कताकताबाट घरीघरी एउटै आवाज सुनिएजस्तो लागिरहेथ्यो । सपनामा हो कि विपनामा, होसमा हो कि बेहोसमा जस्तो । घरी त्यो टेलिफोनको आवाजजस्तो सुनिन्थ्यो, घरी मोबाइलको रिङटोनजस्तो । घरी डोरबेलको आवाजजस्तो पनि ।
म आँखा उघार्ने प्रयत्न गरिरहेकी थिएँ, तर मेरा आँखा केले टालिएका थिए कुन्नि, उघार्नै सकिरहेकी थिइनँ । अकस्मात् तीनवटै आवाज मिसिएर एकैचोटि कर्कश आवाज गुन्जिएजस्तो लाग्यो ।
बल्ल मेरा आँखा खुले । म यति थकित महसुस गरिरहेकी थिएँ, मानौँ महिनौँदेखि ओछ्यानमै कुँजिएर बस्न विवश दीर्घरोगी हुँ ।
आँखा खुले पनि शरीर तंग्रिन केही समय लाग्यो । अघिका अनेक थरी आवाज एकाएक हराएका थिए । अब अनौठो सन्नाटा छाइरहेको थियो ।
अकस्मात् टेबुलमा रहेको मोबाइलको रिङ बज्यो । थाकेका आँखाले त्यसलाई हेरेँ, तर त्यहाँसम्म मेरो शरीर तन्किनै मानेन । मोबाइल फेरि बज्यो । रोबर्टजसरी मेरा हात मोबाइलतिर बढे ।
जुडिथको फोन रहेछ । कल रिसिभ गरेँ ।
“ह्याप्पी बर्थडे टु यू... ह्याप्पी बर्थडे टु यू... ह्याप्पी बर्थडे डियर...।”
मोबाइल स्पीकरमा जुडिथले सुरिलो स्वरमा गाएको बर्थडे गीत सुनियो । तर, मैले केही भनिनँ । मलाई केही भन्ने मन भइरहेको थिएन । अथवा, केही भन्ने आँट आइरहेको थिएन ।
उसले फोनमा एकोहोरो के–के सोधिरहेकी थिई । तर, मसित उसका प्रश्नहरूको कुनै उत्तर थिएनन्, न त सुन्ने जाँगर नै थियो । मौन अवस्थामै मैले बीचैमा फोन राखिदिएँ र थुचुक्क सोफामा बसेँ ।
बाहिर वेगले हावा चलिरहेको थियो । हावाले हल्लाएर अपार्टमेन्टका झ्यालबाट खिटखिट आवाज आइरहेको थियो । हावा त लन्डनमा यसअघि धेरैपटक महसुस गरेकी थिएँ, तर यस्तो तेज गतिको हावा कहिल्यै अनुभव गरेकी थिइनँ । जाडोले हो कि या अरू कुनै कारणले हो मेरा हातगोडा कामिरहेको नजानिँदो अनभूति भयो ।
मैले रातभरि झ्याल खुला छोडेकी रहेछु । मेरा आँखा झ्यालको छेउमा राखिएको बुक केसमा परे । किताबहरू पानीले भिजेर ढाडिएका थिए । वर्षौँदेखि मैले रहरले जम्मा गरेका किताबहरूको गति देख्दा नमज्जा लाग्यो ।
उठेर विस्तारै त्यतातिर लागेँ । ‘जेन एयर’ उठाएँ । पानीले लछप्पै परेर किताबका पानाहरू आपसमा टाँस्सिएका थिए । बुककेसको छेउमा कार्पेटको एक छेउ भिजेको रहेछ । त्यो देख्दा झन् विरक्त लागेर आयो । किताब हातबाट फ्यात्त भुइँमा झर्यो । जबर्जस्ती शक्ति निकालेर झ्याल बन्द गर्ने कोसिस गरेँ ।
बाहिर अझै अँध्यारो थियो । सिमसिम पानी परिरहेको थियो ।
एउटा अर्धचेतजस्तो अनुभूतिबाट म ब्युँझिने कोसिस गरिरहेकी थिएँ । हुन त म सधैँ एक्लै नै बस्दै आएकी छु, तर पनि आज भने अनौठोसित खालीपन महसुस भइरहेको थियो ।
म पुनः सोफामै गएर बसेँ । मेरा पिरो र असजिला आँखा सिधा भित्तामा टाँगिएको फोटोमा एकोहोरो अडिए । म घरीघरी त्यो फोटोबाट आँखा हटाउने कोसिस गरिरहेकी थिएँ, तर त्यो फोटोबाट आँखा हटेनन् । फोटो हेर्दै म टोलाउन थालेँ । अकस्मात् फोटो चल्मलाउन लागेजस्तो अनुभूत भयो ।
फोटो यति चलायमान भयो कि हेर्न नसकी मैले आँखा चिम्म गरेँ । कचौराभरि हलुवा लिएर एउटी युवती हिँडिरहेको दृश्य बन्द आँखाबाट पनि म देखिरहेकी थिएँ ।
तर्सिएर आँखा खोलेँ, कोठा उस्तै शोकमग्न थियो । भित्ताको फोटो पनि सामान्य थियो । लामो सास फेरेर सोफाको आडमा टाउको राखेँ र आँखालाई आराम दिने प्रयत्न गरेँ । मेरो अवस्था अर्धनिन्द्रामा परेको जस्तो थियो ।
“माया...माया...!” कसैले कानैनिर आएर मिठो स्वरमा बोलायो ।
मैले ‘हँ’ भन्ने प्रयत्न गरेँ, तर सकिनँ । मेरा आँखा अझै बन्द नै थिए ।
“किन नबोलेकी ? म नैना क्या तिम्री दिदी ! चिनिनौ ?” आवाज दोहोरियो ।
यो बोली मेरो निम्ति चिरपरिचित नै थियो । यो त्यही बोली थियो, जसको आसपास मैले आफ्नो जीवनका पच्चीस वर्ष बिताएकी थिएँ । एक हप्ताअघिसम्म पनि यही मायालु बोलीले मेरो अवस्थाको बारेमा सोधीखोजी गरेको थियो ।
तर, हिजो मात्रै यो बोली सदाका लागि बन्द भएको खबर मलाई फोनमार्फत दिइएको थियो । मेरो जीवनमा सबैभन्दा नजिककी मेरी दिदी नैना दुर्घटनामा परेर सदाका लागि बितेको खबरले म असाध्यै विचलित भएकी थिएँ ।
धेरै बोल्नुपर्ने मेरी दिदी नैना, जसको स्नेहयुक्त बोली मेरा हरेक पाइला–पाइलामा सँगै साथै हिँडिरहन्थ्यो, तिनै दिदीको त्यो मायालु बोली सदाका लागि गुमाउनुजत्तिको पीडा मेरा लागि अर्को थिएन ।
तर, यति बेला, त्यही बोली कानमा गुन्जिँदा म तर्सिएँ र हडबडाएर आँखा खोल्न पुगेँ । यद्यपि, अघिल्तिर केही थिएन । उही रिक्तता मात्रै । अनायस मेरा आँखा पिरो भए र चहर्याउने गरी आँसुका केही थोपा गुँडुल्किएर झरे ।
म उठेँ र भित्ताको फोटोलाई अर्कोतिर फर्काइदिएँ ।
ढोकाको घन्टी बज्यो । घडी हेरेँ, आठ बजिसकेछ । ‘यति सबेरै को आएको हुनसक्छ ?’ मैले आफैँलाई प्रश्न गरिहेरेँ, तर केही नसोची मेरा पाइला ढोकातिरै बढे ।
बाहिर एउटा अग्लो युवक उभिएको थियो । उसले ‘गुडमर्निङ म्याडम, इट्स फ्रम लिली’ भन्दै एउटा ठूलो बुके हातमा थमाइदियो । मैले जबर्जस्ती थ्याङ्क यु भन्ने कोसिस गरेँ, तर मेरा ओँठ चलेनन् । ‘ह्याभ अ नाइस डे म्याडम’ भन्दै ऊ गइसकेको थियो । मैले ढोका ढप्क्याइदिएँ र बुकेतिर हेरेँ ।
बुके असाध्यै सुन्दर थियो । त्यसमा मलाई असाध्यै मनपर्ने लाइलक रोज, लिली र क्रिस्एन्थमका सुन्दर गुच्छा मिलाएर राखिएका थिए । एउटा सानो स्टिकमा कार्ड रातो रिबनले बाँधेर अड्याइएको थियो । अघिपछि भए यति सबेरै यति सुन्दर फूल उपहार पाउँदा म खुसीले कति उचालिन्थेँ होला, तर आज मलाई आफ्नो विशेष रुचिका फूलहरू पनि खासै केही लागिरहेका थिएनन् ।
बुके काखमै च्यापेर म थचक्क भुइँमा बसेँ । मेरा औँलाले फूलका पत्ताहरू सुम्सुम्याउन थाले । ती कोमल थिए । त्यहाँबाट आएको ताजा बास्ना मेरो फोक्सोसम्म पुग्यो । यो मलाई असाध्यै माया गर्ने लिलीको मनपर्ने फरफ्युमजस्तै सुगन्धित थियो । फूल सुम्सुम्याउँदा सुम्सुम्याउँदै मेरो अघिल्तिर लिलीको मायालु अनुहार घुम्न थाल्यो । त्यसले मायालु स्वरमा केही गुनगुनाएजस्तो लाग्यो ।
एकासी वर्षे लिली मेरी साथी जुडिथकी हजुरआमा हुन् । जुडिथलाई तीन वर्ष अगाडि मैले एडिनबरा म्युजिक फेस्टिबलमा भेटेकी थिएँ । चार दिनको म्युजिक फेस्टिबलमा पटक–पटक हामी ठोक्किन पुगेका थियौँ । भरे हामी बस्ने होटेल पनि एउटै रहेछ ।
यो रमाइलो संयोगलाई एउटा कफी बसाइमा हामीले मित्रतामा परिणत गर्ने निर्णय ग¥यौँ । लन्डनमा पनि हाम्रो बसाइ नजिकै रहेछ । बसाइ पनि नजिकै र धेरै रुचिहरू मिल्दाजुल्दा भएकाले हाम्रो मित्रता त्यो दिनदेखि निरन्तर आजसम्म पनि कायम नै छ ।
जुडिथले एक दिन उसकी हजुरआमा लिलीको घरमा मलाई लगेकी थिई । त्यो दिन मैले करिब तीन घण्टा उनको घरमा बिताएँ । हिँड्ने बेलामा उनले अर्को हप्ता पनि आउन आग्रह गरिन् । विदेशको एक्लोपनबाट म आजित भइसकेकी थिएँ । त्यसैले कसैले हार्दिकतापूर्वक बोलाउँदा म नजाने कुरै थिएन, खुसीसाथ गएकी थिएँ ।
यसरी उनीसित प्रायः भेट हुन थाल्यो । हरेक आइतबार उनी जुडिथ र मलाई मनपर्ने केक टेबुलमा राखेर चियाका कपसँगै प्रतीक्षा गरिरहेकी हुन्थिन् । उनको बुढेसकालको एक मात्र सहारा नै जुडिथ थिई । त्यसमा अब म पनि सामेल भएकी थिएँ, जुन लिलीले मलाई दर्शाउने स्नेहबाट देखिन्थ्यो ।
सायद परिवारसित लामो समयसम्म बिछोडिनु पर्दाको पीडामा लिलीले पोखेको स्नेहले म उनीतिर आकर्षित हुँदै गएको थिएँ । हरेक आइतबार मेरा लागि विशेष हुन थालेको थियो । लिलीले यहुदीहरूको नयाँ वर्ष र अन्य चाडबाडहरूमा पनि मलाई अनिवार्य रूपमा समावेश गर्थिन् । अब विस्तारै उनका साथी र इष्टमित्रहरूले समेत मलाई राम्रैसँग चिन्न थालिसकेका थिए ।
एक्कासि मलाई त्यो बुकेबाट आएको सुगन्ध लिलीको शरीरबाट आउने सुगन्धजस्तै लाग्यो । लिलीको मायालु अनुहार र व्यवहारको सम्झना मात्रैले पनि मेरो शरीरमा हल्का शक्तिको सञ्चार भएझैँ महसुस भयो । म उठेँ र काखको बुकेलाई टेबुलमा लगेर राखिदिएँ ।
फोनमा अलार्म बजेको सुनेपछि म झस्किएँ । साढे आठ भइसकेको थियो । ‘सवा नौभित्र काममा पुगिसक्नुपर्ने !’ अनायस म हतारिएँ । म बाथरुमतिर पसेँ ।
ऐनामा आफ्नो अनुहार आफैँलाई अपरिचितझैं लाग्यो । मेरो अनुहार तर्साउनेजस्तो देखिन्थ्यो । आँखाका डिल पोलेको फोकाजस्तै गरी उक्सिएका थिए । गाला र नाक राता थिए । कपाल पूरै चिथोरिएर जिङ्रिङ्ग परेको थियो । मैले हेयर ब्रस टिपेर कपालतिर लगेँ ।
“माया कस्तो कुखुराले भुतुली खेलेजस्तो बनाकी कपाल । आइजो म कोरेर वेभी कर्ल बनाइदिन्छु !” अनायस नैना दिदीको मायालु हप्काइ कानभरि गुन्जिन्छ ।
नैना दिदीको भन्दा मेरो कपाल राम्रो थियो । तर, मलाई कपालको खासै वास्ता लाग्दैनथ्यो । नैना दिदीलाई चाहिँ सिँगारपटारको असाध्यै सोख थियो । त्यसैले उनको त्यो सोख पूरा गर्न पनि उनी मलाई दिनमा ३÷४ पटकसम्म पनि आफ्ना अघिल्तिर राख्थिन् र मेरो कपालमा उनको अनेक स्टाइलको एक्सपेरिमेन्ट गरिरहन्थिन् ।
सम्झना मात्रैले पनि हेयर ब्रस मेरो कपालमा सर्न सकेन । मैले त्यसलाई त्यतिकै राखिदिएँ ।
टाउको अहिले नै फुट्लाझैँ टनकटनक टन्किरहेको थियो । मैले चिसो पानी अनुहारमा छ्यापेर फ्रेस हुने कोसिस गरेँ । मेरा आँखा अझै टट्टाए । केही क्षणमै काममा निस्कनुपर्ने कुराले दिमागमा हानिरहेको थियो ।
मैले कुल्ला मात्रै गरेँ । कपाल मिलाउने जाँगरसमेत चलेन । हतारहतार अफिसको युनिफर्म बदलेर ढोकाछेउमा झुन्ड्याइएको ज्याकेट भिरी म बाहिरिएँ ।
बाहिर धुम्मिएको थियो । दिमाग अझै गज्याङमज्याङ भइरहेको थियो । अनुभूतिचाहिँ शून्यशून्य थियो । विगत चार वर्षदेखि म नियमित यही बाटो हिँडिरहेको छु । यो बाटोका छेउछाउका स–साना बुट्यान, पर्खाल र फुटपाथ र तिनका अवस्था समेत मेरो दिमागमा आफ्नैजस्तो गरी गढिबसेका छन् ।
आज भने हिजोअस्तिको जस्तो उही बाटो होइन कि जस्तो लागिरहेको थियो । बाटोछेउका घर र बिल्डिङ, सडकमा कुदिरहेका गाडीहरू अनि फुटपाथमा हिँडिरहेका मानिसहरू पनि अलग्गै चालढाल भएका जस्तो लागिरहेको थियो । मेरा पाइलाले टेकेको जमिन नौलो लागिरहेको थियो । सवा नौ बजे अफिसमा पुगिसक्नुपर्छ भन्ने दिमागमा परेको दबाबले बारम्बार मेरा पाइलालाई अझै धकेलिरहेको थियो ।
सधैँ बिहान कफी किन्ने क्याफेको अघिल्तिर पुग्दा त्यहाँभित्र बसेका मानिसहरू किन हो आफूजस्तै उदास र दिक्क मानिरहेका जस्ता देखिए । क्याफेभित्रबाट आएको कफीको बास्नाले मेरो तलतललाई ब्युँझाउन खोज्यो, तर मेरा पाइला क्याफेभित्र नपसी सडक पार गर्नतिर लागे ।
हप्तामा एकपटक ट्रेन पास टपअप गर्थेँ । मेरो टपअप हिजो मात्र भएको थियो, फेरि म यहाँ किन आइरहेको छु । ग्रोसरी सपअगाडि पुगेपछि म यो सोचेर अलमलिएँ । मैले उभिएरै ट्रेन स्टेसनतिर हेरेँ । अफिस जानेको चटारोले स्टेसनको आसपास मानिसहरूको चलखेल देखिन्थ्यो । यति बेला म पनि त्यही हुलमा हुनुपर्ने थियो । तर, किन हो मेरा पाइला त्यतातिर घिस्रिनै मानिरहेका थिएनन् ।
म स्टे्सनतिर यसरी हेरिरहेकी थिएँ, मानौँ म त्यहाँ पहिलोपटक आएको नयाँ मान्छे हुँ र मलाई अहिले नै स्टेसनतिर जानु छैन ।
अब मेरा पाइला स्टेसनको विपरीत दिशातिर लम्किए । अघिको भन्दा गति अलिकति बढेको थियो । हिँड्दै गर्दा मलाई गर्मी भएजस्तो लाग्यो, तर नरोकिइकनै ज्याकेटको फस्नर खोलेँ । ल्याम्पोस्टमा गएर ठोक्किएछु ।
यति जोडले ठोक्किएछु कि एक छिन त आँखा अघिल्तिर अँध्यारो देखेँ । मेरो टाउको बेस्सरी थर्रथराइरहेको थियो । ढलुँलाजस्तो भएर नजिकैको एउटा पसलको भित्तामा समात्न पुगेँ । पानी पिउने मन भइरहेकोे थियो, तर ग्रोसरी सपसम्म जाने आँट पनि थिएन । मैले असहाय भएर भित्र चियाएँ । त्यो पसल बन्द थियो ।
मलाई बस्न मन भएन । ज्याकेट फुकालेर हातमा लिएँ अनि विस्तारै हिँड्ने विचार गरेँ । तर, मेरा गोडा निकै कमजोर महसुस गरिरहेकी थिएँ । तैपनि, मैले फर्किने विचार गरिनँ, सरासरी हिँडी नै रहेँ ।
रूखैरूखले घेरिएको बाटो हिँड्दै म पार्कको ठूलो गेट अघिल्तिर पुगेँ । गेटको छेउमै उभिएका ठूलाठूला पपलरका रूखहरू पात झरेर पूरै उजाडिएका थिए । चिसो बिहानको सबेरै पार्क सुनसान देखिन्थ्यो र यो पूरै रङ खुइलिसकेको उजाड देखिन्थ्यो ।
मेरो शरीर यति गलेको थियो कि मानौँ म निकै लामो बाटो हिँडेर यहाँ आइपुगेको हुँ । मेरा कुर्कुच्चामा किला बिझेजस्तो दुखाइ थियो । हरेक पाइला टेक्दा त्यसबाट आउने पीडालाई दाँत कटटट पारेर सहन थालेकी थिएँ ।
मेरा हात फत्रक्क गलेर काँधदेखि नै झर्लाजस्तो भइसकेको थियो र हातमा च्यापेको ज्याकेट पनि भारी भइसकेको थियो । मेरा आँखा अति थाकिसकेका थिए, मैले धेरै परपरको दृश्य हेर्नै छाडिसकेकी थिएँ ।
एक मन त सोचेँ, घरै फर्किन्छु । तर, आएको बाटो फर्किने आँट नै आएन । अब फेरि त्यति नै लामो बाटो हिँड्ने शक्ति मसित थिएन । यो बस चल्ने बाटो पनि थिएन ।
फोन गरेर ट्याक्सी बोलाउने विचार पनि आयो । मोबाइल निकाल्छु भनेर ब्याग छामेँ, तर मसित ब्याग नै थिएन । म उदास भएँ । जिन्दगीमा यति असहाय महसुस कहिले पनि भएको थिएन ।
पार्कको गेटअघिल्तिर रहेको बेन्चमा म थचक्क बसेँ ।
सडकपारिको फूलको पसल खुलिसकेको थियो । पसले फूल र स–साना बिरुवाहरू बाहिर ओसारिरहेको देखियो । त्यो पसल देख्दा अकस्मात् लिलीलाई सम्झिएँ । लिलीकहाँ आउँदा प्रायः त्यही पसलबाट फूल किनेर लिई आउँथे म ।
अकस्मात् एउटा शक्तिले मलाई जुरुक्क उठायो । म पार्कलाई दाहिने पारेर अगाडि बढेँ । मेरा गोडा उस्तै दुखिरहेका थिए । तर, म सकेसम्म छिटोछिटो हिँड्ने प्रयत्न गरिरहेकी थिएँ ।
करिब पाँच मिनेटको हिँडाइपछि मेरा गोडा स्वचालित रूपमा एउटा घरअगाडि गएर रोकिए । घरको बगैँचा उस्तै उजाड देखिन्थ्यो । मिलाएर छाँटिएका पोथ्राहरू पात झरेर नांगिएका थिए । घाँसमाथि हल्का सेतो तुसारो देखिन्थ्यो । घरअगाडितिर रोकिएको कार रातभरिको तुसारोले पूरै कठ्यांग्रिएको थियो ।
म सरासर सानो गेटबाट छिरेर घरको ढोका अघिल्तिर उभिएँ । मेरा हात घण्टीतिर बढे, तर थिच्न सकिनँ ! यति बेला म अत्यन्तै अलमलिरहेकी थिएँ । मेरो दिमाग खाली थियो, त्यसमा कुनै विचार आइरहेका थिएनन् । के मन भयो कुन्नि म दुई पाइला पछिल्तिर हटेँ ।
बगैँचातिर हेरेँ । घरछेउको गुलाफको झाडी पूरै उजाडिएको थियो । लाभेन्डरका झ्याङहरूको पनि नाम निशान थिएन, तर म तिनको स्थानको अन्दाज लगाउन सक्थेँ ।
लाभेन्डरको सम्झनाले मात्रै पनि मलाई के शक्ति दियो कुन्नि म हतारिएर ढोका ढक्ढकाउन पुगेँ । मलाई घण्टी थिच्ने होस पनि आएन । मैले त्यति बेलासम्म लगातार ढोका ढक्ढकाएँ, जबसम्म भित्रबाट ढोका खुलेन ।
ढोकामा उही मायालु अनुहार उभिएको थियो । लिलीले उही स्नेहालु मुस्कान पोखेर मलाई स्वागत गरिन् । तर, एकै छिनमा त्यो मुस्कान हरायो र त्यसमा प्रश्न, आश्चर्य अनि मायाका भावहरू देखिए । एक्कासि म उनीतिर खिचिएँ र उनलाई कसेर अँगालो हालेँ ।
लिलीका झिना हातले मलाई अँगालोमा बेरे । उनका हत्केला मेरो ढाडमा सल्बलाइरहेका थिए । उनको उही मायालु आवाज मेरो कान वरिपरि गुन्जियो, “ह्वाट ह्यापेन्ड टु यु माइ डार्लिङ ? आर यु ओके ?”
लिलीको स्नेहले मेरो मनको बाँध भत्कियो । म भक्कानिएर रुन थालेँ र उनको छातीमा टाँसिदै भनेँ, “लिली, मैले मेरी प्यारी दिदीलाई गुमाएँ । अब मलाई माया गर्ने यो संसारमा कोही रहेन ।”
योभन्दा अगाडि केही बोल्न सकिनँ । मेरो बोलीलाई छातीभित्रबाट आएको हिक्काले जितिसकेको थियो । त्यो हिक्का एकैपटक त्यति बेला रोकियो, जब लिलीको मुखबाट मैले सुनेँ, “डन्ट वरी डार्लिङ । आईएम हियर फर यु । यु क्यान टेल मि मम ।”
थाहा भएन मैले नेपालीमा पोखेको मेरो वेदना लिलीले कसरी बुझेर यो ढाडस दिइन । तर, तिनको बोली र अँगालो मेरी आमाको जत्तिकै प्यारो र भरपर्दो थियो ।