site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किसानको चिन्ता– योपालि भोकमरी पर्न सक्छ

दाङ । काटेको धान पूरै पानीमा डुबेको छ । तुलसीपुर उपमहानगरपालिका–११, मोतिपुरका किसान जागुराम चौधरी काटेर राखेको धान फर्काउँदै थिए । उम्रिसकेका बाला र कुहिएको परालले उनको अनुहार मलिन बन्यो ।

“परालसम्म पनि बचेन, धानको त आशै थिएन,” डुबानमा परेको धान देखाउँदै उनले भने । अविरल वर्षाले मोतिपुरको करिब ६० बिघामा काटेर राखेको धान क्षति भएको छ । मोतीपुर बबई नदीको तटीय क्षेत्र हो ।

मोतिपुरमा बेमौसमी वर्षाका कारण भित्र्याउने बेलाको सबै धान खेर जाने अवस्था छ । “काटेको धान मात्र होइन, नकाटेको धान पनि ठाडै बालामै टुसा पलाएको छ,” स्थानीय मोहन बस्नेतले भने, “हाइब्रिड धान पाकेको समयमा भित्र्याउन सकिएन र पानी परिरहेको हुँदा ठाडै बोटमै फेरि फल टुसाएको छ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

ढलेको धान त खेतमै उम्रिन थालिसकेको छ । सोही गाउँका मनिराम चौधरी पम्पसेट लगाएर गराको पानी तानिरहेका थिए । “काट्न बाँकी त खेतमै डुब्यो, खराइमा राखेको धान पनि पानीले उम्रिसकेको छ,” उनले भने, “प्रकृतिको खेललाई कसैले टार्न सक्ने रहेनछ ।”

यो वर्ष श्रमको खर्च पनि नउठ्ने चिन्ताले कृषकलाई सताएको छ । वर्षभरि के खाएर गुजारा गर्ने भन्नेमा उनीहरू चिन्तित छन् ।

वेलटाकुराका सन्तबहादुर बुढाथोकी पनि बिहीबार धान खेतमै मलिन अनुहारमा भेटिएका थिए । “दसैँ मानेलगत्तै मेसिन लगाएर एकै दिन कटाएको थिएँ, तर दैवले भित्र्याउन दिएन,” सन्तबहादुरले भने । भिजेको वा टुसाएको धान खाँदा मिठो नहुने र मूल्य पनि नपाउने उनी बताउँछन् ।

“यसरी भिजेको धान कथम् कदाचित् जोगिए पनि कुटाउँदै धुलैधुलो हुने गर्छ,” उनले भने, “योपालि भोकमरी पर्न सक्छ र धानको मूल्य निकै महँगो हुनेछ ।”

तुलसीपुर उपमहानगरपालिका–१०, गौरीगाउँका किसान दानबहादुर खड्का पनि यस्तै नियति भोगिरहेका छन् । उम्रिसकेका धानका दानाले उनको मन फाटेको छ ।

पश्चिम दाङमा मोतिपुर धान उत्पादनको दृष्टिले ‘भकारी’समान मानिन्छ । मोतिपुरका स्थानीय बासिन्दा तथा तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतले भित्र्याउने बेलाको धान बेमौसमी झरीले सबै स्वाहा पारेको हुँदा राज्यले क्षतिपूर्ति दिनुपर्ने बताए । तीनै तहका सरकारले किसानका समस्या सुनेर समाधानको प्रयास तत्काल थाल्नुपर्ने उनी बताउँछन् ।

गौरीगाउँ, कटाँहा, प्रिगाउँ, मोतिपुर मात्र होइन, तुलसीपुर–२, पवननगरका किसान पनि अविरल वर्षाले निकै आहत भएका छन् । तुलसीपुर–२ का वडाध्यक्ष राजु आचार्यले भने, “हाम्रो वडामा कम्तीमा ३० प्रतिशतभन्दा बढी धान खेती नोक्सान भएको प्रारम्भिक अनुमान गरेका छौँ ।”

आचार्यका अनुसार सबैभन्दा बढी क्षति त्यहाँ कुमलगढीमा भएको छ । तकियापुर, नन्द्रागाउँलगायत क्षेत्रमा पनि काटेको र नकाटेको धानबालीमा क्षति पुगेको उनले बताए ।

आकाश खुल्नेबित्तिकै बिहीबार बिहानै तुलसीपुर–१९, थानगाउँका किसान पनि खेतमा पुगिसकेका थिए । त्यहाँ पनि अधिकांश किसानले धान काटिसकेका छन् । काट्न बाँकी धानमा नोक्सान नभए पनि काटिसकेको धानबाली पूरै क्षति भएको स्थानीय शिक्षक सूर्यबहादुर बस्नेतले जानकारी दिए ।

पश्चिम दाङका दंगीशरण, शान्तिनगर, बबई गाउँपालिका, तुलसीपुर र घोराही उपमहानगरपालिका, लमही नगरपालिका, राप्तीलगायत सबै पालिकाहरूमा बढी क्षति भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रले दाङमा यो वर्ष ३९ हजार हेक्टरमा धान खेती गरिएको भन्दै ३० प्रतिशत धानबाली नोक्सान भएको जानकारी दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  १३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro