दीपक दाहाल
सँगै छोएको थियो
बिहानीको घामले क्षितिज
र मेरो शिरले आमाको पाउ
करेसानजिकैको रूखमा भएको
आफ्नो घर छोडेर
निस्किएका थिए एक जोडी ढुकुर
उसैगरी
सँगै निस्किएको थिएँ
गुँड छोडेर म
उसैगरी
सँगै निस्किएका थिए
आँखा छोडेर
केही थोपा आँसु
आज म
यो ठूलो सहरको घेराभित्रको
सानो डेरामा
घडीको पेन्डुलमझैँ
दायाँ–बायाँ गर्दै
भित्ताको ऐनामा हेरिरहेछु
पखेटा नभएको चराजस्तै
आफ्नो शरीर
गरिरहेछु आमामाथि झुटको खेती
मुटु निचोरेर दिइरहेछु
हरेक प्रश्नहरूको रेडिमेड जवाफ
‘सन्चै छु’
‘खाना खाएँ’
मुटु निचोरेरै जोगाउनु छ
मेरो अस्तित्व
गला रोकेरै बनाउनु छ
आफ्नो पहिचान
गाडीको बाटो हुँदै
गाउँबाट मेरो नाममा
हरेक महिना आउँछन्
पुरानो धानको चामल
र, चामलसँगै आउँछन्
केही नयाँ नोटहरू
नोटको संख्याको एउटा सुई घटिरह्यो
मेरो स्वाभिमानको एउटा सुई बढिरह्यो
र, म पेन्डुलमजस्तै भइरहेँ ।
कसैले एउटा सानो बललाई
आफ्ना खुट्टाले निसाना लगाउँदा
लाग्छ, ती खुट्टाहरू मेरा भइदिऊन्
सुन्दर कविता लेख्ने कलम मेरो भइदेओस्
चराले गाउने भाका मेरो भइदेओस्
घाम झुल्कियोस्
उज्यालो मेरो भइदेओस्
जून देखियोस्
शीतलता मेरो भइदियोस्
इन्द्रेणीमा मेरो रङ सजियोस्
कणकणमा आफ्नो अस्तित्व खोज्दै गर्दा
कोष–कोषमा आफ्नो पहिचान खोज्दै गर्दा
म पेन्डुलम बनिरहेछु ।
पेन्डुलम सिर्फ पेन्डुलम हैन
घडीको अर्थ हो
यदि रोकियो भने पेन्डुलम
घडीले समयलाई चिन्न छाड्छ
समयले घडीलाई बिर्सिन्छ
आजकल
संसारबाट डाइनोसर हराएजस्तै
मुटुमै बसेको कोही हराएजस्तै
हराइरहेछन्
घडीबाट पेन्डुलम
तैपनि,
म एउटा पेन्डुलम
उसैगरी दायाँ–बायाँ गरिरहेछु
र, खोजिरहेछु आफ्नो पहिचान
खोजिरहेछु आफ्नो अस्तित्व
बनाइरहेछु जीवनको अर्थ
आधुनिकताले छोप्न नसकेको
म एक पेन्डुलम