site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निजामती सेवामा गरिएको त्रुटि

वि.सं.२००९ को बुच कमिसनदेखि थालिएको प्रशासनका सुधारको अभियानले सात दशक पूरा गरे पनि देशमा प्रशासनयन्त्र बलियो छैन । प्रशासन सन्चालन गर्ने कार्यपालिका अस्थिर छ । व्यवस्थापिका र न्यापालिकाको अवस्था पनि राम्रो देखिँदैन । 

प्रशासन प्रतिभामुखी छैन । देश राजनीतिक संघयीतामा त गयो तर प्रशासनमा तदनुरुप परिवर्तन भएन । राजनीतिक सत्ताका निकट कर्मचारीलाईे सेवा निवृत्त  हुने बेला भएपछि आकर्षक अन्य पदको लोभ देखाएर राजीनामा गराएर अर्को पदमा नियुक्त गर्ने र योग्य वरीय कर्मचारीको तेजोबध गर्ने परम्परा बसालियो । योग्यता, विज्ञता र क्षमताको प्रश्नभन्दा पनि भेट र भेटीलाई प्रश्रय दिइयो । 

अहिले सरकारले सार्वजनिक पदमा नियुक्ति पाउन सेवा निवृत्त भएको २ वर्ष पूरा हुनुपर्ने विषयमा छलफल भएको सुनिएको छ । त्यसका लागि अध्यादेशभन्दा संसद्बाटै पारित गर्नु राम्रो हुन्छ । संसद्मा पेस भएको निजामती सेवा विधेयक अहिले सरकारले फिर्ता लिएको छ । संघीय निजामती कानुनको अभावमा कर्मचारी व्यवस्थापन समस्यामा परेको छ ।

करारका कर्मचारीलाई कार्य सम्पादन मूल्यांकन फाराम भराउन सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, ७ वटै प्रदेश तथा स्थानीय तहलाई यही कार्तिक ३० गते  परिपत्र गरेको छ । साबिकमा करारमा कर्मचारी भर्ना गर्न नपाइने प्रावधान थियो । एकाध स्थानमा तल्ला तहका सहयोगी कर्मचारी म्यादी, अस्थायी रुपमा मात्र लिन सकिन्थ्यो ।

अस्थायीरुपमा केही कर्मचारी विज्ञापन गरेर अन्तर्वार्ता कमिटीले छनोट गरेपछि बढीमा ६ महिनाको लागि लिइन्थ्यो र लियन पदमा लोक सेवा आयोगले योग्यताका आधारमा पदपूर्ति गरेपछि स्वतः हट्थ्यो । 

अहिले पहुँचका आधारमा पदपूर्ति हुने अनि तिनलाई बिदा गराउन नसकिने अवस्था छ । दैनिक ज्यालादारी, करारका कर्मचारीलाई पनि दल विशेषका युनियनहरुले अवकाश दिन दिँदैनन् । हाल यस्ता कर्मचारी स्थायीको एक तिहाइ ३० हजार जति छन् । 

पहिलेमा यस्ता कर्मचारीको सम्पत्ति विवरण लिइने प्रवधान पनि थिएन । हाल धेरै वर्षदेखि सम्पत्ति विवरण बुझाउनुपर्ने गरिएको । अब कार्य सम्पादन मूल्यांकन फाराम भराउने गरी व्यवस्था गरिएको छ । 

सिधै हटाउन नसकिए पनि म्याद थपका लागि १०० पूर्णांकको आधारमा सुपरिवेक्षकले ४०, पुनरावलोकन कर्ताले ३० अंक भार र पुनरावलोकन समितिले ३० अंक नम्बर दिने अर्थात् बढुवा प्रयोजनका लागि जस्तै मूल्यांकनका आधारमा म्याद थप गरिन लागेको देखिन्छ । यसरी नम्बर दिँदा कुल अंक भारको ७५ प्रतिशतभन्दा कम वा ९५ प्रतिशतभन्दा बढी दिनु पर्दा कारण खुलाउनुपर्छ ।

मूल्यांकन मापदण्ड भने ५ परिच्छेदमा १८ बुँदा तोकी विषयवस्तुको ज्ञान, सीप, अनुशासन, आचरण, शिष्टाचार, समयको पालना, नियमितता, सरोकारवालाप्रतिको व्यवहार, कामको प्रभावकारिता आदि तोकिएको देखिन्छ ।

सैद्धान्तिकरुपमा जेजस्तो प्रवधान बनाए पनि व्यवहारमा आप्mनो मान्छे तान्ने परम्परा भने हाम्रो निजामती सेवाजत्तिकै पुरानो ।

पछिल्ला दिनहरुमा दलीयकरण बढी भएको छ र उपल्लो तहको दरबन्दी भएको गृह प्रशासनजस्तो संवेदनशील कार्यालयको कमान्डर बनाउन तल्लो तहको कर्मचारी खटाउने गरिएको छ ।

गृह प्रशासनमा माथिल्लो सहसचिव तहका कर्मचारी मन्त्रालयको बरन्डामा घाम तापेर समय बिताउँछन् वा ‘हाटा‘ गर्छन् त।

जिल्ला प्रमुख भने दलका नेताको सिफारिसमा तल्ला तहका जाने गर्छन् । गृह प्रशासनमात्रै होइन सबैजसो मन्त्रालय वा अन्तर्गत कनिष्ठ कर्मचारीलाई सोर्सफोर्सको आधारमा हाकिम बनाइ पठाउने गरेको पाइन्छ । 

पहिले सामान्य प्रशासन मन्त्रालय अलग रहँदा पनि यो रोग थियो । अतिरिक्त समूहमा कर्मचारी थन्क्याइन्थ्यो । अहिले राजनीतिका निकायहरुको व्यवस्थापन गर्ने संघीय मन्त्रालयमा सामान्य प्रशासनलाई गाभेपछि दसैंमा बोका, खसी जसरी छान्न सजिलो भएको छ । अब राजनीति नगर्ने कर्मचारी पाउन गहारो छ । भेट र भक्ति नगर्नेको समयमा सरुवा, बढुवा हुँदैन, राम्रो दरबन्दीमा पदस्थापना हुँदैन ।

सार्वजनिक प्रशासनको मूल ध्येय शान्ति, सुरक्षा र सेवा प्रवाह होे । नवीन सार्वजनिक प्रशासनमा विकास प्रशासनको माध्यमबाट प्रजातान्त्रिक शासन व्यवस्था सञ्चालन गर्ने गरिन्छ । मुलुकको सामाजिक र आर्थिक समृद्धिका लागि सार्वजनिक प्रशासन दरो हुनुपर्छ । ठूला चुनौतीसँग सामना गर्दै देशलाई सुशासनका बाटामा लाने काम निजामती प्रशासनकै हो । 

विकसित देशमा यो यन्त्र बलियो हुँदा नै देशले काँचुली फेरेको हो । छिमेकी भारतमै पनि सरकार परिवर्तन हुँदा प्रशासन अविचल रहन्छ । नीतिनिर्माण, कार्यन्वयनमा खासै समस्या आउँदैन, तथ्यांकमा समस्या हुन्न, क्रम भँग पनि हुँदैन । 

नेपालजस्ता देशमा यसको अभ्यास नितान्त बेग्लै छ । हरेक परिवर्तनमा शून्यबाट सुरु गर्नुपर्छ । फलस्वरुप, देश परिवर्तनपिच्छे पछिल्तिर धकेलिएको हुन्छ । हाम्रोजस्तो सीमित स्रोत साधन प्रयोगबाट परिणाममुखी उपलब्धी, पारदर्शी र प्रभावकारी, मितव्ययी र कुशल व्यवस्थापन गर्नु भनेको निकै जटिल विषय बनेको छ  ।

यो शताब्दीमा निजामती प्रशासनमा विकास प्रशासनको अवधारणा र महत्त्व बढ्दै आएको छ । विकासका उद्देश्य पूर्ति हेतु सञ्चालित योजना, रणनीति, कार्यनीति, कार्यक्रमहरु प्रविधिको छनोटदेखि प्रशासकीय सुधार र संस्थागत विकाससम्म यसका अभिन्न अंग एवं परिपूरक तत्त्व बन्न पुगेका छन् । 

मानव संशाधन र यसको विकास, क्षेत्रीय, प्रादेशिक सन्तुलन एवं सामुदायिक भावनाले थप पश्रय पाउँदै जानाले विकास प्रशासनको क्षेत्र विस्तार हुँदैआएको छ । यसैले शासकीय स्वच्छता र सुशासन प्रवद्र्धनलाई  प्राथमिकतामा राखी सबै क्षेत्रमा सदाचार पद्धतिको अनुशरण हुनु जरुरी छ । 

भ्रष्टाचार रोक्न कानुनी सुधार, नियामक निकायको क्षमता अभिवृद्धि, संघीय शासन प्रणालीको सोच र कार्यशैलीको विकास, सार्वजनिक पदाधिकारीको जवाफदेहिता, सरकारी सेवाको सरलप्रक्रिया, घर दैलोमा सेवा प्रवाह धेरै विषयहरु छन् । 

कर्मचारीलाई कामप्रति सजग गराउन, सेवाग्राहीप्रति उत्तरदायी बनाउन, समयमै काम सम्पन्न गराउन, उत्कृष्ट नतिजा दिने कार्यसंस्कृतिको विकास गराउन राजनीति नेतृत्वको भूमिका हुन्छ । नेतृत्व आफैँ चुक्यो भने कर्मचारीलाई कामप्रति जिम्मेवार बनाउन सकिँदैन । अहिले न्यापालिकामा देखिएको समस्याबाट स्पष्ट हुन्छ । 

मन्त्रालयको नेतृत्व लिने सचिवहरु राजनीतिको कोपभाजनमा परे । एक स्थानमा ६ महिना नबिताई सरुवामा परे । कोही ३ वर्षमा ७ पटक सरुवामा परे । कोही त १ महिना नपुग्दै पनि सरुवामा परे । स्थिर प्रशासन र कार्य योजना लागू गर्ने भन्दै सचिवहरुसँग १ वर्षे कार्य सम्पादन सम्झौता भएको हो । प्रधानमन्त्रीले मन्त्रीसँग र मन्त्रीले सचिवसँग कार्य सम्पादन सम्झौता गरिएको थियोे । तर, सम्झौताको मसी सुक्न नपाई सरुवामा गरियो । 

कम्तीमा पनि एउटा मन्त्रालयमा २ वर्ष काम नगरी सचिवले आफ्नो दक्षता देखाउन कठिन हुन्छ । नयाँ आउनेलाई अर्कोले बनाएको कार्य योजना कार्यान्वयन गराउन गाह्रो पर्छ । स्वास्थ्यजस्तो प्राविधिक मन्त्रालयमा ९ महिनामै ४ जना सचिव फेरिएको पनि देखियो । 

नेपालको संविधानले स्थानीय तहलाई स्थानीय सरकारको रूपमा परिकल्पना गरेको छ । सुशासन सेवा प्रवाहका लागि स्थानीय तह घर दैलोको सरकार हो । यसमा पनि सक्षम र सबल अनि दक्ष कर्मचारी आवश्यक हुन्छ ।  अहिले स्थानीय तहमा बेरुजु बढी छ, दक्ष कर्मचारीको आपूर्ति भएको छैन र त्यहाँ कर्मचारी जान मान्दैनन् । संघीयता नाममात्रको भएको छ । 

प्रशासनिक क्षेत्रमा कार्यसम्पादन भरपर्दो छैन । कुन कर्मचारी कहिले बढुवा हुने हो भन्ने पूर्वानुमान प्रणाली छैन । नियुक्ति दिंदा नै कति वर्ष कहाँ बस्नुपर्ने, सरूवा, बढुवा के कसरी कुन समयमा हुने ती सबै विवरण, कार्ययोजना, कामको जिम्मेवारी विवरण पहिले नै तोक्ने अभ्यास छैन । 

पहुँचका आधारमा सरूवा ,बढुवा, सुविधा, विदेश भ्रमण हुने भएपछि कर्मचारी सेवाभन्दा चाकरीतिर लाग्नु स्वाभाविकै भयो ।

वैज्ञानिक र भरपर्दो निजामती सेवाविना राजनीतिक नेतृत्व पनि सफल हुनसक्दैन भन्ने हेक्का राखिएन । समस्याको जड यही हो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  ०९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro