site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘चपली हाइट–२’ जस्तो सिनेमा अहिलेसम्म बनेकै छैन
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
दिपेन्द्र के खनाल (निर्देशक) 
केही वर्षयता नेपाली रजतपटमा आशाका किरणहरू देखिन थालेका छन् । केही फरक र राम्रा चलचित्र बन्न थालेका छन् । दशकौँदेखि चल्दै आएको मूल धारभन्दा बाहिर रहेर बनाइएका चलचित्रले राम्रो व्यापारमात्र गरेका छैनन्, केही सम्भावनाको ज्योती पनि सञ्चार गराएका छन् । 
दशकौँसम्म नेपाली चलचित्र निर्माणमा एकछत्र राज गरेका चलचित्रकर्मी भन्दा पनि पछिल्लो समय नयाँ प्रयोग गर्न रुचाउने निर्देशकलाई दर्शकले रुचाएका छन् । यस्तै दुई–चारजनाले समग्र नेपाली चलचित्र उद्योगलाई जबर्जस्त घिसारिरहेका छन् ।  
यस्तै सीमित निर्देशहकमध्येका एक हुन्, दीपेन्द्र के खनाल । खनाल नेपालका एक त्यस्ता निर्देशक हुन्, जो नेपाली चलचित्र उद्योगमा नयाँ  ट्रेन्डको सुरुवात गर्छन् । तर, त्यसलाई छोडेर फेरि अर्को नयाँ  ट्रेन्ड खोज्छन् । ‘पशुपति प्रसाद’, ‘चपली हाइट’, ‘झोले’जस्ता चलचित्र निर्माण गरेर दर्शकलाई फरक टेस्ट बाँड्दै आफ्नो भिन्न पहिचान बनाउन सफल खनाल निर्देशित चलचित्र ‘चपली हाइट–२’ प्रदर्शनको तयारीमा छ । प्रस्तुत छ, ‘चपली हाइट–२’ र समग्र नेपाली रजतपटका विषयमा केन्द्रित रहेर निर्देशक खनालसँग गरिएको कुराकानीः 
‘चपली हाइट–२’ कस्तो खालको चलचित्र हो ? 
रोमान्टिक थ्रिलर हो । युवाको कथा छ यसमा । अहिलेका युवाको छुट्टै खालको सोच छ, लाइफस्टाइल छ । त्यो सोच र जीवनशैलीले उसलाई कहाँ पुर्याउँछ भन्ने देखाउन खोजिएको छ । माया, पिरती, धोका सबै छ यसमा । मुभी सस्पेन्स छ । (चलचित्र भाेली २ गते रिलिज हुँदैछ । )
युवाको सकारात्मक कि नकारात्मक कथा छ ? 
युवाको जीवनशैलीसँग सम्बन्धित छ । अहिले छुट्टै तरिकाले सोच्ने युवा जमातको जीवनशैली र त्यसले निम्त्याउने सकारात्मक र नकारात्मक दुवै छ । मुख्य त यसो गर्नु हुन्न भन्ने नै छ । 
चलचित्रको विषयवस्तुचाहिँ के छ ? 
‘चपली हाइट’ भन्नेबित्तिकै एउटा रहस्य हो । अहिले नै सबै कुरा भनेँ भने केही नै रहँदैन, हेर्न पनि मजा आउँदैन । त्यसैले अहिले सस्पेन्स नै राखौंँ । हलमा गएर हेर्नुको मजा नै बेग्लै हुन्छ । 
सिक्वेल हो कि होइन ?
होइन, ‘चपली हाइट’ त्यो बेलाका युवाको कथा थियो । अहिलेको ‘चपली हाइट–२’ अहिलेकै युवाको कथा हो । 
त्यसो भए नाम किन एउटै राख्नुभयो त ? 
नामको सन्दर्भ फरक छ । ‘चपली हाइट’मा कुनै समय त्यो घटना घट्यो अहिले फरक घटना घटेको हुन सक्छ । चलचित्र चपली हाइटबाट सुरु भएको हुन सक्छ, वा अन्य कुनै घटना चपली हाइटसँग सम्बन्धित हुन सक्छ । त्यसैले नाम एउटै रहेको हुनसक्छ । 
नाम बेच्नलाई मात्रै ‘चपली हाइट’ नाम राखिएको जस्तो देखिएन र ? 
होइन, त्यस्तो होइन । चलचित्र त्यहीँबाट सुरु भएर त्यहीँ अन्त्य भएको हुन सक्छ । चपली हाइट ठाउँको नाम हो । त्यसैले चलचित्र कहीँ न कहीँ ठाउँसँग सम्बन्धित छ ।  
‘चपली हाइट’ भन्नेबित्तिकै सेक्स जोडिएर आउँछ हैन ?
यसलाई कसले कसरी बुझ्छ भन्ने हो । सेक्स, भल्गारिटी र ग्ल्यामरमा फरक पर्छ । सेक्स जोडिन्छ भन्दिनँ म, ग्ल्यामर जोडिन्छ । युवा पुस्ताको शैली, उनीहरुका क्रियाकलाप, उनीहरुको बोली व्यवहारमा सेक्स झल्किने हो । यी फरक कुरा हुन् । ‘चपली हाइट–२’ को कुरा गर्नुहुन्छ भने पीजी सर्टिफिकेट पाएको चलचित्र हो । यो भनेको युनिभर्सल हो । १३ वर्षमुनिको बच्चालाई पनि चलचित्र हेर्न अभिभावकले हल लिएर जानुपर्छ । यसको अर्थ सबै परिवार सँगै बसेर चलचित्र हेर्न सकिन्छ भन्ने हो । 
त्यसो भए सेक्स, ग्ल्यामर र भल्गारिटी भन्ने कुरामा रहेको बुझाइमा नै गल्ती छ ? 
भल्गारिटी र ग्ल्यामरसमा के फरक छ भन्ने कुरा मुख्य हो । यी दुईको बीचमा एउटा पातलो घेरा हुन्छ । यसमा सानो गल्ती गर्यो भने त्यो भल्गारिटी हुन्छ । तर, त्यसलाई सही तरिकाले प्रस्तुत गरियो भने त्यो ग्ल्यामर हुन्छ । मैले त्यो घेरा कहिले पनि क्रस गरेको छैन । ‘चपली हाइट–२’ मा पनि गरेको छैन । ‘चपली हाइट’मा पोस्टरको विषयलाई लिएर थोरै विवाद भएको थियो, अहिले त त्यो अवस्था छैन । 
त्यो भए ‘चपली हाइट’मा जस्तो यसमा विवाद हुँदैन ? 
हुँदैन । पछि कथामा कस्तो कमेन्ट आउँछ भन्ने मात्रै हो । अलिकति हिरोले हिरोइनलाई किक हानेको सिनमा महिला अधिकारकर्मीले कुरा उठाउँछन् कि भन्ने थियो । त्यसमा पनि त्यो सिनले चलचित्रको कथावस्तु नै टर्न गर्ने हुनाले सेन्सर बोर्डले पनि त्यसलाई काटेन । त्यसैले विवाद हुँदैन भन्नेमा म विश्वस्त छु । 
तपाईं सधैं नयाँ कलाकार लिनुहुन्छ नि किन ?
पहिलो कुरा, मलाई जोखिम मोल्न मन पर्छ । दोस्रो, नयाँ विषयवस्तुलाई प्रस्तुत गर्न नयाँ पात्र भयो भने हलमा दर्शकले विश्वास गर्छन् जस्तो लाग्छ । परिचित अनुहारभन्दा फ्रेस विषयलाई फ्रेस अनुहार भयो भने दर्शकलाई प्रत्यक्ष हेरिरहेको अनुभूत हुन्छ जस्तो लाग्छ मलाई । त्यही भएर नयाँ कलाकार लिने गर्छु । 
तपाईंले बनाएका चलचित्रमा केही न केही नयाँ हुन्छ । ‘चपली हाइट–२’मा त्यस्तो के नयाँ छ, जुन आजसम्म नदेखिएको होस् ?
