिमेड जुत्ताचप्पल बिक्री हुने पसल धेरै सञ्चालनमा छन् । यसको प्रत्यक्ष मार स्थानीय उद्योगले बोहोरिरहेका छन् । पछिल्लो समय जुत्ता–चप्पल बनाउने घरेलु उद्योगले कामदारको अभाव समेत झेल्दै आइरहेको बताइन्छ ।
आफ्नो उत्पादनले बजार धान्न गाह्रो भएपछि बजार क्षेत्रका अधिकांश उद्योगीहरु बाहिरबाट जुत्ताचप्पल ल्याएर व्यवसाय धान्नेतिर लागेको धनकुटा–७ संगमटोलमा उद्योग संलालक नविन रम्तेलले सुनाए ।
घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई सञ्चालनमा आएका जुत्ता उद्योग १० वटा छन् । कार्यालयका अनुसार ती उद्योगले वार्षिक ५० लाख रुपैयाँ बराबरको वस्तु उत्पादन गरेर बिक्री गर्छन् । प्रत्यक्ष रुपमा ४० देखि ५० जनालाई रोजगारी दिइरहेका छन् । अप्रत्यक्ष रुपमा १ सय ५० जना कामदार उद्योगमा कार्यरत छन् ।
यता घरेलु कार्यालय धनकुटाले केही वर्षअघि परम्परागत उद्योग प्रवर्द्धन कार्यक्रम अन्तर्गत परम्परगत र जातिगत रुपमा काम गरिरहेका उद्यमी व्यवसायीहरुलाई प्रवर्द्धन गर्ने उद्देश्यले छालाका जुत्ता बनाउने तालिम दिएको थियो ।
स्थानीय प्रविधिको प्रयोग गरी घरेलु उद्योगबाट उत्पादन हुने छालाको जुत्ता चप्पलले नेपाली पहिचान बोकेको छ । तर, दोस्रो पुस्ताले यस पेशालाई अपनाउन खासै ध्यान दिएका छैनन् । दोस्रो पुस्तालाई आकर्षण गर्न र उद्योग टिकाउन राज्यले विशेष नीति ल्याउनु पर्ने रम्तेलले माग गरे ।
भने,“कोरोनापछि साना उद्योगलाई बचाउन भन्दै सरकारले विशेष आर्थिक प्याकेज घोषणा गरेको सुनियो तर हामीसम्म त्यस्ता राहत आइपुगेन । स्थानीय र प्रदेश सरकारबाट समेत साना घरेलु उद्योगलाई बचाउन ठोस रणनीति अनि कार्यक्रम आएको छैन ।”
धनकुटामा घरेलु उद्यमका रुपमा यस्ता उद्योगले उत्पादन गर्ने सबै समयमा लगाउन मिल्ने, पार्टी, विवाह भोज आदि अवसरमा लगाउन मिल्ने, विद्यार्थीका लागि र समय सुहाउँदो फेसनको रुपमा महिला तथा युवतीले प्रयोग गर्ने जुत्ता उत्पादन हुने गरेको व्यवसायीको भनाई छ ।