
धनकुटा । धनकुटाका उद्योगी व्यवसायीलगायत सरोकारवालवालाहरूले धनकुटाका सम्भावनालाई उचित प्रयोग गर्दा प्रदेश–१ नै कायपलट हुने बताएका छन् ।
बाह्रखरी मिडियाले धनुकटामा आयोजना गरेको ‘प्रदेश–१ को समृद्धिको बाटो’ विषयक राउण्ड टेबलमा सहभागी उद्योगी व्यवसायी र स्थानीय तहका जनप्रतिनिधिले यस्तो बताएका हुन् ।
सो क्रममा उनीहरूले प्रदेशसहित समग्र देशकै आर्थिक समृद्धिका लागि धनकुटाको कृषि उत्पादनलाई ध्यान दिन सक्नुपर्ने बताएका छन् ।
सो क्रममा धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले धनकुटा कृषि उत्पादनमूलक जिल्ला भएको बताउँदै यहाँका सम्भावनालाई पहिचान गरी परिचालन गर्दा देशलाई नै पाल्ने बताए ।
सो क्रममा उनले जिल्लाका स्रोतसाधनको उपयोग हुन नसकेको भनी गुनासोसमेत गरे ।
“धनकुटाको काखबाट नदी बगेर गएको छ । हामी एक हुन जरुरी छ । योजनाका साथ हामी अघि बढ्न सके वैदेशिक पलायन हुने युवा रोक्न सकिन्छ । धनकुटाबाट एक लाख युवा बाहिरिएका छन् । हामीसँग पर्यटन क्षेत्रमा काम गर्न सक्ने धेरै आधार छन्,” उनले भने ।
त्यसैगरी, कृषि अभियन्ता जीवनप्रसाद राईले एभोकाडो ब्रान्डिङ, कफी प्रशोधनको ठूलो सम्भावना रहेको बताए । पाख्रीबास कालो जातको बंगुरलाई ब्रान्ड गर्न र चीन एवं भुटान निर्यात गर्न सकिने उनको भनाइ छ ।
“२२ आर्थिक वर्षको बजेटबराबर चीनले एक वर्षमा बंगुरको मासुका लागि लगानी गरिहेको छ । बंगुरको मासुका लागि भुटानमा ठूलो बजार छ । मासु प्रशोधन गरेर बढाउन सके धनकुटाको समृद्धिको आधार बन्न सक्छ,” उनले भने ।
कृषि पर्यटनलाई अगाडि बढाउन सके जिल्लामा समृद्धि हासिल हुन सक्ने बताए । तर, व्यवसाय छनोट गर्नमा समस्या रहेको उनको भनाइ छ ।
सो क्रममा उनले विकासका लागि प्रदेश सरकारभन्दा बढी स्थानीय सरकार सक्रिय हुनुपर्ने बताए ।
“प्रदेश सरकार पछि बनेको हो । पहिलो जिम्मेवारी स्थानीय सरकार नै हो । प्रदेशको मन्त्रीलाई गएर भनेट्न कठिन छ । सिंहदरबारमा पुग्न कठिन छ । तसर्थ जनताको पहुँच पुग्ने सरकार नै स्थानीय सरकार हो । तर, स्थाानीय तहमा थोरै बजेट छ । लघु उद्यमसँग कुरा गर्न कठिन छ,” उनले भने ।
नगर सरकारले लगानीका क्षेत्र पहिचान गरी टिम बनाएर बैंकहरूलाई लगानी गराउनुपर्ने उनले बताए ।
कार्यक्रममा धनकुटा नगरपालिका उपमेयर सकुन्तला बस्नेतले धनकुटाको विकासका लागि पाश्र्वचित्र बनाएको बताइन् ।
एभोकार्डोका लागि धनकुटा एसियाको राजधानी भएको जानकारी दिँदै उनले किसानलाई बेमौसमी तरकारी उत्पादनका लागि प्लाष्टिक टनेल, गोबरग्यास जडान, मल प्रशोधन गर्ने नयाँनयाँ प्लान्ट प्रदान गरेको जानकारी दिइन् ।
धनकुटा नगरपालिका निकै मितव्ययी बनेर अघि बढेको बताउँदै उनले आफूसँग भएको बजेटको सही सदुपयोग गरेको बताइन् ।
“हामीले अस्पतालका लागि दुईवटा एम्बुलेन्सको व्यवस्था गरेका छौँ । महँगा गाडी किनेका छैनौँ,” सो क्रममा उनले भनिन् ।
उद्योगी र व्यवसायीका कुरा गलत नभएको बताउँदै उनले समस्या समाधानका लागि पहल भइरहेको बताइन् ।
“१० वटै वडामा सडक पुगेको छ । तर, चिल्लो बनाउन सकिएको छैन । डोलीमा बिरामी बोक्नुपर्ने र टाढाबाट पानी बोक्नुपर्नेजस्ता समस्या अन्त्य भएका छन् । हामीलाई माथिबाट आउने बजेट अपुग भएको छ,” उनले भनिन् ।
सरकारले महिला तथा युवा व्यवसायीका लागि सहुलियतपूर्ण ऋण व्यवस्था गरे पनि धितो राखेर ऋण लिनुपर्ने, प्रक्रिया झन्झटिलो भएको र स्थानीय निकायले सहजीकरण नगरेको उनको भनाइ छ ।
राउन्ड टेबलमा सहभागी स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायी, युवा तथा महिला व्यवसायी, घरेलु तथा साना उद्योग व्यवसायी, प्रशासकीय अधिकृतलगायतले जिल्लामा भएका अवसर, चुनौती र समस्या एवं समाधानको विषयमा व्यक्त गरेको कुराहरू यस्ता छन् ।
युवा उद्यमी : सुनीलकुमार डंगोल
युवा व्यवसायमा सहभागी हुन चाहन्छन् । सरकारले वैदेशिक रोजगारबाट फिर्ता भएकाहरूलाई सहुलियत ऋणको व्यवस्था गरेको छ ।
विदेशबाट आएका साथीहरू प्रविधिको प्रयोगमा अभ्यस्त हुन्छन् । तर, नेपालमा सम्भव छैन । प्रविधिको विकासमा स्थानीय सरकारहरूले ध्यान दिइरहेका छैनन् ।
ऊर्जाशील व्यक्ति केही गरूँ भनेर स्वदेश आउँछन् । तर, उपयुक्त वातावरण छैन । बैंकमा जाँदा सहज रूपमा ऋण पाउन सक्दैनन् ।
प्लाइ बनाउन धनकुटाबाट उतिस तराईं लगिन्छ । यहीँ प्रशोधन गर्न सके राम्रो हुने थियो ।
परम्परागत रूपमा काम गर्दा उत्पादनमा बढी लागत लाग्ने गरेको छ । हामीले हाम्रा सामग्री बाहिर निर्यात गर्न सकिरहेका छैनौँ । जसका कारण शोधान्तर घाटा बढिरहेको छ । चीनले काठको धुलोको फर्निचर बेचिरहेको छ ।
सरकारले बिलासी बस्तुको आयतलाई रोक्ने भनेको छ । तर, अहिलेसम्म रोकिएको छैन । सरकारले एलसी क्यान्सिल गरेको छ । त्यस्ता बस्तु ल्याउँदा नगद धरौटी राख्नुपर्ने अवस्था छ ।
प्रविधिको प्रयोग गरी वस्तु उत्पादन गर्न सकेमा आयत घटाउन सकिन्छ ।
कोभिडका कारण व्यवसायमा ठूलो असर परेको छ । विनाधितो सहुलियत ऋण प्राप्त गर्नसके ऊर्जावान् उद्यमीले स्वदेशमै काम गर्थे ।
कोभिडका कारण सबै उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । ठेकेदारले समयमा काम सक्दा पनि पैसा आउन सकेको छैन ।
तारा तितुङ, महिला उद्यमी तथा वरिष्ठ उपाध्यक्ष– उद्योग वाणिज्य संघ, धनकुटा
धनकुटामा महिलाको सक्रियता र लगानीमा उद्यमको संभावना छ । महिलाले निःशुल्क तालिम पाएका छन् । स्थानीय तहमा अहिले पनि उद्यमशील तालिम भइरहेको छ ।
घरेलु र स्थानीय तहले दिएको खुकुरी, ढाका, सजावट सामग्री, बाँसको हाते होजियारी बनाउने तालिमबाट धेरै उद्यमी भएका छन् । तर, त्यसको यकिन तथ्यांक छैन । तामिको प्रभावकारिता कति छ भनी हामीले खोज्नुपर्छ ।
एक जनाले एकभन्दा बढी तालिम लिएको पाइन्छ । यसरी धेरै क्षेत्रमा तालिम लिनुभन्दा एकै विषयमा निपूर्ण हुँदा राम्रो हुन्छ ।
विगतमा सिकेका कुराको प्रदर्शनी हुन्थ्यो । केन्द्रले सम्मान गर्दथ्यो । मैले पनि भाग लिएर राष्ट्रिय पुरस्कार पाएकी थिए । अहिले सीप सिके पनि उत्पादित वस्तु कहाँ देखाउने भन्ने छ । आफूले गरेको कामको प्रदर्शन र मूल्यांकन हुँदा त्यसले प्रोत्साहित गर्छ ।
विगतमा घरेलुले प्रदर्शनी गर्ने गरेको थियो । उत्कृष्ट हुनेहरूलाई उद्योग मन्त्रालयले विदेश भ्रमणमा लैजान्थ्यो । अहिले यी सबै बन्द भएका छन् ।
महिला उद्यमीलाई पाँच लाखदेखि पन्ध्र लाखसम्म बिनाधितो ऋण दिइन्छ । तर, स्किम राम्रो लेख्नेले सुविधा पाएका छन् ।
वास्तविक व्यवसायीले पाइरहेको छैन । महिला उद्यमी स्किम लेख्न सक्दैनन् नियम त पालना गर्नुपर्छ । निकायले आफैँ स्किम लेख्ने व्यवस्था गरिदिनुपर्छ ।
कोभिडका कारण महिला उद्यमी पनि पलायन भए । अहिले उद्यम गर्नेले ऋण र सुविधा पाएका छैनन् । घरेलुबाट ऋण लिँदा ६ प्रतिशत ब्याज थियो । धनकुटाको बजार क्षेत्रमा बैंक छन् । बैंकको शाखा सबैतिर बस्नुपर्छ ।
२०५४ सालमा तालिम लिएपछि मैले एउटा मेसिनबाट प्रशिक्षण केन्द्र खोलेँ ।
डम्बरराज काफ्ले (कोषाध्यक्ष) : होटेल एसोसिएशन जिल्ला धनकुटा
कोरोनाका कारण विगत तीन वर्षदेखि होटेल व्यवसायी ठूलो मारमा परेका छन् । व्यवसाय बन्द भएको छ । आफ्नो संरचनामा व्यवसाय गर्नेभन्दा पनि भाँडामा र बैंकबाट ऋण लिएर व्यवसाय गर्नेहरु समस्यामा छन् ।
कोरोना महामारीबाट अधिक प्रभावित हुनेमा होटेल क्षेत्र पनि हो । व्यवसायीले बैंकको ब्याज तिर्न र खर्च धान्न सकिरहेका छैनन् ।
राज्यले होटेल व्यवसायीलाई पनि सहुलियतको व्यवस्था गरेको छ भनेको छ । कसले दिने हो ? राज्यले के गर्न खोजेको हो ।
केही थाहा छैन । बैंक जाँदा धितोको कुरा गर्दै कसरी तिर्छौ ? व्यवसाय चलेको छैन भन्छ ।स्थानीय तहले पनि होटेल व्यवसायलाई वास्ता गर्दैन ।
हरेक वर्ष पर्यटकीस्थल भेडेटारमा अंग्रेजी नयाँ वर्षको अवसरमा फुड फेस्टिभल हुन्छ । सिधुवाले पनि कार्यक्रम गर्छ । तर, कसरी उठाउने भन्ने नगरपालिकाको देखिएन ।
मानिस आउने क्रम घटेको छ । होटेल व्यवसाय चल्नु भनेको पर्यटन प्रवद्र्धनको आधार हो । आउनेहरुका लागि पनि बास बस्ने, चिया खाने वातावरण छैन । यतिखेर लोकसेवाका कारण मात्रै धनकुटा सदरमुकामका होटेल व्यवसायी बाँचेका छन् ।
होटेल व्यवसायीले नगरपालिकामा प्रस्ताव पेस गर्दा बजेट कोभिडले खायो भन्ने जवाफ आउँछ । होटेल व्यवसायी भनेका भाँडा माझ्ने हुन भन्ने मानसिकता छ ।
व्यवसायीलाई उजागर गर्नका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबीच नीतिगत समझदारी हुन जरुरी छ ।
अर्जुन केसी (अध्यक्ष) : नेपाल निर्माण व्यवसायी संघ, धनकुटा
निर्माणसँग सम्बन्धित काम भइरहेको छ । उपभोक्ताबाट भएका कतिपय कमजोरीका कारण गुणस्तरको विषयमा प्रश्न उठाइन्छ ।
उपभोक्ता समितिमा बस्ने साथीहरुले इमानदारितापूर्वक काम गरे राम्रो हुने थियो । यो पेसामा म आबद्ध भएको पच्चीस वर्ष भयो । स्टक्टर फेरिएर आउँछन् ।
राजनीतिक कारण देखाएर काममा अवरोध हुन्छ । बिजुलीका पोलजस्ता स–साना समस्या र समयमा भुक्तानी नहुँदा ठेकेदारले समयमा काम गर्न सक्दैनन् ।
अधिकांश योजना हामीले उधारोमा काम गरेका हुन्छौंँ । खल्तीमा पैसा राखेर काम गरिँदैन । सजक भएर काम गर्छौँ । काम छिटो गर्नसके हामीले दश प्रतिशतसम्म बोनस पाउँछौँ । समय तोकेर भुक्तानी भए काम गर्न सहज हुने थियो ।
नगेन्द्र राई (अध्यक्ष) : नेपाल पत्रकार महासंघ, धनकुटा
मिडिया पढेर राजनीतिक रूपमा विचार निर्माण हुन्छ । तर, आर्थिक समृद्धिका लागि भने यस्तो परिपाटी भएको छैन । मिडियाले सबै सूचना दिन सकेको छैन । मिडियाकर्मी जति सक्षम र विज्ञ हुन्छन् देश निर्माण्मा त्यति नै सहयोग पुग्छ ।
न्यूयोर्क टाइम्सले कुनै विषय कभरेज गर्नु ठूलो कुरा हो । उसले कभरेज गरेको कुनै विषय एकैचोटि एक करोडसमक्ष पुग्छ ।यहाँ एउटा पार्टी सत्तामा पुग्दा अरुलाई अनागरिक भन्ने धारणा छ । सत्तामा दलभन्दा बाहिरका नागरिकको पहुँच हुँदैन ।
देश विकासका लागि राज्यले दायित्व लिनुपर्छ । यदि राज्यले दायित्व नलिए निजी क्षेत्रले लिनुपर्छ । तर, यहाँ निजी क्षेत्रले राज्यलाई आफ्नो अभिभावको रुपमा हेरिरहेको छैन ।
त्यसैगरी, राज्य र मिडिया एकअर्काप्रति उत्तरदायी छैनन् । विचार निर्माण गराउने मिडियाको जिम्मा हो । तर, मिडिया आफ्नो जिम्मेवारी निर्वाह नगरिरहेको हो कि भन्ने देखिन्छ ।
मिडियाले कार्यकारी रूपमा विचार निर्माण गराउनका लागि सन्देश र कन्टेन्ट निर्माण गर्नुपर्छ । कहाँ समस्या छ ? कहाँ लक्ष्य बनाउने र समाचार प्रकाशन गर्ने भन्दा पनि घटनामा केन्द्रित भएको देखिन्छ ।
प्रदेश–१ को समृद्धिका लागि राज्यले पर्यटन, संस्कार, आर्थिक विकास प्रचार–प्रसार गर्न उत्प्रेरणा गराउनुपर्छ । अपुरा कुरामा सरकारले हिट गर्नुपर्छ ।
खगेन्द्र सुवेदी,अध्यक्ष : जिल्ला सहकारी संघ, धनकुटा
सार्वजनिक, निजी र सहकारी क्षेत्र विकासका संवाहक हुन् । यी तीनवटै क्षेत्रले आ–आफ्नै किसिमले सेवा प्रवाह गर्छन् । सहकारीले जनजाति महिलासम्म पुगेर व्यवसायमार्फत् सेवा प्रदान गर्छ ।
प्रदेश–१ मा तीन सय २४ सहकारी भए पनि एक सय ५० मात्रै क्रियाशील छन् । एक सय ४० कृषि सहकारी छन् । उत्तरी ६ थर, जोरपाटीलगायत स्थानमा दूग्ध र तरकारी उत्पादनमा अधिक योगदान गरेका छन् ।
वचत ऋणका ७० सहकारी छन् । तीमध्ये आधाजति क्रियाशील छन् । यी सहकारीमा ४४ हजार शेयर सदस्य छन् । ६० करोड वचत र ४० करोड शेयर पुँजी छ । लगानीको हिसाबले तरलता अभाव भए पनि ५५ करोड लगानी छ ।
कोभिडका कारण कर्जा उठ्न सकिरहेको छैन । आर्थिक अनुशासनको छैन । बाहनाबाजी गर्छन् । आर्थिक तरलता अभाव छ । सहकारीमा समस्या देखिन्छ । सहकारी स्वनियमनबाट चल्ने संस्था हो । ठूला सहरमा जस्तो भागेर जाने भन्ने समस्या छैन ।
तर, पुँजीबजार क्षेत्रबाट आउने क्रम कम छ । गैरकानुनी हिसाबले कमाएका पैसा सहकारीमा ल्याउनेजस्तो यहाँ छैन । पुँजी कम आएको अवस्थामा जनमुखी बनाउन र आत्मनिर्भर अर्थतन्त्र विकास गर्न पुँजी सहकारीमार्फत् रोजगारी अभिवृद्धि गर्न चुनौती छ ।
सहकारी क्षेत्रलाई उचाइमा लग्न स्थानीय तहले ध्यान दिनुपर्छ । कानुनले दोहोरो सदस्यतालाई रोके पनि व्यावहारिक रुपमा कार्यान्वयन हुन सकेको छैन ।
राजेश्वरबहादुर श्रेष्ठ, अध्यक्ष : घरेलु तथा साना उद्योग महासंघ, धनकुटा
नेपालमा पछिल्लो समय व्यापार घाटा बढ्दो छ । उत्पादनलाई भन्दा पनि व्यापारलाई प्रवद्र्धन गर्न थालिएको छ । वार्षिक बजेटभन्दा बढी व्यापार घाटा भइरहेको छ । ठूला उद्योगलाई भन्दा घरेलु तथा साना उद्योगलाई प्राथमिकता राख्नुपर्छ ।
नेपालमा उत्पादन भएका वस्तुलाई प्राथमिकतामा राख्नुपर्छ । जर्मनको एडिडास जुत्ता र ब्रिटेनमा बनेको कोट लगाउँदा गौरव र स्थानीय उत्पादन प्रयोग गर्दा हुने हिनताबोधको अन्त्य हुनुपर्छ ।
उत्पादित बस्तुको कच्चापदार्थ र बाहिरबाट आयातित वस्तुको भन्सार दर उही हुँदा यहाँ उत्पादित बस्तुको मूल्य बढी हुने गरेको छ ।
यसको पछाडिको अर्को कारण मजदुर अभाव पनि हो । धेरै वैदेशिक रोजगारका लागि विदेश जाने हुँदा पनि यस्तो अवस्था सिर्जना भएको हो ।
नेपालमा उद्यमी र व्यवसायीलाई मजदुरमारा, सामन्ती ठग दृष्टिकोणले हेरिन्छ । जसका कारण उद्यमीहरु व्यवसाय छाडेर राजनीतिमा लाग्ने प्रवृत्ति बढेको छ । यहाँ बजार प्रवद्र्धनको पनि समस्या छ । २०५५ सालतिर बजार प्रवद्र्धन होस् भनेर धनकुटा नगरपालिकाले कोसेली घर चलाएको थियो ।
अर्जुन गिरी, अध्यक्ष : घरेलु तथा साना उद्योग कार्यालय, धनकुटा
यो कार्यालयबाट उद्योग र वाणिज्य दर्ता, व्यवसायीलाई सीप विकास तालिम अनुदानका कार्यक्रमजस्ता कार्यक्रम सञ्चालन हुन्छन् ।
धनकुटा जिल्ला कार्यालयमा साना उद्योग कार्यालय उद्योग र वाणिज्य भनेर दुई फर्म दर्ता हुुन्छन् । आर्थिक वर्ष २०७७/७८ सम्म दर्ता भएका संख्या उद्योगतर्फ कृषि तीन हजार तीन सय २१ र वाणिज्यतर्फ एक हजार चार सय ९३ दर्ता भएका छन् ।
दर्ता भएका यी उद्योगमा १७ हजार पाँच सयले रोजगारी पाएका छन् । जसमध्ये ११ हजार पाँच सय पुरुष र ६ हजार महिला छन् । उद्योग र वनजन्य २४ सय उद्योग दर्ता छन् ।
त्यसैगरी, पर्यटन सेवातर्फ पाँच सय, निर्माण र उत्पादनमूलक चार सय २१ उद्योग दर्ता भएका छन् । तर, कार्यालयले नियमित अनुगमन नगर्दा दर्ता भएका उद्योगको अवस्था के छ भन्ने यकिन छैन ।
हालसम्म सीप विकास तालिम दुई सयभन्दा बढीलाई दिइएको छ । कृषि, सिलाइ कटाइ आवश्यकताको आधारमा स्थानीय तहसँग समन्वय गरेर दिइने गरेको छ । तालिम लिएकाहरूको निरीक्षण नहुँदा समस्या भएको छ ।
कृषिजन्य उत्पादनलाई बजारको अभाव छ । प्रवद्र्धन गर्न पनि कठिन भएको छ । उत्पादकले थोरै मूल्य लिनुपर्ने बेच्नेलाई धेरै मूल्य चाहिने भन्ने छ । अनुदान ८० प्रतिशत छुटमा एक लाखसम्मको अनुदान दिने गरिएको छ । चालू आवका लागि ३५ जनालाई अनुदान दिने कार्यक्रम छ ।
खगेन्द्रप्रसाद घिमिरे, पूर्वअध्यक्ष : नेपाल पत्रकार महासंघ, धनकुटा
धनकुटाको भेटेटार पर्यटकीय हबको रूपमा विकास भएको छ । तर, चौबिसे क्षेत्र वा धनकुटा, सहिदभूमि, पाख्रिबासमा पर्यटनसँग सम्बन्धित क्षेत्रका संघसंस्थाले पर्यटकीयस्थल विकासका लागि काम गर्न सकेका छैनन् ।
शिक्षाको क्षेत्रमा पनि सरकारी नीति कमजोर देखिन्छ शैक्षिक रूपमा अलि सानो कक्षाबाट नै कहाँ जाने, कृषि, स्वास्थ्य, पर्यटन कहाँ जाने भन्ने नीति बनाउन जरुरी छ । पढेर पनि खाडी मुलुकतर्फ पलायन हुने क्रम बढेको छ ।
हरिगोपाल कर्मचार्या, प्रमुख प्रशासकीय अधिकृत : जिल्ला प्रशासन कार्यालय, धनकुटा
आदर्शका कुराले मात्र जिल्लाको विकास हुँदैन । हामी पर्यटकको कुरा गर्छौँ । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि हामीले कम्तीमा हप्ताको एक दिन घुमौँ । कृषिका लागि कहलिएको सहिदभूमिमा जाऔँ ।
हामी सुन्तलाको बगैंचामा गएर फोटो किन नखिच्ने ? रानीतालमा राजारानी गएर डुंगा सयर किन नगर्ने ? नागपार्क किन नजाने ? हामीले शनिबार स्थानीय खाना खान्छु भनी संकल्पन किन नगर्ने ?
बिदाको दिन पारेर म सातै पालिकाकेन्द्र पुगिसकेँ । राज्यले दिएका व्यवस्थालाई अधिक प्रयोग गरेर हामी सबै धनकुटा बनाउन लागौँ ।
रामबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत : धनकुटा नगरपालिका
संघ, प्रदेश र स्थानीय तहका कार्यक्रम एकआपसमा जोडिने भएकाले धनकुटाको विकास हुनु भनेको स्थानीय, प्रदेश र संघीय सरकारको विकास हो ।
प्रदेश–१ को समृद्धिका लागि विकास तलबाट माथिसम्म पुग्ने अवस्था देखिएको छैन । सर्वप्रथम हामी त्यो रूपमा जानुपर्छ । प्रदेश सरकारले आफ्नै योजना र कार्यक्रम बनाउँछ ।
संघले प्रदेशलाई उपलब्ध गराउने बजेट, ससर्तलगायत अनुदान क्रमशः स्वयं संघ, प्रदेश र स्थानीय सरकार हुँदै तलै आउने हुन् ।
प्रदेशले १४ जिल्लाको आवश्यकताबमोजिम काम गर्न सकेको छैन । बरु स्थानीय तहले गर्ने कार्यक्रमभन्दा साना कार्यक्रम लिएर प्रदेश सरकार अघि बढेको छ । प्रदेश सरकार प्रदेशकै नाममा आएका कार्यक्रम गर्न नसकेको अवस्थामा छ ।
धनकुटाले वार्षिक ७० करोड बजेट परिचालन गर्छ ।
सुखद जीवन यापनका लागि आर्थिक विकासलगायत अन्य कुराको पनि विकास हुन जरुरी छ । उद्योग प्रवद्र्धनका लागि साना बिस्कुट उद्योग उत्पादकलाई हामीले सहयोग र कृषिमा जोड दिएका छौँ ।
सरकारका नीति योजना र कार्यक्रम के–कति भए तिनको अनुगमन तथा मूल्यांकन हुन सकेको छैन । अनुगमन नहुँदा के–के भइरहेको छ भन्ने पनि थाहा पनि छैन ।
पर्यटकीय प्रवद्र्धन गर्न सकिन्छ कि भनेर संघ प्रदेशसँग मागि रहेका छौं । पर्यटक व्यवसायीलाई पर्यटक आएनन् भन्ने चिन्ता छ । राजनीतिक रुपमा आउनेहरु सीधै विराटगनर जान्छन् ।
जीवनप्रसाद राई, कृषि अभियन्ता
एभोकाडो ब्रान्डिङ, अर्गानिक कफीखेती पाख्रिबास नगर सरकारको महत्वपूर्ण उपलब्धि हो । साथै यो तेह्रथुमसहितका जिल्लालाई छलाङ ।
यहाँ कफी प्रशोधनको संभावना छ । यहाँ बृहत्तर बजार छ र संभावना छ । कफी रोस्टिङमा काम भइरहेको छ । धनकुटा नगरपालिकामा ड्रागनफ्रुट भित्राएर ब्रान्डिङको काम भइरहेको छ ।
यो फल भियतनाम निर्यात भइरहेको छ । त्यसैगरी, चीन र भारत पनि निर्यात हुनसक्ने सम्भावना छ । यसका अलावा यहाँ अन्य फलफूलको ब्रान्डिङको काम हुने सम्भावना पनि छ ।
चीनबाट गुन्द्रुक आउँछ । त्यसैगरी, सिन्की पनि बाहिरबाट आउँछ । यसले विदेशी उत्पादनले हाम्रो देशमा उत्पादन हुने वस्तुको बजार लिएको देखाउँछ ।
हामीले पाख्रीबासको कालोजातको बंगुरलाई ब्रान्ड गर्न सक्छौँ । धराने कालोबंगुरको रूपमा बिक्रीवितरण हुने गरेको छ । बंगुरको मासु प्रशोधन गरेर भुटान पठाउनसके धनकुटाको समृद्धिको आधार तयार हुन्छ । चीनले २२ वर्षको बजेटबराबर बंगुरमा लगानी गरेको छ ।
यहाँका आसामे मालभोग केरा पनि यहाँको आम्दानीको राम्रो स्रोत बन्न सक्छ । यो केरा तराईका अन्य केराभन्दा भिन्न निकै राम्रो मानिन्छ ।
धनकुटा मेकेडमिया नट कफीको छहारीको लागि पनि सम्भावित जिल्ला हो । यो नफुटाई बिक्री गर्दा पाँच देखि सात सय मूल्य आउँछ । यसलाई चक्लेट तथा कस्मेटिक उद्योगको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
त्यसैगरी, यसलाई जारा, मुन्टा,फललगायत एक सय प्रकारका खाद्यान्नको रुपमा प्रयोग गर्न सकिछ । यहाँ आठपहरिया, तामाङ, बाहुन, क्षेत्रीको पनि जातीय संस्कारको आधारमा होमस्टे चलाउन सकिन्छ ।
प्रदेश सरकार पछि बनेको हो । स्थानीय तहको विकास गर्ने पहिलो जिम्मेवारी स्थानीय सरकारको हो । प्रदेश सरकार र सिंहदरबारमा पुग्न कठिन छ । जनताको पहुँच पुग्ने भएकाले स्थानीय तहको विकासका लागि स्थानीय तहको भूमिका गहन छ ।
प्रदेशको मन्त्रीलाई गएर भनेट्न कठिन छ । सिंहदरबारमा पुग्न कठिन छ । बजेट स्थानीय तहको थोरै छ । लघु उद्यमसँग कुराहरू गर्न कठिन छ । इच्छाशक्तिले गर्न सकिन्छ । नगर सरकारले बैंकलाई यो क्षेत्रमा लगानी गर्नुहोस भनेर मनाउन सक्नुपर्छ ।
लघुुउद्यम पहिचान गरेर एक्पोजर टिम बनाएर हेरेर सिकाउनुपर्छ । निजी क्षेत्रको उद्योग वाणिज्य संघले गर्नुपर्छ । स्थानीय सरकार अझ जिम्मेवार छ । स्वयं उद्यमी पनि जिम्मेवार हो । यहाँ नगर, वा प्रदेश र संघले गर्छ भनेर बस्नु हुन्न ।
प्रदेश सरकार केन्द्रले जे काम गर्यो त्यसैलाई डुब्लीकेसन गर्ने गर्छ ।
विजय सन्तोषी राई (अध्यक्ष) : धनकुटा उद्योग वाणिज्य संघ
“सम्पन्न नेपाल सम्मानित नेपाली” अभियान सफल हुनका लागि आर्थिक समृद्धि आवश्यक छ । प्रदेश–१मा संसारकै अग्लो हिमाल र नेपालको होचो भूभाग भएको प्रदेश पर्छ । यो प्रदेशमा कृषि उत्पादनको सम्भावना छ ।
प्रदेश–१ मा भएका पहिचान र सामथ्र्यलाई परिचालन गर्नसके देश विकासको आधार बन्न सक्छ । प्रदेश–१ बाट वर्षेनी अर्बौ रूपैयाँबराबरको तरकारी स्वदेश तथा विदेश निर्यात हुन्छ ।
धनकुटाको काखमा अवस्थित नदीको पानी उपयोग र यहाँको विकासका लागि धनकुटावासी एक हुनुपर्छ । जसका लागि दीर्घकालीन सोच र योजनाको आवश्यक छ ।
हामीले हाम्रा प्राकृति र सांस्कृतिक कुरालाई उपयोग गरी रोजगार सिर्जना गर्न सके धनकुटाबाट बाहिरिने एक लाख युवा यहीँ रोजगार हुन्छन् ।
यहाँ पर्यटकसम्बन्धी काम गर्न सक्ने धेरै आधार छन् । प्रकृतिले दिएको चिज र हामीले उत्पादन गरेका बस्तुको बढी प्रचार गरियो भने मानिस आउँछन् र बजार बढ्छ ।
हाम्रो मुख्या चुनौती राजनीतिक अस्थिरता हो । सरकारले बनाएका नीति नियम कार्यान्वयन सरकार फेरिने र त्यसले ती नीति नै परिवर्तन गर्ने वा सोबमोजिमको काम नगर्ने प्रचलन छ ।
पछिल्लो पटक स्वास्थ्यको समस्या कोभिडका कारण पनि उद्योग व्यवसाय संचालन गर्न कठिनाइ भएको छ ।
प्रक्रियागत र नीतिगत समस्याका कारण पनि लगानी गर्न कठिनाइ छ । यसका बाबजुत उद्योगी व्यवसायी आर्थिक समृद्धिमा सहयोग गरिरहेका छन् । स्थानीय उत्पादनलाई अनिवार्यता गर्न सकिएको छैन । स्थानीय सरकारले स्थानीय उत्पादनलाई अनिवार्य र बजारीकरण गरी सरकारी कार्यालयमा अनिवार्य गरे नागरिकले सो वस्तुको उपयोग गर्थे ।
सकुन्तला बस्नेत, उपप्रमुख : धनकुटा नगरपालिका
राजनीतिक आन्दोलन सकिएको छ । अब देश विकास गर्नतर्फ लाग्नुपर्छ । धनकुटाको विकासका लागि पाश्र्वचित्र बनाइएको छ । यहाँको जनजीवन अझै असहज छ । अझै पिछडिएका जातजाति छन् । धनकुटामा मात्रै बसोबास गर्दै आएको आठपहरिया जाति शिक्षबाट पिछडिँदा उनीहरुको जनजीवन पनि कष्टकर छ ।
धनकुटा नपाभित्रका असहायक जनतलाई खरको छानोमुक्त अभियान जारी छ । त्यसैगरी आर्थिक उपार्जजनका लागि सीपमूलक शिक्षा दिने काम हुँदै छ ।
हाल ७० प्रतिशत जनता कृषिमा आधारित छन् । सुन्तलाबाट आम्दानी लिँदै आएका केही वडाका कृषक रोगका कारण पीडित छन् । धनकुटालाई एभोकार्डोका एसियाकै राजधानी भनी घोषणा गरियो । र, आवश्यक काम पनि गरिएको छ ।
कृषकलाई बेमौसमी तरकारी उत्पादन गर्न प्लाष्टिक टनेल, गोबर ग्यास जडान र मल प्रशोधन गर्ने नयाँ प्लान्ट उपब्ध गराएका छौँ ।
नगरपालिकाकै बजेटबाट एम्बुलेन्स किन्नेलगायत जनस्वास्थ्यका काम भएका छन् । हामीले गाडीमा रकम खर्चेका छैनौँ । हामीले उद्यागी व्यवसायीलाई सहयोग गर्न सकेका छैनौँ ।
आर्थिक उपार्जनका लागि दूध उत्पादन पनि एक हो । हामीले गोठ सुधार र गाई खरिदका लागि साठी प्रतिशतसम्म अनुदान र टेम्पो खरिद गर्न सहयोग भएको छ । किसानलाई अनुदान दिएका बीसवटा बाख्रा तीस वटा भएका छन् ।
पर्यटन प्रवद्र्धनका लागि चुलीवन र हिलेमा टावर निर्माण गरिएको छ । फोहोर फ्याँकिएको ठाउँमा फूलबारी निर्माण गरिएको छ । तर, यो पर्याप्त होइन ।
हामी आउँदा जुन उद्देश्यका साथ आएका थियौँ । यो पौनेपाँच वर्षको अवधिमा इमानदारितापूर्वक काम गरेका छौँ ।
एक/अर्कालाई गाली गर्ने राजनीतिक परिपाटी छ । जो सरकारमा जान्छ उसले आमूल परिवर्तन गर्नुपर्छ भन्नेछ । यो प्रवृतिको अन्त्य हुनुपर्छ । एउटा सरकारले एउटा योजना बनाएर ल्याउँछ अर्कोले फेरबदल गरिदिन्छ । जो गए पनि विकास गर्ने हो । हामीले इमानदारिता देखाउन सक्नुपर्छ ।
पछिल्लो समय जिल्लामा जाँडरक्सी पनि विकृतिको रुपमा देखा परेको छ ।
त्यसैगरी, जिल्लामा वैदेशिक रोजगारका कारण परिवारमा समस्या बढ्दै गएका छन् । केही वर्षयता धेरै दिदीबहिनीले अधिकारको दुरूपयोग गरी खाँडीमा श्रीमानले कमाएको सम्पति उडाउने गरेका घटना बढिरहेका छन् ।