एउटै कुरा के हो भने म जोखिम मोल्न रुचाउँछु । अरु के चलेको छ भनेर त्यसको पछि लाग्छन् । तर म केही नयाँ गर्न रुचाउँछु । मैले‘झोले’ बाट सुरु गरेको डार्क कमेडीजस्तै धेरै चलचित्र बनाइए । ‘कबड्डी’, ‘कबड्डी कबड्डी’ डार्क कमेडी नै हुन् । तर, मैले भने फेरि त्यस्तै बनाइनँ । ‘पशुपति प्रसाद’ पनि मौलिक विषयवस्तुमा बनाएँ । थ्रिलर मुभी ‘चपली हाइट’ नेपालकै पहिलो हो । ‘भिजिलान्ते’ पनि नेपालको पहिलो थ्रिडी सिनेमा हो । म नयाँ नयाँ उठाउँदै जान्छु, अरु त्यसलाई पछ्याउँदै जान्छन् । म र अरुमा फरक त्यतिमात्रै हो । 
कुरा आयो के छ ‘चपली हाइट–२’ मा के फरक छ भन्ने । पहिलोमा भन्दा धेरै कुरा फरक छ । ‘चपली हाइट’ बनाउँदा म परिपक्व थिइनँ, जति अहिले परिपक्व भइसकेको छु । सानो क्यानभास थियो ‘चपली हाइट’मा । अहिले ठूलो क्यानभास छ । मैले बनाएको भए पनि टेक्निकल रूपमा ‘चपली हाइट’ कमजोर थियो । अहिले एड्भान्स टेक्नोलोजी छ । ‘चपली हाइट’ मलाई यस्तो देखाउनु थियो जुन पहिला मैले गर्न सकेको थिइनँ । त्यो यसमा देखाएको छु । 
स्क्रिप्टमा पनि मैले निकै मेहनत गरेको छु । प्रत्येक युवालाई ‘चपली हाइट’ मेरो कथा हो भन्ने लाग्छ । 
तपाईं दर्शक भएर हेर्दा नेपालमा राम्रो चलचित्र बनेका छन् कि छैनन् ? 
हामी यति धेरै सीमाभित्र बसेर चलचित्र निर्माण गर्छौं कि त्यो निर्देशकलाई मात्रै थाहा हुन्छ । आर्थिक, सामाजिक सीमितता छ ।  सरकारले केही सहयोग गरेको छैन । पछिल्लो दुई वर्ष हेर्नुस्, नेपाली चलचित्र उद्योग युवाले मात्रै जबर्जस्ती काँधमा बोकेर घिसारिरहेका छन् । अहिले नेपाली चलचित्रलाई हेर्न र माया गर्न थालिएको छ । दुई–चार जना युवा भन्दा कसैको हात छैन ।
चलचित्र राम्रो बनाउने मुख्य हात कसको हो ? कलाकार, निर्देशक या निर्माताको ?
निर्देशक । राम्रो भए ताली र नराम्रो भए गाली दुवै उसैले पाउने हो । त्यसैले चलचित्र कस्तो बनाउने उसकै हातमा हुन्छ । कस्तो कलाकार लिने, प्राविधिक को लिने, त्यो दोस्रो कुरा हो । चलचित्रको विषय के हो, त्यसलाई निर्देशकले बुझेको छ कि छैन, न्याय गर्न सकेको छ कि छैन । त्यसमा चलचित्र कस्तो बन्छ भन्ने निर्धारण हुन्छ ।  
यी सीमितताभित्र बसेर चलचित्र बनिरहेका छन्, यसलाई सन्तोषजनक मान्न सकिन्छ ? 
म त भन्छु, यहाँको अवस्थालाई हेर्दा निकै राम्रा चलचित्र बनिरहेका छन् । बलिउडको लगानीमा हामीले चलचित्र बनाउने हो भने त्यो भन्दा धेरै राम्रा चलचित्र बनाउन सक्छौं । मलाई  अर्बको छेउमा पुगेर कसैले चलचित्र बना भन्छ भने मलाई त हिन्दी सिनेमाभन्दा राम्रो चलचित्र बनाउन सक्छु भन्ने आत्मविश्वास छ । निर्देशकले देखाउन खोजेको कुरा पनि देखाउन पाउँदैन यहाँ त ।
के अवरोध हो त्यस्तो ? 
सबैलाई थाहा छ । मलाई राम्रो राजनीतिक चलचित्र बनाउन मन लाग्यो भने संक्रमणकालको हवाला दिँदै रोकिन्छ । समाजिक विषयवस्तु उठाउन उठाउन थालियो भने त्यसलाई सेन्सरले रोकिदिन्छ । यस्ता धेरै कुराहरू छन्, जसले निर्देशकले आफ्नो क्षमता देखाउन पाइरहेको छैन । 
एउटा काल्पनिक प्रश्न गरौं न । एक अर्ब लगानी गर्छु, चलचित्र बनाउनुस् भनेर कसैले भन्यो भने कस्तो चलचित्र बनाउनुहुन्थ्यो ?
मलाई बायोग्राफिक, ऐतिहासिक र पोलिटिकल चलचित्र बनाउन मन लागेको थियो । भनेजति लगानी गर्न सक्ने निर्माता भए सायद म त्यस्तो चलचित्र बनाउने थिएँ, जुन चलचित्र बनाउन मन लागेर पनि म मन बाँधेर बसेको छु । अब त सोच्न पनि छोडिसकेँ त्यस्ता विषय । जंगबहादुरको कथा अहिले भन्नुपर्यो भने त्यसलाई जीवन्त रूपमा उतार्न समय, जनशक्ति र पैसा धेरै लाग्छ नि । त्यसैले त्यस्ता विषयलाई आर्थिक सीमिततामा उठाएर आफैंलाई कमजोर बनाउनु भन्दा हात नै नहाल्नु ठिक हुन्छ भन्ने लाग्छ । 
स्क्रिप्ट कमजोर भएर पनि राम्रा चलचित्र बनेनन् भनेर आत्मसमीक्षा गरिरहने तर व्यावसायिक साहित्यकारलाई स्क्रिप्ट लेखनका लागि प्रोत्साहन पनि नगर्ने किन ?
अहिले पछिल्लो समय केही साहित्यकार यसतर्फ आकर्षित भएको पाएको छु । अमर न्यौपानेले पनि चलचित्र लेख्दै हुनुहुन्छ भन्ने सुनेको छु । यो खुसीको कुरा पनि हो । निर शाहले बनाउने चलचित्रमा उहाँ लेखकको रूपमा मैले देखेको थिएँ । घोषणा भने भएको छैन होला । कुमार नगरकोटी पनि चलचित्रमा आबद्ध हुँदै हुनुहुन्छ भन्ने सुनेको छु । खगेन्द्र लामिछानेले त गरि नै रहनुभएको छ ।
अहिलेसम्म प्रकाशित कुनै कृतिमा चलचित्र बनाउन मन लागेको छ ?
नयनराज पाण्डेको ‘लु’ लाई चलचित्र बनाउन मलाई मन लागेको हो । केही कुरा पनि भएको हो । तर, पैसा र त्यहाँभित्रको विषयवस्तुले रोक्यो । त्यहाँ भारतविरोधी कुरा धेरै छन् । नेपाल–भारत सीमाका विषय छन् । भाषा, जातिका कुरा छन् । अहिले जाति र भाषामा नै एक किसिमको द्वन्द्व भइरहेको छ । मधेस र पहाडबीच फाटो ल्याउने कुरा भइरहेका छन् । यो समयमा यस्तो विषयलाई चलचित्रमा उतार्न सकिँदैन । सेन्सर बोर्डले पास गर्दैन । अर्को कुरा कृतिलाई न्याय गर्ने अवस्था बन्दैन भने म त्यसमा चलचित्र नै बनाउँदिनँ । 
सरकारले के गरिदिनुपर्छ चलचित्र विकासका लागि ?
सरकारले मुख्यतः चलचित्रमा कतिसम्म राख्न दिने सेन्सर नै स्पष्ट हुनुपर्छ । किताबमा भएको कुरा चलचित्रमा देखाउन पाइने कि नपाइने, राजनीतिक विषयलाई उठाउन दिने कि नदिने भनेर चलचित्रकर्मीसँग छलफल गरेर स्पष्ट हुनुपर्छ । सरकारले चलचित्रलाई अहिलेसम्म वास्ता गरेको छैन । चलचित्रले त देशलाई चिनाउँछ । यसमा सरकारको ध्यान जानुपर्छ । राजनीतिक, ऐतिहासिक, बायोग्राफिक चलचित्रलाई अनुदान दिनुपर्छ । 
चलचित्र विकास बोर्डमा राजनीतिक नियुक्ति हुन्छ । यो पटकमात्रै हो चलचित्रकर्मी राजकुुमार राई विकास बोर्डको अध्यक्ष भएको । चलचित्र नबुझेको मान्छेलाई बोर्डमा ल्याउनु भएन । 
बक्स अफिसको कुरा लागू भयो भने पनि त्यो नेपाली चलचित्र उद्योगका लागि ठूलो कुरा हुन्छ । हेरौँ, राजकुमार दाई लागू गराएरै छाड्छु भनेर लाग्नुभएको छ । त्यो भयो भने पनि हाम्रा लागि ठूलो उपलब्धि हो । राज्यलाई पनि कर हुन्थ्यो । राज्य र चलचित्र उद्योग दुवैलाई राम्रो हुने थियो । 
तपाईंलाई राम्रो लागेको नेपाली चलचित्र ? 
खासै त्यस्तो कुनै छैन । आफ्नो चलचित्र भनेजस्तो होला, ‘पशुपति प्रसाद’ नै मलाई राम्रो लागेको हो । हलबाट उत्रिएपछि मैले ३० पटक भन्दा बढी हेरिसकें । र, पनि हेर्न अल्छी लागेको छैन, धीत् मरेको छैन । हिन्दीमा ‘थ्रि इडियट’ पनि म जति पटक टिभीमा आउँछ, छुटाउँदिनँ । 
‘पशुपति प्रसाद’मा सुन व्यवसायीलाई किन त्यति क्रुर बनाउनुभाको ?
वास्तवमा त्यो सम्पत्तिप्रति मानिसको मोह देखाउन खोजिएको हो । ऊ आफैँ दमको बिरामी छ । कृत्रिम श्वास लिइरहेको हुन्छ । धर्म कमाउन मन्दिर पनि गइरहेको हुन्छ । तर, पैसाका लागि ऊ हत्या गर्न पनि तयार हुन्छ । मान्छे आईसीयूमा हुन्छ तर, पनि उसले आफ्नो सम्पत्तिको त्यहाँ पनि चिन्ता गरिरहेको हुन्छ । त्यो देखाउन खोजिएको हो । 
‘चपली हाइट–२’बाट कस्तो अपेक्षा गर्नुभएको छ ? 
अहिलेसम्म कसैले पनि नराम्रो भनेको छैन । ट्रेलरको रेस्पोन्स पनि राम्रो आइरहको छ । कथा, प्रविधिका हिसाबले चलचित्र अब्बल बनेको छ । माया, प्रेम, थ्रिलर युवाको विषय भएकाले चलचित्र मन पराइदिनुहुन्छ भन्ने अपेक्षा गरेको छु । 
आगामी प्रोजेक्ट ?
एउटा लभ स्टोरी चलचित्र गर्ने सोचमा छु । खगेन्द्र लामिछानेसँग कामको योजना पनि बनिरहेको छ ।
तस्बिरः राेजित खड्का
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १, २०७३  ०२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro