असल मुंग्रे केरा कि त मही हवस् बेस अमिलो
कि त सेता मूला कि त बरु हवस् साग उसको ।
असल हुन्थ्यो धुपमा नतर कसरी खानु यसरी
भुटी ल्यायौ थालमा मकइ तिमीले क्यान यसरी ।
करिब १६० वर्षअगाडि आदिकवि भानुभक्त आचार्यले कतै घुम्न गएको बेला एउटा घरमा भुटेको मकै खान दिँदा यो श्लोक रचेका रहेछन् । काम विशेषले वा यत्तिकै घुम्न जाँदा नचिनेका मानिसका घरमा पाहुना लाग्ने नेपाली चलन पुरानै हो । साँझका पाहुना देउता समान हुन्छन् भन्ने हाम्रो सांस्कृतिक मान्यतालाई संसारमै उत्कृष्ट मानिन्छ ।
विशेषगरी ०५२ अघिसम्म नेपालका अधिकांश ठाउँमा जो जुन घरको दैलोमा पुगे पनि स्वागत पाउँथ्यो । घरबेटीको आत्मीय व्यवहार पाउँथ्यो । तर, माओवादी र राज्यको द्वन्द्व सुरु भएपछि यो संस्कार नै संकटमा पर्यो । कसैको घरमा पाहुना लाग्नु वा बास माग्नु असम्भवजस्तै भयो ।
द्वन्द्वको अन्त्यपछि बन्द भएका दैला अतिथि र आतिथ्यताका लागि पुनः खुल्न थाले । आन्तरिक पर्यटनको अवधारणा आएपछि पाहुना पर्यटक हुन थाले । गोरो छालालाई मात्र पर्यटक मान्ने धारणा कम हुन थाल्यो । ग्रामीण क्षेत्रसम्म पर्यटकमैत्री पूर्वाधार बन्न थाले । आफू बसेकै घरलाई पर्यटकीय प्रयोजनमा लगाएर केही आम्दानी गर्ने उद्देश्यसहित देशैभर होमस्टेको लहर चल्यो ।
तर, पर्यटनको विकास हुनलाई पूर्वाधारमात्र भएर पुग्दैन । पर्यटकमैत्री वातावरण पनि चाहिन्छ । पर्यटकमैत्री वातावरण भएन भने जतिसुकै राम्रो सेवासुविधा भएपनि पर्यटक रमाउन सक्दैन ।
गोरखा मनकामना, गोरखा दरबार र तनहुँको बन्दीपुर सय किलोमिटरभन्दा कम दूरीभित्र पर्ने पर्यटकीय गन्तव्य हुन् । तीनवटै गन्तव्यका आ–आफ्नै विशेषता छन् । पर्यटकलाई आवश्यक सेवा सुविधा पनि छन् । तर, पर्यटकमैत्री वातावरण भने बन्दीपुरमा मात्रै छ भन्दा पनि हुन्छ ।
आन्तरिक पर्यटकको रुपमा हामी आफैंले यो अनुभव गरेका हौं । काठमाडौंदेखि मनकामना, गोरखा दरबार हुँदै बन्दीपुर पुगेर फर्किने उद्देश्यले हिँडेको भए पनि मनकामना र गोरखा दरबारमा मानिसहरुको व्यवहार आत्मीय पाइएन ।
कुरिनटारबाट १० मिनेटको केबलकार यात्रापछि पुगिने मनकामना हिन्दू धर्मावलम्बीका लागि प्रमुख तीर्थस्थल हो । धार्मिक पर्यटनका लागि स्थापित गन्तव्य हो मनकामना । पर्यटककै कारण आर्थिक रुपमा यो क्षेत्रको कायापलट नै भएको छ । हजारौंले रोजगारी पाएका छन् । स्थानीय उत्पादनले बजार पाएको छ । मानिसको जीवनस्तर उकासिएको छ । नेपालीमात्रै नभएर भारतलगायत मुलुकबाट पनि मनकामना दर्शनका लागि दैनिक तिर्थालु आउने गर्छन् । अहिले भूकम्पबाट भत्किएको मनकामना मन्दिरको पुनर्निर्माणको काम चलिरहेको छ ।
जहाँ पुगेपनि पर्यटक भनेका पाहुना हुन् । उनीहरुको स्वागत सत्कार गर्नुपर्छ भन्ने मान्यता छ । तर, मनकामनामा त्यस्तो छैन । केबलकारबाट झरेदेखि नै त्यहाँका व्यापारीहरुले दिग्दारी लगाउँछन् । बाटैभरी होटल, रेष्टुरेन्ट, फूल–प्रसाद बेच्ने व्यापारी, फोटो खिच्ने स्टुडियो, मनकामनाको चिनो बिक्री गर्ने पसल छन् । ती सबैले तपाईंलाई राम्रोसँग हिँड्न पनि दिँदैनन् । त्यहाँ पुग्ने सबैजसो तीर्थालु खाना खान्छन् नै, फोटो पनि खिचाउँछन्, सामान पनि किन्छन् । त्यसरी कर गर्नै पर्दैन । ग्राहक तान्न कर्मचारी खटाउनै पर्दैन । राम्रो सेवा दिए ग्राहक आफैं आइहाल्छन् । हो, आफ्नो व्यापार–व्यवसायको प्रवद्र्धन गर्नु पनि पर्छ । तर ग्राहकलाई नै दिक्क बनाउने गरी कसरी व्यवसाय प्रवद्र्धन होला ?
मनकामना मन्दिर नजिक पर्याप्त सेवा सुविधा छ । तर, यो सेवाका लागि व्यवसायीले गरेको व्यवहार ठिक भएन । जसले गर्दा आफ्नो मनोकांक्षा पूरा गर्न पुगेका तिर्थालु बाटोमै दिक्क हुन्छन् ।
ओझेलमा परेको गोरखा दरबार
गोरखा दरबार भन्नेबित्तिकै हामी सबैको दिमागमा नेपालको इतिहास आउँछ । यसको आफ्नै ऐतिहासिक महत्व छ । पर्यटकीय हिसाबले पनि यो महत्वपूर्ण गन्तव्य नै हो । एनेपालको इतिहास बोकेको दरबार हेर्ने उत्सुकता सबैलाई हुन्छ नै । साथी भुवन र म पनि त्यही उत्सुकता बोकेर गोरखा दरबार पुगेका थियौं । एक रात त्यही बिताउने हाम्रो योजना थियो । तनहुँको आबुँखैरेनीदेखि गोरखातर्फ लाग्दा त्यही दरबारको इतिहास र त्यस्तो अग्लो ठाउँमा दरबार रहनुको कारणबारे छलफल गर्यौं । गफ गर्दै र वरपरका दृष्यावलोकन गर्दै हामी गोरखा बजार पुग्यौं, जुन जिल्ला सदरमुकाम पनि हो ।
गोरखा बजार भिरालो ठाउँमा छ । बजार ठूलै भए पनि खाना–खाजाका लागि राम्रो होटल–रेष्टुरेन्ट पाइएन । कसैले रक्षाबन्धनको भएकाले केही खाजा नबनाएको बताए भने कसैले फुर्सद छैन भने । ४–५ वटा होटल चहारेपछि मात्रै एउटामा मःम पाइयो । एउटा ऐतिहासिक दरबार भएको जिल्ला पर्यटकमैत्री होला भन्ने हाम्रो बुझाइ थियो । तर, बजारसम्म पुग्दा हामीले त्यो पाएनौं ।
मुख्य बजारदेखि दरबार करिब ४–५ किलोमिटरको दुरीमा पुगिने रहेछ । खाजा खाएकै होटलको दिदीलाई सोधेर हामी उकालो लाग्यौं । दरबारतर्फ जाने बाटो एउटै र सिधा भेटाउन सकिएन । बाटो कुनै ऐतिहासिक दरबार पुगिने जस्तो लाग्दैनथ्यो । केही स्थानीयलाई सोध्दा राम्रोसँग लोकेसन दिन सकेनन् ।
४–५ युवाहरुको समूहलाई हामीले सोध्यौं, गोरखा दरबार जाने बाटो कता हो ?
उनीहरुको जवाफ थियो, “खै थाहा भएन । यतै बाट हो कि !”
यस्तो जवाफ सुनेर हामी अचम्मित भयौं र दुखी पनि ।
हामीले देखेको एउटा ऐतिहासीक तस्बिरमा उनीहरुको जवाफले दाग लाग्यो । मन खिन्न भयो । त्यसपछि हामी सोही बाटो अगाडि बढ्यौं ।
केही अगाडी पुग्दा माथि हरियाली जंगल देख्यौं । जंगललाई पर्खालले घेरिएको थियो । त्यही जंगलको माथि दरबार होला भन्ने अनुमान गर्दै हामी गयौं ।
तर, सुनासन ठाउँ, एक÷दुई वटा होटल र घरहरु बाहेक हामीले दरबार नजिक केही देखेनौं ।
प्रवेशद्वारमा पुगेपछि दरबार देखियो । दरबार देख्दा बल्ल खुसी महसुस भयो तर त्यो ऐतिहासीक महत्वको ठाउँको स्थानीयले महत्व बुझ्न नसकेको देख्दा आनन्दित हुन सकेनौं । हामीलाई लागेको थियो, गोरखा दरबार हेर्न देशी विदेशी पर्यटकको घुईँचो लाग्छ । सयौं मानिस त्यहाँ व्यवसाय गरेर बसिरहेका छन् । पर्यटकमैत्री वातावरण छ । तर त्यस्तो पाइएन । त्यहाँ त पुरातत्व विभागको कार्यालय, कर्मचारी बस्ने निवास, सुरक्षाकर्मी र माथि सबैभन्दा उच्च ठाउँमा रहेको दरबार बाहेक केही देखिएन । दरबार हेर्न जाने मानिस पनि औैंलामा गन्न सकिनेमात्रै । एक रात पृथ्वीनारायण शाह जन्मेको ठाउँमा बिताउने सोचसहित पुगेका हामी बस्न सकेनौं । आधा घण्टामात्रै अडिन सक्यौं ।
बाइसे चौबिसे राज्यलाई एकीकरण गरेर ‘ग्रेटर नेपाल’ बनाउन सफल र देशलाई २६० वर्ष शासन गर्ने वंश जन्माएको ठाउँका मानिसमा व्यावसायिकताको सोच किन नआएको होला ? पर्यटनको सम्भावना किन बुझ्न नसकेका होलान् ?
एउटा व्यवस्थिति डाँडो बन्दिपुर
गोरखामा बास बस्न मन नलागेपछि हामी तनहुँको डुम्रेदेखि ८ किलोमिटरको दूरीमा रहेको बन्दीपुर पुग्यौं । पर्यटकीय गन्तव्यको रुपमा पहिचान बनाइसकेको र पर्यटकीय पूर्वाधार पनि पर्याप्त रहेको बन्दीपुरमा भने हामीले पर्यटकमैत्री वातावरण पायौं ।
फेदीको डुम्रेदेखि उकालो लागेपछि नै आनन्द महसुस भयो । बेलुका करिब ८ बजे बन्दीपुर पुग्यौं । बन्दीपुर गोरखाजस्तो थिएन । त्यहाँ त हरेक घरमा बास पाइने । त्यो पनि आधुनिक सुविधासहित ।
केही सुविधा सम्पन्न होटलहरु पनि देखिन्थे । अन्य गुजुमुज्ज र पुरानो डिजाइनका गाउँले घरहरु पनि झिलिमिली र पाहुनालाई स्वागत गर्न आतुर देखिन्थे ।
विभिन्न घरहरु हेर्दै हिँड्याैं । बीचमा बाटो वरपर झिलिमिली घरहरु । सबै घरमा आन्तरिक र विदेश्ी पर्यटकको चहलपहल । बेलुका स्थानीय संस्कृति झल्कने गरी लाखे नाच देखाइँदै थियो । लाखेनाच हेर्दै विदेशी पर्यटक पनि रमाइरहेका थिए ।
राति पुगेकाले बास पाउन केही गाह्रो भयो । ‘कृति होम्स’मा बल्ल बास पाइयो । पुरानो भक्तपुरे कलामा बनेको उक्त घरमा कोठामा अट्याच बाथरुम, टिभी र फ्रि वाईफाई सुविधा थियो ।
पुरानो घरमा वाईफाई पनि छ ? मैले सोधेँ ।
कृति होम्सकी सञ्चालकले हाँस्दै भनिन्, “अहिले वाईफाई नभई पनि होटल चल्छ त ?”
बासका लागि घरको रजिस्टरमा नाम दर्ता गराउन खोज्दा देखियो, हल्याण्ड, जर्मन, इंल्याण्डलगायत देशका पर्यटक पनि त्यहाँ बसेका थिए । घरमा बस्ने सुविधा थियो तर खानको सुविधा थिएन ।
हामीले सोध्यौं– “खाना खान कहाँ जाऊँ ?”
उहाँहरुले फरक–फरक होटल÷रेष्टुरेन्टको मूल्यसूचीसहित भन्नुभयो र आफ्नो इच्छा र बजेटअनुसार रोजेर जान सल्लाह दिनुभयो ।
त्यहाँको व्यवस्थापन, व्यवहार र सत्कारबाट हामी साँच्चिकै अचम्मित भयौं । र लाग्यो मान्छे लाभ्याउने र भुलाउने भनेको सत्कार र त्यहाँको व्यवस्थापनले हो । जुन व्यवहार हामीले महत्वपूर्ण धार्मिक स्थल भएको मनकामना र ऐतिहासिक दरबार भएको गोरखामा पाएनौं ।
बन्दीपुर २०२५ सालसम्म तनहुँको सदरमुकाम थियो । सदरमुकाम दमौली सारिएपछि बन्दीपुर सुनसान बन्यो । २०२५ देखि २०५३ सम्म कुनै बिजनेस नपाएको बन्दीपुर अहिले पर्यटकीय गन्तव्य बनेको छ । दैनिक सयभन्दा बढी विदेशी तथा आन्तरिक पर्यटकलाई बन्दीपुरले स्वागत गर्छ ।
बन्दीपुरका २० घरमा होमस्टे, ४० पुरातत्विक घरहरुमा साना होटल र आधा दर्जन मझौला तथा ठूला होटल रहेको बन्दीपुर विकास समितिका अध्यक्ष ईश्वर प्रधानले जानकारी दिए । विभिन्न ठाउँमा छरिएर रहेका बन्दीपुरेको मेहनत, एकता, सामूहिक भावना र अठोटले नेपालकै उत्कृष्ट पर्यटन गन्तव्य बन्दैछ बन्दीपुर ।