site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘समुद्रमा खेती हुन थाल्यो हामी सम्भावना खोज्दैछौं’
Tiktok banner adTiktok banner ad

इलाम । प्रचुर सम्भावना भएर पनि इलामका कृषि, पर्यटनलगायत क्षेत्रमा उपलब्धि हासिल हुन नसकेको सरोकारवालाहरुले बताएका छन् । 

एनसेल बाह्रखरी गल्फअन्तर्गत इलाममा आयोजना गरिएको राउण्ड टेबलमा सहभागी स्थानीय उद्योगी, व्यवसायी, स्थानीय जनप्रतिनिधिलगायतले जिल्लामा भएका स्रोतको उचित प्रयोग र लगानीमा जोड दिए । 

इलाम उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर चिपालुले कृषि र पर्यटन नै जिल्ला समृद्धिको आधार भएको तर लगानीको वातावरण बनाइनुपर्ने बताए । 

“इलाम कृषिमा अघि बढेको जिल्ला हो । पर्यटन पनि यसमा द्विविधा छैन । लगानी गर्ने वातावरण बनाइनु पर्छ । लगानी सम्मेलन पनि गरियो तर वातावरण बनेनन्,” उनले भने । 

उनले स्थानीय उत्पादन बढाउन स्थानीय तहले प्रोत्साहन गर्नुपर्ने बताए । मिडियाले चियामा विषादी मिसिएको भन्दै भ्रमपूर्ण समाचार दिँदा निर्यातमा असर पारेकोसमेत उनले बताए । 

इलाम नगरपालिका मेयर महेश बस्नेतले इलाममा पर्यटन, औषधि र जडीबुटीमा निकै सम्भावना भएको बताए । उनले यो क्षेत्रमा लगानी ल्याउन पहल गर्दा समेत सफल हुन नसकेको बताए । 

इलामले लगानी भित्र्याउन लगानी सम्मेलन नै आयोजना गरेको थियो । “व्यवसाय गरिरहेका मानिसलाई स्रोत साधन, ज्ञानको हिसाबले कच्चा भएकोले प्रतिष्ठत उद्योगी व्यवसायीसँग भेट गराई पुँजी आदानप्रदान र जोइन्ट भेन्चरमा काम गर्न प्रोत्साहन गरिएको थियो । तर, भनेजस्तो लगानी हुन सकेन,” उनले भने, “कृषिजन्य क्षेत्रमा लगानी भित्र्याउनुपर्छ । राजमार्ग जोडिएकाले त्यो सुविधा हामीलाई बढी छ ।”

इलामको कृषि क्षेत्र व्यावसायिक भन्दा पनि निर्वाहमुखी रहेको भन्दै त्यसलाई व्यवसायमुखी बनाउनुपर्नेमा उनले जोड दिए । 

यस्तै रोङ गाउँपालिका प्रमुख शमशेर राईले पनि कृषि, पर्यटन र वन पैदावारसँग सम्बन्धित उद्योगको सम्भावना अधिक रहेको बताए । 

“लगानी गर्ने उद्योगको नेचर कस्तो हुने भन्ने मूल विषय छ । कृषि उद्योगतिरको पाटोमा प्रोसेसिङतर्फको लगानी उत्तम हुन्छ,” उनले भने, “इलामको सबै स्थानीय तहले संयुक्त रुपमा काम गर्नुपर्ने अवस्था छ ।”

उनले रोङले कृषिको क्षेत्रमा धेरै लगानी गरेको बताए । “मासु उत्पादनमा बढी लगानी गरिएको छ । यसको पनि प्रोसेसिङ उद्योग नभए धरापमा पर्न सक्छ । नेपालमा खसीबोका नै बाहिरबाट ल्याइने गरिन्छ । कृषि उद्योगमा प्रोसेसिङमा लगानी गर्न जरुरी छ,” उनले भने । इलाम जिल्लामा प्रोेसेसिङ्ग उद्योग अति आवश्यक भएको उनले बताए । 

जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले ठूलो लगानीको आधार चिया भएको बताए । उनले हाल नगदेबालीमा आश्रित रहेको भन्दै जिल्लामा राम्रो उत्पादन हुने खाद्यान्न बालीको विषयमा पनि खोजी गर्नुपर्ने बताए । 

“मकै ठूलो मात्रामा उत्पादन गर्न सकिन्छ,” उनले भने । स्थानीय तहको पहिलो कार्यकाल पूरा हुन लागेको अवस्थामा पनि अहिले धेरै परिणाम आउन बाँकी रहेको समेत उनले बताए । उनले निजी क्षेत्रको लगानी आकर्षित गर्नुपर्नेमा जोड दिए । 

होटेल व्यवसायी देवी पौडेलले इलाम सम्भावनै सम्भावना भएको जिल्ला रहेको बताए । “गोजीमा बोकेको मकै कतै झर्दा आफैँ उम्रने जिल्ला हो । साउदीमा समुद्रमा खेती गर्दैछन् हामी सम्भावनाको कुरा खोज्दैछौं,” उनले भने, “लगानीकर्ताको खोजी गर्नुभन्दा आफैँबाट लागनी सुरु गर्नुपर्छ ।” 

उनले अरुको देखेर गर्न नहुने भन्दै अन्यत्र नभएका अन्तु र सन्दकपुर, कन्याम, माङसेबुङलगायत क्षेत्रलाई प्रबर्द्धन गरिनुपर्ने बताए ।

प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले शान्ति सुरक्षा दृष्टिकोणले इलाम राम्रो रहेको बताए । 

इलामसहित प्रदेश एकको समृद्धिको सम्भावना र समस्यालगायतका विषयमा राउण्ड टेबलमा व्यक्त गरिएका कुरा जस्ताको त्यस्तै :

गोपाल पौडेल : उद्यमशीलताविज्ञ 

इलाम सदरमुकाम कृषि फर्म सञ्चाालनका लागि उपयुक्त स्थान हो । यहाँ उत्पादित कृषि तथा पशुपालनबाट कच्चापदार्थ सीधै बाहिर निर्यात हुन्छन् ।  जसका कारण मूल्यवृद्धि भ्यालुएड र मूल्यवृद्धि मात्रै भएको छैन । उल्टै कच्चापदार्थ उत्पादनमा बढी श्रम खर्च हुने गरेको छ । 

छुर्पी, घ्यू आदि उत्पादन गरी स्थानीय, क्षेत्रीय र राष्ट्रिय बजारमा पुर्‍याउन सके राम्रो हुन्छ । 

कृषि क्षेत्रलाई आधार बनाइ लागनी गरेर कच्चापदार्थ उत्पादन गरी प्रशोधन गर्दा प्रोडक्ट डाइर्भसिटी गरी आम्दानी बढाउन सकिन्छ । जसले आयातलाई प्रतिस्थापन गर्न सहयोग गर्छ । 

उदाहरणका लागि हाम्रो देशमा उत्पादन भएको तरकारीले हामीलाई पुग्दैन ।

राजेन्द्र बराल : पर्यटनविद्

कृषि, उद्यमशीलतालाई पवद्र्धन गर्न सकिन्छ । सिटीईभीटी बेस कार्यक्रम गर्न सकिन्छ । मेडिकल कलेज र साइन्स कलेज पनि ल्याउन सकिन्छ ।

सरकारी विश्वविद्यालय भएको इलाम धेरै सम्भावना भएको जिल्ला हो ।  विश्वविद्यालयबाट उत्पादित शिक्षित युवाबाट चौतर्फी सामाजिक रूपान्तरण हुन सक्छ ।  

स्नातक पढेर इलामबाट गएकाहरू कहाँ रोजगार छन्, के गर्छन् भनेर अध्ययन गर्नुको सट्टा राजनीतिक रूपमा लेफ्ट कि राइट भनी हेर्ने गरिन्छ । तर, हालसम्म उत्पादिन जनशक्ति व्याससायिक रूपमा गाइडेड हुन सकिरहेका छैनन् । 

यहाँ युवालाई परिचालन गर्ने संरचनामा समस्या छ । राजनीति र सरकारका कार्यक्रम मौसमी छन् । सरकारले लिएका योजना, कार्यक्रम र कार्यान्वयन शैली यसका उदाहारण हुन् । राइट पर्सन इन राइट प्लेस हुन सकेको छैन । 

एउटै मानिसले धेरै क्षेत्रमा काम गरिरहेको हुन्छ । मलाई अनुभव नभएको क्षेत्रमा हात नहाल्दा राम्रो हुन्छ भन्ने लाग्छ । व्यावसायिक विज्ञताका आधारमा परिचालित हुँदा राम्रो हुन्छ । 

पछिल्लो समय चिया तथा डेरीजस्ता व्यवसायमा प्रविधिको प्रयोग हुन थालेको छ ।

विकासको नाममा हामी औद्यौगीकारण र उत्पादनमा भन्दा पनि उपभोक्ता केन्द्रित भयौँ । दूरगामी भिजन आउन सकेन । 

इलामका रैथाने उत्पादनबारे अनुसन्धान हुन सकेको छैन । वस्तु उत्पादन भए पनि लेभलिङ, ग्रेडिङ र मार्केटिङजस्ता कार्य पर्याप्त हुन सकेका छैनन् ।

दिलीप प्रधान : कृषक

एग्रो र टुरिजमलाई जोडे मात्रै इलाम अघि बढ्न सक्छ । हाम्रोमा नीतिगत समस्या छन् । च्यातिएको लुगा र टोपी लगाएको देख्नेबित्तिकै किसानलाई तल्लोस्तरको नागरिकको रूपमा प्रस्तुत गरिन्छ । 

किसान छ भने गाडी चढ्दा दश रूपैयाँ कम लिन सकिन्छ । 

गाई छ तर गुणस्तरीय छैन । दूध गुणस्तरीय छ छैन भन्ने अन्योल छ । गाई र दूध नै गुणस्तरीय नभए त्यसबाट आउने उत्पादन पनि गुणस्तरीय हुँदैन ।

किसानले दूधबाट हुने आम्दानी दाना (दाना, ब्रान्ड र च्यांख्ला) खरिदमा खर्च गर्छन् ।  दानका नाममा इलामको पैसा झापा गइरहेको छ । तसर्थ दाना लार्ज मात्रामा ल्याउनुपर्छ ।  

गुणस्तरीय गाई धनुकटा र तेह्रथुमतिर गइरहेका छन् । नगरपालिका र पालिकाले गुणस्तरीय सिमेनका लागि पहल गर्नुपर्छ ।

यसले दीर्घकालीन रूपमा किसानको वृत्ति विकासमा असर पार्छ । साना कार्यक्रमलाई एकै ठाउँमा केन्द्रित गर्नुपर्छ । शैलेसले गाईको दूघ बढाउँछ । 

सरकारले एग्रो र टुरिजमलाई एक ठाउँ राखेर योजना बनाउनुपर्छ । नेपालको चिया विश्वबजारमा प्रख्यात छ । तर, प्याकिङ राम्रो नहुँदा चियाले राम्रो मूल्य पाउन सकेको छैन । 

निस्कल राई : शिक्षक

सिहंलिला पर्वत र महाभारत पर्वतको काखमा अवस्थित इलाम प्राकृतिक सुन्दरताले भरिएको जिल्ला हो । ५५ जातजाति बसोबास गर्ने यो जिल्लामा एग्रो टुरिज्म र  टी टुरिजमको सम्भावना अधिक छ ।

त्यसैगरी, लोपोन्मुख जनजाति लोप्चाको रहनसहनलाई प्रस्तुत गरेर पनि पर्यटक आगमन गर्न सकिन्छ । 

कन्याम, इलाम र अन्तुडाँडा यहाँका पर्यटकीयस्थल हुन् । कन्यामलाई ग्रीन कार्पेटको रूपमा प्रचार गरिएको छ । यो राजाले रोपेका बिरुवा होलान् अथवा पुरानो साथी फिल्म बनेको स्थल हो । यहाँ राजेश र करिश्मा नाचेको स्थलको रूपमा प्रचार गर्दा पनि युवा घुम्न आउँछन् । 

तर, पर्यटकीय दृष्टिले अन्तु र इलाममा अलि समस्या छ । गर्मीमा पर्यटक आए पनि धेरै अडिन सक्दैनन् । 

यहाँ एड्भान्चर टुरिजमको संभावना छ । राजधानीभन्दा टाढा भए पनि भद्रपुरबाट नजिकै छ । फिजिबिलटी स्टडीमा स्थानीय सरकार जान सकेनन् । टुरिजमको कुरा गरे पनि दीर्घकालीन रूपमा काम हुन सकेको छैन ।  स्थानीय र प्रदेश सरकारले अनुदान दिए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । 


विदु कायस्थ : अनुसन्धानकर्ता


इलाम प्राकृतिक, उत्पादन र जनशक्तिका हिसाबले सम्भावना बोकेको जिल्लामा पर्छ । यहाँ अन्यत्र नभएको जैविक विविधता छ  । 
यहाँ विकासको सम्भावना खोजी गर्ने काम भइरहेको छ । यहाँको जनशक्ति यहीँ परिचालन गर्न सके विकासले गति लिन्छ । यसका लागि नीति निर्माताहरू जिम्मेवार हुनुपर्छ । 

यहाँ हुमन हेल्थलाई फोकस गरिएको छ । तर, एनिमल तथा प्लान्ट हेल्थबारे त्यति ध्यान दिएको पाइँदैन । यसबारे हामीले सोच्नुपर्छ । 

हामी नगदेबालीमा केन्द्रित छौँ । सय रोपनी हुने किसानले नगदेबाली लगाउँछ ।  तर, धान किनेर खान्छ । नगदेबालीबट कहिलेकाहीँ मार खान सक्छन् । जस्तो कोरोनाकालमा नगदेबाली खेती गर्ने किसान मारमा परेका थिए । त्यसको क्षतिपूर्ति कसले दिने ?

विप्लव भट्टराई, (अध्यक्ष नेपाल पत्रकार महासंघ)


तोरीबारी सन्दकपुरलगायत पर्यटकीयस्थलको विकासका लागि मिडियाले सहयोग गरेका छन् । तर, त्यसको प्रभाव दीर्घकालीनसम्म रहन सकेन ।

कुनै ट्रक रित्तो फर्किदैनन् । गोलिया बोकेर जाने गाडी प्लाई बोकेर आउँछन् । झापा पुगेको गोलिया प्लाई बनेर इलाम आउँदा त्यसको कति मूल्य बढ्छ । दूध बोकेर जान्छ त्यो गाडी मिनरल वाटर बोकेर आउँछ । यद्यपि हामीले अन्तुलाई बहुआयमिक बनाउन सकेनौँ कि भन्ने लाग्छ । 

हामीकहाँ धेरै बजार छ । तर, नीतिगत कमजोरीका कारण त्यसको उपयोग गर्न सकिरहेका छैनौँ । नगदेबालीको आम्दानी ३२ अर्ब छ । त्यो पुँजी त्यहीँ प्रयोग गर्ने कि !

लीला भट्टराई (सन्दकपुर होमस्टे सञ्चालक) 


पर्यटन विकासको अभिन्न क्षेत्र हो । हामीले ०७३ देखि देउराली सामुदायिक होमस्टे चालाउँदै आएका छौं । 

विकासको गतिसँगै व्यवसाय चल्ने चल्नेरहेछ । कोभिडले हामीलाई असर गरेको छ । व्यवसाय ठप्प छ । पर्यटक नआउँदा होमस्टे बन्द छ । 

पर्यटन व्यवसाय जसरी अघि बढ्नुपर्ने हो । त्यसरी अघि बढ्न सकिरहेको छैन । सन्दकपुरमा पर्यापर्यटन धेरै राम्रो ढंगले चल्न सक्ने रहेछ । पर्यटन विकासका लागि स्थानीय सरकारले लगानी गर्नुपर्छ ।

विष्णु दाहाल (जिल्ला सहकारी संघका अध्यक्ष)


सहकारीले अन्य जिल्लामा जति काम गरेका छन् । हामीले संगठित रूपमा इलाममा त्यति काम गर्न सकेका छैनौँ । हामी आ–आफ्नै पाराले लागेका छौं ।

जिल्लामा उत्पादित कृषिजन्य वस्तु एकमुष्ठ संकलन गरेर बाहिर पठाउनसके राम्रो हुन्छ ।  नेपालको कृषि नीति ठिक छैन । बिचौलियाले बीचमा भूमिका खेल्दा किसानले उत्पादनको मूल्य पाएका छैनन् । 

जिल्लामा ५२२ सहकारी छन् । गाउँमा उत्पादित बस्तु इलाम बजारसम्म ल्याउनसके किसानले मूल्य पाउने थिए । 

कतिपय किसान खेत बेच्ने अवस्थामा पुगेका छन् ।सरकारले कृषि नीति परिमार्जन गरे कृषकलाई केही सहज हुने थियो ।

अहिले जिल्लामा किबी उत्पादन बढेको छ । तर, समयअगावै टिप्दा मूल्य नपाइरहेको अवस्था छ । हामीले कृषि भण्डारको अभियान चलाउनुपर्छ । 

देवी पौडेल (इलाम होटल व्यवसायी संघ)  

इलाम (चार चर) नेचर, कल्चर, एग्रीकल्चर र स्टक्चर भएको जिल्ला हो । हामीले नेचर र एग्रीकल्चर मात्र बेचेका छौँ । बाँकी कल्चर र स्टक्चर खेर गइरहेका छन् । 

साउदीमा समुद्रमा खेती गरिँदै छ । गोजीमा बोकेको मकै भुँइमा खस्दा आफैँ उम्रिने ठाउँमा हामी सम्भावनाको खोजी गरिरहेका छौँ ।

लगानीकर्ता खोज्नु भन्दा पनि हामी आफैँले लागनी गर्नुपर्छ । श्रमलाई सम्मान गर्न सक्नुपर्छ । श्रम गर्नेलाई हामीले सम्मान गर्नसके प्रगति त्यहीँबाट हुन्छ । अहिले इलामको चिया बगानमाथि स्काई वाकर उडाउने तयारी भइरहेको छ । प्रशासनले साना लगानीकर्तालाई पनि संरक्षण गर्नुपर्छ । 

बन्जीजम्प वा बोटिङ अथवा क्लाइम्ब पर्यटकको रोजाइमा परेका छन् । अन्तु डाँडाबाट देखिने सूर्योदय अन्यत्रबाट देखिँदैन । त्यसैगरी सन्दकपुरबाट मुन्टोमात्र घुमाउँदा मात्रै तीनवटा देशको हिमाल हेर्न सकिन्छ । 

लारुम्बा किरातहरूका लागि संसारको एकमात्र धार्मिक स्थल हो । होटल व्यवसायीले पर्यटकीय क्षेत्रको प्रचार गर्न सकेका छैनन् । पर्यटन व्यवसायी, होटल र यातायात व्यवसायीलाई प्रशिक्षण दिन आवश्यक छ । 

त्यसैगरी, यहाँ कृषि उत्पादन छ । तर, ब्रान्ड बनाउन सकिएको छैन । कुँचोलाई झापा र नक्सलमा लगेर बाइन्ड गरिन्छ । अदुवालाई सुठो बनाउन सकिएको छैन । 


ईश्वर चिपालु (उद्योग वाणिज्य संघका अध्यक्ष)


इलाम कृषि र पर्यटकीय सम्भावना बोकेको जिल्ला हो । हामीले लगानी गर्ने वातावरण बनाउनुपर्छ । यो बीचमा लगानी सम्मेलन भए । तर, लगानी गर्ने वातावरण बन्न सकेन । राष्ट्र बैंकको स्पष्ट नीति हुनुपर्छ । 

हामी व्यावसायिक हिसाबले अघि बढ्न सकेनौँ । कृषिमा नियम छैन । स्थानीय उत्पादन बढाउन स्थानीय तहले प्रोत्साहन गर्नुपर्छ । दुई गाई पाल्नेलाई सय वटा पाल्न प्रोत्साहित गर्नुपर्छ ।

सामाजिक न्यायको आधारमा पुँजीको विकास गर्नुपर्छ । बेरोजगार युवालाई उद्यमशील बनाउनुपर्छ । 

हामीले तीन सय २० युवालाई होटेलसम्बन्धी तालिम दिइरहेका छौँ । कृषकलाई प्रोत्साहन गर्न स्थानीय तहले सहयोग गर्नुपर्छ । 

राज्यले सहयोग गर्दा एक अर्बको सामग्री निर्यात हुन्छ । त्यसमा चिया मात्रै दश अर्बको निर्यात हुन्छ । उद्योगीहरूले लगानी ल्याउन सकिरहेका छैनन् । 

विषदीयुक्त चियाजस्ता समाचारका कारण भारतको जलपाइगुडीमा परीक्षण गर्नुपरेको छ । यसखालका समाचारमा ध्यान दिँदा राम्रो हुने थियो । समाचारकै आधारमा अचैँली र अदुवाजस्ता नगदे बाली निर्यातमा समस्या सिर्जना भएको छ । 

हामी सबै कुरा छ भन्छौँ । तर, हामीकहाँ नीति छैन । त्यसैगरी, अक्सन बजार छैन । अक्सन बजार नहुँदा हामीलाई भारतले चाहेअनुसार सिएफएल सर्टिफिकेट दिन्छ । 

स्थानीय तहले कानुन बनाएर स्थानीय उत्पादनलाई प्रोत्साहित गर्नुपर्छ । अनि मात्रै हामी व्यावसायिक बन्न सक्छौँ । 

बैंकको सेवा शुल्क र करका कारण धेरै उद्यम सञ्चालन हुन सकिरहेका छैनन् । तीन लाख लिटर दूध उत्पादन हुन्छ । तर, दूधको अभाव हुन्छ । डीडीसीले दूघ लग्छ पाउडर बनाउँछ । तर, भारतको पाउडर सस्तो हुँदा त्यो बिक्री हुँदैन । जसका कारण हाम्रो पाउडर स्टक बस्छ । यसलाई समाधान गर्नुपर्छ । 

महेन्द्रकुमार श्रेष्ठ (प्रहरी उपरीक्षक इलाम) 

इलाममा शान्ति सुरक्षा छ । आगन्तुक र पर्यटक आउन–जान सक्छन् । तर, हाइ–वे भत्किएको चार महिना भए पनि बनाउन सकिएको छैन । 
दमकबाट मंगलबारेको पीच गरौं, माइपोखरीबाट सन्दकपुर र सन्दकपुरबाट पशुपतिनगर अनि अन्तु जोडौँ । लगानी आफँै आउँछ । आशा गर्ने ठाउँ धेरै छन् । हेर्दा सामान्य कुरा भए पनि यी गर्नुपर्ने काम हुन् । 

माधवप्रसाद ढुंगाना (प्रमुख जिल्ला अधिकारी इलाम)


कृषि, पर्यटन र भेटेनरी इलामका आकार्षक हुन् । ०३४ मा गलैंचा उत्पादन हुन्थ्यो । जर्मनमा आउटलेट नै खुल्यो ।  तर, हाम्रो ब्रान्ड बन्न सकेन । 
नेपालको पस्मिना विश्वकै नम्बर एकमा आयो । यो पनि ब्रान्डिङ हुन सकेन । चियाको कुरा पनि त्यही हो । 

त्यसैगरी, इलामको किबी राम्रो भनियो । तर, अमिलो भन्ने सन्देश गयो । बरु धनकुटाको राम्रो भन्ने सन्देश गयो । अब यसका कारण खोजिनुपर्छ । 

लकडाउनको नाममा आर्थिक गतिविधि ठप्प पार्नुहुँदैन । आर्थिक गतिविधिलाई संकुचन गरेर देश र जिल्लाको विकास संभव छैन । 

वर्षात्का कारण बिग्रिएको बाटो पूर्ण रूपमा नबन्दा र मेची राजमार्ग मर्मत नहुँदा कठिनाइ भएको छ ।  शान्ति सुरक्षामा प्रशासनले ध्यान दिएर काम गर्छ । कोभिड रोकथामका लागि सबैको सहयोग जरुरी छ । 

महेश बस्नेत (मेयर, इलाम नगरपालिका)

चुनावका बेला कसैलाई गाली नगरी सही दृष्टिकोण, नीति र योजना अघि सारियो भने सफल नेता बन्न सकिन्छ । निर्वाचनका क्रममा गाली गर्नभन्दा पनि सही दृष्टिकोण अघि सारौँ । 

लगानी सम्मेलनपश्चात् काठामाडौं, विराटनगरलगायत स्थानमा भएका सम्मेलनमा इलामको विकासबारे छलफल भएको छ । 

हाम्रा सम्भावनलाई नेपालका उद्योगी र व्यवसायीमाझ पुर्‍याएर राज्यको ध्यानाकर्षण गराइएको थियो । 

त्यसैगरी, व्यवसाय गरिरहेका मानिसलाई स्रोतसाधान, ज्ञानको हिसाबले कच्चा भएकाले प्रतिष्ठत उद्योगी व्यवसायीसँग भेट गराइ पुँजी आदान–प्रदान र जोइन्ट भेन्चरमा काम गर्न प्रोत्साहन पनि गरिएको थियो । 

तर, भनेजस्तो लगानी हुन सकेन । सन्दकपुरमा केबुलकारको सम्भावनाबारे लगानीको कुरा भएको थियो । यसको अझै केही संभावना छ । तर, समय अनुकुल भएन । कोरोनाका कारण होटल, हवाई यात्रा, ट्राभल एजेन्सी बन्द भए । 

मनोरञ्जनात्मक पाटो भएकाले कोरोनाका कारण आतंकित भएर मानिसले पर्यटनमा खर्च गर्न चाहेनन् । जसका कारण यस क्षेत्रकाट सोचेअनुरूपको प्रतिफल प्राप्त हुन सकेन । 

तर, यसको सम्भावना जीवितै छ । ठूलो औद्योगिक क्षेत्रभन्दा पनि हामीसँग भएका कृषिजन्य उद्योगलाई बढाउन सकिन्छ । 

उदाहरणका लागि ४० हजार लिटर दूध निर्यात हुन्छ ।  त्यसमै आधारित उद्योग चलाऔँ । 

इलामको कृषि क्षेत्र व्यावसायिकभन्दा पनि निर्वाहमुखी छ । हामी आलु तराईबाट ल्याएर खाइरहेका छौँ । यहाँ उत्पादित किबी हामी हरियोमै बिक्री गर्दा रहेछौँ । अहिले जे–जे उत्पादन भइरहेका छन् । तिनको ठूलो परिणम उत्पादनका लागि हामीले योजना बनाउनुपर्छ । 

बैंक पैसा कलेक्ट गरी बाहिर लगानी गरेर नाफा कमाउन आएका हुन् । निजी क्षेत्रको नेतृत्वले कसरी लगानी गर्ने सके उपलब्धि हुन्छ । 

निजी क्षेत्र मिलेर आउनुपर्छ । हामीसँग भएको स्रोत लागनीमा परिणत कसरी गर्ने भन्ने प्रश्न छ । चीनले पनि बाहिरी लागनी भित्र्याएको छ । 

समशेर राई (रोङ गाउँपालिका प्रमुख)

इलाममा कृषि, पर्यटन र वन पैदावारसँग सम्बन्धित उद्योगको सम्भावना अधिक छ । लगानी गर्ने उद्योगको नेचर कस्तो हुने भन्ने मूल विषय छ । कृषि उद्योगतिरको पाटोमा प्रोसेसिङतर्फको लगानी उत्तम हुन्छ । 

कसले कति अध्ययन गरेको छ भन्ने विषय मूल हो । हामीले दूध पानीभन्दा पनि सस्तो बेच्नुपरेको छ । 

किसानलाई दिएको अनुदानले राहत मिल्छ भन्दा पनि बाहिर पठाउने सामग्री पूर्णतः स्वास्थ्यका लागि असर गर्दैन भने मात्र जान्छ । 

डगच्यू बाहिर पठाइन्छ । इलामका सबै स्थानीय तहले संयुक्त रूपमा काम गर्नुपर्ने अवस्था छ । चियाका उद्योग धेरै खुले । प्रोसेसिङ चल्ने हुुनुपर्छ । 

इलामको तल्लो बेल्ट र झापाको मास्तिर सुपारी उत्पादन हुन्छ । सुपारी सस्तो बिक्री हुन्छ । तर, गुट्खा महंगोमा बिक्छ । 

रोङले कृषिको क्षेत्रमा धेरै लगानी गरेको छ । मासु उत्पादनमा बढी लगानी गरिएको छ । यसको पनि प्रोसेसिङ उद्योग नभए धरापमा पर्न सक्छ । नेपालमा खसीबोका नै बाहिरबाट ल्याइने गरिन्छ । कृषि उद्योगमा प्रोसेसिङको साइडबाट लगानी गर्न जरुरी छ । हामीले नयाँ साइकल रुट २९ किमि बनाउँदै छौँ ।

नीतिगत समस्या छन् । स्थानीय सरकार कमजोर हिसाबले चलेका छैनन् । ऐन र नीति छन् । विज्ञ नभएर समस्या भएको छ । 

गणेश बराल (प्रमुख जिल्ला समन्वय समिति इलाम) 

चिया बगानको रुपमा परिचित इलाममा कफी, पशुपालन, अदुवा, अम्लिसो र जडिबुटीको सम्भावना अधिक छ । यी वस्तुको व्यावसायिक उत्पादन गर्नुपर्छ । 

कुकाठलाई प्लाईको व्यवस्था गरेर उद्योग चलाउनसके राम्रो हुन्छ । 

केही ठाउँमा प्रशोधनका हिसाबले निजी क्षेत्रले उद्योग संचालन गर्न सक्छन् । हामी नगदेबालीमा आश्रित छौँ । अब राम्रो उत्पादन दिने खाद्यान्नबालीको खोजी हुनुपर्छ । 

उदाहरणका लागि हामीले मकैलाई ठूलो मात्रामा उत्पादन गरी खाद्यान्नको रुपमा प्रयोग गर्न सक्छौँ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  १३:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro